+

राजनीतिक दलका घोषणा पत्रमा समेटिनै पर्ने जनस्वास्थ्यका १२ विषय

२०८२ माघ  २० गते १३:५३ २०८२ माघ २० गते १३:५३

घोषणापत्रमा विद्यालय तहदेखि नै स्वास्थ्य शिक्षा, पोषण, जीवनशैली, मानसिक स्वास्थ्य र यौन-प्रजनन स्वास्थ्य शिक्षा अनिवार्य र व्यवहारिक बनाउने स्पष्ट नीति समेटिनुपर्छ ।

Shares
राजनीतिक दलका घोषणा पत्रमा समेटिनै पर्ने जनस्वास्थ्यका १२ विषय

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फागुन २१ मा घोषणा गरिएको प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा सबै उम्मेदवारहरूले जनताको घरदैलोमा भोट माग्न थालेका छन्।
  • राजनीतिक दलहरूले आफ्नो घोषणापत्रमा जनस्वास्थ्यलाई केन्द्रमा राख्दै ठोस नीति र निर्णय प्रक्रियामा रूपान्तरण गर्नुपर्ने आवश्यकता छ ।
  • घोषणापत्रमा स्वास्थ्य बीमा एकीकृत गर्ने, आधारभूत स्वास्थ्य सेवा सुदृढ गर्ने, नसर्ने रोग र मानसिक स्वास्थ्यलाई प्राथमिकता दिनुपर्छ ।

जेनजी आन्दोलनको बलबाट तत्कालीन सरकार अपदस्त भएपछि नयाँ चुनावी सरकार गठन भयो । उक्त सरकारले फागुन २१ मा घोषणा गरेको प्रतिनिधिसभा निर्वाचन नजिक आइरहेको छ ।

अहिले सबै उम्मेदवारहरू भोट माग्न जनताको घरदैलो पुगिरहेका छन् । दलहरू चुनावी घोषणा पत्र तयार पार्ने पनि जुटिरहेका छन् । राजनीतिक दलहरूले घोषणापत्रमा जनस्वास्थ्यलाई केन्द्रमा राख्दै त्यसलाई संसदमा छलफल गरी ठोस नीति र निर्णय प्रक्रियामा रूपान्तरण गर्नु अपरिहार्य छ । किनकि स्वस्थ नागरिक बिना न त उत्पादनशील अर्थतन्त्र सम्भव हुन्छ न त लोकतन्त्र नै दिगो हुन सक्छ ।

जनस्वास्थ्य सामाजिक सुरक्षा, जीविकोपार्जन, शिक्षा, रोजगारी तथा गरिबी न्यूनीकरण जस्ता विषयहरुसँग प्रत्यक्ष जोडिएको विषय हो । यसलाई नीति र बजेटको प्राथमिकतामा नराख्दा असमानता बढ्छ र राज्यको विश्वसनीयता कमजोर हुन्छ । त्यसैले जनस्वास्थ्य घोषणापत्रमा समेटिनु भनेको केवल स्वास्थ्य सेवा विस्तार मात्र होइन, यसले मानव विकास, सामाजिक न्याय र सुशासनप्रतिको राजनीतिक प्रतिबद्धतालाई झल्काउँछ।

यस कारण राजनीतिक दलका घोषणापत्रमा जनस्वास्थ्यका निम्न समेट्नै पर्ने विषयहरु यस प्रकार छन् ।

१.स्वास्थ्य बीमालाई एकद्वार स्वास्थ्य वित्तीय संयन्त्र बनाउने

स्वास्थ्य सेवा उपयोगका क्रममा हुने खर्चको जोखिमलाई अग्रिम व्यवस्थापन गर्दै वित्तीय संरक्षण प्रदान गर्ने अवधारणाअनुसार सरकारले ल्याएको कार्यक्रम हो स्वास्थ्य बीमा । नेपालमा सामाजिक स्वास्थ्य सुरक्षाका कार्यक्रम तथा वित्तीय संयन्त्रहरु विभिन्न निकायबाट आ-आफ्नै तरिकाले सञ्चालित छन् । यस्ता समानान्तर कार्यक्रमका कारण नागरिकहरू अलमलमा छन् । दोहोरो सेवा उपयोग, स्रोत व्यवस्थापनमा दोहोरो खर्च तथा स्वास्थ्य वित्त व्यवस्थापन प्रणालीमा संरचनागत दबाब सिर्जना भएको छ ।

स्वास्थ्य बीमालाई एकीकृत एकद्वार स्वास्थ्य वित्तीय संयन्त्र बनाउने नीति अवलम्बन गर्नु जरुरी देखिन्छ । यसो गर्दा आर्थिक स्रोतको दक्ष उपयोग, दावी र भुक्तानी प्रक्रियाको पारदर्शीता र सेवाप्रदायकलाई अनुगमन तथा नियमन गर्न सहज हुन्छ । गरिब, असहाय, दीर्घरोगी र विपन्न वर्गलाई स्वास्थ्य बीमा प्रिमियम राज्यले बेहोर्ने नीति राख्नाले जोखिमको न्यूनिकरण र समान पहुँच बढाउन मद्दत पुगेको छ ।

वार्षिक २८ अर्ब भन्दा बढी प्रत्यक्ष वित्तीय सुरक्षा प्रदान गरिरहेको नागरिकको भरोसाको कार्यक्रम हाल बन्द हुने अवस्थामा छ । सेवा प्रदायक संस्थाको भुक्तानी हुन नसक्दा कार्यक्रम नै वित्तीय संकटमा परेको छ । स्वास्थ्य बीमा प्रणालीलाई राष्ट्रिय गौरवको रूपमा स्थापना गर्न सकेमा नागरिकको वित्तीय भार न्यून हुने मात्र नभई, समग्र स्वास्थ्य प्रणालीमा दिगो र गुणस्तरीय सुधार हुनेछ ।

२.आधारभूत स्वास्थ्य सेवालाई स्वास्थ्य प्रणालीको मेरुदण्ड बनाउने

नेपालको स्वास्थ्य सेवा वितरण अझै अस्पताल केन्द्रित हुँदा ग्रामीण क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवाको अभाव छ । आधारभूत स्वास्थ्य सेवा समुदायसम्म पुर्‍याउनुपर्छ । प्रारम्भिक रोग पहिचान, उपचार र रोकथामले अस्पतालमा पर्ने बोझ कम गर्छ र कुल स्वास्थ्य खर्च नियन्त्रणमा आउँछ ।

नागरिक स्वयं आफ्नो स्वास्थ्य सेवा उपयोग लगायतको विवरण हेर्न सक्ने डिजिटल प्लेटफर्मले पारदर्शीता, जवाफदेहिता र सेवाप्राप्तिमा सहजता ल्याउनेछ ।

स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थालाई सशक्त बनाउँदा मात्रै नागरिकले घरदैलोमै आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्न सक्छन् । समुदायमा स्वास्थ्यकर्मी जोडिने प्रणालीलाई थप प्रशिक्षित र समायोजित गर्दै र नसर्ने रोगको प्रारम्भिक जाँच तथा उपचार प्राथमिक तहमै उपलब्ध गराउने नीति घोषणापत्रमा समावेश गर्नु आवश्यक छ ।

३.नसर्ने रोग र मानसिक स्वास्थ्यलाई प्राथमिकता

नेपालमा नसर्ने रोगहरू (जस्तै क्यान्सर, मधुमेह, उच्च रक्तचाप, मुटु रोग) र मानसिक स्वास्थ्य समस्या तथा सवारी दुर्घटना बढिरहेका छन् । यी रोगहरू मृत्यु र अशक्तताको मुख्य कारण बनेका छन् । २०२५ को तथ्यांकअनुसार मुटु रोग, मधुमेह र क्यान्सर सम्बन्धी समस्याहरू मृत्युका प्रमुख कारणहरू हुन् ।

वयस्कहरूमा मानसिक स्वास्थ्य समस्या उल्लेखनीय रूपमा बढ्दै गएको देखिन्छ । यसैगरी, स्वास्थ्य प्रणालीले नसर्ने रोगको रोकथामलाई प्राथमिकता नदिँदा उपचार खर्च र स्वास्थ्य प्रणाली माथिको बोझ बढेको छ । नसर्ने रोगहरूको न्यूनीकरण तथा स्वास्थ्य प्रवर्द्धन कार्यका लागि सबै स्थानीय तहहरूमा योग, ध्यान केन्द्र, खुला व्यायमशाला तथा स्थानीय स्वास्थ्य संस्थाहरूलाई स्वास्थ्य प्रवर्द्धन केन्द्रका रुपमा समेत एकीकृत गर्न सकिने छ ।

त्यसैले घोषणापत्रमा नसर्ने रोगको रोकथामलाई शिक्षा, शहरी योजना, श्रम तथा कर नीतिसँग समन्वय गर्दै समग्र नीतिगत दृष्टिकोण अपनाउने, सुर्तीजन्य पदार्थ र अस्वस्थकर खानामा कडा नियमन लागू गर्नुका साथै छुट्टै मानसिक स्वास्थ्य सेवा नीति अवलन्बन गर्नुपर्छ ।

