+

‘नेपाली फुटबल यसै त समस्यामा छ, निलम्बनले थप अन्योलतामा लैजान्छ’

२०८२ चैत  ११ गते २२:५६ २०८२ चैत ११ गते २२:५६

राखेपको निलम्बनमा परे पनि एन्फा नेतृत्वले भने चैत १३ गते निर्वाचन गरिछाड्ने अठोटमा छ । त्यसो हुँदा एन्फा र राखेपबिचको विवाद झनै बढ्ने देखिन्छ ।

‘नेपाली फुटबल यसै त समस्यामा छ, निलम्बनले थप अन्योलतामा लैजान्छ’

११ चैत, काठमाडौं । लामो समयको जुहारीपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्बन गरेको छ । एन्फाले स्वीकृतिबिना ‘अर्ली इलेक्सन’ गर्न खोजेपछि राखेपसँग विवाद सिर्जना भएको थियो । अन्ततः बुधबार बसेको राखेप कार्यकारी समितिको बैठकले एन्फालाई तीन महिनासम्मका लागि निलम्बन गर्ने निर्णय गरेको हो ।

राखेपले खेलकुद विकास नियमावलीको दफा २९ को उपदफा २ बमोजिम कारबाही गरेको उल्लेख गरेको छ । उक्त उपदफामा ‘कुनै संघले परिषद्ले दिएको निर्देशन पालना नगरेमा त्यस्तो संघलाई तीन महिनासम्मका लागि निलम्बन गर्न सक्ने’ उल्लेख छ । एन्फाले दिइएको ९ वटा बुँदा कार्यान्वयन गरेर जानकारी गराएमा फुकुवातर्फ जाने ऐनमा व्यवस्था छ ।

अब उपदफा ३ अनुसार निलम्बन फुकुवाका लागि एन्फाले निर्देशन पालन गरी राखेपमा निवेदन दिन सक्नेछ । त्यसलाई जाँचबुझ गरी निलम्बन फुकुवा गर्ने अधिकार राखेपलाई नै हुनेछ । निलम्बन फुकुवा नभएमा उपदफा ४ अनुसार राखेपले उक्त कार्यसमिति भंग गरी तीन महिनाभित्र अर्को कार्यसमिति निर्वाचन गर्ने गरी तदर्थ कार्यसमिति गठन गर्न सक्नेछ ।

राखेपको निलम्बनमा परे पनि एन्फा नेतृत्वले भने चैत १३ गते निर्वाचन गरिछाड्ने अठोटमा छ । त्यसो हुँदा एन्फा र राखेपबिचको विवाद झनै बढ्ने देखिन्छ । त्यस्तो अवस्थामा फिफा नेपाललाई प्रतिबन्ध लगाउने सम्भावना बढ्नेछ । जसले नेपाली फुटबल झनै संकटमा पुग्नेछ ।

पूर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल राखेपको निलम्बनले नेपाली फुटबललाई झनै समस्यामा पार्ने बताउँछन् । ‘नेपाली फुटबल अहिले आफै त समस्यामा छ । उपाधि रोकिएको अवस्था छ । त्यहाँमाथि निलम्बनले अझ समस्यामा पार्छ,’ उनी भन्छन् ।

खेलकुदको विकासभन्दा पनि इन्ट्रेस्टकाे कुराले बढी काम गर्ने गरेको पौडेलको बुझाइ छ । उनी भन्छन्, ‘खेलकुदको विकासभन्दा पनि इन्ट्रेस्टे कुराले बढी काम गरिराखेको छ । त्यसैले इन्ट्रेस्टका आधारमा खेलकुदलाई चलाउन हुँदैन । खेलकुद पवित्र संस्था हो । यो चाहिँ पोजेटिभ वेभबाट मात्रै चल्छ । नेपालमा चाहिँ खेलकुदलाई राजनीतिक वेभबाट हेर्छ । त्यो गलत हो ।’

राखेपका पूर्व सदस्य सचिव रमेशकुमार सिलवालले राखेपको निलम्बनले खेलाडीदेखि दर्शकसम्मलाई असर परेको बताए । ‘निलम्बनको असर त खेलाडीहरूलाई पनि पर्‍यो, क्लबहरूलाई पनि पर्‍यो । प्रशिक्षक, दर्शकलाई पनि पर्‍यो,’ उनले भने, ‘राखेपलाई निलम्बन गर्ने अधिकार होला निलम्बन गर्‍यो । निलम्बन गरेपछि कसले चलाउने त भन्ने अवस्था आयो नि त ।’

अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा र एसियन फुटबल महासंघ एएफसीसँग विवाद सिर्जना भए नेपाल प्रतिबन्धमा पर्न सक्ने खतरा रहेको सिलवालको भनाइ छ । ‘राखेपले अर्को समिति बनाउँछ । राखेपले बनाएको समितिलाई फिफा तथा एएफसीले मान्यता दिन्छ कि दिँदैन फेरि । दिएन भने त फेरि विवाद सिर्जना भयो,’ उनी भन्छन्, ‘विवाद बढ्दै गएपछि हाम्रो फुटबललाई अन्तर्राष्ट्रिय फुटबलले प्रतिबन्ध लगाउने सम्भावना हुन्छ ।’

एन्फा निलम्बन नेपाली फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय