News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल विद्युत् प्राधिकरणले आर्थिक वर्ष २०८२/८३ मा विद्युत् ट्रिपिङ संख्या र रोकावट समय सबै प्रदेश र केन्द्रमा घटेको तथ्याङ्क सार्वजनिक गरेको छ।
- प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राविधिक सुधार र दक्ष जनशक्तिको तालिमले ट्रिपिङ समस्या घटेको बताए।
- २०८१/८२ को तुलनामा २०८२/८३ मा सातै प्रदेशमा विद्युत् ट्रिपिङ र अवरोध समय उल्लेख्य रूपमा कम भएको प्राधिकरणले जनाएको छ।
१२ चैत, काठमाडौं । विद्युत् ट्रिपिङको संख्या र रोकावटको समय गत आर्थिक वर्षको तुलनामा उल्लेख्य मात्रामा घटेको छ । नेपाल विद्युत् प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८१/८२ को तुलनामा आर्थिक वर्ष २०८२/८३ मा सबै प्रदेश र केन्द्रमा छिनछिनमा विद्युत् जाने (ट्रिपिङ) संख्या र रोकावटको समय उल्लेख्य मात्रामा घटेको देखिएको छ ।
प्रसारण तथा वितरण लाइन र सबस्टेसन सुदृढीकरणसँगै प्राविधिक समस्या देखिएका ठाउँमा तत्काल गरिएको सुधारलगायतका कारण ट्रिपिङको समस्या गत वर्षको तुलनामा उल्लेख्य मात्रामा घटेको प्राधिकरणको भनाइ छ ।
‘आर्थिक वर्ष २०८१/८२ को तुलनामा २०८२/८३ का प्रत्येक महिनामा विद्युत् ट्रिपिङको संख्या र रोकावट समय दुवै घटेको छ’ प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले भने, ‘तथ्याङ्कले नै बिजुलीको विश्वसनीयता उल्लेख्य वृद्धि भएको देखाउँछ ।’
उनले विद्युत्को ट्रिपिङ संख्या र रोकावटको समय दुवै घट्दा त्यसले विद्युत् ग्राहकलाई प्रसस्त राहत भएको उल्लेख गरे । ‘एक वर्षअघि जति ट्रिपिङ हुन्थ्यो त्यसमा यो वर्ष उल्लेख्य सुधार भएको छ भन्ने तथ्य तथ्याङ्कले नै देखाउँछ,’ शाक्यले भने, ‘प्राधिकरणले पछिल्लो समय प्राविधिक सुधार, प्रणालीगत सुधार, दक्ष जनशक्तिलाई तालिमसहित मर्मत सुधारमा अहोरात्र खटाएर गरेको व्यवस्थापन लगायतको परिणाम हो यो ।’
उनले ट्रिपिङ बढी हुने सबस्टेसनको पहिचान गरी सुधार गर्ने, त्यहाँको लोड अन्त सार्नेलगायतका काममा प्राधिकरण निरन्तर खटिरहेको जानकारी दिए । प्राधिकरणको तथ्याङअनुसार २०८१/८२ को तुलनामा आर्थिक वर्ष २०८२/८३ मा सात वटै प्रदेश र केन्द्रमा पनि ट्रिपिङ उल्लेख्य रुपमा घट्दै गएको छ ।
तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८१/८२ को साउनमा १ सय २९ पल्ट ट्रिपिङमा ५९ घण्टा विद्युत अवरोध भएको थियो । २०८२/८३ को त्यही महिनामा १ सय १५ पल्ट ट्रिपिङ हुँदा ४४ घण्टा विद्युत अवरोध भएको छ ।
आर्थिक वर्ष २०८१/८२ को भदौमा १ सय २८ पल्ट ट्रिपिङ हुँदा ६४ घण्टा विद्युत अवरोध भएको थियो भने २०८२/८३ को त्यही महिनामा १ सय १५ पल्ट ट्रिपिङ हुँदा ४१ घण्टा अवरोध भएको छ ।
त्यसैगरी आर्थिक वर्ष २०८१/८२ को असोजमा १ सय १२ पल्ट ट्रिपिङ हुँदा ६१ घण्टा विद्युत अवरोध भएकोमा २०८२/८३ को सो महिनामा ९८ पल्ट ट्रिपिङमा ६१ घण्टा विद्युत अवरोध भएको छ ।
आर्थिक वर्ष २०८१/०८२ को कात्तिकमा ७१ पल्ट ट्रिपिङ हुँदा ३८ घण्टा विद्युत अवरोध भएकोमा २०८२/८३ को त्यही महिनामा ५९ पल्ट ट्रिपिङ हुँदा ३१ घण्टा विद्युत अवरोध भएको छ ।
आर्थिक वर्ष २०८१/८२ को मंसिरमा ६८ पल्ट ट्रिपिङ हुँदा ३२ घण्टा विद्युत अवरोध भएको थियो भने आर्थिक वर्ष २०८२/८३ को उक्त महिनामा ३२ पल्ट ट्रिपिङ हुँदा १४ घण्टा विद्युत अवरोध भएको छ ।
आर्थिक वर्ष २०८१/८२ को पुसमा ५९ पल्ट ट्रिपिङ हुँदा २८ घण्टा विद्युत अवरोध भएको थियो भने २०८२/८३ को उक्त महिना ५० पल्ट ट्रिपिङ हुँदा १३ घण्टा विद्युत अवरोध भएको छ ।
आर्थिक वर्ष २०८१/८२ को माघमा ५४ पल्ट ट्रिपिङ हुँदा २७ घण्टा विद्युत अवरोध भएकोमा २०८२/८३ को उक्त महिनामा ४४ पल्ट ट्रिपिङ हुँदा १२ घण्टा विद्युत अवरोध भएको छ । त्यसैगरी आर्थिक वर्ष २०८१/०८२ को फागुनमा ६६ पल्ट ट्रिपिङ हुँदा ३२ घण्टा विद्युत अवरोध भएकोमा २०८२/८३ को सो महिनामा ४७ पल्ट ट्रिपिङ भई १२ घण्टा विद्युत अवरोध भएको तथ्यांक छ ।
साउनदेखि फागुनसम्मको अवधिलाई हेर्दा २०८१/८२ को तुलनामा आर्थिक वर्ष २०८२/०८३ मा ट्रिपिङ उल्लेख्य मात्रामा घटेको प्राधिकरणको तथ्याङ्कले देखाएको छ । सात वटै प्रदेशको तथ्याङ्कलाई हेर्दा पनि उस्तै अवस्था देखिन्छ ।
चैत, बैशाख, जेठ र असारमा भने ट्रिपिङको समस्या अन्य महिनाको तुलनामा बढी हुने भन्दै प्राधिकरणले आर्थिक वर्ष २०८१/८२ को तुलनामा यो आर्थिक वर्षमा ती महिनामा पनि ट्रिपिङ घट्ने दाबी गरेको छ।
आर्थिक वर्ष २०८१/८२ को चैतमा ८६, वैशाखमा १ सय ९, जेठमा १ सय ५० र असारमा १ सय ५३ पटक ट्रिपिङ हुँदा क्रमशः ४२, ५७, ८४ र ६५ घण्टा अवरोध भएको थियो ।
प्राधिकरणले उपभोक्तालाई गुणस्तरीय, भरपर्दो र पर्याप्त विद्युत् उपलब्ध गराउन चालिएका सकारात्मक कदमका कारण यो सम्भव भएको बताएको छ । प्राधिकरणले गत आर्थिक वर्षको वैशाख, जेठ र असारमा हावाहुरी र पानीका कारण ट्रिपिङको समस्या बढेको भन्दै यो वर्ष पनि त्यही कारणले बढ्न सक्ने तर, यी महिनामा पनि अघिल्लो वर्षको तुलनामा कम गर्ने तयारीमा रहेको जानकारी दिएको छ ।
प्रतिक्रिया 4