४.मातृ-शिशु स्वास्थ्य र पोषणमा दीर्घकालीन लगानी आवश्यक

नेपालमा मातृ मृत्यु दर प्रति १ लाखमा १५१ छ । नवजात शिशु मृत्यु दर एक हजारमा २१ रहेको छ । यो तथांक दिगो विकासको लक्ष्य भन्दा निकै बढी हो ।
यी तथ्यहरूले स्वास्थ्य सेवा पहुँच र गुणस्तरमा चुनौती रहेको देखाउँछन् । घोषणापत्रमा सुरक्षित मातृत्व र नवजात सेवा, किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा, पोषण, खोप, यौन-प्रजनन स्वास्थ्य कार्यक्रम र विद्यालय स्वास्थ्य कार्यक्रमलाई प्राथमिकतामा राख्ने स्पष्ट नीति समावेश हुनु आवश्यक छ ।

पाँच वर्षमुनिका बालबालिकामा कुपोषणले दीर्घकालीन असर पार्छ । यसलाई रोक्न बहुक्षेत्रीय पोषण नीति लागू गर्दै कृषि, शिक्षा, स्वास्थ्य र स्थानीय सरकारबीच समन्वय सुनिश्चित गर्नुपर्ने आवश्यकता छ।

५.स्वास्थ्य जनशक्ति र सेवा प्रदायकको संरक्षण

नेपालमा दक्ष स्वास्थ्य जनशक्तिको अभाव हुदै गएको छ । स्वास्थ्यकर्मीहरूको उचित पारिश्रमिक, पेशागत सुरक्षा र सुरक्षित कार्य अवस्था सिर्जना नगर्दा पेशाबाट निष्कृयता र विदेश पलायन बढिरहेको छ ।

समयानुकूल स्वास्थ्य क्षेत्रको संगठन तथा व्यवस्थापन सर्वेक्षण गरी वैज्ञानिक स्वास्थ्य प्रणालीको स्थापना गर्नुपर्छ । साथै दुर्गम क्षेत्रमा जानका लागि आकर्षित गर्न प्रोत्साहन प्याकेज, तालिमको अवसर, तथा कामको वातावरण बनाउनु आवश्यक छ । सरकारी तथा निजी स्वास्थ्य संस्थाबीच स्पष्ट नियमन र सहकार्य नीति घोषणापत्रमा समावेश हुँदा सेवा गुणस्तर प्रवर्द्धन र नागरिकको विश्वास बढ्नेछ ।

६.सुरक्षित खानेपानी, सरसफाइ र वातावरणीय स्वास्थ्य

नेपालमा पानीजन्य रोग, वायुप्रदूषण र वातावरणीय जोखिम जनस्वास्थ्यका प्रमुख चुनौतीको रुपमा रहेका छन् । सुरक्षित खानेपानी र सरसफाइमा लगानी गर्नु जनस्वास्थ्यको प्रमुख आधारस्तम्भ हो ।

घोषणापत्रमा स्वच्छ खानेपानी, सरसफाइ, अस्पताल जन्य फोहोर व्यवस्थापन र वायुप्रदूषण न्यूनीकरणलाई स्वास्थ्य एजेन्डाको अभिन्न हिस्सा बनाउने नीति आवश्यक छ जसले जनस्वास्थ्य विपत् न्युनिकरणमा समेत योगदान गर्दछ ।

सङ्क्रामक रोगहरू न्यूनीकरणका लागि स्वास्थ्यजन्य तथा संक्रमणयुक्त फोहोरमैलाको वैज्ञानिक तवरले विसर्जन गर्ने योजना निर्माण तथा कार्यान्वयनको पहल अहिले आवश्यकता हो । विशेष गरी शहरी क्षेत्रको वायु प्रदूषण र ग्रामीण क्षेत्रको खानेपानी समस्या समाधान नगरी सर्ने तथा नसर्ने रोग नियन्त्रण सम्भव देखिँदैन।

७.आपतकालीन स्वास्थ्य तयारी, महामारी नियन्त्रण र जलवायु परिवर्तन

नेपाल भूकम्प, बाढी, पहिरो, महामारी र जलवायु परिवर्तनका असरका हिसाबले उच्च जोखिममा रहेको देश हो । कोभिड-१९ ले देखाएको अनुभवबाट सिक्दै घोषणापत्रमा आपतकालीन स्वास्थ्य तयारी, महामारी पूर्वतयारी, स्थानीय तहसम्मको आपतकालीन स्वास्थ्य प्रतिक्रिया प्रणाली सुदृढ गर्ने स्पष्ट नीति हुनुपर्छ । जलवायु परिवर्तनका कारण बढ्दै गएको स्वास्थ्य जोखिमता, सरुवा रोग र पोषण संकटलाई सम्बोधन गर्ने जलवायु प्रतिरोधी स्वास्थ्य प्रणाली विकास गर्ने प्रतिबद्धता पनि घोषणापत्रमा समेटिनुपर्छ ।

