+
+
Shares
संसद्‌मा नयाँ :

कमल सुवेदी : शिक्षक बन्न चाहन्थे, सांसद बने

जित र हारबीचको अनुभवमा ठूलो अन्तर हुँदो रहेछ । हार्दा अवसर सीमित हुन्छन् । राज्यका निकायसम्म सहज पहुँच हुँदैन । तर जित्दा जिम्मेवारी अत्यन्त ठूलो हुन्छ । यसलाई जितभन्दा बढी जिम्मेवारीको रूपमा लिन्छु ।

दिनेश गौतम दिनेश गौतम
२०८२ चैत १० गते १७:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कमल सुवेदी दाङ क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
  • सुवेदीले ४४ हजार २४८ मत ल्याएर नेपाली कांग्रेसका दीपक गिरी र एमालेका घनश्याम पाण्डेलाई पराजित गरेका छन्।
  • सामाजिक क्षेत्रमा सक्रिय सुवेदीले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् र नीति निर्माणमा लाग्ने बताएका छन्।

१० चैत, काठमाडौं । सामान्य किसान परिवारमा जन्मिएका कमल सुवेदी दाङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा सदस्य चुनिएका हुन् ।

दाङकै दंगिशरण गाउँपालिका–४ मौलीका ३८ वर्षीय सुवेदीले प्रारम्भिक शिक्षा लक्ष्मीनारायण प्रावि र माध्यमिक तहको अध्ययन वीरेन्द्र मावि हेकुलीबाट गरेका हुन् ।

सामाजिक क्षेत्रमा सक्रिय हुँदै उनी २०७९ मा राजनीतिमा प्रवेश गरे । रास्वपाको केन्द्रीय प्रशिक्षण विभाग सचिवका रूपमा पार्टीको नीति निर्माणमा खटिएका व्यक्ति हुन् उनी ।

‘भ्रष्टाचारविरुद्ध अभियान, युवा आन्दोलन, नीति निर्माणमा सहभागिता र सामाजिक कामहरू गर्दै आएको अनुभवले यहाँसम्म ल्याएको हो,’ उनले भने ।

सुवेदीले दोस्रो पटकको प्रतिस्पर्धामा जित हात पारेका हुन् । २०७९ को चुनावमा पनि उनी रास्वपाबाटै उम्मेदवार बनेका थिए । अघिल्लो चुनावमा १५ हजार ३२६ मत ल्याएर तेस्रो बनेका सुवेदी यसपटक ४४ हजार २४८ मत ल्याएर विजेता बने ।

नेपाली कांग्रेसका दीपक गिरी र एमालेका घनश्याम पाण्डेलाई उनले पराजित गरेका हुन् । गिरीले १६ हजार ४५३ मत ल्याउँदा पाण्डेले १२ हजार १९५ मत ल्याए । २०७९ को निर्वाचनमा गिरीसँग पराजय भएका सुवेदीले यसपटक उनैलाई पराजित गरेका हुन् ।

जित र हारको दुवै अनुभव उनीसँग छ । ‘जित र हारबीचको अनुभवमा ठूलो अन्तर हुँदो रहेछ । हार्दा अवसर सीमित हुन्छन् । राज्यका निकायसम्म सहज पहुँच हुँदैन । तर जित्दा जिम्मेवारी अत्यन्त ठूलो हुन्छ । यसलाई जितभन्दा बढी जिम्मेवारीको रूपमा लिन्छु,’ उनले भने ।

२०७९ मा नै मतदाताको मन जितेकले यसपटक मन र मत दुवै जित्न सफल भएको बुझाइ उनको छ । ‘२०७९ मै मतदाताले यसपटक मन जित्नुभयो । अर्को पटक मतले जिताउँछौं भन्नुभएको थियो । त्यो विश्वास यसपटक परिणाममा देखियो,’ उनले भने, ‘यो मेरो जित वा पार्टीको जित मात्र होइन । जनताको मुद्दाको जित हो भन्ने अनुभूति मतदाताले गर्नुभएको छ ।’

यसपटकको मत आशा, विश्वास र भरोसाको मत हो । २०७९ मा केही हदसम्म निराशाको मत देखिएको थियो भने यसपटक आशाको मत प्रबल रूपमा देखिएको छ ।

यसपटकको चुनावमा मतदाताले उम्मेदवार, नीति र नेतृत्व तीनै कुरा हेरेको उनी बताउँछन् ।

‘रास्वापले उठाएको सुशासन र डेलिभरीको मुद्दा, साथै नेतृत्वप्रति जनताको विश्वासले पनि ठूलो भूमिका खेलेको छ,’ उनले भने, ‘मतदातका मुद्दा ठूला छैनन् । महँगी नियन्त्रण, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा, राम्रो सडक, किसानका लागि मल–बीउ, उत्पादनको उचित मूल्य र युवाका लागि रोजगारी हो ।’

