News Summary
Generated by OK AI. Editorially reviewed.- त्रिभुवन आर्मी क्लबले हिमालयन जाभा नेसनल बास्केटबल लिग २०२६ मा सातौं जित हात पारेको छ ।
- आर्मीले बुधबार सोलो बास्केटबल क्लबलाई पराजित गरेको हो ।
- नेपाली बास्केटबल संघको आयोजनामा ८ टिमले प्रतिस्पर्धा गरिरहेको प्रतियोगितामा विजेताले ४ लाख नगद पुरस्कार पाउनेछ ।
११ चैत, काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबले हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा सातौं जित हात पार्दै शीर्ष स्थानमा उक्लेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा बुधबार राती सम्पन्न खेलमा आर्मीले सोलो बास्केटबल क्लबलाई ८८-७० ले हरायो ।
८ खेलमा सातौं जित हात पारेको आर्मी १५ अंक जोड्दै शीर्ष स्थानमा उक्लेको हो । टाइम्स र गोल्डेनगेटको पनि समान अंक भएपनि अंक अन्तरमा आर्मी अघि छ । गोल्डेनगेट दोस्रो र टाइम्स तेस्रो स्थानमा छ । छैटौं हार बेहोरेको सोलोको ८ खेलबाट १० अंक छ ।
आर्मीले पहिलो क्वाटरमा २०-१६ को अग्रता लिएको थियो । तर दोस्रो क्वाटर सोलोले ३३-१८ ले आफ्नो पक्षमा पारेपछि हाफटाइमसम्म सोलो ४९-३८ ले अघि थियो । तर त्यसपछि आर्मीले पुनरागमान गर्द तेस्रो क्वाटर २३-१० ले आफ्नो पक्षमा पार्दै चौथो क्वाटरअघि नै ६१-५९ को अग्रता बनायो । त्यसपछि चौथो क्वाटर पनि आर्मीले २७-११ ले आफ्नो पक्षमा पारेपछि आर्मीले सहज खेल जितेको हो ।
यसअघि बुधबारै भएको पहिलो खेलमा केभिसी हाउण्ड्सले प्लेबक्स एरेनालाई १०५–७२ को अन्तरले पराजित गर्दै लगातार पाँचौ जित हात पारेको थियो । ८ खेलबाट १३ अंक जोडेको हाउण्ड्स चौथो स्थानमा छ ।
नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा भईरहेको दोस्रो संस्करणको एचजेएनबीएलमा ८ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।
डबल राउण्ड रोविनका आधारमा हुने लिगमा कूल ५६ खेल हुनेछ । लिग चरणपछि शीर्ष चारमा रहने टोली प्लेअफमा प्रवेश गर्नेछन् । प्लेअफ अन्तर्गत लिगमा पहिलो र दोस्रो हुने टोलीबीच पहिलो क्वालिफायर हुनेछ भने लिगमा तेस्रो र चौथो हुने टोलीबीच एलिमिनेटर खेल हुनेछ । पहिलो क्वालिफायरमा पराजित टोली र एलिमिनेटरमा विजयी टोलीबीच दोस्रो क्वालिफायर हुनेछ । पहिलो र दोस्रो क्वालिफायरको विजेताबीच फाइनल खेल हुनेछ ।
प्रतियोगिताको विजेताले नगद ४ लाख प्राप्त गर्नेछन् भने उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख हात पार्नेछन् । यस्तै प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै मोस्ट भ्यालुएबल प्लेअर (एमभिपी) घोषित हुनेलाई पनि आकर्षक पुरस्कार प्राप्त गर्ने नेबाले जनाएको छ ।
तस्बीर: एचजेनएबीएल
प्रतिक्रिया 4