+
टी-२० विश्वकप छनोट :

जापानमाथि नेपालको जित, सुपर सिक्समा २ अंक जोडियो

२०८२ असोज  २४ गते १९:२८ २०८२ असोज २४ गते १९:२८
जापानमाथि नेपालको जित, सुपर सिक्समा २ अंक जोडियो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटमा जापानलाई ५ विकेटले हराएको छ।
  • नेपालले १३२ रनको लक्ष्य २ ओभर बाँकी छँदा ५ विकेटको क्षतिमा भेट्टाएको हो।
  • नेपालले सुपर सिक्समा २ अंकका साथ सुरुवात गर्ने भएको छ।

२४ असोज, काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । शुक्रबार साँझ सम्पन्न खेलमा नेपालले जापानलाई ५ विकेटले हराएको हो ।

जापानले दिएको १३२ रनको लक्ष्य नेपालले २ ओभर बाँकी छँदा ५ विकेटको क्षतिमा भेट्टायो । आसिफ शेखले सर्वाधिक ३८ रन बनाए ।

गुल्शन झा २८ तथा दीपेन्द्रसिंह ऐरी १४ रनमा अविजित रहे । कुशल भुर्तेलले २१ तथा कप्तान रोहित पौडेलले १८ रन बनाए ।

९० रनमा ५ विकेट गुमाएर नेपालको इनिङ केहीबेर धर्मराएपनि गुल्शन र दीपेन्द्रले संयमित ब्याटिङ गर्दै जित दिलाए ।

जापानका शोमा स्लेटरले ४ ओभरमा २२ रन दिएर २ विकेट लिए । साकुरानो थोमस, साबोरिस रविचन्द्रन र डेक्लान सुजुकीले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जापानले २० ओभरमा ८ विकेट गुमाएर १३१ रन बनाएको थियो ।

जापानका लागि कप्तान केन्डल काडोवाकी फ्लेमिङले सर्वाधिक ६० रन बनाए । ११ रनमा पहिलो विकेट गुमाएपछि उनले इसार रहमानसँग मिलेर दोस्रो विकेटका लागि ८६ रनको साझेदारी गरेका थिए ।

रहमानले ३१ रन बनाएर आउट भए । त्यसको ४ बलपछि कप्तान फ्लेमिङ पनि आउट भए जतिबेला जापानको स्कोर ९९-३ थियो । त्यहाँबाट नेपालले नियमित अन्तरालमा विकेट लिएपछि जापान १८औं ओभरमा १११-६ को अवस्थामा पुगेको थियो । बेन्जामिन इटो डेभिसले अन्त्यतिर १७ रन बनाए ।

नेपालका लागि गुल्शन झाले ४ ओभरमा २० रन दिएर २ विकेट लिए । सन्दीप लामिछानेले ४ ओभरमा २५ रन दिएर २ विकेट लिए ।‍ सोमपाल कामी र नन्दन यादवले १-१ विकेट लिए ।

नेपालले जापानलाई हराएसँगै सुपर सिक्समा २ अंकका साथ सुरुवात गर्ने भएको छ । दुवै टोली यसअघि नै सुपर सिक्समा पुगिसकेका छन् ।

टी-२० विश्वकप छनोट नेपाली क्रिकेट टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय