+
+
Shares

प्रतिनिधिसभामा पुस्तान्तरण : साढे २ सय बढी सांसदको हुँदैछ पहिलो प्रवेश

नेपाली कांग्रेसबाट समानुपातिकमा चयन भएका अर्जुननरसिंह केसी (७८ वर्ष)ले जेष्ठ सदस्यको हैसियतले प्रतिनिधिसभाको पहिलो बैठक चलाउनेछन् । १९ जना सांसदहरू ३० वर्षमुनिका छन् । ६० कटेका सांसदहरूको संख्या ३० मात्रै छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २ गते २१:४५
प्रतिकात्मक तस्वीर : एआई
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • निर्वाचन आयोगले समानुपातिकतर्फका ११० सांसदहरूको नाम सार्वजनिक गरेपछि प्रतिनिधिसभाको संरचना निश्चित भएको छ।
  • राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभामा प्रत्यक्ष र समानुपातिक गरी १८२ सिट पाएको छ, जुन दुई तिहाइभन्दा दुई सिट कम हो।
  • नेपाल कांग्रेसले ३८ सिट पाएको छ र प्रमुख विपक्षी दल बन्नेछ, जबकि एमाले र नेकपाले ठूलो सिट घाटा बेहोरेका छन्।

२ चैत, काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फका ११० सांसदहरूको नाम सोमबार सार्वजनिक गरेपछि अब प्रतिनिधिसभा कस्तो हुनेछ भन्ने निश्चित भएको छ ।

निर्वाचन आयोगले बुधबार बिहान समानुपातिकतर्फका ११० जना सांसदहरूलाई प्रमाणपत्र बुझाउने योजना बनाएको छ । त्यसको केही घण्टामै राष्ट्रपतिलाई निर्वाचन सम्पन्न प्रतिवेदन बुझाउनेछ ।

जेनजी आन्दोलनपछि सिर्जित राजनीतिक संक्रमण पार लगाउनका लागि नयाँ निर्वाचन भएको थियो । उक्त निर्वाचनले अब भावी संसद्को दृश्य निर्धारण गरेको छ ।

रास्वपाको झण्डै दुई तिहाइ

यो चुनावले विगतको संसद्को राजनीतिक समीकरण बदलेको छ । प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीको अब करिब दुई तिहाइ उपस्थिति हुनेछ । दुई तिहाइका लागि रास्वपालाई दुई सिटको मात्र अभाव हुनेछ । प्रतिनिधि सभामा रास्वपाको प्रत्यक्ष र समानुपातिक गरी १८२ सिट तय भएको छ ।

कांग्रेस, एमाले र माओवादी निकै खुम्चिएका छन् । कांग्रेस, एमाले र माओवादी एकठाँउमा रहँदा पनि उनीहरुले पाएको सिट रास्वपाको तुलनामा सय सिट कम हुन्छ ।

अघिल्लोपटक २१ सिट पाएको रास्वपाले यसपटक अनपेक्षित जनमत पाएको हो । धनुषा–१ मा रास्वपाकै उम्मेद्वार कालोसूचीमा परेर उम्मेदवारी रद्द भएकाले उसलाई एक सिट घाटा लागेको हो ।

प्रमुख विपक्षी दल कांग्रेस

३८ सिट पाएको नेपाल कांग्रेस अब प्रतिनिधिसभाको प्रमुख विपक्षी दल बन्नेछ । र, कांग्रेसले चयन गर्ने संसदीय दलको नेता प्रमुख विपक्षी दलको नेता बन्नेछन् । प्रमुख विपक्षी दलको नेतालाई सदस्यका हैसियतले संवैधानिक परिषद्‌मा भाग लिन पाउने सुविधा हुनेछ ।

त्यसबाहेक संसदीय अभ्यास अनुसार, प्रतिनिधिसभामा कांग्रेस, एमाले, श्रम संस्कृति पार्टी वा राप्रपाले सार्वजनिक लेखा समितिको सभापतिमा दाबी गर्न पाउनेछ ।

ती बाहेक अरु सबैजसो समितिमा रास्वपाका सांसदहरुको बाहुल्यता रहनेछ । संसदीय सुनुवाई विशेष समितिमा भने राष्ट्रिय सभाबाट पनि सांसदहरु रहनेछन् ।

सबैजसो नयाँ अनुहार

यो प्रतिनिधिसभामा २० जना बाहेक सबैजना पहिलोपटक सांसद् भएका व्यक्तिहरू छन् । २० मध्ये आधाजसो अघिल्लोपटक रास्वपाबाट निर्वाचित सांसदहरु हुन् । प्रत्यक्षमा मात्रै होइन, समानुपातिकमा पनि केही सीमित व्यक्तिबाट सबैजसो नयाँ सांसदहरू छन् ।

२१ फागुनको निर्वाचनमा नेकपा अध्यक्ष प्रचण्ड र नेता वर्षमान पुन बाहेक सबैजसो पुराना नेताहरू प्रत्यक्ष निर्वाचनबाट पराजित भए । समानुपातिकमा केही सीमित अनुहार दोहोरिएका छन् । ती बाहेक अरु सबै सांसदहरू नयाँ छन् ।

औलामा गन्न सकिने केही सीमित बाहेक २०४६ सालको परिवर्तनपछि सदाबहार राजनीतिमा रहेका धेरै नेताहरू यसपटक पराजित भएका छन् । र, निर्वाचित अधिकांश यसअघि राजनीतिमा नदेखिएका र नसुनिएकाहरू हुन्, जसको आवाज अब सोझै संसदमा पुग्नेछ ।

युवा बाहुल्य

प्रतिनिधिसभामा ९४ जना सांसदहरु ४० वर्षमुनिका छन् । आधा भन्दा बढी सांसदहरु ४५ वर्षमुनिका छन्, जसमा अधिकांश २०४६ सालको परिवर्तनपछि जन्मेकाहरू पर्छन् । १९ जना सांसदहरू ३० वर्षमुनिका छन् । ६० कटेका सांसदहरूको संख्या ३० मात्रै छ ।

प्रत्यक्ष र समानुपातिक सांसदहरुको औसत उमेर नै ४५ वर्ष ४ महिना छ । नेपाली कांग्रेसबाट समानुपातिकमा चयन भएका अर्जुननरसिंह केसी (७८ वर्ष)ले जेष्ठ सदस्यको हैसियतले प्रतिनिधिसभाको पहिलो बैठक चलाउनेछन् । ७० कटेका सांसदहरू पाँच जना छन् ।

नयाँ दलमा युवा, पुरानाका प्रौढ

निर्वाचन आयोगले सोमबार प्रकाशित गरेको विवरण केलाउँदा के देखिन्छ भने निर्वाचित अधिकांश युवा सांसदहरू रास्वपाबाट छन् ।

रास्वपाले प्रत्यक्ष र समानूपातिकमा प्रौढ उम्मेदवारहरुलाई प्राथमिकता दिएको थिएन । ठिक उल्टो, निर्वाचित पाका र वृद्ध सांसदहरु कांग्रेस, एमाले र नेकपा जस्ता पुराना पार्टीबाट छन् ।

कांग्रेसबाट निर्वाचित कम उमेरकी सांसद ३० वर्षीया गीता गुरुङ हुन्, तर उनीभन्दा कम उमेरका २६ जना सांसदहरू प्रतिनिधिसभामा छन् । एमालेबाट समानूपातिकमा चुनिएकी सबैभन्दा कम उमेरकी सांसद एसोदा कुमारी बराल हुन्, यो उमेरको हिसावले ४६ औं स्थानमा छिन् ।

सप्तरी–४ बाट निर्वाचित ६५ वर्षीय सिताराम साह रास्वपाका सबैभन्दा जेष्ठ सांसद हुन् । उनीभन्दा बढी उमेरका १४ जना कांग्रेस, एमाले र नेकपाका छन् । रास्वपाबाट ६० कटेका सांसदहरू ३ जनामात्रै छन् । ७१ वर्षीय महावीर पुनले रास्वपाको समर्थनसम्म पाएका हुन्, उनको हैसियत स्वतन्त्र नै हो ।

कति पाए, कति गुमाए ?

रास्वपाले प्रत्यक्षमा १ सय २५ र समानुपातिकमा ५७ गरी कुल १८२ सिट पाएको थियो । अघिल्लोपटकको तुलनामा रास्वपाले १०४ सिट बढी पाएको हो ।

नेपाली कांग्रेसले प्रत्यक्षमा १८ र समानुपातिकमा २० गरी कुल ३८ सिट पाएको छ । उसले अघिल्लोपटकको तुलनामा ७० सिट गुमाएको छ ।

एमालेले प्रत्यक्षमा ९ र समानुपातिकमा १६ गरी कुल २५ सिट पाएको छ, जुन अघिल्लोको तुलनामा ७० सिट कम हो । नेकपाले प्रत्यक्षमा ८ र समानूपातिकमा ९ गरी कुल १७ सिट पाएको छ, जुन अघिल्लोको तुलनामा २४ सिट कम हो ।

श्रम संस्कृति पार्टीले प्रत्यक्षमा ३ र समानुपातिकमा ४ गरी कुल ७ सिट पाएको छ । राप्रपाले प्रत्यक्षमा १ र समानुपातिकमा ४ गरी कुल ५ सिट पाएको छ । म्याग्दीबाट महावीर पुन निर्वाचन जित्ने एकमात्रै स्वतन्त्र उम्मेदवार हुन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?