७ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले कांग्रेस नेतृत्वमा सरकार बनेको अवस्थामा गर्ने कार्यका लागि विगत सात वर्ष देखि ‘प्रोजेक्ट गर्भमेन्ट’को तयारी गरिरहेका थिए । बुधबार जनकपुरमा उपसभापति विश्वप्रकाश शर्मा लगायत नेताहरुसहित १० बुँदे आधार सार्वजनिक गरेका थापाले बिहीबार प्रजातन्त्र दिवसको अवसर पारेर कोरेको मार्गचित्रमा देश चलाउने अवसर पाए के गर्ने भन्ने उल्लेख छ ।
आसन्न प्रतिनिधि सभाको चुनावपछि कांग्रेस नेतृत्वको सरकार हुने अवस्थामा बनेमा उक्त दलबाट सत्ताको बागडोर सभापति थापाले सम्हाल्ने छन् । प्रोजेक्ट गर्भमेन्टको तयारी गरिरहेका सभापति थापाले आफ्नै नेतृत्वमा चुनावी प्रतिज्ञापत्र बनाएका छन् ।
निकट विगतको इतिहासमा जारी भएका कांग्रेसका ‘घोषणापत्र, प्रतिज्ञापत्र, संकल्पपत्र’ तयार गर्दा सभापति आफैं संयोजक बनेर तयार गर्ने प्रचलन थिएन ।
सभापति थापाको मूल नेतृत्वमा बिहीबार सार्वजनिक भएको प्रतिज्ञापत्रबारे उनी भन्छन्,‘कार्यान्वयन गर्ने व्यक्तिले आफैं लेख्नुपर्छ भनेर एक एकमा आफैं लागेर तयार गरेको छु ।’ १९९ पेजको प्रतिज्ञापत्र बन्नुमा विगतमा प्रोजेक्ट गर्भमेन्टका लागि गरिएका तयारी बारे जानकारी गराउने उद्देश्यले रहेको सभापति थापा बताउँछन् ।
नवयुवा विद्रोहबाट व्यक्त आकांक्षालाई आत्मसात् गर्दै त्यस अनुरुप पार्टी पूर्ण रुपान्तरित भएको उद्घोष कांग्रेसले प्रतिज्ञापत्रमा गरेको छ । जेनजी विद्रोहलाई नकार्ने र त्यसबाट लाभ उठाउने दुबै प्रवृत्ति रहेको उल्लेख गर्दै कांग्रेसले ती दुबै विचारको विपक्षमा आफूलाई उभ्याएको छ ।
ती प्रवृत्तिको विपक्षमा रहँदै प्रतिज्ञापत्रमा भनिएको छ,‘हामी न नवयुवाको विद्रोहलाई वेवास्ता वा ‘नकार्ने’ राजनीतिमा विश्वास गर्छौ । न त जनताको र नवयुवाको पीडाबाट राजनीतिक लाभ उठाउने ‘लाभांस’को राजनीतिमा विश्वास गर्छौं ।’
गत माघ १ गते विशेष महाधिवेशनबाट आएको कांग्रेसले नेतृत्व नीति परिवर्तन गरेर आफूलाई बदलिएको कांग्रेसको रुपमा प्रतिज्ञापत्रमा व्याख्या गरेको छ । पार्टीको सोंच, कार्यशैली परिवर्तन गरी परिवर्तित समयको चुनौतीलाई स्विकार्दै देशको अवस्था बदल्ने दृढ प्रतिज्ञा कांग्रेसले गरेको छ ।
पार्टी गुटबन्दी र व्यक्तिगत स्वार्थको चक्रव्यूहबाट मुक्त भएको दाबी गरिएको छ । कांग्रेस परिवर्तन भएको छनक निर्वाचन अघि गठबन्धन नगर्ने पछिल्लो निर्णयबाट भएको प्रतिज्ञापत्रमा लेखिएको छ ।

‘निर्वाचन अघिको गठबन्धन गर्ने संस्कृतिलाई अन्त्य गरेको छ । अब कांग्रेस कुनै पनि अवस्थामा सत्ताका लागि आफ्ना सिद्दान्तसँग सम्झौता गर्दैन,’ प्रतिज्ञापत्रमा भनिएको छ ।
विगतमा भएका राजनीतिक भागवण्डाले कांग्रेसमा सैद्धान्तिक विचलन आएको आत्मस्विकारोक्ति सहित संवैधानिक संस्थाहरुमा दलीय भागवण्डा अन्त्य नगर्ने प्रतिवद्दता गरिएको छ ।
