+
+
Shares
इतिहास :

अभिमानसिंह बस्नेतले लडेका ती युद्ध

राजकुमार दिक्पाल राजकुमार दिक्पाल
२०८२ चैत २१ गते १३:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काजी अभिमानसिंह बस्नेतले गोरखा राज्य विस्तारका क्रममा वि.सं. १८१९ देखि विभिन्न मोर्चामा युद्ध लडेका थिए।
  • वि.सं. १८३० मा अभिमानसिंहले माझकिरातलाई गोरखाली राज्यमा मिलाएका थिए र विजयपुरमा प्रशासक भएर बसेका थिए।
  • वि.सं. १८४८ मा नेपाल र तिब्बतबीचको युद्धमा अभिमानसिंहले केरुङतर्फ आक्रमण गर्ने जिम्मेवारी पाएका थिए।

तत्कालीन गोरखा राज्यको सेवक भएर क्षेत्रीय वंशका विभिन्न खलकका योद्धाहरूले इतिहासमा नाम राखेका छन् । गोरखा राज्य विस्तार अभियानमा थापा, बस्नेत, पाँडे, कुँवर आदि थरगत समूहका क्षेत्रीय वंशका साथै मगर योद्धाहरूले विभिन्न युद्धमा रणकौशल देखाएको इतिहास पाइन्छ ।

खस क्षेत्रीय वंशमध्येका एक बस्नेतहरू कुल देवताका रूपमा मष्टलाई मान्छन् । बस्नेतहरूमा श्रीपाली, खुलाल र खप्तडी छन् । बझाङ जिल्लाको सैपाल हिमालको नामबाट श्रीपाल रहन गएको हो । यही ठाउँ नै श्रीपाली बस्नेतहरूको उद्गमस्थल हो । यहाँ श्रीपालकोट नामको स्थान पनि छ । यहाँ पहिले श्रीपाल राज्य थियो ।

त्यो समय राजा नागराजको राज्य श्रीपाल, खप्तडी, कालीकोट, खुलाल र सिंजामा रहेको थियो । पछि गएर श्रीपाल राज्यको बासिन्दा नै श्रीपाली वंश कहलाए । संवत् ९०० सम्म यो राज्य पूर्वी मानसरोवरदेखि गण्डकीसम्म फैलिएको थियो (डा. विनोद थापा, ‘नेपाल राष्ट्र निर्माणमा श्रीपाली बस्नेतहरूको योगदान’–२०७४ः२९–३०) ।

लेखक पूर्णप्रकाश शर्मा ‘यात्री’ का अनुसार नयाँ बस्ती बसाएर राख्दा प्रत्येक बस्तीमा झैझगडा र मुद्दामामिला चल्ने नै भयो । त्यसबेला न्याय निरुपण गर्ने मानिस राखिन्थ्यो । यस्ता मानिसलाई ‘बस्न्यार्थी’ मानिन्थ्यो । त्यही शब्द बस्न्यायित, बस्न्यात अथवा बस्नेतमा अपभ्रसित हुनपुग्यो । यस्ता बस्तीहरू थिए, श्रीपाल, खप्तड अनि खुलाल । श्रीपालमा बस्नेहरू श्रीपाली भए, खप्तडका खप्तडी र खुलालका खुलाली भए (थापा, २०७४ः३१–३२)

काजी अभिमानसिंह बस्नेत (स्रोतः राष्ट्र निर्माणमा श्रीपाली बस्न्यातहरूको योगदान)

श्रीपाली बस्नेत वंशमा मदनसिंह राजा थिए । उनका कुलको भरतसिंहको समयमा खस राज्य विभिन्न टुक्रामा विभाजित भयो । उनीहरू यताउता लाग्दा भरतसिंहका दुई छोरामध्ये विक्रमसिंहका सन्तान गरहुँमा गएर बसे भने प्रबलसिंह लमजुङ गए । प्रबलसिंहका दुई छोरा झपटसिंह र मोहजालसिंह भने गोरखातिर लागे । राजा द्रव्य शाहको समय वि.सं. १६१६ मा गोरखा दरबारमा बस्नेतहरूको प्रवेश भयो ।

