पोलिटब्यूरो सदस्यमै तेस्रो कार्यकाल पूरा गर्ने थोरै एमाले नेतामा पर्छन्, अरुण नेपाल । अनेरास्ववियुका पूर्व केन्द्रीय अध्यक्ष नेपाल तीनैपटक केन्द्रीय सदस्य पनि बने ।
यसरी समय केन्द्रीय कमिटीमा बसेका नेपाल यो महाधिवेशनबाट पदाधिकारी हुने तयारीमा छन् । आफ्नो दाबीलाई स्वभाविक मान्ने अरुण नेपाल यसपटक एमालेको नीति र नेतृत्व परिवर्तन हुनुपर्ने पक्षमा छन् ।
उनै, पोलिटब्यूरो सदस्य अरुण नेपालसँगको संक्षिप्त संवाद:
यो महाधिवेशनलाई कसरी लिनु भएको छ ? यसले कस्तो सन्देश दिनु पर्छ ?
एउटा विशिष्ट अवस्थामा महाधिवेशन हुँदैछ । तीन महिना मात्रै देशमा धेरै ठुलो घटना भयो । राजनीतिक दलका नेता र उनीहरुको भौतिक संरचनामा आक्रमण भयो । दुई वर्षपछि हुनुपर्ने चुनाव यसै वर्ष घोषणा भएको छ ।
मुलुकमा नागरिक सरकारका नाममा अनिर्वाचित सरकार छ । दलहरु पृष्ठ भागमा छन् । संविधान खण्डित छ । जेनजी आन्दोलनले देशमा एउटा फरक मनोविज्ञान निर्माण गरेको छ । पार्टी, तिनीहरुका नीति, नेतृत्व, कार्यशैली आदिमा परिवर्तनको खोजी भइरहेको छ । यो महाधिवेशनले यिनै विषयहरुमा पनि एउटा सन्देश दिनुपर्नेछ । यसो गर्न सकियो भने मात्र एमाले जनताको लोकप्रिय बन्न सक्छ ।
नेतृत्वका लागि प्रष्ट दुई लाइन संघर्ष देखिन्छ, यसबारे के भन्नु हुन्छ ?
अहिले नेतृत्वको लागि दुई जना कमरेडहरु प्रतिस्पर्धामा हुनु हुन्छ । अन्य पदहरुमा पनि स्वाभाविक प्रतिस्पर्धा हुनेछ । एउटा लोकतान्त्रिक र जीवन्त पार्टीमा पतिस्पर्धा हुनु स्वाभाविक हो । केही समयदेखि पार्टीमा प्रतिस्पर्धी चरित्र कमजोर बन्दै गएको थियो । पँजनीको प्रकृया मात्र हुने गरेको थियो । जनसंगठनदेखि नै यो अभ्यास हुँदा पार्टी थप भुत्ते भएको पक्कै हो । यो महाधिवेशनबाट प्रतिस्पर्धाको परम्परा पुन: स्थापित हुनेछ भन्ने विश्वास गरिएको छ । दुई जनाले नेतृत्व दावी गरे पछि दुई वटा टिम बन्नुलाई अन्यथा मान्नु हुँदैन ।
पार्टी संकटमा छ । चौतर्फी घेराबन्दी छ । यस्तो बेलामा बर्तमान नेतृत्वलाई परिवर्तन गर्ने होइन यसलाई नै बलियो बनाउनु पर्छ भन्ने धारणा पनि सुनिन्छ । यसबारेमा के भन्नु हुन्छ ?
पार्टी संकटमा छ यो साँचो हो । तर, संकट कहाँबाट सुरु भयो ? यसको स्रोत के हो प्रष्ट हुनुपर्छ । हाम्रो पार्टीभित्रको समस्या बाहिरका अरु कोही आएर उत्पन्न गरि दिएका हैनन् । न त यसलाई पार्टीका तल्ला कमिटी, कार्यकर्ता वा जनताले उत्पन्न गरिदिएका हुन् । समस्या माथिबाटै सुरु भएको हो ।
जब पार्टीलाई नीति, बिधि अनुसार चलाइँदैन, बिचार–सिद्धान्त गौण हुन पुग्छ । संगठनमा पक्षपात हुन्छ, आन्तरिक जनवाद खण्डित हुन्छ, नीतिको ठाउँमा व्यक्तिलाई स्थापित गरिन्छ तब संकट पनि सुरु हुन्छ । अहिले भएको यही हो र यो समस्या नयाँ पनि होइन । बिगत केही बर्षदेखि यो प्रवृत्ति निरन्तर जारी छ र यो काम प्रमुख नेतृत्वबाटै भइहेको छ । यसलाई नबुझ्ने र परिवर्तन नगर्ने हो भने संकट झन् गहिरिदै जाने निश्चित छ । त्यसैले पार्टीमा परिवर्तन र पूनर्गठनको विषय उठेको हो ।
जहाँसम्म घेराबन्दीको कुरा छ एमाले अहिले मात्रै घेराबन्दीको सिकार भएको होइन । लामो समयदेखि हामी यसको चपेटामा छौ । दासढुंगा घटना देखि नै यसको श्रृंखला सुरु भएको हो । घेराबन्दीको चर्चा चाहिँ हामी धेरै गर्छौ । तर त्यसलाई तोड्ने योजना बनाउँदैनौ । पार्टीको आन्तरिक जीवनलाई व्यवस्थित र एकताबद्ध गरेर मात्र घेराबन्दीलाई परास्त गर्न सकिन्छ । यसकारण पनि पार्टीको नीति र नेतृत्वमा परिवर्तन आवश्यक भएको हो ।
परिवर्तित परिस्थितिमा केन्द्रीय कमिटीमा आउनेहरु कस्तो हुनु पर्छ जस्तो लाग्छ ?
यो महाधिवेशनबाट बन्ने केन्द्रीय कमिटीमा आफ्नो विबेक प्रयोग गर्न सक्ने, बिचार, सिद्धान्त र राजनीति बुझेको पंक्ति आउनुपर्छ । सक्रिय, स्वच्छ, पारदर्शी र इमान्दार छबि भएका कमरेडहरु आउनुपर्छ । नेतृत्वको वरिपरी घुम्ने, चाकरी चाप्लुसी गर्ने र भजन किर्तनवादलाई पार्टी काम ठान्ने प्रवृति परास्त हुनु पर्छ ।
यसो भएन भने सिंगो पार्टीको छवि बिग्रन्छ । केन्द्रीय कमिटीको चयन गर्दा प्रतिनीधि साथीहरुले यस्ता बिषयहरुमा पर्याप्त ध्यान पुर्याउनु हुन्छ भन्नेमा म पूर्ण बिश्वास गर्छु । यस पटकको केन्द्रीय कमिटीमा ठुलै संख्यामा युवा साथीहरु पनि आउनु हुन्छ । त्यसले पनि एमालेलाई थप उर्जाशील बनाउने कुरामा ढुक्क छौँ । नेतृत्व परिवर्तनको मुद्दा बढिरहेको सन्दर्भमा यसलाई मान्ने प्रतिनिधिको संख्या धेरै आएको हाम्रो बुझाई पनि छ । त्यसकारण परिर्वतन पक्षधर युवा पुस्ता र पुरानो पुस्ताको मिश्रणमा अवको एमाले बन्ने छ ।
जेनजी आन्दोलन पछि पार्टीले सैद्धान्तिक निष्कर्षहरूबारे केही गर्नु पर्छ कि पर्दैन ?
जेनजी आन्दोलनको एउटा प्रमुख पक्ष भनेको राष्ट्रका सबै पक्षमा सकारात्मक परिवर्तन हो । नवीनता हो । आर्थिक सम्बृद्धि हो । सुशासन र न्यायपूर्ण समाजको स्थापना हो । हामीले अवलम्वन गरेका सिद्धान्तलाई इमान्दारीसाथ व्यवहारमा रुपान्तरण गर्ने हो । यी सबै काम गर्न सकिन्छ । मेरो बिचारमा जनताको बहुदलीय जनवादलाई राम्रोसँग बुझ्न र त्यसलाई प्रयोग गर्न जरुरी छ । जबज हरेक राजनीतिक समस्याको समाधान पनि हो ।
जबजको आलोकमा अघि बढे मात्र हामी धेरै कुरामा सही हुन सक्छौँ । जबजको सेरोफेरोमा नयाँ पुस्ताको असन्तोषलाई समाधान गर्ने थिति र बिधि वनाउने हो भने कुनै समस्या हुँदैन । यसको सेरोफेरोमा बहश केन्द्रीत हुन आवश्यक छ ।
तपाई आफ्न बारेमा चाहि केही सोच्नु भएको छ ?
म पार्टीमा लामै समय योगदान गरेको व्यक्ति हो । तीन पटक केन्द्रीय कमिटी र तीनै पटक पोलिटब्युरो सदस्य भएर काम गरेको छु । अब फेरि म यिनै जिम्मेवारीमा रहनु उपयुक्त हुँदैन । नयाँ युवा साथीहरुलाई स्थान दिनुपर्छ । हामी नेतृत्व परिवर्तनको मुद्दा लिएर आएका कारण पनि एउटै पदमा पटक पटक रहनु हुँदैन भन्ने मान्यता राख्ने मानिस हुँ । यसपटक उपाध्यक्ष पदको उम्मेदवार बन्दैछु ।
प्रतिक्रिया 4