+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
85/10 (19.1)
VS
Lumbini Lions won by 6 wickets
Won लुम्बिनी लायन्स 2025
86/4 (8.6)
Shares

एमालेलाई अन्य दलहरूको सन्देश– एक्लै हिँडेर गन्तव्यमा पुगिँदैन

एमाले महाधिवेशनमा शुभकामना दिन गएका विभिन्न राजनीतिक दलका नेताहरूले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थासहितको संविधानको निरन्तरता र नेपालको दिगो विकासका लागि सहकार्य गर्नुपर्नेमा जोड दिए ।

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०८२ मंसिर २७ गते २०:५२

२७ मंसिर, काठमाडौं । एमालेको ११औं महाधिवेशनलाई शुभकामना दिन भक्तपुरको सल्लाघारीस्थित खुल्लाचौर पुगेका अन्य राजनीतिक दलका नेताहरूले वर्तमान नेपालको राजनीतिक अवस्थाको आ–आफ्नै तरिकाले व्याख्या गरे ।

२३ र २४ भदौमा जेनजी आन्दोलन भएको थियो । उक्त आन्दोलनका क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिन बाध्य भए । प्रतिनिधिसभाबाटै अर्को सरकार बन्न सकेन ।

पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा २७ भदौमा अन्तरिम सरकार बन्यो । अन्तरिम सरकारको सिफारिसमा प्रतिनिधि सभा विघटन भएर आगामी २१ फागुनमा प्रतिनिधिसभाको निर्वाचनको मिति तोकिएको छ ।

पछिल्लो राजनीतिक अवस्थाको चित्रण गर्दै विभिन्न राजनीतिक दलका नेताहरूले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थासहितको संविधानको निरन्तरता र नेपालको दिगो विकासका लागि सहकार्य गर्नुपर्नेमा जोड दिए ।

एमालेले शुभकामना मन्तव्यका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बोलाएको थियो । तर, देउवाले आफू कार्यवहाक दिएर बसेको भन्दै कार्यवहाक सभापति पूर्णबहादुर खण्ड्कालाई पठाए ।

शुभकामना मन्तव्यको सुरुमै खड्काले एमालेसँग कांग्रेसको सहकार्य स्मरण गरे । ‘नेकपा एमाले कांग्रेस सँगको समय–समयको सहयात्री दल हो’ खड्काले भने, ‘जब लोकतन्त्रमाथि कुनै निरंकुशता वा अस्थिरताको कालो बादल मडाररिन्छ तब कांग्रेस, एमाले र अन्य लोकतान्त्रिक दल एक ठाउँमा उभिएर प्रतिवाद गर्ने गरेका छौं ।’

२३ र २४ भदौको जेनजीको आन्दोलनपछि मुलुक राजनीतिक अस्थिरता र अनिश्चिततामा रहेको उल्लेख गर्दै उनले थपे, ‘त्यसकारण पनि लोकतान्त्रिक दलहरूबीच सहकार्य आवश्यक छ ।’

जेनजी पुस्ता वा नवयुवाले भ्रष्टाचार नियन्त्रण र सुशासनसहितको समृद्ध नेपाल चाहेको भन्दै उनले युवाहरूको भावना बमोजिम लोकतान्त्रिक शक्तिहरूले गल्ति नदोहोर्‍याउने संकल्पसहित जनतामा जानुपर्नेमा जोड दिए ।

‘हामी विगतमा गरेका राम्रा कुराहरू जनताको नासोका रुपमा सुम्पेका छौं भने विगतमा गरेका कमजोरीहरू, हामीबाट भएका त्रुटिहरूलाई सुधार्दै सच्चिँदै गल्तिहरू नदोहोर्‍याउने संकल्प गर्दै सुध्रिन्छौं भन्दै जनताको बीचमा जानुपर्छ’ उनको आग्रह छ ।

खड्का अगाडि एमालेका अध्यक्ष केपी शर्मा ओली बोलेका थिए । अध्यक्ष ओलीले सरकार चुनाव गराउनेतिर नरहेको र प्रतिनिधिसभा पुर्नस्थापनामा जानुपर्ने भनेर यसका लागि अनय दलहरूसँग समेत सहकार्य आवश्यक रहेको भन्दै आह्वान गरेका थिए ।

तर, कांग्रेसका कार्यवहाक सभापति खड्काले नयाँ शक्तिहरूलाई समेत समेटेर र नयाँ शक्तिहरूलाई समेत लोकतान्त्रिक बाटोमा सँगै लिएर जानुपर्ने सन्देश दिने प्रयास गरे ।

उनले भनेका छन्, ‘संघीय लोकतान्त्रक गणतन्त्रको रक्षाको लागि संविधान निर्माण गर्दाका दलहरू, नयाँ दल र जेनजी पुस्तालाई समेत समेटेर अगाडि बढ्ने संकल्प गर्दछौं ।’

देव गुरुङले सम्झिए– नेकपा

एमालेले नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई बोलाएको थियो । तर, पार्टीको एकता सन्देश सभा सुर्खेतमा रहेको भन्दै प्रचण्ड उपस्थित भएनन् र नेता देव गुरुङलाई पठाए ।

गुरुङले पनि नयाँ शक्तिसँग सहकार्य गर्दै अगाडि बढ्नुको विकल्प नरहेको बताए । बरु एमालेको तर्फबाट समेत कम्युनिस्टहरूको एकताका लागि पहल हुन आवश्यक रहेको आग्रह गरे ।

‘बिडम्बना नेपालको कम्युनिस्ट आन्दोलन विघटित छ । विघटित कम्युनिस्ट आन्दोलनलाइ एक्तावद्ध गरेर समाजवादी प्रणालीमा पुग्न सकिन्छ’ गुरुङले भने ।

कम्युनिस्ट एकतामा जोड दिँदै गदौ उनले विगतमा एमालेसँग मिलेर नेपाल कम्युनिस्ट पार्टी बनाएको पनि स्मरण गरे । उनले भनेका छन्, ‘हामीले नेकपा निर्माण पनि गर्यौं । त्यसलाई निरन्तरता कायम राख्न सकेनौं । त्यसबाट पाठ सिकेर फेरि पनि एकतावद्ध हुनुको विकल्प छैन ।’

नेकपा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्र २०७४ सालको चुनावमा तालमेल गर्दै ३ जेठ २०७५ मा एक भएर नेपाल कम्युनिस्ट पार्टी बनेका थिए ।

२३ फागुन २०७७ मा नामसम्बन्धी विवादमा सर्वोच्च अदालतले यी दुई दलको एकता भंग गरिदियो र दुवै दल ब्युँताइदियो । त्यसपछि फेरि मिल्न सकेका छैनन् ।

बरु माओवादी केन्द्र एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादी सहितका दलसँग एकता गरेर फेरि नेपाली कम्युनिस्ट पार्टीको रुपमा अगाडि बढेको छ । यो प्रक्रिया स्मरण गर्दै गुरुङले सबै कम्युनिस्टहरू एक हुनुपर्नेमा जोड दिएका हुन् । अर्थात्, एमालेलाई एक्लै हिँडेर गन्तव्यवमा पुग्न नसकिने उनको सन्देश छ ।

कम्युनिस्टहरू किन मिल्न आवश्यक छ ? भन्ने प्रश्नको जवाफ दिँदै गुरुङले भनेका छन्, ‘संघीय लोकतान्त्रिक गणतन्त्र गम्भीर अवस्थामा छ । संविधान कोमामा छ । संविधानलाई ट्रयाकमा ल्याउनुपर्ने छ । सुगौली सन्धिपछि यता अहिलेसम्मकै सबैभन्दा धेरै ठूलो राष्ट्रिय स्वाधीनताको प्रश्न छ ।’