यसरी गोरखामा प्रवेश गर्ने बस्नेतका सन्तान जयराजसिंहका माहिला छोरा शिवरामसिंह बस्नेत राजा नरभूपाल शाहकै समयमा सक्रिय थिए । उनी पृथ्वीनारायण शाहको समयमा प्रसिद्ध सेनानायक बनेर देखा परे (थापा, २०७४ः३२–३४) । उनका चार छोराहरू नाहारसिंह, केहरसिंह, अभिमानसिंह र धौकलसिंहले प्रसिद्ध लडाकुका रूपमा पृथ्वीनारायण शाहकै समयमा नाम कमाए । कान्तिपुर र ललितपुरसँग साँगामा वि.सं. १८०३ फागुन १२ गते भएको युद्धमा गोरखाली सेनापति शिवरामसिंह बस्नेतले ज्यान गुमाएका थिए ।

शिवराम बस्नेतको मृत्यु हुँदा उनका साहिंला छोरा काजी अभिमानसिंह बस्नेत केवल अढाइ वर्षका थिए । उनको रेखदेख उनकै आमा सुरप्रभाले गरिन् । राजा पृथ्वीनारायण शाहले पनि उनीहरूको पालनपोषणका लागि पुग्ने जति जमिन उपलब्ध गरिदिएका थिए (तुलसीराम वैद्य र अरू, ‘नेपालको सैनिक इतिहास’–२०४९ः४६०)

शिवरामसिंहका चार छोरामध्ये अभिमानसिंह बस्नेतले गोरखा राज्य विस्तारका क्रममा विभिन्न युद्ध लडेर आफ्नो पौरख देखाए । युद्ध मैदानमा उनले काठमाडौं केन्द्रदेखि पूर्वी, पश्चिमी, उत्तरी र दक्षिणी भेगका सबै युद्ध मोर्चामा भाग लिए भने पृथ्वीनारायण, प्रतापसिंह र रणबहादुर शाह गरी तीन राजाको राज्यकालमा प्रसिद्ध योद्धाको रूपमा नाम कमाए । यो लेखमा उनै काजी अभिमानसिंह बस्नेतले लडेका युद्धहरूको बारेमा सङ्क्षिप्त चर्चा गरिएको छ ।

किशोर उमेरमै पहिलो युद्ध

अभिमानसिंहले वि.सं. १८१९ देखि सैन्य पौरख देखाउन शुरु गरेका थिए । पृथ्वीनारायण शाहले आफ्नै ससुराली राज्य मकवानपुर विरुद्ध केहरसिंह बस्नेतलाई लड्न पठाउँदा अभिमानसिंह पनि आफ्ना दाजुका साथ त्यस युद्ध मोर्चामा सहभागी थिए । मकवानपुर राज्यलाई गोरखालीहरूले आफ्नो अधीनमा ल्याएपछि उनीहरू वि.सं. १९२० मा सात गाउँहरू धुलिखेल, बनेपा, चौकोट, नाला, खड्पु र साँगा विजय गर्ने अभियानमा लाग्दा अभिमानसिंह पनि सक्रिय थिए ।

यस्तै वि.सं. १८२५ मा कान्तिपुर र वि.सं. १८२६ मा भक्तपुर विजय हुँदा त्यस युद्धमा पनि अभिमानसिंहले रणकौशलता देखाएका थिए (थापा, २०७४ः८५) । यसरी शुरु भएको थियो, काजी अभिमानसिंह बस्नेतकोे सैन्य जीवन ।

लिम्बूहरूसँग युद्ध र सम्झौता

मध्य क्षेत्रको युद्धपछि राजा पृथ्वीनारायण शाहको आदेश पालना गर्दै अभिमानसिंह पूर्वतिर बढे ।

माझकिरातलाई गोरखा राज्यमा मिलाउने उद्योग शुरु गर्न त्यहाँको माटोको डल्लो बोकेर चौदण्डीका राजपुरोहित हरिनन्द पोखरेल र सरदार स्वरुपसिंह कार्की पृथ्वीनारायण शाहलाई भेट्न नुवाकोटतिर हिंडे । यस्तो सौगात आफूलाई चढाउन आउँदा राजा पृथ्वीनारायण शाह खुशीले उचालिए । त्यसपछि त्यस क्षेत्रको स्थिति बुझ्न तुरुन्तै उनले बाङ्गे बस्नेतलाई त्यसतर्फ पठाए ।

त्यहाँको सम्पूर्ण स्थिति बुझेपछि पृथ्वीनारायण शाहले माझकिरातमा युद्ध गर्न सरदार रामकृष्ण कुँवरको नेतृत्त्वमा अमरसिंह थापालाई नायव गराएर गोरखाली फौज त्यसतर्फ पठाए । उनीहरूलाई खार्पाली हरिनन्द पोखरेल र त्रिलोचन पोखरेलहरूले वि.सं. १८२९ भदौ १३ गते डुङ्गाको बन्दोवस्त गरी दूधकोशी पार गराई माझकिरातमा घुसाए । रामकृष्ण कुँवर र अमरसिंह थापा माझकिरातमा घुसिसक्दा त्यसबेला चौदण्डी अधिकार गर्न खटाइएका अभिमानसिंहलाई भने मकवानपुरमा अडाएर राखिएको थियो (बाबुराम आचार्य, ‘श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी’–४१७–१८)

पछि अभिमानसिंह बस्नेत आफ्ना सहयोद्धा पारथ भण्डारीका साथ चौदण्डीतिर बढे । त्यसबेला त्यहाँका राजा कर्ण सेन चौदण्डीबाट विजयपुरतिर पलायन भइसकेका थिए । गोरखाली फौजले चौदण्डीका बासिन्दाको घर–खेत, धन–दौलत सबै सुरक्षित गरिदिने आश्वासन दिएपछि वि.सं. १८३० साउनमा चौदण्डी गोरखाली राज्यको अधीनमा आयो (आचार्य, २०६१ः४१९) ।
रामकृष्ण कुँवर र अमरसिंह थापाहरूले लडेको माझकिरातको पहाडी खण्डहरूमा भने त्यहाँका बासिन्दामाथि निकै ठूलो अत्याचार भएको स्रोतहरूमा परेको छ । ब्रायन हज्सनको सङ्कलनमा प्राप्त सामग्री अनुसार गोरखा पक्षमा नआउने वा आत्मसमर्पण नगर्ने खम्बू–किरातीका पुरुष जति सम्पूर्ण र तिनका कम उमेरका ठिटा बालक सन्तानलाई समेत गोरखालीले मारिदिएका थिए । यतिसम्म कि पुरुष सन्तान जन्माउने आशङ्कामा आइमाईको गर्भ समेत तुहाइदिएको र शिशुहरूलाई ओखलमा हालेर किचिएको भन्ने चर्चा समेत स्रोतमा परेको छ (डा. रमेश ढुङ्गेल, ‘हिमाल’ वर्ष १५ अङ्क २२–फागुन २०६२ः६१) ।

त्यो बेला हरिनन्द पोखरेलले गोरखाली फौजलाई ठूलो रकम आर्थिक सहयोग पनि गरेका थिए । तीमध्ये रामकृष्ण कुँवरले भदौ सुदी १० मा हरिनन्दलाई लेखेको पत्रमा ‘…तिमीले दूधकोशी तारेउ, फौजलाई खर्च बाड्न लियाको पटना रुपैया ३५५८ फौजलाइ बांडिया…’ भन्ने परेको छ भने अभिमानसिंह बस्नेत र पारथ भण्डारीले वि.सं. १८३० फागुन सुदीमा हरिनन्दलाई लेखेको पत्रमा ‘सरदार रामकृष्णले ली आयाको तमरा रुपैया ३५५८ फौजलाई बाड्दा हामीले लियाको तम्रा पटना रुपैया ७४६६ अघिका पछि जम्मा रुपैया ११०५१ को र नौलखा किरातको डल्लो अर्जी चढाई सारा फौज झिकाय पर्वत्मा दुनिया उपरा किरातीदेखि फोरी हाम्रा मनमा चौदण्डीका मुलुक पहाड मदेश अम्बल गरायाको तम्रो चाकरि रिझ्यो…’ (इमानसिंह चेम्जोङ, ‘किरातकालीन विजयपुरको संक्षिप्त इतिहास’–२०५९ः७८–७९) भन्ने परेको छ । यताबाट हेर्दा त्यो बेला माझकिरातलाई गोरखाको अधीनमा पार्न हरिनन्द पोखरेलले ठूलो धनराशि खर्च गरेको देखिन्छ ।

