+
+
Shares
पौरखी प्रवासी :

नेपालदेखि नासासम्मः लुजेन्द्रको मंगल खोज यात्रा

१५ वर्षकै उमेरमा अमेरिका गएका काठमाडौंका लुजेन्द्र जर्जिया टेक, एटलान्टाबाट पीएचडी गर्दै जोन हप्किन्स विश्वविद्यालयमा पोस्टडक्टरल अनुसन्धानकर्ता बने। रटगर्स विश्वविद्यालयमा ग्रह-विज्ञानका सहायक प्राध्यापक रहेका लुजेन्द्रले मंगल ग्रहसहित अन्य ग्रहहरूमा अनुसन्धान गरी ४० भन्दा बढी वैज्ञानिक पेपरमा नाम दर्ज गराइसकेका छन्।

वसन्त रानाभाट वसन्त रानाभाट
२०८२ कात्तिक २१ गते ९:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली मूलका डा. लुजेन्द्र ओझा अमेरिकामा ग्रह-विज्ञानमा सहायक प्राध्यापक बनेका छन् र मंगल ग्रहमा तरल पानीको सम्भावना पुष्टि गर्ने अनुसन्धानमा सक्रिय छन्।
  • सन् २०११ मा प्रकाशित अनुसन्धानले मंगल ग्रहमा पानी तरल अवस्थामा पनि हुनसक्छ भन्ने निष्कर्ष ल्यायो र नासाले औपचारिक प्रेस विज्ञप्ति जारी गर्‍यो।
  • लुजेन्द्रले जर्जिया टेकबाट पीएचडी पूरा गरी जोन हप्किन्स विश्वविद्यालयमा पोस्टडक्टरल अनुसन्धान गरे र अहिले रटगर्स विश्वविद्यालयमा कार्यरत छन्।

भूमण्डलीकरणको यो युगमा संसार साँघुरिएको छ र मानिसको यात्रा अब भौगोलिक सीमाभित्र कैद छैन। अवसरको खोजीमा होस् वा ज्ञान र सीपको यात्रामा, नेपालीहरू पनि यही विश्वव्यापी लहरको एउटा अभिन्न अंग बनेका छन्। पृथ्वीका विभिन्न भूभागमा पुगेर उनीहरूले आफ्नो श्रम, बुद्धि र साहस ले नयाँ समाजमा अटल परिचय स्थापित गरेका छन्। तर, जतिसुकै टाढा पुगे पनि, उनीहरूको नाभी अझै पनि मातृभूमिमै गाँसिएको छ- भाषा, संस्कृति र भावनाको अटुट धागोमार्फत्।

अनलाइनखबरले सुरु गरेको ‘पौरखी प्रवासी’ शृङ्खला त्यही गौरवमय यात्राको गाथा हो। यो केवल व्यक्तिगत संघर्ष र पसिनाको कथा मात्र होइन, बरू विश्व मञ्चमा नेपालको सामूहिक पहिचानलाई उचाइ दिने प्रयासको दस्तावेज हो। हरेक प्रवासी नेपाली आफ्नो गन्तव्यमा नेपालको ‘ग्लोबल एम्बेसडर’ बनेर उभिएका छन्। उनीहरूले विश्वलाई देखाइरहेका छन्, ‘नेपालीहरू मेहनती, सहिष्णु र प्रतिभावान हुन्छन्।’

प्रवासी नेपालीहरूको महत्व केवल आर्थिक पक्षमा मात्र सीमित छैन, यद्यपि रेमिटेन्सले नेपालको अर्थतन्त्रको मेरुदण्डलाई सजीव राखेको छ। विदेशको तातो घाममा पसिना बगाउने श्रमिकदेखि अन्तर्राष्ट्रिय मञ्चमा उदाएका विज्ञ, उद्यमी र कलाकारहरूसम्म, उनीहरू सबैले नेपाललाई विश्वको नक्सामा चिनाएका छन्। उनीहरूको ज्ञान, सीप र नेतृत्व क्षमतालाई नेपालको समृद्धिको यात्रासँग जोड्नु अनिवार्य छ ।

सामाजिक र सांस्कृतिक दृष्टिले, प्रवासीहरू नेपालकै बहुरंगी स्वरूपलाई नयाँ ठाउँमा पुनः फूलाइरहेका छन्। चाहे नयाँ पुस्तामा नेपालीपनको बीउ रोप्ने कुरा होस् वा परदेशमा दशैँ–तिहार र तीजको उल्लास भर्ने कुरा, यी सबै अभ्यासले नेपालीपनलाई भौगोलिक सीमाभन्दा बाहिर फैलिएको ‘विश्व-चेतना’ बनाइदिएको छ।

जब कोही आफ्नो जन्मभूमिबाट टाढा जान्छ, उसले आत्मपहिचानलाई पुनःपरिभाषित गर्नुपर्छ। नयाँ समाज र संस्कृतिमा घुलमिल हुँदै उसले आत्मान्वेषणको यात्रा गर्छ। यही प्रक्रियामा नेपालीहरू केवल आर्थिक योगदानकर्ता मात्र नभई विश्व-संस्कृतिको सक्रिय अंग बनेका छन्, जसले भूमण्डलीय संस्कृतिमा नेपाली रङ घोलिरहेका छन्।

‘पौरखी प्रवासी’ संसारभर छरिएका ती अब्बल नेपालीहरूको प्रतिनिधिमूलक जीवनगाथा हो। उनीहरूको कथा सुन्नु भनेको श्रम, सीप, आशा, साहस र गौरव मिसिएको हाम्रो समयको सांस्कृतिक इतिहास पढ्नु जस्तै हो।

आउनुहोस्, हामी संसारभर छरिएका ती ‘पौरखी प्रवासी’हरूको कथा सुनौं, जसले आफ्नो मेहनतले नेपालको शिर उँचो बनाएका छन्ः

बार्सिलोना। डा. लुजेन्द्र ओझा (३६) काठमाडौंका साँघुरा गल्लीमा हुर्किए । सुदूरपश्चिम डोटीको जरा बोकेका उनी १५ वर्षको उमेरमा अमेरिका गए, जहाँ नयाँ भाषा, संस्कृति र शिक्षा पद्धतिसँग जुझ्दै आफ्नो भविष्य निर्माण गरे। र, विश्वप्रसिद्ध ग्रह-वैज्ञानिक बने ।

बाल्यकालमा संगीत, नाटकमा रुचि राख्ने लुजेन्द्रको वैज्ञानिक मार्ग गणित र विज्ञानप्रतिको जिज्ञासाबाट सुरु भयो। हाइस्कुल र विश्वविद्यालयको अध्ययन क्रमले उनलाई अनुसन्धानतर्फ डोर्यायो। एरिजोना विश्वविद्यालयको प्रयोगशालामा काम गर्दा उनले हाइराइज क्यामेराबाट मंगल ग्रहमा पठाइएका तस्वीरहरू विश्लेषण गर्न थाले।

सन् २०११ मा प्रकाशित अनुसन्धानले मंगलमा पानी केवल बरफको रूपमा नभई तरल अवस्थामा पनि हुनसक्छ भन्ने निष्कर्ष अघि सारेको थियो। यस मिसनमा सक्रिय सहभागिताले लुजेन्द्रलाई अन्तर्राष्ट्रिय वैज्ञानिक समुदायमा चिनायो।

पेपर सार्वजनिक भएपछि नासाले आधिकारिक प्रेस विज्ञप्ति जारी गर्यो। त्यससँगै सीएनएन, बीबीसी, फक्स जस्ता अन्तर्राष्ट्रिय मिडियाले यसलाई मुख्य समाचार बनाए, र नेपाली मिडियामा पनि व्यापक चर्चा भयो।

लुजेन्द्रले जर्जिया टेक, एटलान्टाबाट पीएचडी पूरा गरे र जोन हप्किन्स विश्वविद्यालयमा पोस्टडक्टरल अनुसन्धानकर्ता बने। अहिले उनी रटगर्स विश्वविद्यालयमा ग्रह-विज्ञानका सहायक प्राध्यापक छन्। मंगल ग्रहसहित अन्य ग्रहहरूमा अनुसन्धान गर्दै उनले ४० भन्दा बढी वैज्ञानिक पेपरमा नाम दर्ज गराइसकेका छन्।

उनको सन्देश सरल छ, तर गहिरो छ, ‘जिज्ञासा जोगाउनुहोस्। जीवन, पढाइ, पेसा, संघर्ष- सबैभन्दा अघि जिज्ञासा राख्नुहोस्। पैसा मात्र जीवनको लक्ष्य होइन।’ लुजेन्द्रको कथा केवल व्यक्तिगत सफलता होइन। यो एक जिज्ञासु नेपाली युवाद्वारा असम्भव देखिने लक्ष्यलाई सम्भव बनाउने प्रेरणादायी अनुसन्धानको कथा हो- काठमाडौंका गल्लीदेखि मंगल ग्रहसम्मको।

काठमाडौंको गल्लीदेखि बाल्यकालका सम्झनासम्म

लुजेन्द्र ओझा २०४६ सालमा काठमाडौंमा जन्मिएका हुन् । उनको पुर्ख्यौली घर सुदूरपश्चिम डोटीमा पर्छ, जसले उनलाई जरा र पहिचान दिएको छ। बाल्यकाल काठमाडौंका विभिन्न स्थानमा बिते पनि लुजेन्द्र आफू नयाँबजार नजिकको मैती भन्ने ठाउँमा हुर्केको सम्झन्छन्।

‘मैतीको नाम सुन्दा धेरैलाई मन्दिर सम्झना आउँछ, तर मेरो लागि त्यही बाल्य-स्मृतिको केन्द्र हो,’ उनी भन्छन्। गल्ली, पिङ, पटका, क्रिकेट खेल र दशैं-तिहारका रमाइला क्षणहरू अझै ताजा छन्।

‘हामी भाडामा बस्थ्यौं, पछि बुबाले घर बनाउनुभयो,’ उनी सम्झन्छन्। आमा दुग्ध विकास संस्थानमा र बुबा खानी विभागमा काम गर्नुहुन्थ्यो। ‘मध्यमवर्गीय परिवारमा हुर्किनुमा संघर्ष त थियो, तर म सधैं खुसी थिएँ,’ लुजेन्द्र भन्छन्।

स्कुल जीवन: किताबभन्दा बाहिरका रङ

लुजेन्द्रको अध्ययन यात्रा लैनचौरस्थित आदर्श योगहरि माध्यमिक विद्यालयबाट सुरु भयो, जहाँ उनले तीन कक्षासम्म पढे। त्यसपछि ज्ञानेश्वरस्थित ग्यालेक्सी पब्लिक स्कुलतिर गए र कक्षा ४ देखि ९ सम्म त्यहीँ अध्ययन गरे।

त्यो समयको शिक्षा पद्धति कडा थियो। उनी भन्छन्, ‘विद्यार्थीले लाइन क्रस गर्यो भने पिटाइ सामान्य मानिन्थ्यो। जिज्ञासालाई अनुशासनको उल्लङ्घन मानिन्थ्यो।’

यसै वातावरणमा उनले भेदभावको अनुभव पनि गरे। ‘कालो छालाको मान्छे देख्ने बित्तिकै यो भारतीय वा तराईको हो भनेर टिप्पणी हुन्थ्यो। कतिपय अवस्थामा शिक्षकबाट समेत यस्तो व्यवहार देख्दा अचम्म लाग्थ्यो,’ उनी सम्झन्छन् ।

‘कालो छालाको मान्छे देख्ने बित्तिकै यो भारतीय वा तराईको हो भनेर टिप्पणी हुन्थ्यो। कतिपय अवस्थामा शिक्षकबाट समेत यस्तो व्यवहार देख्दा अचम्म लाग्थ्यो,’

यो कठोर शिक्षा पद्धतिले उनलाई बुझायो- घोकन्ते प्रणालीले सिर्जनात्मक सोचलाई थिच्छ। तर त्यही चुनौतीले लुजेन्द्रलाई अनुसन्धानतर्फको बाटो पनि देखायो। स्कुल जीवन केवल किताबमा सीमित थिएन। लुजेन्द्र ब्यान्डका गिटारिस्ट थिए र स्कुलका नाटकमा पनि भाग लिन्थे। उनी मुस्कुराउँदै भन्छन्, ‘मलाई सानैदेखि संगीतमा रुचि थियो। गितार अझै पनि बजाउँछु।’

पितासँग अमेरिका: छोटो यात्रा, ठूलो मोड

सन् २००५ मा लुजेन्द्र जम्मा ७ दिनका लागि पितासँग अमेरिका पुगे। उनका पिता थिए, भूविज्ञानका विद्वान टंकप्रसाद ओझा।तर, त्यो छोटो यात्रा नै उनको जीवनको निर्णायक मोड बन्यो। नेपालमा छोडिएको गितार र अधुरो सपना अमेरिका पुग्नासाथ विज्ञान र खोजको दिशामा रूपान्तरण हुन थाल्यो।

उनी सम्झन्छन्, ‘मेरो बुवा अमेरिकनहरूसँग काम गर्नुहुन्थ्यो। दिदीलाई अमेरिकाको विश्वविद्यालयबाट पूर्ण छात्रवृत्ति पनि मिलेको थियो। तर म भर्खर ९ कक्षाको अन्त्यतिर थिएँ। बुबाले केही दिन स्कुल गएर हेर भन्नुभयो-मन परे बस, नत्र नेपाल फर्केर पढ। त्यसपछि मैले यतै बस्ने निर्णय गरेँ।’

आधा लत्ताकपडा नेपालमै थियो, संस्कृति र अनुहार अपरिचित। ‘न मेरो आफ्नो वर्णको मान्छे नै देखिन्थ्यो, न परिचित वातावरण। १५ वर्षको उमेरमा यो नयाँ सुरुवात, ठूलो चुनौती थियो,’ उनी भन्छन्।

नेपालमै हुँदा पनि लुजेन्द्रको सपना सधैं विज्ञानतर्फ केन्द्रित थियो। बाल्यकालदेखि नै गणित, विज्ञान र खोज-अनुसन्धानमा गहिरो रुचि राख्ने उनी एरिजोना स्टेटको टुसान हाइस्कुलमा पढ्दा यी विषयमा प्रगाढ समझ बनाउँदै गए।

त्यसपछि उनले युनिभर्सिटी अफ एरिजोनामा स्नातक तहमा अध्ययन गरे, जहाँ धर्म र दर्शन पनि पढे। उनी भन्छन्, ‘धर्म र दर्शनले मेरो वैज्ञानिक दृष्टिकोणलाई अझ स्पष्ट बनायो; विज्ञान केवल ज्ञान होइन, सोच्ने र जिज्ञासा जगाउने साधन हो।’

लुजेन्द्रका अनुसार ग्रह-विज्ञान (प्यानेटरि साइन्स) मा विशेषज्ञता हासिल गर्न विज्ञानका सबै क्षेत्रको ज्ञान आवश्यक छ।

लुजेन्द्रका अनुसार ग्रह-विज्ञान (प्यानेटरि साइन्स) मा विशेषज्ञता हासिल गर्न विज्ञानका सबै क्षेत्रको ज्ञान आवश्यक छ। ‘ग्रह बुझ्न रसायन, भौतिक र कतिपय अवस्थामा जीवविज्ञानको समझ हुनुपर्छ,’ उनी भन्छन्। यही कारणले यसलाई अन्तर्विषयक विज्ञान मानिन्छ।

अमेरिकामा १७–१८ वर्षकै उमेरमा पनि विद्यार्थीलाई अनुसन्धानमा सहभागी हुने अवसर मिल्छ। लुजेन्द्रले विश्वविद्यालयमा भर्ना भएपछि पढाइसँगै काम पनि सुरु गरे। सुरुवातमा उनी ग्रोसरी स्टोरमा हप्तामा २०–३० घन्टा काम गर्थे, त्यही समयमा उनी पूर्णकालीन विद्यार्थी पनि थिए।

‘त्यो दिनचर्याले मलाई मिहिनेत, अनुशासन र समय व्यवस्थापन सिकायो। र, यही सिप पछि अनुसन्धानका चुनौतीहरू पार गर्न सबैभन्दा उपयोगी साबित भयो,’ उनी भन्छन्।

नासासँगको पहिलो कदम

लुजेन्द्र भन्छन्, ‘नासामा थुप्रै वैज्ञानिक काम गर्छन्, र बजेट हरेक वर्ष फरक हुन्छ- अमेरिकी अर्थतन्त्रअनुसार खासै ठूलो रकम होइन। तर सही योजना र सक्षम टिमसँग मिलेर प्रयोग गरे पर्याप्त हुन्छ।’ उनको अनुभवले देखाउँछ, नासामा काम गर्न नासाकै कर्मचारी हुनु अनिवार्य छैन।

विभिन्न विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले पनि नासाको मिसन पूरा गर्ने क्षमता देखाउँछन्। ‘हामीसँग यति पैसा छ, अब आउने १० वर्षमा के गर्ने भनेर योजना बनाइन्छ। हाम्रो टिमले काम गर्नसक्छ भनेर क्षमता र विश्वास देखाएपछि मात्र कन्ट्र्याक पाउँछ,’ उनी थप्छन्।