सभापति थापा भन्छन्,‘पार्टीहरु जहाँ सिमित हुँदा बस्नु पर्ने हो । हामी नचाहिने ठाउँमा पनि खुलेर जान थाल्यांै । अड्डा, अदालत, प्रहरी, प्रशासन, विद्यालय जताततै जान थाल्यौं । त्यो क्रमलाई हामी बन्द गर्छौं ।’
देश विदेश जहाँ भएपनि कुनैपनि नेपाली पहुँचको अभाव र पहिचानका कारणले अपमानित नहुने अवस्थाको निर्माण कांग्रेसले गर्ने प्रतिज्ञा गरिएको छ । विदेशिएका नेपालीलाई ‘फर्कन र रहर लाग्ने र स्वदेशमा रहेकालाई ‘यहाँ सुनौलो भविष्य देखिने’ जीवन्त देश बनाउने प्रतिज्ञासहित कांग्रेसले जनतासँग मत मागेको छ ।
नागरिकले राज्यसँग प्राप्त गर्ने सेवामा पाउँदै आएको हैरानीलाई अन्त्य गर्ने कांग्रेसले प्रतिज्ञा गरेको छ । नागरिकले घरमै बसेर सहजतापूर्वक सरकारी सेवा प्राप्त गर्ने प्रतिज्ञा गरेको कांग्रेसले भनेको छ, ‘निर्भयतापूर्वक सरकारसँग प्रश्न गर्न र जवाफ माग्नसक्ने लोकतान्त्रिक वातावरण सुनिश्चितता हुनेछ । भौतिक रुपमा उपस्थित हुनुपर्ने अपवाद बाहेक सबै सार्वजनिक सेवा डिजिटल माध्यमबाट सातै दिन चौबिसै घण्टा उपलब्ध हुने व्यवस्था गर्नेछौं ।’
कांग्रेस नेतृत्वमा सरकार हुँदा भ्रष्टचारविरुद्ध निर्मम हुने सभापति थापाले बताए । उनी भन्छन्,‘हाम्रो पहिलो प्रतिज्ञा भनेको नेपाललाई पाँच वर्ष भित्र हामी भ्रष्टाचार मुक्त समाज बनाउछौं । हामी नागरिकहरुलाई हैरानीबाट मुक्त बनाउछौ र हाम्रो सरकारलाई जवाफदेही बनाउछौं । यो हाम्रो संकल्प हो । यो हाम्रो प्रतिज्ञा हो ।’

भ्रष्टाचार नियन्त्रणका लागि र दलहरुलाई पारदर्शी बनाउन लोकप्रिय मतको आधारमा जनताको करमा अतिरिक्त भार नपर्ने गरी राज्यकोषबाट वित्तिय सहयोग प्रदान गर्ने कानुनी व्यवस्था गर्ने प्रतिज्ञा गरिएको छ ।
सरकार गठन भएको पहिलो ३० दिनमा हरेक महिनाको कार्यविवरण सहित विस्तृत रोडम्याप सार्वजनिक गर्ने प्रतिज्ञा गरिएको छ । हरेक महिनाको पहिलो दिन अघिल्लो महिनाको समीक्षा सहित एक महिनाको कार्ययोजना प्रस्तुत गर्ने संकल्प कांग्रेसले गरेको छ ।
महिनाभरि प्राप्त भएका उपलब्धिहरू समेटेको ‘मासिक रिपोर्ट कार्ड’ देखाउने पद्धतिलाई हामी केन्द्रदेखि स्थानीय तहसम्मै संस्थागत गर्ने कांग्रेसको संकल्पपत्रमा भनिएको छ । यही प्रतिज्ञापत्रको आधारमा हरेक महिना कांग्रेस नेतृत्वको सरकारले गर्ने कार्यको कार्यान्वयनको खाका प्रस्तुत गरिने प्रतिज्ञापत्रका एक मस्यौदाकार प्रताप पौडेलले जानकारी गराए ।
पौडेल भन्छन्, ‘पाँच वर्ष सरकार सञ्चालनमा नैतिकता र जवाफदेहिता यही प्रतिज्ञापत्रको आधारमा हुनेछ ।’
२०४८ सालपछि सार्वजनिक जीवनका उच्च तहमा रहेका हरेक व्यक्तिको सम्पत्ति छानविन गर्न ६ महिनाभित्र उच्चस्तरीय अधिकार सम्पन्न छानविन आयोग गठन गर्ने प्रतिबद्धता कांग्रेसले गरेको छ ।
‘आफ्नो र परिवारको प्रत्यक्ष ‘स्वार्थको द्धन्द्ध’ रहेको विषयमा निर्णय गर्न, नीति वा कानुन निर्माणमा संलग्न हुन वा प्रभाव पार्न नपाउने स्वार्थको द्धन्द्ध सम्बन्धी कानुन एकवर्षभित्र बनाई लागु गर्छौं,’ प्रतिज्ञापत्रमा भनिएको छ ।
एकवर्षभित्र सार्वजनिक सेवा ऐन जारी गर्ने प्रतिज्ञा गरेको कांग्रेसले संवैधानिक निकायको नियुक्तिमा दुई वर्ष कुलिङ अफ पिरियडको व्यवस्था गर्ने संकल्प गरिएको छ । फौजदारी अभियोगमा मुद्दा लागेका जिम्मेवारीबाट बिदा गर्ने बाचा गरिएको छ ।
सार्वजनिक मन्त्री, सांसद उच्च पदस्थ व्यक्ति लगायत उच्च पदको ओहोदामा पुग्ने व्यक्तिले सपथ लिनुपर्ने र पद छाडेपछि सम्पत्ति सार्वजनिक अनिवार्य गर्ने प्रतिबद्धता गरिएको छ । सुशासनका लागि प्रधानमन्त्री कार्यालयमा तीन महिनाभित्र सुशासन केन्द्र र प्रत्येक मन्त्रालयमा सुशासन इकाइ स्थापना गर्ने संकल्प कांग्रेसको छ ।
प्रधानमन्त्री र मुख्यमन्त्री दुई पटक भन्दा बढी बन्न नपाउने प्रतिज्ञा गरेको कांग्रेसले संघमा जम्मा १६ र प्रदेशमा ७ वटा मन्त्रालय बनाउने संकल्प गरिएको छ ।

सरकारी सेवा प्रवाहलाई प्रभावकारी बनाउन हरेक घण्टा, हरेक दिन वा हरेक हप्तामा सकिने सेवाको समय तोकि सो सेवा समयमै सुनिश्चित गर्ने संकल्प कांग्रेसले गरेको छ ।
नागरिकले प्राप्त गर्ने सेवा बारे कांग्रेसले संकल्प गरेको छ,‘सरकारी सेवा पुरा हुने निश्चित दिन र समय तोकी तोकिएको समयमा काम नहुने र समयमा निर्णय नगर्नुको अख्तियार दुरुपयोग हो भन्ने मान्यताका साथ कारबाही र क्षतिपुर्तिको व्यवस्था गर्छौं ।’ सरकारले प्रवाह गर्ने सेवालाई प्रभावकारी बनाउन ‘फाइल होइन मोबाइल’ अवधारणा सहितको संकल्प कांग्रेसले गरेको छ ।
उदार अर्थतन्त्रको पक्षपाती कांग्रेसले आफ्नो प्रतिज्ञापत्रमा आफूलाई ‘प्रो प्राइभेट, प्रो ग्रोथ, र प्रो सोसल जस्टिस’ को पक्षमा देखाउँदै उदार अर्थतन्त्र, उत्पादनमुखी अर्थतन्त्र, न्यायमुलक अर्थतन्त्रको प्रतिज्ञा गरेको छ ।
‘करका दर र सर्तहरु कम्तिमा १० देखि १५ वर्षसम्म स्थिर रहने गरी ‘स्ट्याबिलिटी क्लज’ सहितको कानुनको ग्यारेन्टी गर्दैछौं,’ प्रतिज्ञापत्रमा भनिएको छ । उद्योगपति र व्यवसायीलाई हत्तोसाही बनाउन कार्य कांग्रेसले नगर्ने उल्लेख गर्दै सभापति थापाले भने,‘पहिले थुन्ने अनि सुन्ने’ प्रवृत्तिलाई अन्त्य गर्दछौं ।’
नागरिकको भान्सा महँगो हुन नदिने प्रतिज्ञा गरेको कांग्रेसले बजारमा हुने सिण्डिकेट, कार्टेलिङ, कृत्रिम अभावलाई निर्मूल पार्न ऐनको पूर्ण कार्यान्वय गर्ने जनाएको छ । कांग्रेसले प्रतिज्ञा गरेको छ, ‘खेतबारीदेखि भान्सासम्म आपूर्ति संयन्त्र बनाएर उपभोक्तालाई सस्तो मूल्य र किसानलाई उचित लाभ दिलाउँछौं ।’
कांग्रेसको सरकार बनेको अवस्थामा हचुवाको भरमा बजेट निर्माण नगर्ने र वित्तिय जवाफदेहिताको प्रतिज्ञा गरिएको छ । सरकारी अनावश्यक खर्च कटौती गर्न प्रतिवद्दता गरेको कांग्रेसले भनेको छ,‘अनावश्यक प्रशासनिक खर्च कटौती गरी सरकारलाई मितव्ययी बनाउन विभिन्न समयमा गठित आयोग र विज्ञ समूहका प्रतिवेदनहरुलाई व्यवहारिक आधारमा कार्यान्वयन गर्नेछौं ।’
सर्वसाधारणलाई राहत पुर्याउने उद्देश्यले व्यक्तिगत आयमा सुरुको १० लाख रुपैयाँसम्म आयकर नलगाउने प्रतिज्ञा गरिएको छ । संस्थागत आयकरलाई क्रमश: २० प्रतिशतमा झार्ने प्रतिज्ञा गरिएको छ ।
युवाहरुलाई राजनीतिक र प्रशासनिक सहभागीतालाई केवल ‘टोकन वा कोटा’मा सिमित नगर्ने प्रतिज्ञा कांग्रेसले गरेको छ । युवाको आशालाई अवसरमा परिवर्तन गर्न ‘मिसन रोजगारी’ अभियानलाई निरन्तरता दिँदै कृषि, पर्यटन र उद्योग क्षेत्रमा लघु तथा साना उद्यम प्रवर्द्धन गर्ने प्रतिज्ञा गरिएको छ ।
युवाहरूको सिर्जनाहरू कला, आविस्कार लगायतलाई विश्व बजारमा सिधैं विक्री गर्न कानुनी प्रबन्ध गर्ने वाचा गरिएको छ । ‘औपचारिक क्षेत्रको हिस्सा ५० प्रतिशत माथि पुर्याउँदै स्वदेशी युवालाई रोजगारी प्रदान गर्नेछौं,’ प्रतिज्ञापत्रमा भनिएको छ,‘स्थानीय तहमा ‘बेरोजगार केन्द्रीत रोजगार कार्यक्रम’ सञ्चालन गरी मौसमी कामका लागि भारत तथा अन्य मुलुक जानुपर्ने बाध्यता अन्त्य गर्दैछौं ।’
उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीका लाग पढाईसँगै कमाई गर्न पारिश्रमिक र अनुभव सुनिश्चित गरी शिक्षालाई प्रत्यक्ष रुपमा रोजगारीसँग जोड्ने प्रतिज्ञा गरिएको छ । विद्यार्थी, गृहिणी र अवकाश प्राप्त व्यक्तिको श्रमलाई उपयोग गर्न सामाजिक सुरक्षा सहितको आंशिक रोजगारीमा प्रोत्साहन गर्ने प्रतिबद्धता कांग्रेसले गरेको छ ।
युवालाई उद्यमशिलता विकास गर्न कांग्रेसको प्रतिज्ञा छ,‘नयाँ सोच र परियोजना भएका युवालाई परियोजना धितोमा राखेर पाँच देखि ५० लाख सम्मको सहुलियतपूर्ण बिउँ पुँजी उपलब्ध गराइने छ । यस्ता स्टार्टअप परियोजनाहरुमा निश्चित वर्षसम्म कर छुट दिन्छौं ।’

वैदेशिक रोजगारलाई वाध्यात्मक नभई स्वैच्छिक बनाउने संकल्प कांग्रेसले गरेको छ । रोजगारका लागि विदेश जानुपर्ने युवालाई प्रस्थानदेखि पुनरागमनसम्मको जिम्मेवारी कांग्रेसले लिने प्रतिज्ञा गरिएको छ । ‘आगामी पाँच वर्षभित्र वैदेशिक रोजगारीमा जानेहरुको संख्या ५० प्रतिशतले घटाउँछौं,’ कांग्रेसले प्रतिज्ञा गरेको छ । नयाँ सोच भएका युवा तथा महिला उद्यमीलाई विना धितो परियोजनाकै आधारमा ५ देखि ५० लाख रुपैयाँसम्मको कर्जा उपलब्ध गराउने प्रतिज्ञा गरिएको छ ।
सभापति थापा स्वास्थ्यमन्त्री हुँदा सुरु गरिएको र हाल अलपत्र रहेको स्वास्थ्य विमालाई गौरवको कार्यक्रम गरी अघि बढाउने प्रतिवद्धता गरिएको छ । स्वास्थ्य बिमाका लागि कमाउनेले प्रिमियम तिर्ने र नहुनेहरुको लागि राज्यले तिरिदिने व्यवस्था गर्ने प्रतिज्ञा गरिएको छ ।
‘पहुँच हुनेले विदेशमा उपचार पाउने र नहुनेले स्वदेशमै पनि ओखति नपाउने विभेदकारी अवस्थाको पूर्ण अन्त्य गर्छौं,’ प्रतिज्ञामा भनिएको छ । परिवारमा कसैलाई रोग लागिहाले ‘कसरी उपचार गर्ने र अस्पतालको शुल्क कसरी तिर्ने’ भन्ने डरबाट नागरिकहरुलाई मुक्त गर्ने प्रतिज्ञा गरिएको छ ।
विद्यालय शिक्षा ऐनलाई सरोकारवालासँग परामर्श गरी, स्वार्थ समूहको दबाबमा नपरेर विद्यार्थीको सिकाई र गुणस्तरलाई केन्द्रमा राखेर एक वर्षभित्र ऐन पारित गर्ने प्रतिज्ञा गरिएको छ ।
हरेक वर्ष किसानका लागि समस्याका रुपमा देखिएको मलको आपूर्तिको प्रवन्ध गर्ने कांग्रेसले प्रतिज्ञा गरेको छ । ‘किसानलाई माग अनुसार चाहेकै समयमा, चाहेकै परिणाम, राज्यले तोकेकै मूल्यमा नै पायक पर्ने ठाउँमा मल उपलब्ध गराउने नीति, संरचना, प्रकृया र प्रविधिको प्रवन्ध गर्छौं,’ प्रतिज्ञापत्रमा भनिएको छ ।
रासायनिक मलमा देखिएको समस्या निराकरणका लागि हाल छुट्याउँदै आएको बजेट बढाउनुपर्ने र डिलरबाट वितरण गर्ने व्यवस्था हटाउनुपर्ने सभापति थापा बताउँछन् । आगामी दशकलाई कृषि लगानी दशकका रुपमा मनाउने गरी बजेट लगानी निश्चित गर्ने प्रतिज्ञा गरिएको छ ।
गरिबी निवारणका लागि छरिएर रहेका गरिबी निवारण कार्यक्रमहरुलाई एकीकृत गरी स्रोतको दोहोरोपन हटाउँदै प्रभावकारी कार्यान्वयन गर्ने संकल्प कांग्रेसले गरेको छ ।
एकीकृत सामाजिक सुरक्षा कोखदेखि शोकसम्म हुने उल्लेख गर्दै राष्ट्रिय प्रतिबद्धता र अन्तर्राष्ट्रिय मान्यताअनुसार सबैका लागि सामाजिक सुरक्षा सुनिश्चित गर्ने संकल्प गरिएको छ ।
पर्याप्त अध्ययन नभएका र आवश्यकतामा नपरेका टुक्रे आयोजना कार्यान्वयन नगर्ने कांग्रेसको प्रतिज्ञा छ । विकासे आयोजनामा प्राथमिकतामा आधारित, परिणाममखी र राष्ट्रिय विकास लक्ष्यसँग आबद्ध भएका आयाजनाहरू मात्र कार्यान्वयन गर्ने संकल्प कांग्रेसले गरेको छ । विकास निर्माणका आयोजना सयमा सम्पन्न नहुनुमा सार्वजनिक खरिद ऐन वाधक रहेको निष्कर्षमा पुगेको कांग्रेसले त्यसको संशोधन गर्ने प्रतिज्ञा गरेको छ ।
‘सावजनिक खरिद ऐनलाई समयसापेक्ष रूपमा सुधार र परिमार्जन गरी न्यूनतम कबोल अङ्कको सीमित अभ्यासबाट बाहिरिएर प्राविधिक क्षमता, अनुभव, वित्तीय विश्वसनीयता र कायसम्पादन इतिहासमा आधारित मल्याङ्कन प्रणाली लागु गर्छौं ।’
सभापति थापाले कांग्रेसले ल्याएको प्रतिज्ञापत्र कार्यान्वयन एकल व्यक्तिको बलमा सम्भव नहुने बताउँदै ‘टीम नेपाल’ बनाउने अवधारणा ल्याएका छन् । तीन तहका जनप्रतिनिधि, उद्योगी व्यवसायी, नागरिक समाज टीम नेपालमा सहभागी हुने सभापति थापाले बताए ।
तस्वीर : आर्यन धिमाल/अनलाइनखबर
पूर्णपाठ :
प्रतिक्रिया 4