News Summary
Generated by OK AI. Editorially reviewed.- कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा मंगलबार महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माका प्रतिवेदन पारित भएपछि नेतृत्व चयन प्रक्रियामा अघि बढिएको छ।
- सभापतिमा चार उम्मेदवारका लागि मनोनयन भइसकेको छ र देउवा पक्ष र गगन–विश्वप्रकाश पक्षबीच स्पष्ट द्वन्द्व देखिएको छ।
- शेरबहादुर देउवाले आज रातिसम्म पार्टी सभापतिको वैधानिकता राखेका छन्, त्यसपछि बहुसंख्यक प्रतिनिधिले नयाँ नेतृत्व चयन गर्नेछन्।
२९ पुस, काठमाडौं । विशेष महाधिवेशनलाई भृकुटीमण्डपको भेला भनेर शेरबहादुर देउवा पक्षले सीमित गर्न खोजे पनि कांग्रेसको आन्तरिक जीवनमा यो नै निर्णायक बन्ने प्रष्ट भएको छ ।
कांग्रेस दोस्रो विशेष महाधिवेशनको तेस्रो दिन अर्थात् मंगलबार बन्दसत्रमा दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माका प्रतिवेदनहरू पारित भएसँगै अब उनीहरू नेतृत्व चयनतर्फ अघि बढेका छन् ।
सभापतिमा चार उम्मेदवारका लागि मनोनयन फारम लगिसकिएको छ । अरु पदका लागि पनि आकांक्षीहरू भिड्दैछन् ।
कांग्रेस नेता सुवास पोखरेलले बन्दसत्रपछि मिडिया सेन्टरमा बोलेझैं, अब सभापति देउवा र महामन्त्रीहरुका बीचमा कुनै ‘मध्यस्थकर्ता’ रहेन । कांग्रेसमा अब दुई पक्ष देखिएका छन् ः देउवा पक्ष र गगन–विश्वप्रकाश पक्ष ।
विश्वप्रकाशले अर्का महामन्त्री गगनलाई महाधिवेशनको माइकबाटै अबको पार्टी सभापति, अनि प्रधानमन्त्रीको उम्मेदवार प्रस्ताव गरिसकेका छन्, जसलाई कर्तल ध्वनिले अनुमोदन गरेको छ ।
शेरबहादुर देउवासँग आज रातिसम्म मात्रै पार्टी सभापतिको वैधानिकता बाँकी छ । त्यसपछि कांग्रेसका बहुसंख्यक महाधिवेशन प्रतिनिधिले गगन वा जोकोही नयाँ अनुहारलाई चुन्न पाउने आफ्नो अधिकार प्रयोग गर्नेछन् ।
यो देउवाको राजनीतिक जीवनमा आएको ठूलो असफलता हुनेछ । याद गरौं, २८ असोजसम्म उनीसँग कांग्रेसको नेतृत्व अधिकार थियो । त्यसपछि पूर्णबहादुर खड्कालाई कार्यबाहक सुम्पँदै सक्रिय राजनीतिबाट अवकाशको संकेत गरे पनि देउवाले फेरि सत्तालोभ गरे ।
राष्ट्रपति, प्रधानमन्त्री लगायतले डाकेका बैठकमा जान थाले । पार्टीका नीति निर्णयमा पूर्णबहादुर खड्कालाई औपचारिक बैठकमार्फत् अघि सारे पनि चाबी भने आफूसँगै राखे ।
देउवाले आज मंगलबार साँझ भनेका छन्, ‘साँझसम्म कुरौं, म मिलाउँछु । किन अन्यथा निर्णय गर्ने ?’
पहिले थोरै बोल्ने देउवाका बोली निर्णायक हुन्थे, अब उनी प्रतिक्रियामा सीमित छन् । उनको यो प्रतिक्रिया प्रकाशशरण महतको मुखबाट बाहिर आएको छ, जसलाई विशेष महाधिवेशनले पूरै खण्डन गरिदिएको छ ।
गगन थापाले भनेका छन्, ‘कुनै सम्झौता भएको छैन, कुनै नयाँ विषय प्रवेश भएछ भने पनि यो विशेष महाधिवेशन हलभन्दा बाहिर निर्णय हुँदैन । यही हलले जे पास गर्छ, त्यही अन्तिम निर्णय हुन्छ ।’
त्यस अर्थमा देउवाका लागि बहुसंख्यक महाधिवेशन प्रतिनिधिले प्रयोग गर्ने पार्टीको सर्वोच्च अधिकारलाई शिरोपर गर्नुको विकल्प हुने छैन ।
साँझ बसेको बैठकपछि रमेश लेखकले विशेष महाधिवेशनको स्वामित्व लिन मोटामोटी सहमति भएको बताएका छन् ।
महाधिवेशनमा पेश भएका प्रतिवेदन अध्ययन गरी संस्थापन पक्षबाट आएका सुझाव समावेश गरेर पारित गर्न सकारात्मक भएको उनको भनाइ छ । एमालेसँग चुनावी गठबन्धन नगर्न पनि संस्थापन लचिलो भएको उनले सुनाएका छन् ।
अब सहमति हुन नसकेको मुख्य विषय सभापति देउवा सक्रिय राजनीतिबाट अलग हुने वा पदमा टाँसिइरहने भन्ने हो । आगामी फागुनको आम चुनावमा बाँडिने टिकटमा कसले हस्ताक्षर गर्छ भन्ने अर्को प्रश्न छँदै छ ।
तर यी विषयमा देउवा पक्षले स्पष्ट कुरा गरेको छैन । केवल देउवा सकारात्मक छन् भनेको छ । गगन र विश्वलाई प्रष्टै दबाब छ– ७७ जिल्ला तथा प्रवासबाट आएका प्रतिनिधिहरुलाई ‘होला, यदि, नत्र, त्यसो भएमा’ जस्ता वाक्य प्रयोग गरेर फर्काउन असम्भव छ । उनीहरु अब हुन्छ र हुन्नमा निर्णय लिएर हलमा छिर्नुपर्ने चुनौतीमा छन् ।
यस अर्थमा देउवासँग आज मध्यरातसम्म बोल्ड डिसिजन लिनुपर्ने चुनौती छ । अब पनि उनले पदको हठ गरिराखे भने कांग्रेस विभाजनको बाटोमा जाने छ ।
कुनै बेला विभाजन गरिसकेका देउवाका लागि आफ्नो राजनीतिक अवकाशको संघारमा अर्को कलंक लाग्ने छ । विधानतः अनि संविधान र कानुनको अभ्यास अन्तर्गत पनि देउवा आफूलाई वैध पुष्टि गर्ने कमजोर आधारसहित उभिनुपर्ने अवस्थामा हुनेछन् ।
गगन र विश्व भने पार्टी विधान बमोजिम महाधिवेशनलाई सर्वोच्च निकाय मान्दै बहुमत संख्या जुटाइरहेका छन् ।
देउवाले आफ्नो सम्मानजनक बहिर्गमनको पहलकदमी यसअघि नै गुमाइसकेका छन् । त्यस अर्थमा उनले पार्टी सग्लो राख्दै आफ्नो अनिवार्य अवकाशको बाटो लिनलाई केही घण्टामात्रै बाँकी छन् ।
बुधबार उम्मेदवारहरुले सभापतिदेखि केन्द्रीय सदस्य आदि पदका लागि भोट माग्दै कार्यकर्तासामू मत माग्न थालिसक्दा देउवाका लागि ‘अन्यथा निर्णय किन गर्ने,’ भनी सोध्ने हैसियतसमेत बाँकी रहने छैन ।
प्रतिक्रिया 4