सन् २००५ मा सुरु भएको मिसन मंगल ग्रहका लागि निर्णायक साबित भयो। ‘म त्यो बेला हाइस्कुलमा थिएँ। हाइराइज क्यामेरा पहिले नै मंगल ग्रहमा पठाइसकिएको थियो, र पृथ्वीबाट झन्डै ८ महिनामा डेटा पठाउन थाल्यो,’ लुजेन्द्र सम्झन्छन्।

सन् २००९ मा उनी त्यही मिसनमा आबद्ध भए। सुरुमा डेटा भ्यालिडेटर र डाटा एनालिस्टको भूमिका निभाए। ‘काम दोहोरिने किसिमको थियो। तर म केवल डेटा हेर्ने होइन, वास्तविक अनुसन्धानमा संलग्न हुन चाहन्थें। मैले प्रमुख अनुसन्धानकर्ता एल्फ्रेड म्याकइउएनसँग भेटेँ, सुझाव राखेँ र उहाँले स्वीकृति दिनुभयो। त्यसपछि मैले मूल कामसँगसँगै थप अनुसन्धान सुरु गरेँ,’ लुजेन्द्र भन्छन्।

त्यो चर्चित अनुसन्धान

मंगल ग्रहमा पानीको अस्तित्व नयाँ खबर होइन। ग्रहका नर्थ र साउथ पोलमा बरफको विशाल तह रहेको तथ्य अघि नै प्रमाणित भइसकेको थियो। तर २०११ मा प्रकाशित एक वैज्ञानिक पेपरले पहिलोपटक मंगल ग्रहमा पानी केवल बरफको रूपमा मात्रै होइन, तरल अवस्थामा पनि हुनसक्छ भन्ने निष्कर्ष अघि सारेपछि अन्तर्राष्ट्रिय वैज्ञानिक समुदायमा नयाँ बहस सुरु भयो।

यस अनुसन्धान टोलीमा नेपाली मूलका वैज्ञानिक लुजेन्द्र पनि संग्लन थिए। उनी भन्छन्, ‘हामीले पुष्टि गरेको कुरा, मंगलमा पानी बरफको रूपमा मात्रै होइन, तरल अवस्थामा पनि हुनसक्छ।

यो निष्कर्ष हाइराइज क्यामेराबाट प्राप्त तस्वीरहरूको विश्लेषणपछि तयार गरिएको हो। उनी भन्छन्, ‘हामीले लगभग एक वर्षसम्म पुनः-परीक्षण मात्र गर्यौँ। विज्ञानमा परिणामभन्दा प्रमाणको विश्वसनीयता ठूलो हुन्छ।’

‘हामीले लगभग एक वर्षसम्म पुनः-परीक्षण मात्र गर्यौँ। विज्ञानमा परिणामभन्दा प्रमाणको विश्वसनीयता ठूलो हुन्छ।’

उक्त पेपर साइन्स जर्नलमा प्रकाशित भयो- जहाँ छापिनु वैज्ञानिक जगतमा ‘स्वतन्त्र मान्यता’ प्राप्त गर्नु बराबर मानिन्छ। लुजेन्द्रका अनुसार, रिपोर्ट लेखेर पठाइयो भन्दैमा छापिन्छ भन्ने हुँदैन। विश्वभरका समीक्षकहरूले आलोचनात्मक समीक्षा गर्छन्। त्यही चरण पार गरेपछि मात्र प्रकाशन सम्भव हुन्छ।’

पेपर सार्वजनिक भएपछि नासाले औपचारिक प्रेस रिलिज जारी गर्‍यो। त्यसपछि सीएनएन, बीबीसी, सीनेटफक्सलगायत अन्तर्राष्ट्रिय मिडियाले यसलाई प्रमुख समाचार बनाए। नेपाली मिडियामा पनि यो खबर विशेष चर्चामा आयो-किनकि, अनुसन्धान टोलीमा एक नेपाली वैज्ञानिक पनि सक्रिय रूपमा संलग्न थिए।

