News Summary
Generated by OK AI. Editorially reviewed.- मध्यपूर्वको द्वन्द्वका कारण सौराहाको पर्यटन क्षेत्रमा पर्यटकको संख्या २० प्रतिशत हाराहारी मात्र पुगेको छ।
- पर्यटन व्यवसायीहरूले द्वन्द्वका कारण विदेशी पर्यटकले बुकिङ रद्द गरेको र जहाज भाडा बढेको बताएका छन्।
- सौराहामा १४८ होटल छन् र यहाँ ६ हजार ४०० जनाले प्रत्यक्ष रोजगारी पाएका छन्, द्वन्द्वले रोजगारमा असर परेको छ।
९ चैत, चितवन । मध्यपूर्वमा बढ्दो सैन्य तनावको प्रत्यक्ष प्रभाव यहाँको पर्यटन क्षेत्रमा देखिएको छ । हवाई यात्रा महँगो र असुरक्षित भएपछि नेपाल घुम्न आउन लागेका धेरै पर्यटकले यात्रा रद्द गरेका छन् ।
भारत, चीन र अष्ट्रेलियाबाहेकका देशबाट यहाँको सौराहा क्षेत्रमा घुम्न आउने पर्यटकले यात्रा रद्द गरेको व्यवसायीहरू बताउँछन् । विगतका वर्षमा यतिबेला सौराहाका होटलहरू ८० प्रतिशत हाराहारी भरिने गरेको व्यवसायी बताउँछन् ।
उनीहरूको भनाइमा यस वर्ष यतिबेला २० प्रतिशत हाराहारी मात्र पर्यटक आएका छन् । निर्वाचनका कारण १५ दिन प्रभावित बनेको सौराहाको पर्यटन क्षेत्रमा त्यसलगत्तै मध्यपूर्वको द्वन्द्वको प्रभाव परेको हो ।
क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष ओमप्रकाश पाण्डेले फेब्रुअरी, मार्च र अप्रिल महिना सौराहाको मुख्य पर्यटकीय मौसम भएको बताए । विगतका वर्षहरूमा यतिबेला होटलका ८० प्रतिशत कोठा भरिने गरेको भन्दै उनले यस वर्ष २० प्रतिशत हाराहारी मात्र कोठा भरेको जानकारी दिए । उनले भने, ‘द्वन्द्व भएका मुलुक बाहेकका देशहरूबाट पनि पर्यटकहरूले बुकिङ रद्द गरेका छन् ।’
यो बेलामा चितवन राष्ट्रिय निकुञ्जमा ढड्डीहरू फाँडेर टाढासम्म देखिने भएकाले सजिलै वन्यजन्तु हेर्न सकिन्छ । ‘ठूला एजेन्सीहरूले अधिकांश बुकिङ रद्द गरेका छन्’, उनले भने, ‘आकाश असुरक्षित भएपछि को घुम्न आउँछ र ?’
सङ्घका उपाध्यक्ष गुणराज थपलियाले नेपालीहरूसमेत अहिले घुम्न आउन छाडेको उल्लेख गर्दै द्वन्द्वको प्रभावका कारण भएको महँगी र ती देशमा भएका आफ्ना इस्टमित्रको चिन्ताले नेपालीलाई घुम्ने र रमाउने उत्साह नभएको बताए।
जहाज भाडा अत्यधिक बढ्दा पनि अन्य मुलुकबाट समेत पर्यटक नआएको उनले जानकारी दिए ।
पर्यटन व्यवसायी सुमन घिमिरेले आफ्नो होटलमा बुकिङ भएका ५० प्रतिशत रद्द भएको बताउँदै अक्टोबर र नोभेम्बर तिरको स्थगित नभएको तर तत्काल द्वन्द्व रोकिएमा क्रमशः सुधार हुने उल्लेख गरे ।
द्वन्द्वका कारण मुख्य रुपमा युरोपियन, बेलायती, अमेरिकन, जर्मनलगायत देशका पर्यटकले यात्रा स्थगन गरेको उल्लेख गर्दै उनले मुख्य मौसमका रुपमा लिइने यो समयमा द्वन्द्व र निर्वाचनका कारण प्रभावित बनेपछि यो वर्ष समग्रमा पर्यटन व्यवसाय प्रभावित हुन पुगेको बताए ।
उनले भने, ‘अब एक महिना बाँकी छ । यो मौसम राम्रो हुने देखिएन ।’ जहाँ जे हुँदा पनि पर्यटन क्षेत्र प्रत्यक्ष रुपमा प्रभावित हुने गरेको भन्दै उनले चिन्ता व्यक्त गरे ।
वनवास रिसोर्टका महाप्रबन्धक प्रकाश न्यौपानेले मध्यपूर्व तनावका कारण पर्यटकहरूले बुकिङ रद्द गरेको बताए ।
यो मौसममा युरोपियनसहित विभिन्न देशबाट ठूलो सङ्ख्यामा पर्यटक आउने गरेको उल्लेख गर्दै उनले यस वर्ष द्वन्द्वका कारण प्रभावित बनेको बताए ।
मध्यपूर्वका देशहरूमा ट्रान्जिट लिएर आउने जहाजहरू रोकिएपछि पर्यटन क्षेत्र प्रत्यक्ष प्रभावित बनेको न्यौपानेको भनाइ छ । उनले भने, ‘युद्धले नेपालको हस्पिटालिटी क्षेत्रमा नराम्रो असर पर्यो ।’
पर्यटन व्यवसायी सन्तोष गिरीले मुख्य मौसममा द्वन्द्व भएपछि प्रत्यक्ष प्रभाव पर्यटन क्षेत्रमा परेको छ भन्दै नेपाल आउने पर्यटकहरूले प्रयोग गर्ने एयरलाइन्स र ट्रान्जिटका विमानस्थलहरू बन्द हुँदा टिकट काटेका पर्यटकले बुकिङ रद्द गरेको बताए ।
उनले भने, ‘द्वन्द्वको मारमा परेपछि घुम्न र रमाउन को आउने ।’ सौराहामा १४८ वटा होटल छन् । जहाँ सात हजार २०० पर्यटक अट्ने क्षमता छ । यस क्षेत्रमा प्रत्यक्ष रुपमा ६ हजार ४०० ले रोजगारी पाएका छन् । अप्रत्यक्ष रोजगारी पाउनेको सङ्ख्या १२ हजारभन्दा बढी छ ।
चितवन राष्ट्रिय निकुञ्ज र आसपासका सामुदायीक वनमा दुर्लभ एकसिङ्गे गैँडा, पाटेबाघ, घडियाल गोहीलगायतका दुर्लभ वन, वन्यजन्तु र चराचुरुङ्गी हेर्न यहाँ स्वदेशी र विदेशी पर्यटकहरू आउने गर्दछन् ।
यसका अतिरिक्त सौराहामा थारू संस्कृति पनि पर्यटकका लागि रुचिकर बन्दछन् । यसका साथै नेपालका विभिन्न सङ्घसंस्थाले पनि सौराहामा कार्यक्रम गर्न आउँदछन् भने भारतीयहरू विवाहका लागि पनि सौराहा आउने गर्दछन् ।
द्वन्द्वले सबैतिर प्रभाव पार्दा अन्य क्षेत्रसँगै यहाँको पर्यटन क्षेत्र पनि प्रभावित बनेको हो ।
प्रतिक्रिया 4