+

कुरासाओ : पहिलो विश्वकप, पहिलो खेल र कोमेनेन्सियाको पहिलो गोल

२०८३ असार  १ गते १४:१५ २०८३ असार १ गते १४:१५

जर्मनीविरुद्ध उनीहरू अत्याधुनिक एनआरजी स्टेडियममा खेलिरहेका थिए, जसमा रंगशालाभरि चल्ने एयर कन्डिसनको सुविधा थियो । धेरै खेलाडीहरूका लागि पनि काल्पनिक थियो ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा विश्वकपमा पहिलोपटक सहभागिता जनाएको सानो टापु राष्ट्र कुरासाओले बलियो टोली जर्मनीविरुद्ध आफ्नो इतिहासकै पहिलो गोल गरेको छ ।
  • जर्मनीसँगको खेलमा ७–१ को फराकिलो अन्तरले पराजित भएपनि कुरासाओका खेलाडी तथा समर्थकहरूले ऐतिहासिक गोलको भव्य उत्सव मनाएका छन् ।
  • विश्वकप इतिहासकै सबैभन्दा जेठा ७८ वर्षीय प्रशिक्षक डिक एड्भोकाटको नेतृत्वमा रहेको कुरासाओले अनेकौँ आर्थिक र प्रशासनिक बाधा पार गर्दै विश्वकप यात्रा तय गरेको हो ।

१ असार, काठमाडौं । झ्याल नभएको पुरानो स्कुल बसमा रैथाने संगीत बजिरहेको थियो । यात्रुहरूले बसको बाहिरी भागमा हातले हान्दै संगीतको तालमा ताल मिलाइरहेका थिए ।

बसमा सवार थिए- पहिलो पटक फिफा विश्वकप खेल्न अमेरिका पुगेका कुरासाओका खेलाडीहरू । उनीहरूलाई ओसारपसार गर्न पुरानो स्कुल बस दिइएको थियो । त्यहाँ खेलाडीहरूले सरल र भुइँमान्छेको जस्तो स्वभाव देखाइरहेका थिए ।

कुरासाओ क्यारिबियन क्षेत्रको एउटा सानो टापु राष्ट्र हो, जुन सन् २०१० मा मात्र अस्तित्वमा आएको थियो । आफ्नो देशको जनसंख्या १ लाख ५८ हजार जति र क्षेत्रफल १७१ वर्गमाइल छ भन्ने कुराको कुरासाओका खेलाडीहरूलाई कुनै पर्वाह थिएन ।

कुरासाओले आइतबार रातिको आफ्नो पहिलो खेलमा ४ पटक विश्वकप उचालिसकेको जर्मनीको सामना गर्‍यो ।

सुरुवातमै जर्मनीले अग्रता लियो । तर खेलको २१औं मिनेटमा कुरासाओका लिभानो कोमेनेन्सियाले भर्खरै सन्यासबाट फर्किएका गोलकिपर म्यानुएल नोयरलाई छक्याउँदै बललाई जाली चुमाएर खेल १-१ को बराबरीमा ल्याए ।

गोलपछि कुरासाओका खेलाडीहरू खुसीको उत्सव मनाउँदै मैदानको कर्नरतर्फ कुदे । ७८ वर्षीय प्रशिक्षक डिक एड्भोकाट कुनै विजयी योद्धा जस्तै आफ्ना दुवै हात हावामा उठाएर टचलाइनमा उभिए ।

डगआउट पछाडि रहेका निलो जर्सीधारी समर्थकहरूको ठूलो समूहले आफू नजिकै रहेका व्यक्तिलाई अँगालो हाल्दै खुसियालीमा नाचिरहेका देखे । उक्त गोल कुरासाओका लागि कति महत्वपूर्ण थियो भन्ने कुरा ती दृश्यले झल्काउँथे ।

यो गोल कुरासाओका लागि विश्वकप इतिहासकै पहिलो गोल थियो । पहिलो पटक विश्वकप खेलिरहेको कुरासाओका लागि ४ पटकको विश्वविजेता जर्मनीविरुद्ध गोल गर्नु चानचुने कुरा थिएन ।

पहिलो सहभागिता, पहिलो खेल र पहिलो गोल । कुरासाओलाई एकैपटक तीन खुसी मिल्यो । जसका कारण कुरासाओका खेलाडीदेखि समर्थकसम्मले उत्सव मनाए । अमेरिकाको टेक्सासस्थित ह्युस्टनमा भएको खेलको ३८ मिनेटपछि भने जर्मनी हाबी बन्यो ।

खेलमा जर्मनीको गोलको बाढी नै आयो । उक्त खेलमा जर्मनीले ७-१ को नतिजा निकाल्यो । हार भए पनि फुटबलको सबैभन्दा ठूलो मञ्चमा पहिलो खेल खेल्दा उसका फ्यानहरूमा जुन उत्साह देखियो, त्यो अद्भूत थियो । जर्मनीसँगको ७-१ को हारलाई बिर्सिएर उनीहरू फुटबलको विशाल मैदानमा खुसी उफ्रिए ।

विश्वकपअघि कुरासाओका खेलाडीहरूले प्रशासनिक अस्तव्यस्तताका चरणहरू सामना गर्नुपरेको थियो । खेलाडीहरूले आफ्नै गोजीबाट हवाई टिकट र होटलको पैसा तिर्न बाध्य थिए । खेल मैदानहरू सधैं राम्रो अवस्थामा हुँदैनथे । र, जर्मनीविरुद्ध उनीहरू अत्याधुनिक एनआरजी स्टेडियममा खेलिरहेका थिए, जसमा रंगशालाभरि चल्ने एयर कन्डिसनको सुविधा थियो । धेरै खेलाडीका लागि पनि काल्पनिक थियो ।

‘विश्वकपअघि हामीले धेरै बाधाहरूको सामना गर्‍यौँ । मैदानहरू सधैं राम्रा थिएनन्, उडान र यात्रामा समस्याहरू थिए । होटलहरूसँग विभिन्न सञ्चार समस्याहरू थिए जहाँ बुकिङ रद्द भएका थिए,’ कोमेनेन्सियाले एक अन्तर्वार्तामा भनेका थिए ।

७८ वर्षको उमेरमा विश्वकप इतिहासकै सबैभन्दा जेठो प्रशिक्षक बनेका एड्भोकाट खेल सुरु हुनुअघि भावुक भएर आँखाबाट आँसु पुछ्‌दै गरेको देखिएका थिए ।

खेलपछि एड्भोकाटले भने, ‘७-१ को नतिजा आए पनि हाम्रा फ्यानहरूको खुसी र उत्साह उत्कृष्ट थियो । यो कुनै अपमान होइन, हामी अझै पनि गर्व गर्न सक्छौँ । हाम्रा अझै दुई खेल बाँकी छन् र ती खेलको नतिजा फरक हुन सक्छ । खेलाडीहरू निराश हुने छैनन्, यस्तो खेलमा खेल्न पाउनु नै हाम्रा लागि ठूलो कुरा हो ।’

छनोट खेल्न थालेको १२ वर्षमै विश्वकपमा

कुरासाओ फिफा विश्वकपमा खेल्ने सबैभन्दा सानो देश हो । छनोट चरणमा कुरासाओले ६ खेलमा ३ जित र ३ बराबरीको नतिजासहित १२ अंक जोडेको थियो । कोनकाकाफ छनोटको अन्तिम खेलमा जमैकासँग बराबरी खेलेसँगै कुरासाओले विश्वकपमा इन्ट्री गरेको हो । कुरासाओ छनोटअन्तर्गत तेस्रो चरणमा समूह ‘बी’ को विजेता बन्न सफल भयो ।

नेदरल्यान्ड्स एन्टिल्सको उत्तराधिकारीको रूपमा रहेको कुरासाओले सन् २०१४ को फिफा विश्वकप छनोटमा पहिलो पटक सहभागिता जनाएको थियो ।

सन् २०२२ को विश्वकप छनोटमा पानामासँग २-१ ले पराजित हुँदा कुरासाओ दोस्रो चरणबाट बाहिरिएको थियो । तर यस पटक कुरासाओले मौका गुमाएन र विश्वकपमा छनोट हुन सफल भयो । विश्वकपको समूह ‘ई’ मा रहेको कुरासाओले समूह चरणको दोस्रो खेल इक्वेडर र तेस्रो खेल आइभरी कोस्टसँग खेल्नेछ ।

फुटबल इतिहास

सन् २०१० भन्दाअघि अरुबा, बोनेयर, साबा, सिन्ट इयुस्टाटियस र सिन्ट मार्टेन टापुहरू सबैलाई नेदरल्यान्ड्स एन्टिलेज राष्ट्रिय टोलीले प्रतिनिधित्व गर्थ्यो । उक्त विघटनपछि कुरासाओले नेदरल्यान्ड्स एन्टिलेजको फिफा सदस्यता र १५१औँ बरीयतालाई आफ्नो नाममा लियो ।

कुरासाओले इतिहासकै पहिलो खेल १८ अगस्ट २०११ मा डोमिनिकन गणतन्त्रविरुद्ध खेलेको थियो । जसमा १-० ले पराजित भयो । कुरासाओको पहिलो जित ११ नोभेम्बर २०११ मा भयो । जहाँ अमेरिकी भर्जिन टापुलाई ३-० ले हराएको थियो ।

आयाक्स र बार्सिलोनाका पूर्व स्ट्राइकर प्याट्रिक क्लुइभर्टले २०१५ र २०१६ को बीचमा मुख्य प्रशिक्षक तथा २०२१ मा अन्तरिम प्रशिक्षकको रूपमा टोली सम्हालेका थिए । त्यस्तै, पीएसभी, रियल म्याड्रिड र चेल्सीका पूर्व प्रबन्धक गुस हिडिङ्क अगस्ट २०२० देखि सेप्टेम्बर २०२१ सम्म प्रशिक्षकका रूपमा रहेका थिए ।

नेदरल्यान्ड्सलाई तीन पटक प्रशिक्षकको रूपमा नेतृत्व गरिसकेका एड्भोकाटले कुरासाओको नेतृत्व गरिरहेका छन् । कुरासाओलाई विश्वकपमा पुर्‍याएपछि उनले बिरामी छोरीको हेरचाह गर्न भन्दै राजीनामा दिएका थिए । छोरीको स्वास्थ्यमा सुधार आएपछि उनी पुनः आफ्नो भूमिकामा फर्किएका हुन् ।

कुरासाओ फुटबल विश्वकप
लेखक
रिखिराम जिसी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय