२५ असार, काठमाडौं । नेपाल आयल निगमको रिक्त कार्यकारी निर्देशक पदका लागि रीतपूर्वक दरखास्त पेस गर्ने ६ उम्मेदवारको नामावली सार्वजनिक भएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको सिफारिस समितिले बिहीबार उम्मेदवारहरूको सूची प्रकाशन गरेको हो । सिफारिस समितिको १ असारको निर्णय अनुसार २ असारमा पदपूर्तिका लागि सूचना प्रकाशन गरिएको थियो ।
२२ असारसम्म आवेदन दिने अन्तिम म्याद तोकिएकोमा उक्त अवधिभित्र रीतपूर्वक दरखास्त पेस गर्ने उम्मेदवारको नाम दर्ता नम्बरको क्रमानुसार सार्वजनिक गरिएको मन्त्रालयले जनाएको छ ।
सार्वजनिक सूची अनुसार कार्यकारी निर्देशक पदका लागि प्रतिस्पर्धा गर्ने उम्मेदवारमा प्युठानका छविराज पोख्रेल, प्युठानकै कौशल केसी र सप्तरीका सञ्जीवकुमार देव छन् ।
यसैगरी धनुषाका नागेन्द्र साह, महोत्तरीका सरोजकुमार शर्मा र सप्तरीका दीपेन्द्रकुमार देवको नाम पनि उम्मेदवारको सूचीमा समावेश छ ।
सूचीमा नाम समावेश भएका नागेन्द्र साहले यसअघि निगमको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालिसकेका छन् । जेठ तेस्रो साता साहले सेवाबाट अवकाश पाएका थिए ।
छनौट प्रक्रिया अन्तर्गत उम्मेदवारहरूले अब व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्तामा सहभागी हुनुपर्ने छ ।
मन्त्रालयले जारी गरेको सूचनामा जनाइए अनुसार उम्मेदवारहरूको कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताको मिति तथा स्थान भने पछि तय गरी अर्को सूचना मार्फत जानकारी गराइने छ ।
प्रतिक्रिया 4