+
+
Shares

नगरपालिकाले चलाएको अस्पतालमा सुदूरपश्चिम सरकारले समिति बनाएपछि विवाद

सुदूरपश्चिम प्रदेश सरकारले कैलालीको लम्कीचुहा नगरपालिकाले सञ्चालन गर्दै आएको अस्पतालमा छुट्टै विकास समिति गठन गरेपछि विवाद सिर्जना भएको छ ।

जनक विष्ट जनक विष्ट
२०८२ चैत ३ गते १४:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुदूरपश्चिम प्रदेश सरकारले लम्कीचुहा अस्पतालमा छुट्टै विकास समिति गठन गरेपछि विवाद सिर्जना भएको छ।
  • लम्कीचुहा अस्पताल प्रदेशलाई कानुनी रूपमा हस्तान्तरण भए पनि व्यावहारिक रूपमा नगरपालिकाबाट हस्तान्तरण नभएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
  • सामाजिक विकास मन्त्री मेघराज खड्काले अस्पताल अध्यक्षमा रामबहादुर बिष्ट र सदस्यमा चार जनालाई नियुक्त गर्ने निर्णय गरेका छन्।

३ चैत, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले कैलालीको लम्कीचुहा नगरपालिकाले सञ्चालन गर्दै आएको अस्पतालमा छुट्टै विकास समिति गठन गरेपछि विवाद सिर्जना भएको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालयले सेती प्रादेशिक अस्पताल, जोगबुढा प्रादेशिक अस्पताल र लम्कीचुहा अस्पताल विकास समितिका पदाधिकारी र सदस्य नियुक्त गरेको थियो ।

तर, मन्त्रालयले पदाधिकारी र सदस्य नियुुक्त गरेको १५ शैय्याको लम्कीचुहा अस्पताल भने प्रदेश सरकारलाई हस्तान्तरण नभएको पाइएको छ । नगरपालिकाबाट प्रदेशमा हस्तान्तरण नहुँदै विकास समिति गठन गरेपछि विवाद भएको छ । १५ शैय्याको उक्त अस्पताल प्रदेशलाई हस्तान्तरण नभएका कारण अहिले नगर प्रमुख सुशीला शाहीको अध्यक्षतामा रहेको विकास बोर्ड पनि यथावत छ ।

‘लम्कीचुहा अस्पतालमा मेयर साबको अध्यक्षतामा छुट्टै विकास बोर्ड रहेको छ,’ बोर्डका सदस्य पहल शाहीले भने, ‘आइतबार मात्रै बोर्डको बैठक पनि बसेको थियो । अहिले आएर नगरबाट अस्पताल हस्तान्तरण नगर्दै प्रदेशले विकास समिति गठन गरेको जानकारीमा आएको छ । यो राम्रो कुरा होइन ।’

लम्कीचुहा नगरपालिकाको स्वास्थ्य शाखाले भने अस्पताल प्रदेश सरकारलाई हस्तान्तरण भए/नभएको बारेमा थाहा नभएको दाबी गरेको छ । स्वास्थ्य शाखा प्रमुख जयन्ती बीसीले अस्पताल हस्तान्तरण भएको विषयमा आफूलाई जानकारी नरहेको बताउँदै अहिलेसम्म नगरपालिकाकै बजेटबाट अस्पताल सञ्चालन भइरहेको उल्लेख गरिन् ।

लम्कीचुहा नगरपालिकाको सहमतिअनुसार प्रदेश सरकारले अस्पताललाई मातहत ल्याउन संघीय सरकारलाई सिफारिस गरेको थियो । सोही आधारमा केही महिनाअघि संघीय सरकारले लम्कीचुहा अस्पताललाई प्रदेश सरकार मातहत ल्याउने निर्णय गरिसकेको मन्त्रालयले जनाएको छ ।

सामाजिक विकास मन्त्रालयका सचिव डा. हेमराज रेग्मीले संघीय सरकारले लम्कीचुहा अस्पताल प्रदेशलाई हस्तान्तरण गर्ने निर्णय गरिसकेको बताए । कानुनी रूपमा अस्पताल प्रदेशलाई हस्तान्तरण भए पनि व्यावहारिक रूपमा नभएको कुरा साँचो भएको उनी बताउँछन् ।

‘नगरपालिकाकै अनुरोधमा लम्कीचुहा अस्पताललाई प्रदेश मातहत ल्याउन संघीय सरकारलाई अनुमति दिन अनुरोध गरेको थियौँ,’ सचिव रेग्मीले भने, ‘संघले जेठमा संघीय मन्त्रिपरिषद् बैठकबाट १५ शैय्याबाट ५० शैय्याको प्रादेशिक अस्पतालमा स्तरोन्नति गर्ने निर्णय गरिसकेको छ तर व्यावहारिक रूपमा हस्तान्तरण गर्न मात्रै बाँकी हो ।’

उनका अनुसार कर्मचारी समायोजन लगायतका काम अघि बढाउन लम्कीचुहा नगरपालिकालाई अनुरोध गरिए पनि अहिलेसम्म भएको छैन ।

सामाजिक विकास मन्त्रालयले अस्पतालमा कार्यरत करार कर्मचारीलाई आफ्नो मातहत ल्याउन प्रक्रिया बढाएको थियो । तर नगरपालिकाले नै चासो नदेखाएको मन्त्रालयको दाबी छ । मन्त्रालयले नगरपालिकासँग अस्पताललाई प्रदेश मातहत सञ्चालन गर्न सम्झौता नै तयार पारेको छ । तर नगरपालिकाले चासो नदिएपछि हस्ताक्षर गर्नै बाँकी छ ।

आइतबार सामाजिक विकास मन्त्री मेघराज खड्काले लम्कीचुहा अस्पतालको अध्यक्षमा रामबहादुर बिष्टलाई नियुक्त गर्ने निर्णय गरेका थिए । विष्ट पूर्वशिक्षक हुन् । यस्तै अस्पताल समितिको सदस्यमा ससिरा शाही, धीरेन्द्र थापा, भीम थारु र हिमाल स्वाँरलाई नियुक्त गरिएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?