News Summary
Generated by OK AI. Editorially reviewed.- पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कृष्णप्रसाद जैसी धनुष बचत तथा ऋण सहकारी ठगी प्रकरणमा प्रमुख योजनाकारका रुपमा पक्राउ परेका छन्।
- धनुष बचत तथा ऋण सहकारीमा १२ करोड ५६ लाख रुपैयाँ हिनामिनाको प्रतिवेदनपछि अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीलाई पत्राचार गरिएको थियो।
- सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रवि लामिछानेसहित ५१ जनाविरुद्ध १ अर्ब ५१ करोड बिगो माग दाबीसहित मुद्दा दायर गरिएको थियो।
९ चैत, पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जीवी राई, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायतविरुद्ध जाहेरी दरखास्त दिने कृष्णप्रसाद जैसी नै अर्को सहकारी ठगी आरोपमा पक्राउ परेका छन् ।
सूर्यदर्शन सहकारीमा पीडितका संघर्ष समितिका तर्फबाट आन्दोलनदेखि अदालतसम्म बहस र आन्दोलन गरेका जैसी नै पोखराको धनुष बचत तथा ऋण सहकारी ठगी प्रकरणमा प्रमुख योजनाकारका रुपमा पक्राउ परेका हुन् ।
गण्डकी प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयको आइतबार जिल्ला प्रहरी कार्यालय कास्कीलाई दिएको जाहेरी पत्रका आधारमा जैसीलाई पक्राउ गरिएको हो । धनुष सहकारीको १२ करोड ५६ लाख रुपैयाँ हिनामिना भएको वित्तीय विश्लेषक निर्मल गौतमको प्रतिवेदनका आधारमा थप अनुसन्धानका लागि प्रहरीलाई पत्राचार गरेको रजिस्ट्रार कार्यालयले जनाएको छ ।
प्रहरीले जैसीलाई पक्राउ गरेको छ भने अन्य ४ जनालाई पक्राउ पुर्जी जारी भएको जनाएको छ । २०८१ साल पुस महिनामा प्रारम्भिक छानबिन गरी १९ करोड १८ लाख रुपैयाँ हिनामिनाको प्रतिवेदन रजिस्ट्रारको कार्यालयमा पेश भएको थियो ।
रजिस्ट्रार कार्यालयले पटक पटक निर्देशन गरी कारबाही प्रक्रिया बढाउँदासमेत ६ करोड रुपैयाँ मात्र असुल १२ करोड ५६ लाख अझै पनि शोधभर्ना नदिएको कारणबाट प्रहरी अनुसन्धानका लागि १२ महिना ८ गते अनुसन्धानका लागि लेखिपठाएको थियो ।
साविक साइनो र धनुष मर्ज भएर धनुष बचत तथा ऋण सहकारी संस्था बनेको थियो । साविकको पोखरा–९ र अन्नपूर्ण गाउँपालिकाको नौडाँडाँमा रहेको यी सहकारी मर्ज भएर नयाँ ब्यवस्थापन समिति बनेको थियो ।
उक्त सहकारीको रकम हिनामिनामा साविक साइनोतर्फका सञ्चालक समितिका पदाधिकारी अध्यक्ष गमरेजसिंह गुरुङ र श्रीमती सञ्चालक काशीमाया गुरुङ, उनीहरूका छोरी सिर्जना गुरुङ र एभिएस इन्जिनियरिङ कन्सल्टेन्सीका सञ्चालक तथा तदर्थ समितिका अध्यक्ष असिम बरालको मुख्य योजनामा ३ करोड रुपैयाँ हिनामिना गरेको प्रतिवेदनमा उल्लेख छ ।
धनुष सहकारीतर्फ व्यवस्थापकद्वय विराज सुवेदीको २ करोड २५ लाख र जगत पौडेलले १ करोड २५ रुपैयाँ हिनामिना गरेको प्रतिवेदनमा औंल्याइएको छ । यसैगरी रवि लामिछानेविरुद्ध सूर्यदर्शन सहकारी गठी प्रकरणमा जाहेरी दरखास्त दिने कृष्णप्रसाद जैसी सहकारीको ऋण उपसमितिको पदाधिकारीमा प्रवेश गरी कृत्रिम खाता सिर्जना गरी ८२ लाख रुपैयाँ हिनामिना गरेको प्रतिवेदनले जनाएको छ ।
मुख्यगरी हिनामिनाका योजनाकारका रुपमा उनीहरूलाई लिइएको छ भने अन्य सञ्चालक तथा पदाधिकारीलाई पनि अनुसन्धान अगाडि बढाउन प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयले पत्र जाहेरीमार्फत सिफारिस गरेको छ ।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जैसीसमेतले दिएको जाहेरीका आधारमा रवि लामिछाने पहिलो पटक पक्राउ परेका थिए । पहिलो चरणमा जिवी राइसहित १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेर अदालतमा मुद्दा दायर भएको पुरक प्रतिवेदनका आधारमा दोस्रोचरणमा रविसहित ५१ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर भएको थियो ।
सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधमा मुद्दा लगाइएको थियो । रविसहित ५१ जनालाई विपक्षी बनाइएको मुद्दामा १ अर्ब ५१ करोड बिगो माग दाबी गरिएको थियो । त्यही मुद्दामा रवि पक्राउ परी ८४ दिनपछि ६५ लाख धरौटीमा छुटेका थिए ।
कृष्णप्रसाद पोखरामा सूर्यदर्शन सहकारी पीडितका तर्फबाट आन्दोलनको नेतृत्वकर्तामध्ये थिए । फागुन २१ गतेअघि चुनावी अभियानकै क्रममा रविले सूर्यदर्शनको सहकारीबाट आफूहरूको पैसा खाइदिएकाले बच्चाको शुल्क तिर्न नसकेको भन्दै रास्वपा उम्मेदवार बिना गुरुङलाई विद्यालयको बिल दिएर चर्चामा आएका थिए ।
प्रतिक्रिया 4