२७ मंसिर, काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनको उद्घाटन सत्रमा सहभागी भीड भन्दै शनिबार एउटै तस्वीर सामाजिक सञ्जालमा भाइरल भयो ।
एमाले नेता महेश बस्नेतले शनिबार दिउँसो ३:२२ बजे आफ्नो सामाजिक सञ्जालमा भक्तपुरको सल्लाघारीमा भएको सभामा जनसागर उर्लिएको भन्दै भ्रामक फोटो सेयर गरेका थिए ।
सल्लाघारीमा जम्मा भएको भीडको केही क्लोज्ड र एउटा ड्रोनबाट कैद गरिएको जस्तो देखिने एरिएल तस्वीर पोस्ट गरेका थिए बस्नेतले ।

बस्नेतपछि एमाले पोलिटब्यूरो सदस्य शान्ता चौधरीले पनि सोही तस्वीर आफ्नो फेसबुकमा पोस्ट गरिन् । विगतमा पनि एमालेका सभापछि ‘फेक तस्वीर’ सेयर गर्ने गरेकी चौधरीले शनिबार पनि त्यो कार्य दोहोर्याइन् ।
सल्लाघारी सभाकै दोस्रो फेसबुक पोस्टमा पनि चौधरीले अवास्तविक तस्वीर पोस्ट गरेको देखिन्छ ।

एमालेका केही ठूला नेताहरूसँगै भातृ संगठन प्रेस चौतारीका अध्यक्ष गणेश पाण्डे पनि फेक तस्वीर फैलाउने कार्यमा अछुतो रहेनन् । महेश बस्नेतले भाइरल गराएको तस्वीर नै पाण्डेले पनि आफ्नो फेसबुकमा साझा गर्न भ्याए । तर, सञ्जालमा आलोचना सुरु भएपछि पाण्डेले उक्त तस्वीर डिलिट गर्नु नै बुद्धिमतापूर्ण ठाने ।
के हो तस्वीरको वास्तविकता ?
राजनीतिक दलका सभामा कति जनसहभागीता रह्यो भन्ने कुराले अर्थ राख्ने भएर होला बेलाबेला दलका नेता–कार्यकर्ताले यस्तो हर्कत गर्दै आएको पाइन्छ । त्यसमाथि जेनजी आन्दोलनबाट सत्ताच्यूत भएको नेकपा एमालेलाई अहिले आफ्नो पक्षमा जनसमर्थन देखाउने चुनौती थियो ।
त्यसैले पनि शनिबारको सभालाई एमालेले प्रतिष्ठाको विषय बनाएको थियो । एमाले नेताहरूले शनिबार सल्लाघारीमा पाँच लाख मानिस सहभागी हुने दाबी गरेका थिए । नेताहरूले दाबी गरेअनुसार, गणनामा पाँचै लाख नपुगे पनि सल्लाघारीको चौरमा उल्लेख्य उपस्थिति देखिन्थ्यो ।
अनलाइनखबरसहित विभिन्न सञ्चारमाध्यमले पनि सल्लाघारीको सभाको क्लोज्ड र एरिएल तस्वीर सार्वजनिक गरिसकेका थिए ।
तर, १०८ रोपनीको चौरमा दायाँबायाँ केही खाली देखेर हुनुपर्छ नेताहरूले त्यसलाई एआई प्रयोग गरेर विशाल उपस्थिति देखाउन खोजे, त्यसमा नेता महेश बस्नेत अघि सरिहाले ।
ड्रोनबाट खिचिएको दाबी गरिएको उक्त फोटो सुरुमा बचन राज जोशी नामका फेसबुक प्रयोगकर्ताले साझा गरेका थिए र त्यसमा उनकै नामको वाटरमार्क समेत छ ।
तर, उक्त तस्वीरको मूल स्रोत जाँच गर्दा आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) प्रयोग गरेर तयार पारेको देखिन्छ ।

एआईद्वारा तयार गरिएको हो कि होइन भन्ने जाँच गर्ने टूलमा यो तस्वीर हालेर जाँच गर्दा करिब ८० प्रतिशत एआई सिर्जित भन्ने नतिजा देखायो । एमालेको उद्घाटनसत्रको मञ्च रातो कार्पेटले सजिएको थियो । मञ्चलाई घेरेर पर्खाल बनाइरहेको घेराभित्र हरियो कार्पेट ओछ्याइएको थियो ।
तर, महेश बस्नेतसहित अन्य नेता कार्यकर्ताले एमालेको सभामा उपस्थित भीड भनेर भाइरल गराउन खोजिरहेको कतिपय तस्वीर ती वास्तविक तस्वीरसँगै पटक्कै मेल खाँदैनन् ।
प्रतिक्रिया 4