निरन्तर अनुसन्धान

मंगल ग्रहको अनुसन्धानबाट सानै उमेरमा चर्चा कमाएका लुजेन्द्र ओझा आज पनि अनुसन्धानमै व्यस्त छन्। उनी अब केवल मंगल ग्रहमा सीमित नभई, सौर्यमण्डलका अन्य ग्रहहरू, विशेषगरी सबैभन्दा ठूलो ग्रह बृहस्पति र यसको चन्द्रमा युरोपाबारे पनि खोज-अनुसन्धान गरिरहेका छन्।

उनी भन्छन्, ‘आजभन्दा एक-दुई वर्षअघि म हाम्रो ग्रहभन्दा बाहिरका अरू ग्रहहरूमा काम गरिरहेको थिएँ। म एकै विषयमा लगातार बस्ने किसिमको मान्छे होइन। नयाँ अनुसन्धान, नयाँ जिज्ञासा, नयाँ चुनौती- यही कारणले म सधैं फरक-फरक विषयमा काम गर्छु।’

सन् २०११ को मंगलसम्बन्धी अनुसन्धानले विज्ञान समुदायमा ठूलो चर्चा पाएको थियो। उनी भन्छन्, ‘त्यो अनुसन्धानपछि केही नयाँ डाटा त्यति ठूलो मात्रामा आएको छैन। नयाँ स्पेसक्राफ्ट पुगेको छैन, त्यसैले अतिरिक्त अपडेट सीमित छन्। तर हाइराइज क्यामेराले अझै पनि उत्कृष्ट काम गरिरहेको छ। पानीको संकेत देखिएका ती ठाउँहरूमा अहिले पनि पानी बगिरहेको देखिन्छ। अन्य प्रविधिले त्यस्तो परीक्षण गरेको छैन, मानवले त्यहाँ गएर टेस्ट गरेको पनि छैन।’

‘मैले अन्य ४० भन्दा बढी वैज्ञानिक अनुसन्धानमा काम गरिसकेको छु, जसको विवरण धेरै लामो छ।’

लुजेन्द्र थप्छन्, ‘मेरो हालको अनुसन्धान मंगल बाहेक अन्य ग्रहहरूमा केन्द्रित छ। त्यो बेलाको मिसनले मलाई ठूलो अनुभव र मान्यता दियो। त्यसबाहेक, मैले अन्य ४० भन्दा बढी वैज्ञानिक अनुसन्धानमा काम गरिसकेको छु, जसको विवरण धेरै लामो छ।’

जसले उनलाई विश्वकै अग्रपंक्तिका युवा प्लानेटरी साइन्स वैज्ञानिकमध्ये एक बनाएको छ। ‘मंगल ग्रहको शोधमा मेरो रुचि केवल विज्ञानकै कारण होइन, मानव सभ्यताको भविष्य कसरी विस्तार हुन्छ भन्ने जिज्ञासाले पनि हो। पृथ्वी बाहिरको जीवन खोज्नु, आखिर आफ्नै भविष्यको सम्भावना खोज्नु हो,’ उनी भन्छन् ।

शैक्षिक यात्रा : एटलान्टादेखि रटगर्ससम्म

सन् २०१६ मा लुजेन्द्र ओझाले जर्जिया टेक, एटलान्टाबाट ‘प्लानेटरी साइन्स’ मा पीएचडी पूरा गरे। त्यसका लागि अमेरिकी सरकारको पूर्ण फेलोसिप प्राप्त गरेका थिए जुन केवल उत्कृष्ट योग्यता भएका अनुसन्धानकर्तालाई मात्रै दिइने अवसर हो।

पीएचडीपछि उनले बाल्टिमोरस्थित विश्वप्रसिद्ध जोन हप्किन्स विश्वविद्यालयमा तीन वर्ष पोस्टडक्टरल अनुसन्धानकर्ता रूपमा काम गरे। त्यही अवधिमा मंगल ग्रहदेखि अन्य ग्रहहरूको गुरुत्वाकर्षण, सतह संरचना र भौगोलिक इतिहाससँग सम्बन्धित अनुसन्धानलाई नयाँ मोड दिएका ७ वैज्ञानिक शोधपत्र प्रकाशित गरे।

उनी सम्झन्छन्, ‘विज्ञानमा सबैभन्दा ठूलो चुनौती हुन्छ- पहिले कसैले नसोचेको प्रश्न सोध्ने साहस। अनुसन्धान भनेको किताब घोक्नु होइन, नयाँ उत्तर खोज्ने यात्रामा लाग्ने आत्मविश्वास हो।’ अहिले लुजेन्द्र अमेरिका न्युजर्सीस्थित रटगर्स विश्वविद्यालयमा ग्रह–विज्ञानका सहायक प्राध्यापक छन्।

मूल जरा नेपालमै

‘नेपालमा जन्मेको, नेपालमै हुर्केको मान्छे हुँ म। १५ वर्षको उमेरमा अमेरिका आएको थिएँ, तर जरा त यहीँको हो,’ उनी भन्छन्। २० वर्ष अमेरिकामा बिताए पनि, लुजेन्द्र आफूलाई नेपालभन्दा टाढा कहिल्यै महसुस गर्दैनन्। ‘म राजनीति गर्ने मान्छे होइन, न त नीति बनाउने तहमा छु। म त ब्रह्माण्ड बुझ्ने प्रयासमा लागेको वैज्ञानिक मात्र हुँ-अलि-अलि बुझ्दैछु। तर त्यसले नेपालप्रति माया घट्दैन।’

नेपालमा अवसर अभावकै कारण युवाले देश छाड्छन् भन्ने बुझाइलाई उनी पूर्णतया अस्वीकार पनि गर्दैनन्, तर सिधै समर्थन पनि गर्दैनन्। ‘नेपालमा विश्वविद्यालय छन्, अनुसन्धान गर्न सकिने ठाउँ पनि छन्। समस्या स्रोतभन्दा बढी प्राथमिकता को हो,’ उनी भन्छन्।

यही ठाउँमा उनी नीति निर्मातालाई स्पष्ट आलोचना गर्छन्, ‘बजेट चाहिने ठाउँमा खर्च हुँदैन, नचाहिने ठाउँमा खर्च बढाइन्छ। घोकन्ते शिक्षालाई अनुसन्धानभन्दा माथि राखिन्छ। यस्तो वातावरणमा जिज्ञासु विद्यार्थी अगाडि बढ्नै सक्दैनन्।’

‘नेपाल आफैँ एउटा अनुसन्धानशाला हो। नेपालमा प्रकृतिको विविधता यस्तो छ, जुन अरू देशका वैज्ञानिकहरू नेपाली भूगोल बुझ्न अमेरिका-युरोपबाट आउँछन्।’

नेपालको शिक्षा प्रणालीबारे लुजेन्द्र भन्छन्, ‘कसको क्षमता के हो भन्ने पहिचान गर्ने संस्कार नै छैन। हामीले सबैलाई एउटै ढाँचामा- डाक्टर, इन्जिनियर बनाउने सपना थोपर्छौँ । त्यसैले धेरै विद्यार्थी ‘औसत’ बन्न पुग्छन्। उत्कृष्टता जिज्ञासा नमारिएको ठाउँमा मात्र जन्मिन्छ।’

उनी थप्छन्, ‘नेपाल आफैँ एउटा अनुसन्धानशाला हो। नेपालमा प्रकृतिको विविधता यस्तो छ, जुन अरू देशका वैज्ञानिकहरू नेपाली भूगोल बुझ्न अमेरिका-युरोपबाट आउँछन्।’

उनका पिता टंकप्रसाद ओझा भूविज्ञानका विद्वान् हुन्। ‘मेरो बुबाले नेपालका भू-विविधता बुझाउन विदेशी टोली घुमाउनुहुन्थ्यो। तर हामी आफ्नै देशको क्षमतामा गर्व गर्दैनौँ। त्यो समस्याको जड मानसिकता हो, स्रोत होइन।’

उनको अन्तिम सन्देश सरल छ, ‘जिज्ञासा जोगाउनुहोस् – जे भए पनि। जीवन, पढाइ, पेसा, संघर्ष सबैभन्दा अगाडि जिज्ञासा राख्नुहोस्। पैसा मात्रै जीवनको लक्ष्य होइन।’
नेपालसँगको लुजेन्द्रको नाता पनि त्यत्तिकै संवेदनशील छ। ‘नेपाल मेरो मूल घर हो,’ उनी थप्छन्, ‘तर संसार नै हाम्रो घर हो। मन खुला भयो भने हद र सीमा कुनै अर्थ राख्दैन।’

पौरखी प्रवासी
लेखक
वसन्त रानाभाट

बसन्त रानाभाट अनलाइनखबरका युरोपका समाचार संयोजक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?