News Summary
Generated by OK AI. Editorially reviewed.- कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीको विराटनगरस्थित निवासमा बिहीबार मध्यरातमा प्रहरीले छापा मारेको छ ।
- मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त खोजी गर्ने क्रममा प्रहरी भुलवश मन्त्रीको निवासमा पुगेको दाबी गरे।
- मन्त्रीको सचिवालयले भने मन्त्रीको निवास भन्ने जान्दाजान्दै प्रहरी जबर्जस्ती भित्र छिरेको आरोप लगाएको छ ।
५ असार, विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीको क्वाटरमा बिहीबार मध्यरातमा प्रहरीले छापा मारेको छ।
विराटनगर-३, ल क्याम्पसनजिकै रहेको मन्त्रीको निवासमा राति ११ बजेतिर प्रहरी टोली पुगेको थियो । मन्त्रीको सचिवालयका अनुसार राति पर्खाल नाघेर प्रहरी भित्र छिरेको हो । प्रहरी पुग्दा मन्त्री भने थिएनन् ।
मोरङका प्रमुख जिल्ला अधिकार युवराज कटेल अनुसार, कर्तव्य ज्यान मुद्दाका एक पुराना फरार अभियुक्तको खोजी गर्ने क्रममा प्रहरी उक्त निवासमा पुगेको हो । तर, त्यहाँ पुगेको प्रहरीले मन्त्रीको क्वार्टर भन्ने जानकारी नपाएको उनले दाबी गरे ।
‘एकजना हत्याका अभियुक्त पहिले सोही घरमा कोठा भाडामा लिएर बस्ने सूचना थियो । लुकिछिपेको हुनसक्ने भन्दै प्रहरी टोली रेकी गर्न पुगेको थियो,’ सीडीओ कटेलले भने, ‘अपरेसनमा खटिएको टोलीलाई उक्त घर मन्त्रीको निवास भएको बारे पूर्वजानकारी थिएन ।’
उनले प्रहरी मन्त्रीलक्षित कारबाहीको लागि त्यहाँ नपुगेको दोहोर्याए ।
‘प्रहरी टोली अभियुक्तकै पिछा गर्दै त्यहाँ पुगेको हो। मन्त्री लक्षित कारबाही थिएन, केवल शंकास्पद व्यक्तिको खोजी थियो,’ उनले भने ।
कटेलका अनुसार, ती अभियुक्त केही समयअघि चितवनबाट भागेर आएको सूचना थियो। ‘पहिले उनी त्यहाँ बस्ने गरेको भए पनि प्रहरी पुग्नुअघि नै उनी ठाउँ सरिसकेका रहेछन्’ उनले भने ।
तर मन्त्रीको सचिवालयले भने मन्त्रीको निवास हो भन्ने जान्दा जान्दै प्रहरीले जबर्जस्ती पुगेको बताएको छ ।
प्रतिक्रिया 4