News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेमाथि विभिन्न रङ्गमा आक्रमण भइरहेको र त्यसले नेपाली राष्ट्रियता कमजोर पार्ने प्रयास भइरहेको बताए।
- ओलीले सार्वभौम सत्ता सबैको बराबरी हुने र हिंसा वा युद्धलाई समाज परिवर्तनको साधन बनाउन नहुने स्पष्ट पारे।
- उनले पार्टीको ११औं महाधिवेशनमा संविधान संशोधन र राष्ट्रिय स्वाधीनताको अधिकार आफ्नो पार्टीको भएको दाबी गरे।
२७ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले स्वतन्त्र र सार्वभौम राष्ट्रको अभ्यास गर्दा आक्रमण हुने गरेको बताएका छन् ।
एमालेलाई कमजोर बनाउँदा नेपालीको सार्वभौम राष्ट्रियता कमजोर हुने ठानेर कसैले हिसाबकिताब गरिरहेको उनको दाबी छ ।
तर त्यो विरोधी शक्ति स्वदेशी वा विदेशी भन्ने प्रष्ट नखुलाए पनि ओलीले दुवैतर्फ संकेत गरे ।
भक्तपुरको सल्लाघारीमा पार्टीको ११औं महाधिवेशनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै ओलीले भने, ‘हामी भन्छौं देशहरू भूगोलमा साना वा ठूला होलान्, जनसंख्यामा ठूला वा साना होलान् तर सार्वभौम सत्ता सबैको बराबरी हुन्छ, उत्तिकै सम्मानित हुन्छ, कतिलाई लाग्छ सानो देशलाई हामीसँग बराबरी गर्न खोज्ने ? अनि प्रहार हुन्छ । हामी जन्मजात श्रेष्ठताका आधारमा शासन गर्ने व्यवस्था सामन्ती हो, सबै नागरिक बराबर हुन् र आजको युगमा अनिर्वाचित सत्ता हामीलाई मञ्जुर छैन स्पष्ट रूपमा भन्न चाहन्छु ।’
हिंसा वा युद्धलाई समाज परिवर्तनको साधन बनाउन हुँदैन भन्ने पक्षमा आफूहरू रहेको बताए । उनले जनताको मन जितेर शान्तिपूर्ण ढंगले पनि समाज बदल्न सकिन्छ भन्दा प्रहार हुने गरेको बताए ।
‘हामी विविधता र बहुलता हाम्रो सम्पदा हो भन्छौैं, दूरी बढाउने विषय होइन भन्छौं, विविधतामा एकता हाम्रो मुलमन्त्र हो भन्छौं अनि हामी प्रहार हुन्छ, हामी सार्वभौम मुलुकका रुपमा संविधान बनाउने अधिकार हाम्रो भन्छौं, संविधान संशोधन गर्ने अधिकार हाम्रो हो भन्छौं, हाम्रो स्वतन्त्रताको प्रयोग, सदुपयोग, सुउपयोग हामी गर्छौं भन्छौं, देशले कस्तो बाटो रोज्ने, कस्तो राजनीतिक प्रणाली बनाउने निर्णय गर्ने अधिकार हाम्रो हो भन्छौं, कतिलाई मन पर्दैन अनि हामीमाथि प्रहार हुन्छ,’ उनले भने ।
सशस्त्र द्वन्द्व, संक्रमणकाल र भूकम्पजस्ता चुनौतीका बीच पनि मुलुकले प्रगती गरिरहेको दाबी गर्दै ओलीले कमजोरी पनि महसुस गर्ने गरेको बताए ।
‘मुलुक बन्छ र बन्दैछ भरोसा गर्छौं, निरासा र नकारात्मकता अभियन्ताहरूलाई यो मन पर्दैन अनि फेरि हामीमाथि हमला हुन्छ, हामी कमजोर भयौं भने मात्र नेपालको राष्ट्रिय स्वाधिनता कमजोर हुन्छ भनेर कसैले हिसाब किताब गरिरहेका हुन्छन्, हामी नढलिन्जेल हाम्रो शीर नझुकेसम्म नेपालको स्वाधीनता र स्वाधिमान झुक्त्तैन र ढल्दैन त्यसैले हामीमाथि आक्रमण भइरहेको छ,’ ओलीले भने ।
एमालेविरुद्ध लाग्ने विरोधी शक्ति विभिन्न रङमा अगाडि आउने गरेको बताउँदै ओलीले भने, ‘कहिले असन्तुष्टि पोख्दै, कहिले परिवर्तनको नारा बोकेर कलर कलरमा, कलर रिभोलुसन भन्दै देखा पर्छन्, तर तिनको उद्देश्य एउटै छ हामीलाई विभाजन गर्ने, हामीलाई दिशाहीन बनाउने ।’
यसलाई प्रष्टाउँदै ओलीले संविधान जारी गर्दा अडान लिँदा पनि तीव्र प्रतिक्रिया जनाउने समूहलाई मन नपरेको बताए ।
पारबहन सम्झौता, उत्तर–दक्षिण जोड्ने कनेक्टिभिटी, सीमा रक्षा, आफ्नै भूभागमाथिको दाबी गर्दा आफ्नो पार्टी प्रहारको निशाना बनेको बताए ।
प्रतिक्रिया 4