८.जनस्वास्थ्य अनुसन्धान र सर्भेलेन्स

नेपालमा दिगो स्वास्थ्य सुधार, तथ्यमा आधारित नीति निर्माणका लागि अनुसन्धान र स्वास्थ्य निगरानी (सर्भेलेन्स) अत्यावश्यक छन् । वास्तविक तथ्यांक र प्रमाणको अभावमा स्वास्थ्य कार्यक्रम प्रभावकारी ढंगले कार्यान्वयन भए नभएको एकिन गर्न कठिनाइ भएको छ ।

तीन तहको स्वास्थ्य प्रणालीको एकीकृत स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली, निरन्तर रोग निगरानी, जोखिम मूल्याङ्कन, स्वास्थ्य सेवा उपयोग र कार्यक्रमको मूल्याङ्कनले नीति निर्माणमा तथ्यमा आधारित निर्णय लिन मद्दत पुर्‍याउँछ । घोषणापत्रमा यी प्रणालीलाई प्राथमिकता दिँदै डेटा सङ्कलन, डिजिटल स्वास्थ्य प्रणाली, रोग निगरानी नेटवर्क र अनुसन्धान परियोजनालाई स्पष्ट रूपमा समावेश गर्नु आवश्यक छ ।

९.जनस्वास्थ्य शिक्षामा लगानी

राजनीतिक दलको घोषणापत्रमा जनस्वास्थ्य शिक्षा समेट्नु अत्यन्त महत्वपूर्ण छ, किनकि यी क्षेत्र मानव विकास र सामाजिक न्यायको आधार हुन् । स्वस्थ र शिक्षित नागरिकले मात्र उत्पादनशील अर्थतन्त्र, सहभागिता र दीगो विकास सुनिश्चित गर्न सक्छन् ।

किशोरावस्थामा विवाह, कुपोषण र मातृ-शिशु स्वास्थ्य समस्या शिक्षासँग गहिरो रूपमा गाँसिएका छन् । त्यसैले घोषणापत्रमा विद्यालय तहदेखि नै स्वास्थ्य शिक्षा, पोषण, जीवनशैली, मानसिक स्वास्थ्य र यौन-प्रजनन स्वास्थ्य शिक्षा अनिवार्य र व्यवहारिक बनाउने स्पष्ट नीति समेटिनुपर्छ । साथै, स्वास्थ्य साक्षरता समुदाय तहसम्म विस्तार गर्दा सेवा उपयोग बढ्ने, ढिलो उपचार गर्ने दर घट्ने र रोकथाममुखी स्वास्थ्य व्यवहार प्रवर्द्धनमा योगदान पुग्नेछ।

१०.जीविकोपार्जन, गरिबी न्यूनीकरण र स्वास्थ्यबीचको अन्तरसम्बन्ध

स्वास्थ्य उपचारको खर्च धान्न नसक्दा प्रत्येक वर्ष गरिबीको रेखामुनि धकेलिने दर बढ्दो क्रममा छ । नेपालमा अझै ठूलो जनसंख्या अनौपचारिक रोजगारी, अस्थिर आम्दानी र सामाजिक सुरक्षाको अभावमा रहेको छ, जसले स्वास्थ्य सेवामा पहुँच कमजोर बनाएको छ ।

घोषणापत्रमा जीविकोपार्जन, रोजगारी सिर्जना, सीप विकास र सामाजिक सुरक्षा कार्यक्रमलाई स्वास्थ्य नीतिसँग प्रत्यक्ष रूपमा जोड्ने स्पष्ट दृष्टिकोण आवश्यक छ । सुरक्षित रोजगारी, न्यूनतम आम्दानीको प्रत्याभूति र सामाजिक सुरक्षा विस्तारले कुपोषण, मानसिक तनाव र दीर्घरोगको जोखिम घटाउन सहयोग पुग्दछ । सीमान्तकृत, लोपन्मुख तथा पिछडिएको वर्गलाई विशेष स्वास्थ्य सुरक्षा योजना लागू गरी सामाजिक न्यायको प्रत्याभूति दिलाउन जरुरी छ ।

