+

शरीर जल्यो, मन जलेन : रविलक्ष्मीको त्यो सहनशीलता

२०८२ माघ  २९ गते ९:३३ २०८२ माघ २९ गते ९:३३

जीवनभरको कमाइबाट बनेको घर जल्यो, शारीरिक पीडाले थला परिन् । यति ठूलो त्रासदीपछि पनि रविलक्ष्मीको मानसिक शक्ति अटुट देखिन्छ ।

शरीर जल्यो, मन जलेन : रविलक्ष्मीको त्यो सहनशीलता

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको घरमा प्रेटोल बम प्रहारपछि आगो लागेर उनको शरीर र घर दुवै जले।
  • रविलक्ष्मीको उपचार दिल्लीको एपोलो अस्पतालमा गरिएको थियो । उनको देब्रे हात काटिएको छ भने स्वास्थ्य अवस्था क्रमशः सुधार हुँदैछ।

बेकसुर उनको घर जल्यो । घरसँगै शरीर जल्यो । असह्य पीडा र वेदना छिचोल्दै जसोतसो उनी बाँचिन् । किनभने उनलाई बाँच्नु नै थियो । र सुनाउनु नै थियो, सहनशीलता आफैंमा एक उत्कृष्ट जित हो ।

मृत्युसँग पौंठेजोरी खेलेर उठ्दा उनको एउटा हात थिएन । शरीर सद्दे थिएन । यति भयानक कष्ट झेलिरहँदा पनि उनले कसैमाथि तितो पोखिनन् । कसैलाई सत्तेसराप गरिनन् । एक नियमित आकस्मिकताको खेल ठानी सहज स्विकारिन् ।

यो कुनै त्रासदीको कथा होइन । यो साहनुभूतिको कथा पनि होइन । बरू अटुट आशा र सकारात्मक भावको कथा हो, जसले मान्छेलाई सन्तुलित जीवन बाँच्न सिकाउँछ ।
कथा हो, रविलक्ष्मी चित्रकारको ।

…………….

धर्ती भई एक चोटी सहेर हेर अरूले कुल्चिएको
आगो भई एकचोटी जलेर हेर अरूले तापेको ।

त्यो अत्यासलाग्दो मध्यान्ह । बाहिर हो-हल्ला चर्किदै थियो । घर आसपासमा मान्छेहरूको भीड बढ्न थालेको थियो । त्यो भीडले उग्ररूप लिन कत्ति बेर लागेन । त्यसबेला डल्लुको घरभित्रै थिए– पूर्व प्रधानमन्त्री झलनाथ खनाल, रविलक्ष्मी चित्रकार, उनका छोरा र केही सुरक्षाकर्मी । बाहिर चर्को नाराबाजी भइरहेको थियो । त्यसै भीडबाट कसैले घरको झ्यालमा ढुंगा प्रहार गर्‍यो । एक–दुई गर्दै ढुंगाको वर्षा हुनथाल्छ । केही क्षणमै माहोल तनावग्रस्त बन्छ ।

हतारहतार चित्रकार माथिल्लो तलामा चढिन् । उनलाई लागेको थियो– ढुंगामुढा गरेर यो हुल फर्किनेछ । क्षणभरमै परिस्थितिले रुप फेर्छ । त्यसपछि जे भयो, त्यो उनको कल्पनाभन्दा पनि भयावह बन्यो ।

कसैले प्रेटोल बम घरभित्र हान्यो । केही बेरमा आगोको मुस्लो घरभरि फैलियो । बाहिर नस्किन सक्ने अवस्था भएन । उनी अझै माथिल्लो तलामा चढिन् । धुवाँ एकदमै कडा थियो । सबैतिर अन्धकार छायो । थोरै अगाडि देख्न पनि मुस्किल भयो । बाहिर बरन्डामा निस्कन कोसिस गर्दै थिइन् । सास फर्ने गाह्रो भयो । उनी ढलिन् र अचेत भइन् ।

 

‘त्यो धुँवा एकदमै पोल्ने खालको थियो । छोएको मात्रै थियो हात जलिहाल्यो,’ कहालीलाग्दो क्षण सम्झिँदै रविलक्ष्मीले भनिन्, ‘त्यो बेला पीडा भन्दा पनि सास कसरी फेर्ने भन्नेमा थिएँ ।’

त्यसपछि के भयो, उनलाई थाहै भएन ।

झलनाथलाई सुरक्षकर्मीले घेरा हालेर सुरक्षित स्थानमा पुर्‍याइसकेका थिए । छोरा पनि जसोतसो घर बाहिर नस्किन सके । तर रविलक्ष्मी कतै देखिइनन् । झलनाथले श्रीमती घरमै परेको आशंकाले घर जान्छु भन्ने जिद्धी कसेपछि सेना परिचालन भयो ।

तर घरको भुइँतला दनदन बलिरहेको थियो । भित्र पस्ने असम्भव भयो ।

सुरक्षाकर्मी जुक्त्ति लगाए– छिमेकी घरबाट माथिल्लो तलामा जाने । भर्‍याङ हालेर माथिल्लो तलामा केही सुरक्षकर्मी पुगे । तर भीषण धुवाले केही देख्न सकिन । पानी छम्किँदै खोज्दा घन्टौँपछि बेहोस् अवस्थामा रविलक्ष्मी भेटिइन् । त्यतिबेलासम्म उनको मुख र हात–खुट्टाको भाग जलिसकेको थियो ।

पानी छम्किएपछि क्षणिक होस् फर्कियो । हतार–हतार छेउकै छाउनी अस्पताल लगियो । अवस्था जटिल थियो । चिकित्सकले तुरुन्तै कीर्तिपुर अस्पताल रेफर गरे, जहाँ जलनसम्बन्धी उपचार हुन्छ ।

तर प्रर्दशनकारीले एम्बुलेन्समा ढुंगामुढा बर्साए । दुई दिनसम्म उनी बेहोस् थिइन् ।

जब होस् खुल्यो उनको देब्रे हात काटिएको थियो । डाक्टरहरूबीचकै कुराकानीबाट हात काटिएको थाहा पाइन् । त्यस क्षणलाई रविलक्ष्मीले सम्झिन्, ‘यसो आँखा हात तिर लगे । काटिएको थियो । तर हात भएकै फिल भइरहेको थियो ।’

बदलिएको दैनिकी

गम्भीर जलन र त्यसपछि फोक्सोमा भएको निमोनियाले उनको स्वास्थ्य झन् जटिल बन्यो । परिवारले थप उपचारका लागि दिल्लीको एपोलो अस्पताल लगे । लामो समयको उपचारपछि नेपाल फर्किइन् । केही हप्ता अगाडिको कुराकानीमा २४ भदौंमा खेपेको कहालीलाग्दो क्षण र स्वास्थ्य अवस्थाबारे उनले अनलाइखबरसँग सेयर गरिन् ।

नेपालमा जलन अस्पताल हुँदा–हुँदै किन भारत जानुपर्ने किन आयो भन्ने प्रश्नमा रविलक्ष्मी जवाफ थियो– नेपालमा आवश्यक औषधि पाइएन ।

जलनको उपचारका क्रममा विभिन्न शारीरिक समस्या देखिन्छन् । जसका लागि अन्य विशेषज्ञ चिकित्सकको आवश्यक पर्छ । तर हाम्रो स्वास्थ्य सेवा यस्तो बहुआयामिक संकट टार्न सक्षम भएन ।

एपोलोको उपचार अनुभवले रविलक्ष्मीलाई फरक चित्र देखायो– डिपार्टमेन्टबीचको बलियो कोर्डिनेसन, समस्या देखिनासाथ सम्बन्धित विशेषज्ञ, छिटो निर्णय लिने क्षमता ।

‘यहाँ राम्रो प्रयास भएको थियो‘ उनी भन्छिन्, ‘तर औषधि नै नहुनु ठूलो कमजोरी बन्यो ।’

कीर्तिपुर अस्पतालप्रति उनी कृतज्ञ छिन् । जलन उपचारमा नेपालको केन्द्र मानिने कीर्तिपुर अस्पतालका स्वास्थ्यकर्मीले नै ज्यान बचाए ।

अहिले स्वास्थ्य अवस्था क्रमशः सुधार हुँदैछ । खानपानमा खासै रोक छैन तर उनको दैनिकी पूर्णतया परिवर्तन भएको छ ।

पहिला बिहानै उठेर घर सम्हाल्ने, अरूलाई सेवा गर्ने हात आज अरूको सहयोग खोज्छ । ‘उठ्न, हिँड्न, दैनिक काम सबैमा अरूको साथ चाहिन्छ’ उनी भन्छिन्, ‘सेवा दिने हातले आज सेवा लिनुपरेको छ ।’

जीवनभरको कमाइबाट बनेको घर जल्यो, शारीरिक पीडाले थला परिन् । यति ठूलो त्रासदीपछि पनि रविलक्ष्मीको मानसिक शक्ति अटुट देखिन्छ ।

‘चिन्ता गरेर के गर्नु, जे हुनु भयो’ हिम्मत बलियो बनाउँदै भन्छिन्, ‘फर्केर आउन नसक्ने कुरालाई चिन्ता लिएर कुनै काम छैन । कसरी अगाडि बढ्नुपर्छ भन्ने सोच राखिरहेको हुन्छु ।’

उनलाई थाहा छ– मानसिक रूपमा कमजोर हुँदा घाउ निको हुने सम्भावना कम हुन्छ । त्यसैले उनी आफ्नो मनलाई हिम्मत हार्न दिन्नन।

अनुशासन, धैर्य र सहयोग लिएर उनी अगाडि बढिरहेकी छिन् । किनकी थोरै हेल्चयाइँ गरे मात्रै पनि घाउमा संक्रमण फैलिने जोखिम हुन्छ ।

आन्दोलनको उग्रताले निर्दोष जीवनमा पारेको चोट निको हुँदैछ । रविलक्ष्मी भन्छिन्, ‘रिकभर ढिलो छ । धैर्यता राखेको छु ।’ हात–खुट्टा, पिठ्यूँ, टाउको लगायतका अंग जलेका छन् ।

ओछ्यानमा २४ घण्टा बस्नुपर्दा थप पीडाले सताउँछ । बाहिर घाउ निको भइकसकेको देखिएपनि भित्रसम्म गहिरो जलनले बेला-बेला कष्ट दिइरहन्छ । कहिलेकाहीँ फोका उठ्ने, दुख्ने समस्या बल्झिरहन्छ । पूरै निको हुन झन्डै एक वर्ष लाग्ने चिकित्सकले बताएका छन् ।

राजनीतिक परिवारसँग जोडिँदा आउने आरोप, सामाजिक आक्रोशलाई उनले सहजै लिएकी छिन् ।

‘राजनीतिक जीवनमा यस्ता उतार–चढाव आउँछन्’ उनी आफैंलाई सान्त्वना दिँदै भन्छिन् ।

सम्झनाको खरानी

रविलक्ष्मी जब अस्पतालको शैयामा थिइन्, शारीरिकभन्दा बढी मानसिक पीडाले सताइरहेको थियो । जलन घाउको उपचार महँगो थियो, विदेशी मुलुकमा उपचार भइरहेको थियो।

आफैँ उपचार गर्ने सक्ने सामर्थ थिएन । साथीभाइको अलिअलि सहयोगले उपचार सम्भव भयो । उनको मनको कुनामा गढिएको छ– मनकारी साथीभाइ नभएको भए, अहिले यो अवस्थामा हुँदिन थिएँ ।

अहिले उनी सोचिरहेकी हुन्छिन्– ‘लोकतन्त्रपछि तीन दशकको शासनले पनि स्वास्थ्य क्षेत्रमा आवश्यक सुधार ल्याउन सकिएन ।’ यसबीचमा सरकारको पूर्ण उदासीनताले थप पीडा थपेको छ । किनकी उपचारका लागि सरकारले एक वचन समेत सोधेन ।

जलेको घरको याद आउँदा रविलक्ष्मीको आँखा भिजेको हुन्छ । त्यस घर उनका लागि इँटा र सिमेन्टको संरचना मात्र थिएन । त्यो दशकौंका सम्झना, सपना र जीवनको यात्राको साक्षी थियो ।

सबैभन्दा बढी चिन्ता पुस्तकहरूको क्षतिले दियो । पूर्वप्रधानमन्त्री खनालले लेखेका १६ वटा किताबहरू, पार्टीको इतिहाससम्बन्धी दुर्लभ दस्तावेजहरू, दुर्लभ पुस्तकहरूको संकलन सबै खरानी भए ।

‘त्यस्तो दस्तावेजहरू अब कहाँ पाउने ?’ उनी असहाय स्वरमा भन्छिन् ।

नेताहरूको कमजोरीले पनि यस्तो घटना घट्न सजिलो बनाएको उनको बुझाइ छ । ‘भ्रष्टाचार, नातावाद, जवाफदेहीताको अभाव यी सबैले जनतामा आक्रोश बढायो’ उनी भन्छिन्,‘सबै नेता त्यस्तै हुन्छन् भनेर जनताले ठान्न थाल्यो । दुई–चार जनाको दम्बले यो अवस्था आयो ।’

रविलक्ष्मी अहिले कुनै राजनीतिज्ञ होइनन् । शिक्षण पेशामा उनको छुट्टै करियर थियो । आफ्नै मेहनतले जीवन अगाडि बढाइरहेकी थिइन् । तर जेनजी आन्दोलनले उनलाई छुट्याएन– किनभने उनी एक राजनीतिक परिवारकी सदस्य थिइन् ।

यत्रो चोट पर्दा राजनीतिक परिवारमा नजोडिएको भए हुन्थ्यो भन्ने लागेन ?

यो प्रश्नमा उनी भन्छिन्, सचेत मान्छेले राजनीति‍ गरेन भने कसले गर्छ ? देश अगाडि बढाउन राजनीति बिना सकिँदैन ।’

उनी केही समय राजनीतिमा पनि जोडिएकी थिइन् । श्रीमान्–श्रीमती नै राजनीतिमा लाग्दा घर धान्न मुस्किल भयो । अनि उनले राजनीति छोडेर शिक्षण पेशा रोजिन् ।

जेनजी आन्दोलनबारे रविलक्ष्मीको विश्लेषण स्पष्ट छ– राज्यले नागरिकलाई सुरक्षा दिनुपर्ने थियो । तर, राज्य प्रमुख दायित्वबाट चुक्यो ।

‘विकास गरेर मात्र हुँदैन, त्यसलाई रक्षा गर्न सुरक्षा पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ’ उनी भन्छिन् ।

कुराकानीको विट मार्दै रविलक्ष्मीले निष्कर्ष सुनाइन्, ‘अब देशको अवस्था सुधार्नुपर्छ । राजनीतिक दलहरूले जनताभन्दा टाढा बसेर एकलौटी निर्णय गर्नुहुँदैन । जनताको कुरा सुन्नुपर्छ । सबै मिलेर देशको हितमा सोच्नुपर्छ ।’

फोटो : शंकर गिरी

रविलक्ष्मी चित्रकार
लेखक
पुष्पराज चौलागाईं
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय