+
+
Shares
पौरखी प्रवासी :

सेलिब्रेटी बारिस्टा धनको व्यवसायमा छलाङ

काभ्रे तिमालमा जन्मे/हुर्केका धन तामाङले बेलायत बसेर हजारौं विदेशीलाई कफीमार्फत आकर्षित गरिरहेका छन्। उनले झन्डै १० लाख पाउन्ड लगानीमा ‘कबी’ र ‘निडेड’ नामका कफीसप खोलेका छन्। आफ्नो कफीसपले सप्ताहान्तको दुई दिनमै १२०० ग्राहकलाई सर्भ गर्ने उनको दाबी छ।

नवीन पोखरेल नवीन पोखरेल
२०८२ असोज १७ गते १९:३०

भूमण्डलीकरणको यो युगमा संसार साँघुरिएको छ र मानिसको यात्रा अब भौगोलिक सीमाभित्र कैद छैन। अवसरको खोजीमा होस् वा ज्ञान र सीपको यात्रामा, नेपालीहरू पनि यही विश्वव्यापी लहरको एउटा अभिन्न अंग बनेका छन्। पृथ्वीका विभिन्न भूभागमा पुगेर उनीहरूले आफ्नो श्रम, बुद्धि र साहस ले नयाँ समाजमा अटल परिचय स्थापित गरेका छन्। तर, जतिसुकै टाढा पुगे पनि, उनीहरूको नाभी अझै पनि मातृभूमिमै गाँसिएको छ- भाषा, संस्कृति र भावनाको अटुट धागोमार्फत्।

अनलाइनखबरले सुरु गरेको ‘पौरखी प्रवासी’ शृङ्खला त्यही गौरवमय यात्राको गाथा हो। यो केवल व्यक्तिगत संघर्ष र पसिनाको कथा मात्र होइन, बरू विश्व मञ्चमा नेपालको सामूहिक पहिचानलाई उचाइ दिने प्रयासको दस्तावेज हो। हरेक प्रवासी नेपाली आफ्नो गन्तव्यमा नेपालको ‘ग्लोबल एम्बेसडर’ बनेर उभिएका छन्। उनीहरूले विश्वलाई देखाइरहेका छन्, ‘नेपालीहरू मेहनती, सहिष्णु र प्रतिभावान हुन्छन्।’

प्रवासी नेपालीहरूको महत्व केवल आर्थिक पक्षमा मात्र सीमित छैन, यद्यपि रेमिटेन्सले नेपालको अर्थतन्त्रको मेरुदण्डलाई सजीव राखेको छ। विदेशको तातो घाममा पसिना बगाउने श्रमिकदेखि अन्तर्राष्ट्रिय मञ्चमा उदाएका विज्ञ, उद्यमी र कलाकारहरूसम्म, उनीहरू सबैले नेपाललाई विश्वको नक्सामा चिनाएका छन्। उनीहरूको ज्ञान, सीप र नेतृत्व क्षमतालाई नेपालको समृद्धिको यात्रासँग जोड्नु अनिवार्य छ ।

सामाजिक र सांस्कृतिक दृष्टिले, प्रवासीहरू नेपालकै बहुरंगी स्वरूपलाई नयाँ ठाउँमा पुनः फूलाइरहेका छन्। चाहे नयाँ पुस्तामा नेपालीपनको बीउ रोप्ने कुरा होस् वा परदेशमा दशैँ–तिहार र तीजको उल्लास भर्ने कुरा, यी सबै अभ्यासले नेपालीपनलाई भौगोलिक सीमाभन्दा बाहिर फैलिएको ‘विश्व-चेतना’ बनाइदिएको छ।

जब कोही आफ्नो जन्मभूमिबाट टाढा जान्छ, उसले आत्मपहिचानलाई पुनःपरिभाषित गर्नुपर्छ। नयाँ समाज र संस्कृतिमा घुलमिल हुँदै उसले आत्मान्वेषणको यात्रा गर्छ। यही प्रक्रियामा नेपालीहरू केवल आर्थिक योगदानकर्ता मात्र नभई विश्व-संस्कृतिको सक्रिय अंग बनेका छन्, जसले भूमण्डलीय संस्कृतिमा नेपाली रङ घोलिरहेका छन्।