११.डिजिटल स्वास्थ्य र पारदर्शीता

आधुनिक स्वास्थ्य प्रणालीका लागि डिजिटल स्वास्थ्य अनिवार्य छ । नेपालको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरणको तथ्यांकसँग अन्तरआवद्धता गरी आम नागरिकले सूचना पाउने गरी एकीकृत फ्यामिली हेल्थ प्रोफाइल निर्माण, डिजिटल हेल्थ आई.डि,अनलाईन रिफरल जस्ता स्वास्थ्य सूचना प्रणालीले दावी, भुक्तानी र सेवा गुणस्तरको रियल टाईम अनुगमन सम्भव बनाउँछ । नागरिक स्वयं आफ्नो स्वास्थ्य सेवा उपयोग लगायतको विवरण हेर्न सक्ने डिजिटल प्लेटफर्मले पारदर्शीता, जवाफदेहिता र सेवाप्राप्तिमा सहजता ल्याउनेछ ।

१२.समन्वय, सहकार्य र सहअस्तित्वमा आधारित समग्र स्वास्थ्य सुशासन

नेपालको संविधानको धारा २३२ ले निर्देशित गरेको संघ, प्रदेश र स्थानीय तहबीचको सहकार्य, सहअस्तित्व र समन्वयलाई आत्मसात नगरी प्रभावकारी जनस्वास्थ्य सुधार सम्भव छैन । त्यसैले राजनीतिक दलका घोषणापत्रमा स्वास्थ्यलाई उपचारमा मात्र सीमित नगरी स्वास्थ्यका बहुआयामिक क्षेत्रलाई त्यसले समेट्नुपर्छ ।

विशेषगरी कृषिमा विषादीको प्रयोग, खाद्य सुरक्षा, सडक तथा सवारी सुरक्षा, पेशागत स्वास्थ्य र वातावरणीय जोखिमजस्ता स्वास्थ्यसँग प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा जोडिएका विषयलाई समन्वित रूपमा सम्बोधन गर्ने स्पष्ट दृष्टिकोण समेटिनु आवश्यक छ ।

साथै जीवनपथमा आधारित स्वास्थ्य सेवा, प्रदेश तथा स्थानीय तहलाई आवश्यक कानुनी मस्यौदा निर्माणमा संघीय सहजीकरण र स्थानीय तहलाई असहज हुने स्वास्थ्य सेवा तथा कार्यक्रम संघीय तहबाट व्यवस्थापन गर्ने विषय घोषणापत्रमै स्पष्ट हुनुपर्दछ । शिक्षा, कृषि, श्रम, वातावरण लगायतका क्षेत्रसँग संरचित सहकार्यको खाकाबिना ‘हेल्थ इन अल पोलिसी’ को अवधारणा व्यवहारमा उतार्न कठिन हुने भएकाले, यस्ता अन्तरक्षेत्रीय समन्वयका विषयहरू घोषणापत्रमा अनिवार्य रूपमा समावेश गरिनु जरुरी छ ।

घोषणा पत्र स्वास्थ्य
विकेश मल्ल
लेखक
विकेश मल्ल
जनस्वास्थ्यकर्मी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

न्याम्सका आवसीय चिकित्सक आन्दोलनमा, सेवा बन्द गर्ने चेतावनी

न्याम्सका आवसीय चिकित्सक आन्दोलनमा, सेवा बन्द गर्ने चेतावनी

के हातमा पसिना आइरहनु कुनै रोगको संकेत हो ?

के हातमा पसिना आइरहनु कुनै रोगको संकेत हो ?

रोगप्रतिरोधि क्षमता, दीर्घायु र यौवन जोगाउने अमला

रोगप्रतिरोधि क्षमता, दीर्घायु र यौवन जोगाउने अमला

हात पोल्यो, तुरुन्त के गर्ने ? जानी राखौं ६ घरेलु उपाय

हात पोल्यो, तुरुन्त के गर्ने ? जानी राखौं ६ घरेलु उपाय

बन्यो खोकीको आवाजबाट फोक्सोको समस्या पत्ता लगाउने एप, अस्पतालले दियो अनुमति

बन्यो खोकीको आवाजबाट फोक्सोको समस्या पत्ता लगाउने एप, अस्पतालले दियो अनुमति

गलगाँड हटायो आयोडिनयुक्त नुनले, तर त्यसैले बढाउँदैछ थाइराइडको जोखिम

गलगाँड हटायो आयोडिनयुक्त नुनले, तर त्यसैले बढाउँदैछ थाइराइडको जोखिम