माझकिरातपछि अभिमानसिंह बस्नेत विजयपुरतिर बढे । त्यसबेला विजयपुरमा चलेको राजा र मन्त्री बीचको द्वन्द्वका क्रममा मन्त्री बुद्धिकर्ण रायको तजबिजमा राजा कामदत्त सेनको हत्या भइसकेको थियो र बुद्धिकर्ण विजयपुरको हर्ताकर्ता भएका थिए ।

सरदार रामकृष्ण कुँवर र अमरसिंह थापा चैनपुरतिरबाट बढ्दा अभिमानसिंह बस्नेत चाहिं आफ्नो फौजका साथ तराई खण्डबाट बढ्ने क्रममा अम्बरपुर (सप्तरी)मा अडिएर बसेका थिए । बुद्धिकर्णले थपना राखेको राजा कर्ण सेन पूर्णियातिर गएको मौकामा मध्य वर्षात्को उर्लंदो भेलमा अभिमानसिंहले आफ्नो सेनालाई हात्तीबाट कोशी पार गराई विजयपुर हमला गर्दा ८५ जना लिम्बू सैनिकले ज्यान गुमाए (आचार्य, २०६१ः४२१–२२)

तर पूर्वी भेगका लिम्बूहरूले सजिलै गोरखाली आधिपत्य भने स्वीकार गरेनन् । लिम्बू अगुवाहरूले यसका लागि अभिमानसिंह बस्नेत लगायतका गोरखाली सैन्यनायकहरूलाई नूनपानीको कसम खुवाई सेन मकवानीहरूले दिएको अधिकार सुरक्षित गर्ने भए मात्रै गोरखाली आधिपत्य स्वीकार गर्ने बताएपछि राजा पृथ्वीनारायण शाहले लिम्बू अगुवाहरू सुन राय, कुम राय र जङ्ग रायको नाममा एक लालमोहर जारी गरे (चेम्जोङ, २०५९ः९४–९६)

पूर्वी मोर्चामा रहेका अभिमानसिंह बस्नेत लगायतका भारदारहरूलाई निर्देशन दिंदै राजा पृथ्वीनारायण शाहले पठाएको लालमोहर । (स्रोतः भगिराज इङ्नाम)

राजा पृथ्वीनारायण शाहले वि.सं. १८३१ साउन सुदी १ रोज २ मा जारी गरेको उक्त लालमोहर इतिहासकार शङ्करमान राजवंशीले पुरातत्त्व विभागको मुखपत्र ‘प्राचीन नेपाल’ (सङ्ख्या ३, वैशाख २०२५ः२९–३०)मा प्रकाशित गरेका छन् ।

यसरी लिम्बूहरूलाई आफ्नो हातमा लिएपछि अभिमानसिंह बस्नेत हालः धनकुटामा रहेको कुर्लेगढी हुँदै पाँचथरको इसिलिम्बा र च्याङ्थापुतिर बढे । उनीलगायत पारथ भण्डारी, बलि बानियाँ र कीर्तिसिंह खवासको नाममा राजा पृथ्वीनारायण शाहले वि.सं. १८३१ आश्विन बदी ३० बुधबार जारी गरेको लालमोहरमा ‘…चौदंडमहा गढि तुल्याउनका विस्तार औ कुहि«ल्याबाट फौज हिड्याको. तिनै मुषले गन्र्या काज जाँजो. लिम्बु श्रृंग्याका सुब्बाले मान्न आयाको सबै विस्तार बिन्ती गरी पठाया छौ विधि विस्ता सुन्यौ इस् लिम्बा च्यांथापुसम्म जति हाम्रो फौज पुग्यो त अव त्यो जगा छोड्नु छैन. वलिया गरि गढि तांहि बनाउना छन्. बनाव. वांकि इस् लिम्वा चांथापुसम्म हाम्रो अम्व भयापछि कनकापूर्व टिस्टा पश्चिम पनि अम्वल गरिहाल्न्या हो…इस्लिम्वा चांथापु सांध गरिकन पनि सुषिमले हामिसंग घायै गर्न पस्यो भन्या कटक् गन्र्या महा पसेन् त कनका हेरी बुझि तर्नु…’ भन्ने व्यहोरा उल्लेख छ (हे. लेखसँगै प्रकाशित लालमोहर) । यो लालमोहर अभिमानसिंहका सन्ततिसँग सुरक्षित छ ।

गोरखाली राज्य विस्तारका क्रममा युद्ध लड्दै वि.सं. १८३१ मा पूर्व पुगेका अभिमानसिंह वि.सं. १८३४ सम्म त्यहाँको प्रशासक भएर विजयपुरमा बसेका थिए (ज्ञानमणि नेपाल, ‘नेपाल निरुक्त’–२०७४ः२८१) ।

विजयपुरबाट पहिल्यै पलायन भइसकेका त्यहाँका भूतपूर्व मन्त्री बुद्धिकर्ण रायलाई समातेर हत्या गर्नुपर्ने निर्देशन अभिमानसिंहलाई राजा पृथ्वीनारायण शाहले दिंदै रहेका थिए । उनले त्यो निर्देशन पालना गर्दा पृथ्वीनारायण शाहको देहान्त भइसकेको थियो ।

बुद्धिकर्णको हत्यापछि गोरखालीहरूले शान्तिको सास फेर्दै हर्षोल्लास प्रकट गरे । यो तथ्य तत्कालीन राजा प्रतापसिंह शाहले नै व्यक्त गरेका छन् । वि.सं. १८३४ साउन वदी २ मा प्रतापसिंह शाहले अभिमानसिंह बस्न्यात लगायतलाई लेखेको पत्रमा ‘त्यो नपक्रियाका भया बारम्बार धुम उठाउन्या थिया मुगलानबाट ल्याउन्याले धुम मेटियो । तेरा अर्थकन विजयपुरका मालिक बुद्धिकर्न राय हो. त्यो पनि ठूलो मेहनत हो’ भन्ने परेको छ (हे. लेखसँगै प्रकाशित लालमोहर) । यो पत्र पनि अभिमानसिंह बस्नेतको सन्ततिसँग सुरक्षित छ ।

यसरी बुद्धिकर्ण रायको हत्या लगायतका काम फत्ते गरेबापत बस्न्यात दरबारबाट पुरस्कृत भए । उक्त पत्रमा ‘सप्तरी विजयपुर पहाड मधेश गरी पौने दुई लाख रुपैयाँ सालबसाल आउन्या मुलुक अम्बल गरिस् तेस्को रिझ वापत तैंले जागीर पायाको दहीचाढ भया पनि तेसै बरोबरको बारा जिल्लामा अरु जग्गा भया विर्ता गरी जिमी बक्सौंला’ भन्ने परेबाट बस्न्यातलाई ठूलो पुरस्कार मिलेको स्पष्ट हुन्छ ।

चितवनको युद्धमा सफलता

हालको चितवन (सुमेश्वर) त्यो समय तनहुँ राज्य अन्तर्गत पथ्र्यो । चितवन क्षेत्रमा भने अङ्ग्रेजहरूको आँखा परिरहेको थियो । त्यो क्षेत्र आफ्नो अधीनमा ल्याइहाल्न हतारो गरेका तत्कालीन राजा प्रतापसिंह शाहले पूर्वमा प्रशासक भएर बसिरहेका अभिमानसिंहलाई सम्झे । उनको नाममा जारी गरिएको लालमोहरमा ‘सुमेश्वर कविलासपुर काजलाई विदा भै गयौ तेति काज गरि आव’ भन्ने परेको छ

विजयपुरमा रहेका अभिमानसिंह बस्नेतलाई सुमेश्वर (चितवन)को युद्धका लागि बोलावट भएको राजा प्रतापसिंह शाहको लालमोहर । (स्रोतः भगिराज इङ्नाम)

 

चितवन हात पार्ने अभियानका क्रममा काठमाडौंबाट काजी स्वरुपसिंह कार्की त्यसतर्फ गएका थिए । इतिहास शिरोमणि आचार्य (‘श्री ५ प्रतापसिंह शाह’–२०६०ः११६–१८) ले उल्लेख गरे अनुसार तनहुँका तत्कालीन राजा हरकुमारदत्त सेनले चितवनको सुरक्षाका लागि सुमेश्वर र कविलासगढीमा आफ्नो सेना तैनाथ गरेका थिए । यसअघि नै नजिकैको उपरदाङगढी गोरखालीको कब्जामा परिसकेको थियो ।

कविलासपुरमा गोरखालीहरूले घेरा दिंदा घमासान युद्ध भयो । तर तनहुँको सेना लामो समय टिक्न सकेन । त्यसबेला अभिमानसिंहका साथ चितवन कब्जा गर्न जाने सैन्य नायकहरूमा स्वरुपसिंह कार्की, रामकृष्ण कुँवर, पारथ भण्डारी लगायत थिए । उनीहरूले वि.सं. १८३४ साउन ६ गते कविलासपुर र २६ गते सुमेश्वरगढी कब्जा गरी त्यो क्षेत्र गोरखाली राज्यमा गाभे ।
सप्तरी, चौदण्डी तथा चितवन आदि अभिमानसिंहले दक्षिणी क्षेत्र अन्तर्गत युद्ध लडेको क्षेत्र हुन् ।

पश्चिमी युद्धमोर्चाको नेतृत्व

अभिमानसिंह बस्नेतले पश्चिमी क्षेत्रको युद्धमा पनि रणकौशल देखाए । उनी पाल्पा र लमजुङको युद्धमा पुग्दा स्वरुपसिंह कार्की पनि त्यसतर्फ गएका थिए । पर्वत राज्यसँगको युद्धमा उनीहरूले त्यस राज्यका सेनापति गणेश मल्ललाई पक्राउ गरेपछि अभिमानसिंह तनहुँ गएर बसे भने स्वरुपसिंह काठमाडौं फर्के । तनहुँमाथि गोरखाली राज्यको आधिपत्य स्थापित भएपछि उनले रिसिङ, घिरिङ, चरिकोट, पैयु आदि राज्यहरूमाथि जित निकाले । यस्तै बहादुुर शाहको नायवीकालमा काजी दामोदर पाँडे कालीगण्डकीतिर लाग्दा अभिमानसिंह पनि त्यसतर्फ गएका थिए (वैद्य र अरू, २०४९ः४३४)

उत्तरी क्षेत्रको युद्धमा अभिमानसिंह

कसर मिसिएको टकको विषयमा गरिएको सम्झौता कार्यान्वयन नभएको विषयमा फेरि एकपटक नेपाल र तिब्बत बीच युद्धको अवस्था आइपर्‍यो । वि.सं. १८४८ साउनमा भएको यो युद्धमा केरुङतर्फबाट अघि बढी झुँगामा रहेको तिब्बती किल्लामा आक्रमण गर्ने अभिभारा काजी अभिमानसिंह बस्नेत र सरदार रणजीत कुँवरले पाएका थिए । उनीहरू साउन ३० गते युद्धस्थलतर्फ प्रस्थान गरे । भदौ २६ गते घमासान युद्ध हुँदा नेपाली पक्ष हार खाई केराउबारी भन्ने ठाउँमा आएर बस्न विवश भए (बाबुराम आचार्य, ‘चीन तिब्बत र नेपाल’–२०५९ः१५२) ।

अभिमानसिंह बस्नेतलाई जागिर वापत जग्गा दिइएको राजा रणबहादुर शाहको लालमोहर । (स्रोतः भगिराज इङ्नाम)

उता डिचर्गा शहरमा पुगेका काजी दामोदर पाँडेको नेतृत्त्वको नेपाली सेनाले त्यहाँको गुम्बामा लुट मच्चाएपछि चीन समेत युद्धमा ओर्लियो (आचार्य, २०५९ः१५४) ।

विशाल सैन्यशक्ति भएको चीनसँग नेपाली सेनालाई मुकाविला गर्न निकै कठिन परिस्थिति सिर्जना भएको थियो । हुँदाहुँदा तिब्बती र चिनियाँ सेना बेत्रावती नदीसम्मै आइपुग्यो । बेत्रावतीमा भएको निर्णायक युद्धमा नेपाली सेनाले बहादुरी देखाउँदै शत्रु पक्षको ठूलो क्षति गराएका थिए । त्यहाँ युद्ध सञ्चालनका लागि नायव राजकुमार बहादुर शाह स्वयम् पुगेका थिए ।

अन्त्यमा युद्ध सम्झौतामा टुङ्गियो । वि.सं. १८४९ भदौ ११ गते दुई पक्षबीच भएको सम्झौतापछि असोज १६ गते धैवुङमा रहेका चिनियाँ सेनालाई विदाइ भोजको आयोजना गरियो । उनीहरूको विदाइ भोजका लागि घिउ, चिनी, दही, चिउरा, मासको दाल, तौली चामल, खसी, राँगा र सुँगुर किनेर त्यसतर्फ पठाउने काम काजी अभिमानसिंह बस्नेतले गरेका थिए (आचार्य, २०५९ः१७२–७७) ।

आफ्नो समयमा केन्द्र, पूर्व, पश्चिम, उत्तर र दक्षिण क्षेत्र गरी सबै क्षेत्रको युद्धको अनुभव बोकेका काजी अभिमानसिंह बस्नेतले इतिहासमा एक वीर योद्धाको रूपमा आफ्नो नाम लेखाएका छन् ।

अभिमानसिंहको घर

काठमाडौंको केलटोल, बालकुमारीस्थानमा एउटा पुरानो मल्लकालीन वास्तुकलाले भरिपूर्ण कलात्मक घर छ । यसमा विभिन्न पसलहरू सञ्चालित छन् । यो घरलाई तिलंगा घर तथा पल्टन घर पनि भनिन्छ । यो घरको पुरानो नाम चाहिं ‘मानमन्दिर’ हो । काजी अभिमानसिंह बस्नेतले यो घरलाई निजी निवास बनाएका थिए । हालः नारायणहिटी रहेको परिसरमा पहिले अभिमानसिंहकै कान्छा भाइ धौकलसिंह बस्नेतको घर थियो ।

भिमानसिंह बस्नेतको केलटोलस्थित निजी निवास मानमन्दिर (स्रोतः विकीपिडिया)

अभिमानसिंहले यो घर परिसरमा वि.सं. १८३३ पुस सुदी १० रोज १ शिलालेख राख्न लगाएका थिए । शिलालेखमा ‘गणेशको बासले मङ्गलमय भएको, जयहोम देवपूजा भइरहने, श्रुति स्मृति पुराण पाठ भइरहने, नटुवाहरूको नाचगान आदिले गर्दा रमणीय भएको, हात्ती घोडाहरू आनन्दका साथ कराइरहने, चारैतिर तिलङ्गाहरू अङ्कित गरिएको, बहुत मान र धनले सम्पन्न भएको यो भवन अति मनोहर छ’ (धनबज्र बज्राचार्य र टेकबहादुर श्रेष्ठ, ‘शाहकालको अभिलेख’–२०३७ः१२७–२८) भन्ने उल्लेख छ ।

बज्राचार्य र श्रेष्ठ (२०३७ः१२९) अनुसार यो घर पहिले जयप्रकाश मल्लका पुरोहित वर्गका भाजुदेव ब्राह्मणको थियो । कान्तिपुर विजयपछि सो जफत गरिएको थियो । पछि सो घर अभिमानसिंहलाई दिइएको थियो । वि.सं. १८३२ मा राजा प्रतापसिंह शाहले पर्ने मूल्यको ६ भागको एक भाग दाखिल गरी सुनाविर्ताको रूपमा सो घरबारी अभिमानसिंहलाई नै बकस दिइएको थियो । अनि उनले सो घरलाई ‘मानमन्दिर’को रूप दिएका हुन् । राजा पृथ्वीनारायण शाहको उपदेशको नाममा चर्चित पुरानो लेखोट यही घरमा भेटिएको थियो । हाल यो घरको बचेखुचेको केही भाग अभिमानसिंहका भाइ धौकलसिंहका आठ जना सन्तानको स्वामित्वमा रहेको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
लेखक
राजकुमार दिक्पाल

राजकुमार दिक्पाल इतिहासमा रुचि राख्ने सञ्चारकर्मी हुन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?