‘यो पृष्ठभूमिमा महत्वपूर्ण नीति र निर्णयहरू महाधिवेशनले लिन सकोस्’ भन्ने एमालेलाई गुरुङको शुभकामना छ, ‘मुलुकको विद्यमान अवस्थाको सम्बोधनका लागि राष्ट्रवादी शक्तिहरू बीचमा सहकार्य आवश्यक छ । राजनीतिको अगुवाई गर्न पनि मिलेर अगाडि बढनुपर्ने छ ।’

रास्वपाले भन्यो– चुनावमा केन्द्रित होऔं

एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवहाक सभापति डिपी अर्याललाई बोलाएको थियो । तर, अर्यालले महामन्त्री कविन्द्र बुर्लाकोटीलाई पठाए । बुर्लाकोटीले जेनजी आन्दोलन किन भयो र त्यसको कारण के थियो भन्ने विषयमा सही निचोडमा पुग्न आग्रह गरे ।

बुर्लाकोटीले भनेका छन्, ‘यो विस्फोट हुनुमा ३०/३५ वर्षमा राज्यको मुख्य बाडडोर सम्हाल्ने सबैले जिम्मेवारी लिनुपर्ने नै हुन्छ । यसमा भाग आउने नै हो भने हामी पनि सरकारमा सहभागी भएको समयको भाग लिन तयार छौं । यो विषयमा एमालेको महाधिवेशनमा समीक्षा हुने नै छ होला ।’

युवाहरूको चाहना राजनीतिमा पुस्तान्तरण समेत रहेको उल्लेख गर्दै उनले एमालेले ती चाहनालाई सम्बोधन गर्ने विश्वास आफूमा रहेको बताए । दलहरूको आन्तरिक लोकतन्त्र सबल रहेको अवस्थामा मुलुक बनाउने सन्दर्भमा त्यस्ता दलहरू सहकार्यका साथ अगाडि बढ्न सहज हुने उनको आग्रह छ ।

मुलुकप्रति सबैको अपनत्व हुन आवश्यक रहेको र यसका लागि राज्यका सबै निकाय र संरचनामा रहेको चरम दलीयकरण अन्त्य हुन आवश्यक रहेको उनले औंल्याए । यस्ता कार्य अन्त्य गर्नका लागि पुराना दलहरू तयार भएर सहकार्य सम्भव रहेको उनको आग्रह छ ।

‘२१ फागुनको निर्वाचन समयमै गर्ने र लोकतन्त्रलाई लिगमा ल्याउने वातावरण बनाउन नेकपा एमाले पछाडि हट्ने छैन । र यसको लागि प्रशसंनीय भूमिका निर्वाह हुने अपेक्षा गर्दछौं’ महामन्त्री बुर्लाकोटीले भने ।

एमाले अध्यक्ष ओलीले प्रतिनिधिसभा पुर्नस्थापनामा जोड दिइरहेका बेला रास्वपा महामन्त्री बुर्लाकोटीले त्यसतर्फ नलागेर चुनावमा केन्द्रित हुन एमालेलाई आग्रह गरेका हुन् । मुलुकमा सुशासन कायम गर्दै लोककल्याणकारी राज्य कायम गर्न सबै दलहरूको मुख्य ध्येय एउटै हुनुपर्ने भन्दै उनले यसकोणबाट सहकार्य गर्न सकिने सुझाए ।

अन्यले औंल्याए– सहकार्यका अनेक सम्भावना

एमाले महाधिवेशनमा शुभकामना दिन अन्य दलका नेताहरू पनि पुगेका थिए । उनीहरूले पनि अनेक विषय र सन्दर्भमा सहकार्यको सम्भावना औंल्याए ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का महासचिव नेत्रविक्रम चन्द विप्लवले सम्भावनाका एकपछि अर्को सम्भावना खोज्न आग्रह गरे ।

‘नेपालका सबै श्रमिक, जाति, वर्ग, क्षेत्र, लिंग, उत्पिडमा परेका सबै, नयाँ पुस्ता, जेनजी, देश–विदेशमा रहेका सबै नेपाली नागरिकको चाहनालाई सम्बोधन गरेर जान आवश्यक छ’ विप्लवले भनेका छन्, ‘तपाईंहरूसँग आन्दोलनमा एकता, आन्दोलनमा सहकार्य, देशको स्वाधिनताको लागि सहकार्य, जनताको अधिकारको लागि सहकार्य, नयाँ नेपालको लागि सहकार्य गर्न तयार छौं, सहकार्य गरौं ।’

त्रुटि छन् भने सच्याउन तयार रहेको तर, कहिल्यै पनि कसैको अधिनमा नेपाललाई जान नदिने दृढता व्यक्त गर्दै उनले थपे, ‘कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्नैपर्छ । यसको लागि हामी सबै खुला हुनुपर्छ ।’ एउटै कम्युनिस्ट झण्डामुनि रहने वातावरणका लागि सम्भावनाको खोजी गर्न समेत एमालेलाई उनको आग्रह छ ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का महासचिव सुरेन्द्र झाले संविधान संशोधनको लागि एमालेले अगुवाइ गर्न सक्ने सुझाए । यस्तोमा आफूहरूको साथ, सहयोग र समर्थन रहने उनको आग्रह छ । उनले भनेका छन्, ‘यो संविधान चलायमान बनाउने हो भने संशोधन अनिवार्य छ ।’

२०७२ सालमा जारी संविधान मृत अवस्थामा पुगेको उनको बुझाइ छ । तथापि, यसलाई लिकमा ल्याएर सुधार गर्दै अगाडि जानुपर्छ भन्नेमा रहेको उल्लेख गर्दै उनले भने, ‘यो संविधानमा धेरै कुरा गर्व गर्न लायक छ । तर मिलाउनुपर्ने छ । यो संविधानमा हामीले हस्ताक्षर पनि गर्न पाएनौं ।’

आफूहरू संविधान संशोधनका लागि निरन्तर संघर्षरत रहेको भन्दै उनले थपे, ‘अहिले हामीले भनेको मुद्दामा मुलुक एक ठाउँमा आइपुगेको छ।’

भदौ २३ र २४ गते विद्रोह भएको र विद्रोहमा सहभागी वास्तविक जेनजीका, युवा पुस्ताका अपेक्षाहरू एमालेको ११औं महाधिवेशनले सम्बोधन गर्ने नीति लिने अपेक्षा राखेको भन्दै शुभकामना दिए ।

default

राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले जेनजी आन्दोलनबाट जननिर्वाचित सरकार अपदस्त हुन पुगेको बिर्सन नसकिने बताए । अन्तरिम सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन हुन पुगेको उल्लेख गर्दै उनले भने, ‘गणतन्त्र प्राप्तिपछि पनि राजनीतिक दलहरूका बीचमा कसिलो मेल नहुँदा बाह्य शक्तिले खेल्ने मौका पाए ।’

एमालेको महाधिवेशनले विगतमा कहाँ–कहाँ चुकियो भनेर समीक्षा गर्न सक्नुपर्ने उनको भनाइ छ ।

‘जेनजी आन्दोलनका नाममा प्रहारको निशाना गणतन्त्रवादी नेताहरू र तिनका कार्यालयहरू हुन पुगे’को भन्दै जनमोर्चाका महासचिव भट्टले भनेका छन्, ‘हामीबाट कहाँनेर शासकीय स्वरुपमा कमजोरी कहाँ भयो ? कहाँनेर जनजिविकाको सवाल सम्बोधन गर्न सकिएन ? यो ख्याल गरौं र अगाडि बढौं ।’

लेखक
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?