+

१८०० किमी साइकल यात्रा अभियानका लागि झापा पुग्यो टोली

२०८२ पुष  १५ गते १८:५० २०८२ पुष १५ गते १८:५०
१८०० किमी साइकल यात्रा अभियानका लागि झापा पुग्यो टोली

News Summary

Generated by OK AI. Editorially reviewed.
  • १८०० किलोमिटर मध्यपहाडी लोकमार्ग साइकल यात्रा अभियान क्यान्सर सचेतना र उपचार कोष संकलनका लागि पाँचथर चिवाभञ्ज्याङदेखि बैतडी झुलाघाटसम्म एक महिना चल्नेछ।

१५ पुस, काठमाडौं । १८०० किमी मध्यपहाडी लोकमार्ग साइकल यात्रा अभियानका लागि टोली बिर्तामोड, झापा पुगेको छ । क्यान्सर सचेतना एवं क्यान्सर प्रभावित उपचार कोष संकलनका लागि पाँचथर चिवाभञ्ज्याङदेखि बैतडीको झुलाघाटसम्म एक महिना लामो साइकल यात्रा गरिँदैछ । साइकल कल्चर कम्युनिटीले धुलिखेल अस्पतालसँगको सहकार्य र विभिन्न संघसंस्था तथा व्यक्तिसँगको समन्वयमा साइकल यात्रा गर्न लागेको हो ।

२०२६ जनवरी १ देखि सुरु हुने साइकल यात्राका लागि बिर्तामोड पुगेको टोलीलाई पूर्वाञ्चल क्यान्सर अस्पतालमा स्वागत गरिएको थियो । पूर्वाञ्चल क्यान्सर अस्पतालमा साइक्लिङ क्लब र पूर्वाञ्चल क्यान्सर अस्पतालको सहकार्यमा साइकल कल्चर कम्युनिटीले क्यान्सर सचेतना एवं क्यान्सर प्रभावित उपचार कोष संकलन कार्यक्रम आयोजना भयो।

झापा साईक्लिङ क्लबका अध्यक्ष आकाश श्रेष्ठले क्लबको औचित्य र झापामा यस कार्यक्रम आयोजना गर्नुको उद्देश्यमाथि प्रकाश पारे । त्यस अवसरमा क्यान्सर विजेताद्वय हर्क लामा र कविता चित्रकार माथिको छोटो जीवनी (भिडियो) प्रस्तुत गरिएको थियो ।

पूर्वाञ्चल क्यान्सर अस्पतालको मेडिकल डाइरक्टर डा. वीरेन्द्र यादवले क्यान्सर विजेताद्वय हर्क लामा र कविता चित्रकारलाई सम्मानित गरे । साथै क्यान्सर र साइक्लिङबीचको सामञ्जस्यताबारे प्रकार पारे । क्यान्सर विजेता हर्क लामाले आफूलाई क्यान्सर पत्ता लागेको बेला, क्यान्सर उपचारका साथै क्यान्सर उपचारपछिको जीवनबारे आफ्नो अनुभव सुनाए ।

त्यसैगरी अर्का क्यान्सर विजेता कविता चित्रकारले आफ्नो क्यान्सर अनुभव सुनाइन् । साथै अन्य क्यान्सर प्रभावितहरुको मनोबल उकास्न यस अभियानमा सहभागिता जनाउन लागेको जानकारी दिइन् ।

उक्त अवसरमा झापाका क्यान्सर विजेताहरूलाई पनि सम्मानित गरिएको थियो । कार्यक्रममा यस मध्य पहाडी लोकमार्ग साइक्लिङ अभियानबारे प्रा. डा. तारा लाल श्रेष्ठले थप प्रकाश पारे । झापा खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारीले शुभकामना व्यक्त गरे । यस १८०० किमी लामो योजना कसरी बन्यो भन्नेबारे धुलिखेल अस्पतालका चिकित्सक एवं यस अभियानका प्रमुख राइडर डा. विकास पराजुलीले जानकारी गराए ।

कार्यक्रममा विर्तामोड नगरपालिकाकी मेयर पवित्रा देवी महतारा प्रसाईंले शारीरिक अभ्यास र साइक्लिङको महत्त्व र आफ्नो बुबाको क्यान्सर उपचारबारे अनुभव राखिन् । कार्यक्रममा धुलिखेल अस्पतालका प्रा.डा. सुमन राज ताम्राकार, साइकल कल्चर कम्युनिटीका ज्ञानेन्द्र स्थापित, भद्रपुर नगरपालिकाका पूर्वमेयर जीवन कुमार श्रेष्ठ लगायतको उपस्थिति थियो ।

साइकल यात्रा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय