News Summary
Generated by OK AI. Editorially reviewed.- संयुक्त राज्य अमेरिकाले प्रवेशमा रोक लगाएपछि सोमालियाका फुटबल रेफ्री ओमार अब्दुल्कादिर अर्तानलाई फिफा विश्वकप २०२६ को रेफ्री सूचीबाट हटाइएको छ ।
- कूटनीतिक राहदानी भए पनि मियामी विमानस्थलमा रोकिएका अर्तानले विश्वकपमा प्रशिक्षण लिन र खेल सञ्चालन गर्न नसक्ने फिफाले पुष्टि गरेको छ ।
- सन् २०२५ का उत्कृष्ट अफ्रिकी पुरुष रेफ्री अर्तान विश्वकपको अन्तिम चरणमा खेल खेलाउने तयारीमा रहेका पहिलो सोमाली नागरिक हुन् ।
२६ जेठ, काठमाडौं । फिफा विश्वकप २०२६ मा रेफ्रीको भूमिका निर्वाह गर्ने तयारीमा रहेका सोमालियाली फुटबल रेफ्री ओमार अब्दुल्कादिर अर्तानलाई अमेरिका प्रवेशमा रोक लगाइएको छ ।
विश्वकपको फाइनल चरणमा रेफ्री बन्ने पहिलो सोमाली नागरिकका रूपमा इतिहास रच्ने तयारीमा रहेका अर्तानलाई मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी अध्यागमन अधिकारीहरूले रोकेका हुन् ।
अमेरिका प्रवेश अनुमति नपाएपछि उनलाई फिफा विश्वकप रेफ्रीको सूचीबाट हटाइएको बीबीसीले जनाएको छ । अर्तान हाल टर्कीमा रहेको बताइएको छ ।
अमेरिकी अध्यागमन अधिकारीहरूले अर्तानलाई किन प्रवेशमा रोक लगाए भन्नेबारे आधिकारिक जानकारी दिएका छैनन् । तर सोमालिया अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले लागू गरेको यात्रा प्रतिबन्ध (ट्राभल ब्यान) सूचीमा रहेका देशहरूमध्ये एक हो ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अमेरिकी अधिकारीहरूसँगको छलफलपछि अर्तानले विश्वकपमा प्रशिक्षण लिन र खेल सञ्चालन गर्न नसक्ने पुष्टि गरेको छ ।
फिफाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘म्याच अफिसियल ओमार अब्दुल्कादिर अर्तानलाई संयुक्त राज्य अमेरिका प्रवेश गर्न नदिइएकाले उनी फिफा विश्वकप २०२६ मा प्रशिक्षण लिन तथा खेल सञ्चालन गर्न असमर्थ हुनेछन् ।’
अर्तानसँग थियो कूटनीतिक राहदानी
फिफाले आफूहरू भिसा वा अध्यागमन प्रक्रियामा संलग्न नहुने स्पष्ट गर्दै कसलाई देशभित्र प्रवेश अनुमति दिने र कसलाई नदिने भन्ने निर्णय गर्ने अधिकार आयोजक देशको सरकारसँग नै हुने जनाएको छ ।
सोमालियाको युवा तथा खेल मन्त्रालयका एक वरिष्ठ सल्लाहकारले बीबीसीसँग कुरा गर्दै अर्तानसँग सबै वैध यात्रा कागजात रहेको भए पनि उनलाई प्रवेश नदिइएको पुष्टि गरेका छन् ।
नैरोबीस्थित सोमाली दूतावासका एक अधिकारीका अनुसार अर्तानलाई विगतमा भिसा सम्बन्धी समस्या देखिएकाले उनको सहज आवतजावतका लागि विशेष रूपमा कूटनीतिक राहदानी जारी गरिएको थियो ।
यसैबीच सोमाली फुटबल महासंघ (एसएफएफ) ले अर्तानलाई अमेरिका प्रवेशमा रोक लगाइएको विषयमा फिफासँग तत्काल जवाफ मागेको छ । बीबीसी वर्ल्ड सर्भिससँग कुरा गर्दै विश्वकपसम्बन्धी ह्वाइट हाउस टास्क फोर्सका प्रमुख एन्ड्रुयु जुलियानीले व्यक्तिगत विवरण खुलाउन नसकिने बताए पनि अमेरिकी सीमा तथा भन्सार सुरक्षाले सही निर्णय गरेको दाबी गरेका छन् ।
‘वर्षको उत्कृष्ट पुरुष रेफ्री’ थिए अर्तान
अर्तान फिफाले विश्वकप २०२६ का लागि घोषणा गरेका ५२ जना रेफ्रीमध्ये एक थिए । उनी सन् २०२५ मा अफ्रिकी फुटबल महासंघ (ऋब्ँ) द्वारा ‘वर्षको उत्कृष्ट पुरुष रेफ्री’ घोषित भएका थिए ।
सन् २०१८ देखि फिफा रेफ्री रहेका अर्तानले अफ्रिका कप अफ नेसन्स (ब्ँऋइल्) लगायतका प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगितामा खेल सञ्चालन गरिसकेका छन् ।
क्यानडा, मेक्सिको र अमेरिकामा संयुक्त रूपमा आयोजना हुने फिफा विश्वकप २०२६ जुन ११ देखि जुलाई १९ सम्म सञ्चालन हुनेछ ।
प्रतिक्रिया 4