News Summary
Generated by OK AI. Editorially reviewed.- मदन पुरस्कार विजेता साहित्यकार डा. नवराज लम्साललाई नर्थ क्यारोलाइना नेपाली साहित्य समाज र नेपाल सेन्टर फर नर्थ क्यारोलाइनाले शनिबार संयुक्त रूपमा सम्मान गरेका छन्।
- सम्मान ग्रहण गर्दै डा. लम्सालले 'साहित्य सबैका लागि लेखिनुपर्छ' भन्दै समय, समाज र संवेदनालाई काव्यले उठाउन सक्नुपर्ने धारणा राखेका छन्।
- कार्यक्रममा साहित्यकारहरूले डा. लम्सालको बहुआयामिक व्यक्तित्व र सिर्जनात्मक उचाइको प्रशंसा गर्दै आफ्ना विभिन्न रचनाहरू वाचन गरेका छन्।
१५ असार, नर्थ क्यारोलाइना । मदन पुरस्कार विजेता साहित्यकार तथा सञ्चारकर्मी डा. नवराज लम्साल अमेरिकामा सम्मानित भएका छन्। केही सातादेखि अमेरिका भ्रमणमा रहेका डा. लम्साललाई नर्थ क्यारोलाइना नेपाली साहित्य समाज र नेपाल सेन्टर फर नर्थ क्यारोलाइना (एनसीएनसी) ले शनिबार संयुक्त रूपमा सम्मान गरेको हो।
समारोहमा समाजका अध्यक्ष शिखर दुलाल, एनसीएनसीका अध्यक्ष ददीन पाण्डे र समाजका सल्लाहकार ईश्वर देवकोटाले डा. लम्साललाई खादा ओढाएर सम्मान गरेका थिए।
नेपाली महाकाव्य विधामा विशिष्ट योगदान पुर्याएका लम्सालको ‘अग्नि’ महाकाव्यले मदन पुरस्कार प्राप्त गरेको छ। उनका हालसम्म ४ महाकाव्यसहित १० कृति (४ महाकाव्य, ३ कविता सङ्ग्रह, २ गीत सङ्ग्रह र १ उपन्यास) प्रकाशित छन्।
सम्मान ग्रहणपछि बोल्दै डा. लम्सालले साहित्यले मानिसलाई दुःखबाट मुक्त गर्ने सामर्थ्य राख्नुपर्ने बताए। ‘साहित्य सबैका लागि लेखिनुपर्छ।
अरू विधा बाहिर फर्किन्छन्, तर काव्य विधा मानिसको भित्री चेतना र अनुभूतितर्फ फर्किन्छ,’ उनले भने, ‘समय, समाज र संवेदनालाई काव्यले उठाउन सक्नुपर्छ। सुकेको छातीमा प्रेम उमार्नु नै काव्यको जग हो।’
उनले नर्थ क्यारोलाइना साहित्य समाजका गतिविधिबाट आफू निकै प्रभावित भएको समेत उल्लेख गरे ।
समारोहमा साहित्यकार डा. ऋषि बस्ताकोटी र ईश्वर देवकोटाले डा. लम्सालको बहुआयामिक व्यक्तित्वका बारेमा चर्चा गरेका थिए ।
समाजका अध्यक्ष शिखर दुलालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासचिव मनोज प्रधानले संस्थाको परिचय दिँदै लम्सालको वाचन कला र सिर्जनात्मक उचाइको प्रशंसा गरे।
सो अवसरमा कविहरू डा. शरद परासर मरहट्टा, शिव पलाँस, भूमि नेपाली, पेशल पोखरेल, कृष्णराज खनाल, मनोज प्रधान, प्रभा पोखरेल, नम्रता गुरागाईं र ऋषि बस्ताकोटीले आ-आफ्ना रचना वाचन गरेका थिए।
प्रतिक्रिया 4