+
+
Shares

बागमतीको पानी वितरण क्षमता बढाइँदै, बर्खामा खानेपानीको समस्याको अस्थायी समाधान

काठमाडौं उपत्यकामा वर्षायामभरी मेलम्ची खानेपानी आयोजना प्रभावित हुँदा उत्पन्न हुने अभाव परिपूर्ति गर्न वितरण हुने बागमतीको पानी क्षमता बढाइने भएको छ ।

अच्युत पुरी अच्युत पुरी
२०८३ असार १६ गते २१:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं उपत्यका खानेपानी लिमिटेडले वर्षायाममा हुने खानेपानी अभाव कम गर्न बागमती नदीबाट ल्याइने पानीको क्षमता बढाउने तयारी गरेको छ ।
  • सुन्दरीजल प्रशोधन केन्द्रसम्म थप ६ करोड लिटर पानी ल्याउन ५ सय मिलिमिटर ब्यासको एचडीपीई पाइप बिछ्याउने योजना अघि सारिएको छ ।
  • प्रवक्ता प्रकाश कुमार राईका अनुसार यो अस्थायी व्यवस्था केवल असारदेखि असोजसम्मका लागि मात्र सञ्चालन गरिनेछ ।

१६ असार, काठमाडौं । काठमाडौं उपत्यकामा वर्षायामभरी मेलम्ची खानेपानी आयोजना प्रभावित हुँदा उत्पन्न हुने अभाव परिपूर्ति गर्न वितरण हुने बागमतीको पानी क्षमता बढाइने भएको छ ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले बागमती नदीदेखि सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रसम्मको ५ सय मिटर दूरीमा ५ सय मिमि ब्यास भएको एचडीपीई पाइप बिछ्याउन लागेको हो ।

लिमिटेडका प्रवन्धक तथा प्रवक्ता प्रकाश कुमार राईका अनुसार अहिले दुई वटा पाइपबाट सानो क्षमतामा पानी ल्याउने गरिएको छ । त्यसको क्षमता बढाउने तयारी गरिएको उनले जानकारी दिए । ‘यो अस्थायी प्रवन्धका लागि हो, उनले भने, हिँउदयाममा स्वतः बन्द हुनेछ ।’

‘लिमिटेडले पूर्वाधार विकास मन्त्रालयमार्फत कृषि, वन तथा पर्यावरण मन्त्रालयमा सो पाइप बिछ्याउने कार्यको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन पेश गरेको छ । उक्त प्रतिवेदन अनुसार ‘ग्राभिटी फ्लो’बाट सञ्चालन हुने आयोजनाका लागि बागमती नदीको पानी प्रयोग गरिने छ ।

पाइपलाइन बिछ्याउने कामका लागि शिवपुरी नागार्जुन राष्ट्रिय निकुन्जको जग्गा उपयोग गरी सुन्दरीजल पानी प्रशोधन केन्द्रसम्म ल्याइने छ । बागमतीको पानीलाई पानी प्रशोधन केन्द्रसम्म ल्याउन सोही स्थानमा केयूकेएलले अहिले दुई वटा पाइप खुला रुपमा बिछ्याएको छ । ती दुई पाइपमाथि ५ सय मिमि ब्यास भएको एक थान एचडीपीई पाइप खापेर क्षमता बढाउने योजना छ ।

अहिले वर्षायाममा यी २ पाइपबाट दैनिक ४ करोड लिटर पानी आउने क्षमता छ । नयाँ थप हुने पाइपबाट मात्रै दैनिक ६ करोड लिटर पानी संकलन हुने लक्ष्य राखिएको छ । यसरी तीन वटा पाइपबाट समग्रमा वर्षायामभरी दैनिक १० करोड लिटर पानी प्रशोधन केन्द्रमा झार्न सकिने अनुमान गरिएको छ ।

प्रतिवेदन अनुसार निकुन्जभित्र चट्टानी क्षेत्रमा पाइप खुला राख्ने र निकुन्ज बाहिरको क्षेत्रमा भने जमिनमुनि गाड्ने योजना छ । अहिले रहेका दुई थान पाइप सुन्दरीजल पानी प्रशोधन शाखा कार्यालय र सडक किनारमा पर्ने क्षेत्रमा १ सय ५० मिटर दूरीमा जमिनमुनि गाडिएको छ । ३६५ मिटर भने खुला अवस्थामा छ । नयाँ बिछ्याउने पाइपलाई समेत सोही अनुसार व्यवस्थापन गर्ने प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदन अनुसार यो आयोजनाबाट पानी ल्याउने लक्ष्य वर्षमा ४ महिनाका लागि मात्र राखिएको छ । हरेक वर्ष असारदेखि असोजसम्म मात्र सञ्चालन गरी बाँकी ८ महिना बन्द गरिने छ । प्रवक्ता राईका अनुसार यस वर्ष भने मध्य असारसम्म पनि पानी ल्याइएको छैन ।

उपत्यकामा पानी खुवाउने अस्थायी प्रवन्ध

केयूकेएलका अनुसार यो मेलम्ची खानेपानी आयोजना नियमित रुपमा सञ्चालन नभएसम्मका लागि एक अस्थायी विकल्प मात्र हो । सोही कारण पाइपलाई पूर्णतया भूमिगत गर्ने योजना छैन ।

मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्र वर्षायाममा हुने बाढी र पहिरोको जोखिमका कारण बन्द गर्ने गरिएको छ । तर उपत्यकामा उत्पन्न पानीको अभाव केही हदसम्म पूर्ति गर्न बागमतीको पानीको विकल्प अगाडि बढाइएको हो ।

प्रतिवेदन अनुसार बागमती नदिको माथिल्लो तटीय क्षेत्र फट्के भन्ने स्थानबाट पाइपका माध्यमबाट पानी सुन्दरीजलसम्म ल्याइने छ । सुन्दरीजलमा मेलम्ची खानेपानी आयोजनाको प्रशोधन केन्द्र छ । सोही प्रशोधन केन्द्रमा बागमतीको पानी समेत प्रशोधन गरी उपत्यकामा विवरण हुनेछ ।

प्रतिवेदन अनुसार असारदेखि असोजसम्म वर्षायाममा बागमती नदीमा दैनिक २५ करोड ३६ लाख ४८ हजार लिटर पानी बग्ने अनुमान छ । यस आयोजनाबाट २ लाख भन्दा बढी जनसंख्या लाभान्वित हुने अनुमान छ ।

मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी आपूर्ति हुने गरेको छ । तर, उपत्यकामा दैनिक ४७ करोड लिटर भन्दा बढी पानीको माग रहेको अनुमान छ । मेलम्चीबाहेक अन्य स्रोतबाट पानीको जोहो गरी केयूकेएलले पानी वितरण गर्छ । अझै पनि उपत्यकामा माग बमोजिम पानीको वितरण हुन सकेको छैन ।

लेखक
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?