News Summary
Generated by OK AI. Editorially reviewed.- केन्द्रीय बैंकले पूर्वाधार विकास बैंकलाई कर्जा खरिद बिक्री गर्ने समय सीमा ३ वर्ष थप गरी २०८५ असार मसान्तसम्म कायम गरेको छ।
- पूर्वाधार विकास बैंकले न्यूनतम ३० करोडभन्दा बढीको कर्जा मात्र खरिद बिक्री गर्न सक्ने र कुल कर्जा सीमाको एक तिहाइ मात्र कारोबार गर्न पाउने व्यवस्था छ।
- कर्जा खरिद बिक्री गर्दा कर्जा ग्राहकबाट असुलउपर गर्न सक्ने अधिकार लिनुपर्ने र अर्धवार्षिक विवरण १५ दिनभित्र केन्द्रीय बैंकमा पठाउनुपर्ने व्यवस्था गरिएको छ।
४ चैत, फागुन । पूर्वाधार विकास बैंकले कर्जा खरिद, पुनः खरिद र बिक्री गर्ने समय सीमा बढेको छ । केन्द्रीय बैंकले निर्देशन मार्फत पूर्वाधार विकास बैंकलाई कर्जा खरिद बिक्रीको समय सीमा ३ वर्ष थप गरेको हो ।
बैंकले पूर्वाधार विकास बैंकको एकीकृत निर्देशन संशोधन गर्दै आगामी २०८५ सम्म कर्जा खरिद बिक्री गर्न सक्ने व्यवस्था गरेको छ । यसअघि पूर्वाधार विकास बैंकले कारोबार सुरु गरेको ४ वर्षसम्म कर्जा खरिद बिक्री गर्न सक्ने व्यवस्था थियो ।
‘पूर्वाधार विकास बैंकहरुले एक आपसमा मात्र कर्जा बिक्री, खरिद, पुनः खरिद र टेकओभर गर्न सक्छन् । त्यस्तै पूर्वाधार विकास बैंकले वाणिज्य बैंकहहरूले प्रवाह गरेका पूर्वाधार सम्बन्धित परियोजनाको कर्जा खरिद बिक्री गर्न सक्नेछन् ।’ केन्द्रीय बैंकका अनुसार यसरी कर्जाको खरिद बिक्री गर्दा तोकिएका सर्त भने पूरा गर्नु पर्नेछ ।
पूर्वाधार विकास बैंकले २०८५ असार मसान्तसम्मका लागि आफ्नो अघिल्लो त्रैमासमा कायम रहेको कुल कर्जा सीमाको अधिकतम एक तिहाइ मात्र खरिद बिक्री गर्न सक्ने केन्द्रीय बैंकले जनाएको छ । २०८५ असार मसान्तपछि यस किसिमको सुविधा सम्बन्धी व्यवस्था स्वतः निष्क्रिय हुने छ ।
पूर्वाधार बैंकले पूर्वाधारसँग सम्बन्धित न्यूनतम ३० करोड भन्दा बढीको कर्जा मात्रै खरिद बिक्री गर्न सक्छन् । त्यस्तै कारोबार सुरु गरेको मितिले ४ वर्षसम्म आफ्नो अघिल्लो त्रैमासमा कायम रहेको कुल कर्जा सीमाको अधिकतम एक तिहाइ मात्र खरिद बिक्री गर्न सक्नेछन् । कर्जा लिने/दिने सम्बन्धमा पूर्वाधार विकास बैंकले आफ्नो कर्जा नीतिमा स्पष्ट व्यवस्था गर्नु पर्ने राष्ट्र बैंकले जनाएको छ । अन्यथा त्यस्तो कारोबार गर्न पाइँदैन ।
आर्थिक वर्षको अन्तिम महिनामा यस्तो काम गर्न नपाइने सर्त केन्द्रीय बैंकले तोकेको छ । कर्जा खरिद गर्दा सो कर्जा ग्राहकबाट असुलउपर गर्न सक्ने अधिकार बैंकले लिनुपर्नेछ । सो कार्यको लागि सम्बन्धित ग्राहकको सहमति समेत लिनुपर्नेछ ।
कर्जाको शर्त र अवस्थाको विस्तृत विवरण लिएर मात्र कर्जा खरिद गर्नुपर्नेछ । त्यसैगरी कर्जा खरिद गर्ने पूर्वाधार बैंकले सम्बन्धित ऋणीले कर्जा लिएको मिति, कर्जाको किसिम, भुक्तानी अवस्था, विगतको कर्जा कारोबारको अवस्था, जमानतकर्ताको हैसियत, कर्जा वर्गीकरणको स्थिति आदि विवरणहरु लिखित रुपमा राख्नुपर्ने व्यवस्था छ ।
त्यस्तै कर्जा वर्गीकरणको विद्यमान व्यवस्था तथा कर्जा नोक्सानी व्यवस्था बमोजिमका शर्त पालना गर्नुपर्नेछ । पूर्वाधार बैंकले कर्जा खरिद गरी लिँदा यस्तो कर्जा सुरक्षित रहेको तथा संस्थालाई फाइदाजनक भए/नभएको बारे यकिन हुने आधार खुल्ने कागजात सम्बन्धित कर्जा फाइलमा अद्यावधिक गर्नुपर्नेछ ।
कर्जाको खरिद बिक्री तथा टेक ओभर कारोबारको अर्धवार्षिक विवरण अर्धवार्षिक अवधि समाप्त भएको मितिले १५ दिनभित्र केन्द्रीय बैंकमा पठाउनु पर्नेछ । पूर्वाधार विकास बैंकहरुले यसरी कर्जा खरिदबिक्री गर्दा कथंकदाचित खरिदकर्ता संस्थाले कर्जा उठाउन नसकेमा सो कर्जा पुनः आफैले खरिद गर्ने शर्त रहेको अवस्थामा बिक्रीकर्ता संस्थाले त्यस्तो कर्जा रिपर्चेज नगरुन्जेल वित्तीय विवरणको सम्भावित दायित्व र लेखा सम्बन्धी टिप्पणीको अनुसूचीमा देखाउनुपर्नेछ । यस्तो दायित्वलाई पुँजीकोष गणना गर्ने प्रयोजनका लागि १०० प्रतिशत मात्र जोखिम भार प्रदान गर्नुपर्नेछ ।
प्रतिक्रिया 4