‘पौरखी प्रवासी’ संसारभर छरिएका ती अब्बल नेपालीहरूको प्रतिनिधिमूलक जीवनगाथा हो। उनीहरूको कथा सुन्नु भनेको श्रम, सीप, आशा, साहस र गौरव मिसिएको हाम्रो समयको सांस्कृतिक इतिहास पढ्नु जस्तै हो।

आउनुहोस्, हामी संसारभर छरिएका ती ‘पौरखी प्रवासी’हरूको कथा सुनौं, जसले आफ्नो मेहनतले नेपालको शिर उँचो बनाएका छन्ः

लन्डन । बेलायतको साउथ डाउन्स राष्ट्रिय निकुञ्ज किनारमा अवस्थित ह्याम्पसायर काउन्टीको एउटा शहर विनस्टर धेरै अर्थमा आकर्षणको केन्द्रविन्दु मानिन्छ। यो मध्ययुगीन विनचेस्टर क्याथेड्रलका लागि पनि परिचित छ, जहाँ १७औं शताब्दीको मोर्ली पुस्तकालय, विनचेस्टर बाइबल र नर्मन क्रिप्ट छ।

यही सुन्दर शहरमा एक नेपाली सेलिब्रेटी बारिस्टाले हजारौं विदेशीलाई कफीमार्फत आकर्षित गरिरहेका छन्। उनी हुन्, ३८ वर्षीय धन तामाङ। जसले मे २०२४ मा ‘कबी’ र २४ कै डिसेम्बरमा क्याफे ‘निडेड’ नामका कफीसप खोले विनचेस्टर हाई स्ट्रिटमा।

‘कबी’ साउथ इंग्ल्यान्डमध्येकै एक ठूलो कफीसप भएको उनको दाबी छ। उनले सप्ताहान्तको दुई दिनमा मात्र झन्डै १२०० ग्राहकलाई सर्भ गर्ने बताए।

धनकै भनाइमा झन्डै १० लाख पाउन्ड लगानीमा खुलेका यी दुई कफीसपमा ग्राहक झुम्मिनुको मुख्य कारण हो, धन २०१३ देखि २०१७ सम्मको यूके लाट्टे आर्ट च्याम्पियन हुन् भने सन् २०१६ मा चीनको सांघाईमा आयोजित वर्ल्ड लाट्टे आर्ट च्याम्पियनसिपका फाइनलिस्ट।

सन् २०२२ देखि २०२३ को अवधिमा कफी महोत्सवकै लागि झन्डै ५० वटा देश पुगेको उनले बताए। धनले कैयौं कम्पनीमा ग्लोबल ब्रान्ड एम्बासडरको भूमिका पनि निर्वाह गरेका छन्।

रङ र पृथक् डिजाइनको ‘टेक्निक’ प्रयोग गरेर उनले विश्वभर आफ्नो कफी कला प्रदर्शन गरिरहेका छन्।

त्यसो त उनका दुई व्यवसायले कफी, स्यान्डविच वा लन्च र ब्रेकफास्ट मात्र बेचेका छैनन्, १०० सिट क्षमताको ‘कबी’ भित्र बेग्लै तलामा छ कफी र कुकिङ स्कुल पनि। उनको कफी प्रयोगशालामा तालिम लिने विद्यार्थीको पनि त्यस्तै भीड लाग्ने गर्छ।

धनले सन् २०२६ मा नेपाल र दुबईमा कफीसप खोल्ने तयारी भइरहेको सुनाए। युरोपियन कफी ट्रेन्ड र अनुभव आफ्नो मातृभूमिमा लैजान लागेको उनी बताउँछन्। कफी कल्चर बढेपछि यसको बिजनेस ग्रोथ समेत बढेको अनुभव उनको छ। भविष्यमा फ्रेन्चाइज मोडलमा जाने योजना पनि नभएको होइन। ‘पहिला ब्रान्ड, बिजनेस स्थापित भएपछि मानिसहरूले आफैं माग्छन् भन्ने लाग्छ’, उनी भन्छन्।

धनको परिचय व्यवसायीका रूपमा मात्र नभई लेखकका रूपमा पनि छ। उनका दुई पुस्तक सर्वाधिक बिक्री भएका कृतिमा गनिन्छन्।

धनले सन् २०१७ मा ‘कफी आर्ट’ नामक किताब निकाले जुन ७ भाषामा उपलब्ध छ।

अंग्रेजी, फ्रेन्च, डच, जर्मनी, हंगेरी, चाइनिज र इन्डोनेसियन भाषामा प्रकाशित उक्त किताब अमेजनमा कफी र बेभरेज सेक्सनमा बेस्ट सेलर छ। अहिलेसम्म उक्त पुस्तक विश्वभर तीन लाखप्रति बिकिसकेको उनले सुनाए।

किताब कफी आर्ट र कन्सेप्टमा केन्द्रित छ।

त्यस्तै, जनवरी २०२४ मा धनले दोस्रो पुस्तक निकाले ‘कफी आर्ट मास्टरक्लास’।

अक्टोपसले प्रकाशन गरेको १२८ पृष्ठको उक्त पुस्तकमा ५० बढी अविश्वसनीय खालका कफी डिजाइन समावेश छन्।

कफी आर्ट महत्वपूर्ण ठान्छन् उनी। ‘तपाईं कफी पिउनु अगाडि त देख्नुहुन्छ नि ! त्यसकारण प्रिजेन्टेसन आकर्षक हुनैपर्छ’, उनले भने ।

खाडी हुँदै विश्वमा ख्याति

काभ्रे तिमालमा जन्मे/हुर्केका धन एसएलसी सकेर २०५८ सालतिर काठमाडौं छिरे। ठहिटीको हिरालाल क्याम्पसमा पढाइ र ठमेलस्थित एउटा कार्गो कम्पनीमा काम गरेर महिनामा २५०० रुपैयाँ कमाउन थाले।

२० वर्ष टेक्दै गर्दा ब्रिटिस लाहुरे बन्ने सपना बुने तर त्यो सपना चकनाचुर भएपछि धन म्यानपावर कम्पनीलाई दुई लाख रुपैयाँ बुझाएर खाडी मुलुक कुवेत छिरे। सन् २००६ तिर कुवेत हान्निएका धनसँग सीप भने केही थिएन। त्यसकारण सुरुका दुई महिना त बेरोजगार नै रहे।

कफीको ‘क’ पनि मेसो नपाएका उनले कुवेतमै लाट्टे, क्यापाचिनो, अमेरिकानो नाम सुनेका थिए। अमेरिकी चेन यूएस ग्रिन बिन्स कफीबाट कफी यात्रा सुरु भएको उनी स्मरण गर्छन्। त्यहाँ दुई वर्ष काम गर्दा धनले धेरै सिके।

दुई वर्षको कन्ट्रयाक्ट सकिएपछि मे २००८ मा नेपाल फर्किएका धनले फर्कंदा साथमा ह्यान्ड बुकहरू लगेका थिए। यसले गर्दा उनी नेपालमा आफैं कफी बनाउने प्रशिक्षण दिन थाले। कालान्तरमा काम गर्दै आफ्नै हयान्ड बुकसमेत निकाले। गेट कलेज धुम्बाराही र ठमेलको द फ्याक्ट्रीमा सिकाउन पनि थाले।

यही बेला २० लाख रुपैयाँ ऋण गरेर सन् २०१० फेब्रुअरीमा विद्यार्थीको डिपेन्डेन्ट भिसामा बेलायत आए धन। लन्डन उत्रिने बित्तिकै जीवन संघर्षपूर्ण हुने नै भयो किनकि, मान्छेले सोचे जस्तो रूखमा पाउन्ड फल्ने अवस्था थिएन। नेपालबाट ऋण लिएको पैसा साहुले माग्न थालिसकेका थिए।

राम्रो काम पाउन अंग्रेजी भाषा गतिलो पनि थिएन। अंग्रेजी फिल्म हेर्ने र लाइब्रेरी गएर किताब पढ्न थालेपछि धनको अंग्रेजी सुधार हुँदै गयो। बेलायत आएदेखि नै कफीसपमा काम गर्ने धोको राखेका धनले गेल्स बेकरीमा काम थाले र डेढ वर्षमै असिस्टेन्ट म्यानेजर बने।

उनले सन् २०११ सुरुतिर हन्स्लो वेस्ट रेल स्टेसन छेउमा मःम बनाएर बिक्री गर्न सुरु गरे। ८ महिनाजति मःम बेच्दा पैसा राम्रै कमाइ भए पनि भिसा समस्याले भौंतारिदै इंग्ल्यान्डको विनचेस्टर सर्ने सोच बनाए। भाग्यवश क्याराकोली कफी हाउसले वर्क परमिट (टियर टु भिसा) अफर गर्दै बस्ने फ्ल्याट पनि दिने बताएपछि उनका दिन फिरे।

क्याराकोली कफी हाउसले खोलेको दोस्रो सपमा हेड बारिस्टाका रूपमा अवसर पाएका उनी सन् २०१३ मा ब्रान्च म्यानेजर भए। त्यही वर्ष लन्डन कफी फेस्टिबलमा भएको यूके लाट्टे आर्ट च्याम्पियसिपमा च्याम्पियन बने।

‘हरेक बारिस्टाको च्याम्पियन बन्ने सपना हुन्छ। मलाई त्यही टाइटलले विश्वभर चिनायो। धेरै अन्तर्राष्ट्रिय मिडियामा छाएँ, तलब बढ्यो। भनौं, जिन्दगीको यात्रामा ‘यू टर्न’ गराइदियो’, उनले सुनाए।

‘यूके लाट्टे आर्ट च्याम्पियसिप’मा लगातार ५ वर्ष टाइटिल जितेपछि उनले कहिल्यै पछाडि फर्कनु परेन।

मार्च २०१६ मा धनले विनचेस्टरमा सानो लगानीमा ‘कफी ल्याव यूके’ नामको कफीसप खोले। विजनेस सुरु गरेको पहिलो वर्ष नै विनचेस्टर, साउथ ह्याम्पटन लगायत शहरमा ५ वटा कफीसप सञ्चालनमा ल्याए।

कोभिड महामारी अगाडि उनका १३ वटा कफीसप, एउटा बेकरी र एउटा डिटी कफी रोस्ट्री थियो। तर कोभिड लकडाउनमा ती पसल सबै बन्द गर्नुपर्दा आफ्नो झन्डै २ मिलियन पाउन्ड घाटा भएको उनले स्मरण गरे।

अनेक उतारचढाव छिचोल्दै धनले सन् २०२१ मा ठूलो लगानीमा विनचेस्टर र इप्सविचमा ‘कफी ल्याव यूके’ नाममा दुईवटा कफीसप खोले। तर सोचे जस्तो भएन। संकट नै संकट आइलागेपछि सन् २०२२ मा कफी ल्याव यूकेको सीईओबाट राजीनामा दिएर आफ्नो सबै सेयर बेचे।

करिब दुई वर्ष विश्राम लिएपछि धनले ‘कबी’ र ‘निडेड’ सुरु गरेका हुन्, जुन अहिले पिकमा छन्। व्यवसायमा उतारचढाव आए पनि हरेस खान नहुने उनको सुझाव छ। व्यावसायिक सफलताका लागि कडा परिश्रम र समर्पण नै मूलमन्त्र ठान्छन् धन।

लेखक
नवीन पोखरेल

नवीन पोखरेल अनलाइनखबरका लागि बेलायतका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?