+
+
Shares
विचार :

बालेन एक्सप्रेसका ५ गियर

यो चुनावले कुण्ठित जातीय विभाजनमा आधारित मत प्रणाली हटाएर स्वच्छ सभ्य पहिचानलाई स्वीकारेको छ । संकीर्णतालाई अस्वीकार गरेको छ, त्यसमा बालेन जादुई पात्र हुन् । हिजो संसदमा देखिएको शालीन विविधताले एकअर्कालाई अँगालोमा बेरेको छ । नेपाल एक इन्द्रेणी मुलुकको जाज्ज्वल्य उदयको तस्बिर हाम्रोमाझ देखाएको छ ।

गोविन्द नारायण गोविन्द नारायण
२०८२ चैत १३ गते १६:०४

जेनजी विद्रोहपछिको निर्मम प्रश्न थियो— ‘के त्यो विद्रोह, त्यो शहादत केवल ८४ को चुनाव ८२ मा सार्न मात्र थियो ?’

चुनाव भयो र नतिजाले भनेको छ नेपालले आफूलाई पछौटे देशबाट द्रुत परिवर्तनको दिशामा एक्सप्रेस गतिमा अगाडि सार्न सक्छ । आज बालेन प्रधानमन्त्रीमा बहाल भएका छन् र यो यथार्थ हो, बाँकी अब इतिहास हो । उनलाई नेपालको भविष्यको खाली क्यानभास, यो मुलुकवासीले आज सौगात दिएका छन् जसमा उनले नवीन नेपालको प्रगतिको नक्शा स्वतन्त्र र विवेकपूर्ण रूपमा कोर्न सक्छन् ।

बालेन मर्ममा र्‍यापर हुन्, उनको लडाइँ अन्यायसँग छ । र्‍याप मनोविज्ञान हामीले र हाम्रो समाजले बुझ्न समय लाग्नेछ । उनको हिजोको त्यो विधा पनि कडा थियो र आजको राजनीतिको यो विधा पनि कडा छ । त्यसैले यहाँ गर्न सक्ने र गर्नुपर्ने केही ठोस विषय तपाईंलाई सम्बोधन गरेर लेख्दैछु ।

प्रधानमन्त्री बालेनजी, तपाईं र तपाईंको मन्त्रिपरिषद्ले अब गर्नुछ:

१. नागरिकको पसिनाको पूजा र भ्रष्टाचारको धुजा

भ्रष्टाचारको चक्र पार्टी खर्च र चुनावमै शुरु हुन्छ । रास्वपा निर्माण गर्न बालेनजीले ठूलो आर्थिक लगानी गर्नु परेको छैन, र जुन जनमत उहाँप्रतिको लहरलाई प्राप्त छ त्यो कुनै मासु–भातको ऋण बोकेर आएको मत होइन; जसको सावाँ–ब्याज तपाईंले सरकारमा बसेर निखन्नु छैन । ठूला व्यापारीप्रति पुरानो आर्थिक दायित्व पनि छैन । त्यसैले क्लेप्टोक्रेसी अर्थात् ‘लुटेराहरूको शासन’ को जग तपाईंहरूले भत्काउनु होइन उखेल्नुपर्छ । त्यसैले प्रधानमन्त्रीज्यू पार्टी–व्यापारीको भ्रष्ट नेक्सस ढाल्नुस्, सिस्टमका जुका जति फाल्नुस्— नेपाल आर्थिक रूपमा स्वत: स्वच्छ, सबल र सफल हुन्छ ।

२. पोख्न देऊ पसिना देशमै हाँसेर, बाँच्न देऊ परिवारसँगै टाँसिएर 

नेपालीलाई प्रकृतिले गरिखाने भूगोल र इतिहास दिएको छ; लुटी, ठगी खानै पर्दैन । मधेशका फाँट, पहाडका पदमार्ग, हिमालका दुर्लभ दृश्य, खोंचबाट बगेको पानी, ध्यान गरेका बुद्ध, सबैका विष पिएका पशुपति, जंगलमा हरिण, नदीमा डल्फिन र कछुवा सबैथोक छ ।

केवल यो प्रशासनिक लाइसेन्स छाप्ने बिचौलियाको धेरै थरीका धेरै ठूला सटर जुन सिंहदरबार र आसपास छ यो बन्द गर्न सिंहदरबार भित्र नै नैतिक र कानूनी डोजर चलाउनुस्, प्रधानमन्त्रीज्यू त्यो म्यान्डेट अब तपाईंलाई छ । ‘द लाल’ अर्थात् स्ट्रक्चर्ड रेड टेपिजमलाई डोजर लगाऊ, कमिशनखोर नेतागिरीको पार्टीगत कुसंस्कृत प्रवृत्तिलाई हत्कडी लगाऊ । त्यसपछि नेपालका सबै आर्थिक क्षेत्र चलायमान हुन्छन् । त्यसैले तपाईंहरूले भन्ने गरे झैं ग्रीन इकोनोमी, क्लाउड इकोनोमी र सर्भिस लेड आर्थिक वृद्धि प्राप्त हुन्छ ।

नेपालीले नेपाललाई उँभो लगाउँछन् आफ्नै घरलाई महल बनाउँछन्, स्वदेशलाई संसारमा चिनाउँछन् । घरैपिच्छे गरिखाने २—४ जना कमाउने भएपछि के चाहियो ? एकबारको जुनीमा हात खाली बस्न, पसिनै नकाढी जिउन, कुन नेपालीलाई मन छ भन्या क्या ? केवल तिनको सफलता पौरख रोप्ने जोहो गरिदेऊ, एअरपोर्टको लाइन त्यसै रोकिन्छ । बस्, आधारभूत सामग्रीको महँगी बढ्नु भएन हामीलाई कतारको कमाइको आधा मात्रै आफ्नै देशमा कमाउन पाए– हाम्रो एकतले सानो बारी घरपरिवार नै छ, हामीलाई हाम्रो राम्रो महल ।

३.सँगसँगै आत्मीय पहिचान, अब माथि लैजानु राष्ट्रिय स्वाभिमान

यो चुनावले कुण्ठित जातीय विभाजनमा आधारित मत प्रणाली हटाएर स्वच्छ सभ्य पहिचानलाई स्वीकारेको छ । संकीर्णतालाई अस्वीकार गरेको छ, त्यसमा बालेन जादुई पात्र हुन् । हिजो संसद्मा देखिएको शालीन विविधताले एकअर्कालाई अँगालोमा बेरेको छ । नेपाल एक इन्द्रेणी मुलुकको जाज्ज्वल्य उदयको तस्बिर हाम्रोमाझ देखाएको छ । अब विश्वमाझ हाम्रो नेपाली पहिचान निखार्नु छ, हिजोको बहादुर– आजको लेबर होइन– भोलिको वर्ल्डमा बोल्ड लिडर हामी नेपालीलाई हुनुछ । प्रथम विश्व समुदायमाझ कुनै दिन कहलिनु छ: ‘वाह् नेपालीले गज्जब गरे नि, हेर त ! विद्रोह गरे, शान्ति बाटोमा आए र एक्सप्रेस विकास गरे; छोड अब नेपाललाई धेरै तिम्रा थोत्रा थ्यौरी नसिकाऊ, बरु नेपालबाट केही सिक । अब नेपाल अरूकै हलो जोत्ने गोरु राष्ट्रबाट विश्वको एक गुरु राष्ट्र हुन लागिसक्यो ।’

४.भत्काऊ सबै छेकबार, पालको घरमा किन पर्खाल ?

राज्य संयन्त्रमा सबै काम गर्न आर्थिक स्रोत र सोच चाहिन्छ, त्यसैले के गर्ने ? सिंहदरबारको विनाशलाई भदौ २३ र २४ मा हाम्रो संयन्त्रले छेक्न सकेन यद्यपि त्यहाँ कति धेरै पर्खाल छन् सबैलाई थाहा छ । हाम्रा प्रशासनिक संयन्त्रले दोहन गर्न नै खासमा पाल–पण्डालका लागि ठूला पर्खाल बनाएका जस्ता छन् । यी नागरिक पहुँच रोक्ने सबै घेराबार सम्याऊ– नागरिकलाई सार्वभौम र सबल तुल्याऊ ।

देशको धेरै पैसा नेताको पाकेट प्रोजेक्टमा जाने गरेका छन् । तिनलाई स्कोर्पियो र काठमाडौंमा घर चाहिन्छ त्यसको बाटो अहिले नै रोक्नुहोस् । ठूला परियोजनाका भेरिएसन र ऋणको दुरुपयोग चरम छ । केही दशकपछि हाम्रा निर्माणाधीन परियोजनाले झन्डै–झन्डै अर्ध शताब्दी लिएर ऋणको भारी मात्र दिन्छ । त्यसैले तपाईंको गीतमा झैं ‘केही भएन पढेर, चाप्लुसीको संसारमा सकिंदैन लडेर, मनखुशी यो व्यापारमा बेइमानीकै चल्दो रहेछ रूखमा पैसा फल्दो रहेछ’ लाई अब तपाईंले नै यसलाई रोक्न सक्नुहुन्छ किनकि ‘यु नो इट बेटर ।’

त्यसकारण प्रधानमन्त्री बालेन, विश्वमा नै असल इतिहास रच्न तपाईं चाहनुहुन्छ भने आँट गर्नुभएको तपाईंको जुनून कायम राख्नुस् । विश्वलाई देखाउने गरी नेतृत्व गर्नुस् किनकि आजको दिनमा सम्पूर्ण विश्व तपाईंको साथ छ, तपाईंलाई हेरिरहेछ ।

हाम्रा केही मध्यम तहका अधिकृत औसत ५५–६० हजार तलब खान्छन्, ३५ हजारको ड्राइभर र ५५ लाखको सवारी खोज्छन् र त्यो पाउन अक्सर मालदार कार्यालय रोज्छन् । हो, बाध्यता छ तिनको पनि फेसबुकमा स्ट्याटस छ, दौरा, सुरुवाल र टोपीमा आइरन गर्नै पर्‍यो । लगभग १० मा १ कर्मचारीको बदमासीले सम्पूर्ण राष्ट्रसेवकको मनोबल तल छ, त्यसैले त्यो १ जनालाई सजाय दिनु पर्‍यो र बाँकी ९ को मनोबल, सुविधा र कार्य क्षेत्र अधिकार र जवाफदेहिता उकास्नु पर्‍यो । हाम्रो बजेटमा थालभन्दा चम्चा महँगो छ, त्यसैले खर्च प्रणाली सुधारौं, बेथिति बढारौं सम्पूर्ण कर्मचारी, सुरक्षाकर्मी र आमनेपालीकै सरकारप्रतिको नैतिक र आर्थिक मनोबल बढाऔं ।

५. झिनामसिना छाड अब क्षेत्रीय नेतृत्व लिन आँट

नेपाल दुई ढुंगाको तरुल सुन्दा सुन्दा वाक्क भइसकियो, कुनै बेला राम्रो सुनिन्थ्यो अब त्यो भाग्यवादी तरुललाई अझै धेरै नउसिनौं । हाम्रो परराष्ट्र नीति भारत–चीन जोड्ने कूटनीतिक, भौतिक र भौगोलिक टनेल बन्नुपर्छ किनकि अब विश्व अर्थतन्त्रको ठूलो भाग हाम्रो वरिपरि घुम्छ । अब पहुँच नै पूँजी र शक्ति हो ।

जब हाम्रो राष्ट्रिय हितलाई अक्षुण्ण राख्दै हाम्रा मित्रराष्ट्र र सामरिक मित्रहरूसँगै शान्ति र क्षेत्रीय सद्भावको विषयमा हामी निष्कर्षमा पुग्छौं त्यसपछि हामीले फर्केर हेर्नुपर्दैन । त्यसैले हाम्रो सीमाको रक्षा सँगै हामीले रक्षा गर्नुपर्ने विश्वमा अनेकन् विषय छन् । नेपालको शान्ति क्षेत्रको मर्म, जलवायु संरक्षण र सम्वर्द्धनको अत्यावश्यकता र विश्वव्यापी न्यायको विषयलाई हामीले नै प्रवर्धन गर्नुपर्छ, विश्वमाझ त्यही नारा लिएर नेतृत्व लिनुपर्छ ।

जबसम्म हामी गरिब छौं तबसम्म हामी गौरवान्वित हुनै सक्दैनौं । भनिन्छ नि ‘बेगर ह्याज नो चोइस ।’ त्यसैले हामी ‘बेगर’ होइन आर्थिक रूपमा ‘बेटर’ हुनै पर्छ । आर्थिक–सामरिक हित नै हाम्रो पिन पोइन्ट हो । यसलाई हाम्रो लक्ष्य मानेर हामी हरेक सौदावाजीको टेबुलमा हाम्रो ‘सफ्ट एण्ड हार्ड लिभरेजका सबै उचित अस्त्र’ प्रयोग गर्न पर्छ, नेपाल र नेपालीको लाभको खातिर । हामीलाई हाम्रै प्रकारको ‘सिलिकन शिल्ड’ चाहिएको छ, र त्यो वैदेशिक लगानी हुनसक्छ, हाम्रो भूगोल, हाम्रो इन्टेल अनि रणनीतिक नेगोसिएसन क्षमता हुन सक्छ । हामीले रक्षाको तुलनामा उल्लेख्य बजेट परराष्ट्रमा खर्चनुपर्छ ।

प्रधानमन्त्री बालेनको व्यक्तित्व ग्लोबल पोलिटिकल ग्ल्यामरको सम्भावनाले भरिपूर्ण छ त्यो केवल उचित विषयमा उजागर हुनुपर्छ, आफ्नो जुझारु र इमानदार व्यक्तित्वमा उनले विश्व युवामाझ विश्वव्यापी साझा प्रगतिका नारा लिए त्यो नेपालको हितमा हुनेछ । अब चाह्यो भने नेपाल विश्वको एक केन्द्र बन्न केहीले रोक्न सक्दैन ।

त्यसकारण प्रधानमन्त्री बालेन, विश्वमा नै असल इतिहास रच्न तपाईं चाहनुहुन्छ भने आँट गर्नुभएको तपाईंको जुनून कायम राख्नुस् । विश्वलाई देखाउने गरी नेतृत्व गर्नुस् किनकि आजको दिनमा सम्पूर्ण विश्व तपाईंको साथ छ, तपाईंलाई हेरिरहेछ ।

जसरी र्‍याापरहरूको वर्ल्ड टुर हुन्छ नेपाललाई विश्व प्रसिद्ध प्रगतिको गीत बनाउनुस्, संगीत भर्न आज सारा नेपालीको साथ छ हामी अब नेपाललाई वर्ल्ड टुरमा लौजाऔं, र नेपाललाई विश्वमाझ पपुलर बनाऔं । र आम विवेकशील नेपाली, तिमीसँग आज छ, भरपुर प्रयोग गर, देशको लागि प्रयोग गर, सानो विजयलाई ठूलो मानव सफलतामा परिणत गर ।

चन्द्रमामा पाइला राख्दा एक चन्द्रयात्रीले कतै चन्द्रमामा उभिएर भने झैं तिमी पनि कुनै दिन भननँ ‘विश्वमा सुशासनको सभ्यता सृजना गर्न तिम्रा साना साना कर्मठ पाइलाले मानव हितमा कुनै दिन ठूलो प्रभाव पार्नेछ ।’

समस्त नेपाली र नेपालीका प्रधानमन्त्री बालेन, दुवैलाई हृदयभरिको शुभकामना !

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
लेखक
गोविन्द नारायण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?