+

जाडोमा शरीरलाई भित्रैबाट न्यानो राख्न के-के खाने ?

२०८२ पुष  २५ गते ११:३९ २०८२ पुष २५ गते ११:३९

जाडोमा धेरै मानिसको हातखुट्टा चिसो हुने, शरीर भारी भएको र थकान महसुस हुने समस्या हुन्छ ।

Shares
जाडोमा शरीरलाई भित्रैबाट न्यानो राख्न के-के खाने ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आयुर्वेदअनुसार अदुवा, लसुन, बेसार, सख्खर, गेडागुडी र मसला जस्ता खाद्य पदार्थले शरीरको तापक्रम सन्तुलनमा राख्न र रोग प्रतिरोधक क्षमता बढाउन मद्दत गर्छन्।

कडा चिसो र शीतलहरले अहिले नेपालका अधिकांश भू-भागमा तापक्रम घट्दो अवस्थामा छ । यस्तो मौसममा चिसोबाट जोगिन न्यानो लुगा लगाउने, सिरक वा कम्बल ओड्ने र आगो तथा हिटर ताप्ने सामान्य अभ्यास हुन् । तर, शरीरलाई बाहिरबाट मात्र न्यानो राख्दैमा त्यो पर्याप्त हुँदैन । शरीरलाई भित्रबाट पनि न्यानो र तगडा बनाउनुपर्छ ।

यसका साथै जाडोयाममा रुघाखोकी, खोकी, घाँटी दुख्ने, जोर्नी दुखाइ, श्वासप्रश्वास समस्या र थकान जस्ता समस्या धेरै देखिन्छन् । यी समस्याको सामना गर्ने तागत चाहिन्छ ।
त्यो तागत खोज्न अन्त जानुपर्दैन । हाम्रै भान्छामा पाइन्छ ।

१.अदुवा र लसुन

आयुर्वेद अनुसार हाम्रो भान्छाका मसलामा प्रयोग हुने अदुवा र लसुन दुवै शरीरमा न्यायोपन राख्ने खानेकुरा हुन् । यी खानेकुराले शरीरको भित्री तापक्रम सन्तुलनमा राख्न मद्दत गर्छन् ।

आधुनिक विज्ञानले पनि यसलाई समर्थन गरेको छ । अदुवामा पाइने ‘जिन्जरोल’ र लसुनमा पाइने ‘एलिसिन’ नामक तत्वले मेटाबोलिजम बढाउने, रक्तसञ्चार सुधार्ने र शरीरमा प्राकृतिक ताप उत्पादन गर्ने काम गर्छन् ।

यही कारणले जाडोमा अदुवा र लसुनको सेवनले शरीरलाई सुस्त हुन दिँदैन, ऊर्जा कायम राख्छ र चिसोको असर कम गर्छ ।

२.बेसार- प्राकृतिक एन्टि–इन्फ्लेमेटरी औषधि

बेसार जाडोयामको सबैभन्दा प्रभावकारी मसला मध्ये एक हो । यसमा पाइने कर्कुमिन तत्वले शरीर सुन्निएको भए कम गर्छ, प्रतिरक्षा प्रणाली बलियो बनाउँछ र संक्रमणसँग लड्न मद्दत गर्छ । जाडोमा जोर्नी दुखाइ, घाँटी दुख्ने र बारम्बार रुघाखोकी लाग्ने समस्या भएमा बेसार अत्यन्त फाइदाजनक हुन्छ । तातो दूधमा बेसार मिसाएर पिउनु जाडोको लागि उत्तम घरेलु उपचार मानिन्छ ।

३.सख्खर : जाडोको प्राकृतिक ऊर्जा स्रोत

सख्खर जाडोमा विशेष महत्व राख्ने खाद्य पदार्थ हो । यसले शरीरलाई छिटो ऊर्जा दिन्छ, रगत सफा राख्छ र चिसोले हुने कमजोरी हटाउँछ । त्यसैले, जाडो भगाउनका लागि भनेर यो मौसममा चाकु–तिलको लड्डु खाने चलन प्रचलित छ । सख्खरले शरीरको तापक्रम सन्तुलनमा राख्न सहयोग पुर्‍याउँछ ।

४.गेडागुडी र प्रोटिनयुक्त खाना

दाल, केराउ, चना, गहत, सिमी जस्ता गेडागुडीले शरीरलाई ऊर्जा दिन्छन् र लामो समयसम्म न्यानो राख्छन् । यसमा हुने प्रोटिनले मांसपेशी बलियो बनाउँछ र चिसोका कारण हुने कमजोरी कम गर्छ । जाडोमा हल्का तर पोषिलो खाना खानु स्वास्थ्यका लागि अत्यन्त लाभदायक हुन्छ ।

५.जिरा, धनियाँ, मरिच र दालचिनी जस्ता मसला

जिरा, धनियाँ, कालो मरिच र दालचिनी जस्ता मसला जाडोमा विशेष उपयोगी हुन्छन् । यी मसलाले पाचन सुधार्छन्, शरीरमा ताप उत्पन्न गर्छन् र ग्यास तथा पेट फुल्ने समस्या कम गर्छन् । सानो मात्रामा तर नियमित प्रयोग गर्दा यी मसलाले औषधि जस्तै काम गर्छन् ।

शरीरलाई भित्रबाट न्यानो नराख्दा के हुन्छ ?

जाडोमा धेरै मानिसको हातखुट्टा चिसो हुने, शरीर भारी भएको र थकान महसुस हुने समस्या हुन्छ । यी खानेकुरा खाँदा रगतको प्रवाह तीव्र बनाउने भएकाले शरीरका अंग–अंगमा न्यानोपन पुर्‍याउँछ । नियमित सेवनले चिसोका कारण हुने शरीरको सुस्तता हटाएर सक्रिय बनाउँछ । प्रतिरोधात्मक क्षमता पनि बढाउँछ, जसले गर्दा मौसमी संक्रमणबाट जोगाउँछ ।

घाम ताप्ने बानी र शारीरिक गतिविधि

यो मौसममा शरीर न्यानो बनाउन खानेकुरा मात्र खाएर हुँदैन । घाम ताप्ने र शारीरिक गतिविधि पनि बढाउनुपर्छ । जाडोमा बिहानको घाम शरीरका लागि अमृत समान हो । घाम ताप्दा शरीरले भिटामिन डी पाउँछ, जसले हड्डी बलियो बनाउँछ र रोग प्रतिरोधक क्षमता बढाउँछ । शरीर पनि न्यानो हुन्छ । साथै, हल्का व्यायाम, योग वा हिँडडुलले रक्तसञ्चार बढाएर शरीरलाई न्यानो राख्न मद्दत गर्छ । यसले शरीरलाई फुर्तिलो पनि बनाइराख्छ । शरीरलाई उर्जा दिन्छ ।

पर्याप्त निद्रा र तनाव कम गर्ने अभ्यास

जाडोमा शरीरलाई बढी आरामको आवश्यकता पर्छ । पर्याप्त निद्राले शरीरलाई पुनः ऊर्जा दिन्छ र प्रतिरोधात्मक क्षमता सुधार्छ । तनावले शरीर चिसो महसुस गराउँछ शारीरिक गतिविधि बढाउने उर्जा र जाँगरलाई पनि चिसोले कम गर्छ । त्यसैले ध्यान, प्राणायाम वा शान्त गतिविधि अपनाउनु जाडोमा स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।

जाडो न्यानो
डा. नरेन्द्र लामिछाने
लेखक
डा. नरेन्द्र लामिछाने
अकुपञ्चर विशेषज्ञ

अकुपञ्चर विशेषज्ञ डा. लामिछाने हाल पोखरीस्थित गण्डकी आयुर्वेद अस्पतालमा कार्यरत छन्। अकुपञ्चरमा एमडी गरेका उनको नेपाल आयुर्वेद मेडिकल काउन्सिल दर्ता नम्बर ६६६ रहेको छ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय