सूर्योदयअघि नै सल्लाघारी आइपुगेका थिए, उनीहरू । प्रात:कालमै गाडीले ओराल्यो । रातभरीको चिसोले हानेको थियो, निद्रामै थिए । बिहान ७ बजे हामी पुग्दा कोही सडकको पेटीमा पल्टिरहेका थिए ।
त्यही भिडमा थिइन्, ७० वर्षीया लरवती मण्डल । उनी एमालेको ११ औं महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन आएकी थिइन् । तर महाधिवेशनब चाहिँ के हो उनलाई धेरै जानकारी थिएन ।
‘सरकारले हामीलाई के दिन्छ ? केही पाएको छैन,’ मधेशी लवजमा उनले सरकारलाई सम्झिइन् । उनी मात्र होइन, मधेशबाट आएका अधिकांश ज्येष्ठ नागरिकहरू थिए । उनीहरू टोलका नेताको अनुरोधमा भक्तपुर आएका हुन् ।
‘खेतबारीको काम छोडेर आएका हौँ । टोलका सबै जाने भने त्यसैले आएको हो,’ बिहान ५ बजे सिराहाबाट भक्तपुर आइपुगेका ७५ वर्षीय सर्जुक दासले भने । तर उनीहरू किन आए भन्नेबारे उनीहरूलाई नै थाहा थिएन । सभामा ठूलो जनसंख्या देखाउनका लागि टोलका नेताको आग्रहमा ७७ जिल्लाबाटै मानिसहरू भक्तपुरमा आएका थिए । कति पार्टीमा आवद्ध थिए । कति चाहिँ थिएनन् ।

यसपटक मात्र होइन, उनीहरू यसैगरी पटक पटक काठमाडौं आउने गरेको पनि सुनाए । जुनसुकै पार्टीको सभा हुन्छ यसरी नै उनीहरू आउने गरेका छन् । ‘तर हामीले केही पाएका छैनौं नि,’ धनुषाबाट आएका ५८ वर्षीय तिमलाल महतोले सुनाए । कतिपयले भने नेताको भाषण सुन्न आएको बताए ।
तर, उनीहरू एमालेको महाधिवेशनमा मात्र होइन, अरु दलको सभा र आन्दोलनमा पनि आउने गरेको सुनाए ।

काठमाडौंमा मान्छे उतार्ने हरेक कार्यक्रममा उनीहरू यसरी नै अघिल्लो दिन घरबाट हिँडेर कार्यक्रम हुने दिन बिहान आइपुग्छन् । साँझमा उनीहरू फर्किन्छन् ।
एमालेको महाधिवेशनमा पनि गाडी रिजर्भ गरेर आएका उनीहरू आजै घर फर्किए । ‘आजै आयौं । आजै फर्किन्छौं,’ नवलपुरबाट आएकी राममाया रूतालले भनिन् । ४ बजेपछि एमालेको उद्घाटनसत्र सकियो ।
बिहान आएका उनीहरू गाडी चढ्न दौडधूप गरिरहेका थिए । जुन गाडीमा उनीहरू सूर्योदयामा आइपुगे, त्यही गाडीमा सूर्यास्तमा फर्किए ।
तामझामको उद्घाटन, संस्कृतिक पहिचान झल्किने सभा
एमालेले विगत जस्तै यसपटक पनि तामझमाका साथ महाधिवेशनको उद्घाटन गर्यो । मञ्च भव्य बनाएको थियो । कुर्सीहरू भरिभराउ थिए । झाँकीसहित महाधिवेशनस्थल कार्यकर्ता आएका थिए । भिडभाड निकै थियो । यसमा मिसिएको थियो, बाजागाजा र सांस्कृतिक झल्को दिने पहिचानका बिम्ब । कतिपय साधारण अवस्थामा थिए भने कतिपय सिर्जनशील हुन खोजेका देखिन्थे ।
तीन लाख बढी मान्छे सल्लाघारीमा जम्मा गर्ने एमालेले दाबी गरे पनि त्यति संख्या थिएन । तर चौर खाली भने थिएन । १०८ रोपनी जग्गामा फैलिएको चौरमा उद्घाटन सत्र सभ्य देखियो ।
बिहानबाटै उत्साहप्रद देखिएको भिडले सल्लाघारी आसपास गर्माएको थियो । चन्द्रागिरीबाट आएको र्यालीले निरन्तर धुन दिइरहेको थियो– रेसम फिरिरि, रेसम फिरिरि । यसरी रेसम फिरिरि धुनमा चन्द्रागिरीका कार्यकर्ता रमाउँदै चौरतिर जाँदा एमाले अध्यक्ष केपी शर्मा ओलीले भाषण गरिरहेका थिए ।

ओलीले भाषण गरिसक्न लाग्दा पुगेका यो र्यालीका अगुवाले छिटो हिँड्न आदेश दिँदै थिए । तर, मस्त सांगितिक रमझममा हिँडेका कार्याकर्तालाई त्यसको सुर्ता नै भएन । आफ्नो लय कायम राखे ।
यसरी काठमाडौंको छिमेकमै रहेको यस्ता ठाउँबाट ढिलोगरी महाधिवेशनस्थल आइपुगेका यि कार्याकर्तालाई टाढाका जिल्लाबाट रातभर हिंडेर सबैले काठमाडौं झुल्किएकाले प्रश्न गर्दै थिए । ‘यहीँ भएर पनि कस्तो ढिलो । हामी त सबै छोडेर बिहानै आइपुग्यौँ । भोलि फेरि घरमै पुग्नु छ, ‘एक कार्याकर्ताले र्यालीतर्फ हेर्दै भनिरहेका थिए ।
छिमेकी जिल्ला सिन्धुलीतिरका र्याली पनि समयमा पुगेका देखिए । सिन्धुलीबाट आएको र्यालीले आफ्नो भौगोलिक पहिचान पनि देखायो । पञ्चेबाजासहित छिरेका यो टोलीले ‘सिन्धुली गढी घुमेर हेर्दा…’ घन्काइरहेका थिए । सँगसँगै ‘नेकपा एमाले जिन्दावाद…’ जस्ता नारा पनि लागिरहेका थिए ।

यसरी बाजा बजाउँदै आएका चाहिँ को थिए ? पेशाकर्मी कि एमालेकै कार्यकर्ता ? हाम्रो चासोमा उनीहरूको जवाफ थियो, प्लिज हामीलाई एमालेसँग नजोडिदिनुस् । हामीले त आफ्नो पेशागत धर्म निर्वाह गरेका हौँ । पार्टीको ट्याग झुन्डिने डरले पनि उनीहरूले औपचारिक रुपमा बोल्न अनकनाए ।
कतिपय कार्यकर्ता नयाँ देखिन्थे । यो महाधिवेशनको उद्घाटनसत्रमा नयाँ पुस्ताका युवाले नयाँ कुरा थाहा पाएको अनुभूत गरे । नेताहरूको भाषण सुनिरहेका एकजनाले ‘साइड टक’ गर्दै थिए, एमालेको पूरा अर्थ त– एकीकृत मार्क्सवादी लेलिनवादी पो रहेछ । यसरी नवपुस्ताका केही युवाले रोचक तरिकाले महाधिवेशनलाई लिइरहेको पनि पाइयो ।

छेउछाउका रेस्टुरेन्टमा पनि आज राजनीतिक माहोल थियो । कतिपय व्यवसायी त कल्पना गरेकोभन्दा धेरै भिड भएकाले धान्नै नसक्ने अवस्था भएको बताइरहेका थिए ।
सल्लाघारी चौरनजिकै एउटा थकाली खाना खुवाउने ठाउँ छ, त्यहाँ पनि एमाले कार्याकर्ताको भिड थियो । त्यसभित्र गफ गरिरहेकाको कुराकानी रोचक र विरोधाभाषपूर्ण देखिन्थ्यो । एकातिर उनीहरु गाउँबाट महाधिवेशनस्थल आइरहेका थिए भने अर्कातर्फ शहरबजारमा एमालेको झन्डा फहराएर हिंड्न नसक्ने बताइरहेका थिए ।
‘अब यहाँ आएर ठूला कुरा गरेर के गर्नु ? यहीँबाट त्यहीँ पर पुग्न एमालेको झन्डा राखेर हिँड्न लाज हुने भइसक्यो । के गर्ने ?,’ सोही थकालीभित्र आफ्ना साथीसँग भन्दै थिए एक सेवाग्राही । यसरी एमालेको आलोचना गरेका उनले अन्तिममा त्यहाँकी वेटर महिलालाई भने ‘अब एमालेमा भोट हाल्नुस् है’ भन्दै गए ।

कतिपय कार्यकर्ता त यति सिर्जनशील देखिए कि, झन्डामै ओलीको फोटो टाँसेर आएकाहरु पनि त्यहाँ थिए । एक महिला एमालेका झन्डामा हुने सूर्य चिन्हको छेउमा ओलीको फोटो प्रिन्ट गराएर आइपुगेकी थिइन् । किन यसो गर्नुभएको भन्ने हाम्रो प्रश्नमा उनको जवाफ थियो, ‘सिर्जनशीलताले नै पार्टी जोगाउँछ नि ।’
प्रमुख अतिथि रहेका अध्यक्ष केपी ओलीले यसपटक अगाडि नै बोले । उनले बोलेपछि कांग्रेसका कार्यबाहक सभापति पूर्णबहादुर खड्का लगायतका नेताहरूले बोले । अक्सर कार्यक्रममा प्रमुख अतिथिले अन्तिममा बोल्ने चलन थियो । यसपटक एमालेको महाधिवेशनमा अन्य ठूला दलका प्रमुख नेतको उपस्थिति थिएन । यसबारे पनि एमाले शुभेच्छुकहरूले चासो राखेका थिए ।
तस्वीरहरू : चन्द्रबहादुर आले, शंकर गिरी/अनलाइनखबर


प्रतिक्रिया 4