सरकारी सेवामा सहजता, भ्रष्टाचार नियन्त्रण र न्यायमा पहुँच जस्ता विषयहरू पनि मतदाताको प्रमुख एजेन्डा हुन् । ‘यसपटकको मत आशा, विश्वास र भरोसाको मत हो । २०७९ मा केही हदसम्म निराशाको मत देखिएको थियो भने यसपटक आशाको मत प्रबल रूपमा देखिएको छ,’ सुवेदीले भने ।

यसपटकको निर्वाचनले पुस्तान्तरण मात्र होइन, रुपान्तरणको संकेत पनि दिएको बुझाइ सुवेदीको छ । ‘अब सामाजिक, आर्थिक र सांस्कृतिक रुपान्तरणको जिम्मेवारी हाम्रो काँधमा आएको छ,’ उनले भने । राजनीतिमा आउनुको मुख्य कारण नीति निर्माणमार्फत ठूलो परिवर्तन ल्याउन सकिन्छ भन्ने विश्वास उनलाई छ ।

सुरुवाती दिनमा उनको शिक्षक बन्ने लक्ष्य थियो । ‘शिक्षक असल भए विद्यार्थी पनि असल बन्छन् र त्यहींबाट समाज पनि गतिशील बन्छ भन्ने विश्वास थियो । त्यसैले ताहाचल क्याम्पसमा बीएड पढ्न भर्ना भएँ । त्यस क्रममा निम्न माध्यमिक तह (निमावि) को शिक्षक लाइसेन्स लिइसकेको थिएँ । बीएड सकेपछि मावि तहको लाइसेन्स पनि लिएँ । तर शिक्षक सेवा आयोगतिर गइनँ । त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा अध्ययनतिर लागेँ,’ उनले भने ।

सुवेदीले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर र क्यानडाको छात्रवृत्तिमा सेन्ट फ्रान्सिस जेभियर विश्वविद्यालयबाट डेभलपमेन्ट लिडरसिपको अध्ययन गरेका छन् ।

२०६५ सालमा युवा मन्त्रालय हुनुपर्छ भनेर माइतीघरमा अभियान चलाएका थिए, उनले । ‘त्यसपछि युवा मन्त्रालय गठन भयो । २०७२ को संविधानपछि युवा परिषद् आवश्यक छ भनेर ऐन निर्माणसम्मको प्रक्रियामा खबरदारी गरियो र अन्ततः परिषद् गठन भयो,’ उनले भने ।

यसरी उनी १७–१८ वर्ष सामाजिक सेवामै सक्रिय रहे । नेपाली युवाको प्रतिनिधित्व गर्दै जैविक विविधता र जलवायु परिवर्तन जस्ता विषयमा विभिन्न देशमा प्रस्तुति गर्ने र सिक्ने अवसर उनले पाएका छन् ।

‘जलवायु परिवर्तन र जैविक विविधताका विषयमा संसद् र प्रदेशसभाका करिब ३०० सांसदसँग संवाद गर्ने अवसर पाएँ । त्यस क्रममा मैले नीति निर्माणको मूल केन्द्र राजनीति हो । र, संसद्‌को भूमिका अत्यन्त महत्वपूर्ण रहेछ भन्ने बुझ्न पाएँ,’ उनले भने ।

उनीसँग संस्थागत नेतृत्व राष्ट्रिय युवा गैरसरकारी संस्था महासंघका संस्थापक अध्यक्ष र सामुदायिक रेडियो हापुरेको संस्थापकसमेत भएर काम गरेको अनुभव छ । असल शासन संरक्षण मञ्च स्थापना गरेर उनले सुशासनको पक्षमा पैरवी गरेका छन् ।

आमाको प्रेरणाले याहाँसम्म आइपुगेका हुन् कमल । ‘परिवारबाट सधैं सहयोग पाइयो । विशेषगरी आमाको प्रभाव गहिरो छ । उहाँले सधैं असल मान्छे बन्न प्रेरणा दिनुभयो,’ उनले आमालाई सम्झिए ।

स्वर्गीय आमाको स्मृतिमा विष्णुदेवी फाउन्डेसन स्थापना गरेर सामाजिक काममा संलग्न थिए । उनले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिरहेका छन् ।

२०७२ को भूकम्प र कोभिड–१९ को महामारीका बेला राहत तथा उद्धारमा उनी सक्रिय भएका थिए । १८ वर्षको अवधिमा आफूले गरेका काम र अनुभवलाई अब सांसद भएर नीति निर्माणतर्फ उनी अगाडि बढेका छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
लेखक
दिनेश गौतम

अनलाइनखबरका संवाददाता गौतम शिक्षा र सामाजिक विषयमा समाचार लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?