News Summary
Generated by OK AI. Editorially reviewed.- गृह मन्त्रालयले नेपाली मूलका विदेशी नागरिक र गैरआवासीय नेपालीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छुट्टै अध्यागमन डेस्क राख्ने निर्णय गरेको छ।
- अध्यागमन विभागले विमानस्थल कार्यालयलाई छुट्टै डेस्क व्यवस्थापन गर्न निर्देशन दिएको छ, जसले नेपाली मूलका विदेशी नागरिकलाई विदेशी लाइनमा बस्न नपर्ने व्यवस्था गर्नेछ।
- एशोसिएसन अफ नेपाली ओरिजिनले गृहमन्त्री अर्याललाई डेस्क स्थापना मागेको थियो र मन्त्रीले मन्त्रिस्तरीय निर्णयबाट यो माग पूरा गरेको एएनओले जनाएको छ।
८ चैत, काठमाडौं । गृह मन्त्रालयले नेपाली मुलका विदेशी नागरिक र गैरआवासीय नेपालहरूका लागि त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थल अध्यागमनमा छुट्टै डेस्क राख्ने भएको छ ।
अध्यागमन विभागले आइतबार विमानस्थल कार्यालयलाई पत्राचार गर्दै छुट्टै डेस्क राख्न निर्देशन दिएको हो । अब जुनसुकै देशका नागरिक भएपनि नेपाली मूलको रहेछ भने विमानस्थलमा विदेशीहरूको लाइनमा बस्नुपर्ने छैन ।
‘विश्वका विभिन्न मुलुकहरुमा छरिएर रहेका गैरआवासीय नेपाली (एनआरएन) र नेपाली मूलका विदेशी नागरिकहरुको नेपाली भाषा/संस्कृति र नेपाली माटोप्रतिको आत्मीयतालाई प्रगाढ बनाउन, तथा नेपालमा पर्यटन र लगानी प्रबर्द्धन गर्न प्रोत्साहित गर्ने उद्देश्यले एनआरएन र नेपाली मूलका विदेशी नागरिकहरुका लागि तहाँ कार्यालयको आगमन र प्रस्थान कक्षमा छुट्टै डेस्कको व्यवस्थापन गर्नुहुन निर्णयानुसार अनुरोध छ,’ अध्यागमनको पत्रमा छ ।
एशोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) को पदाधिकारीहरूले डेढ साता अघि गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटी छुट्टै डेस्क राख्न माग गरेको थियो ।

‘विश्वका जुनसुकै मुलुकमा बसेपनि वा जुनसुकै मुलुकको नागरिक भए पनि नेपाली मूलका मानिसहरु आफ्नो मातृभूमि, पितृभूमिप्रति अगाध माया र सम्मान व्यक्त गर्दछन्’, एएनओको माग थियो,’उनीहरुलाई नेपाल भूमि प्रवेश गर्दा वा प्रस्थान गर्दा नेपाल सरकारको तर्फबाट आत्मीय स्नेह प्राप्त गर्न छुट्टै डेस्क स्थापना होस् ।’ ।
उक्त मागलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले मन्त्रिस्तरीय निर्णयबाट डेस्क स्थापना गर्ने निर्णय गरेका हुन् ।
‘हालसम्म नेपाली मूलका नागरिकहरुलाई नेपाल देशले कुनै पनि विषयमा सम्बोधन गर्न नसकिरहेको अवस्थामा नेपाल सरकारका गृहमन्त्री श्री अर्याल र गृहमन्त्रालयले आइतवार गरेको निर्णयले विश्वभरका नेपाली मूलका नागरिकहरुले सम्मानित भएको महसुस गरेका छन्’, एएनओका अध्यक्ष डिल्ली अधिकारीद्वारा जारी विज्ञप्तिमा छ,’ नेपालसँग नेपाली मूलका मानिसहरुलाई जोड्ने एएनओको अभियानका लागि यो निर्णयको कार्यान्वयनले सकारात्मक योगदान दिने विश्वास गरिएको छ ।’
प्रतिक्रिया 4