+
+
Shares

बनेपाको होल्डिङ सेन्टरका ७ सुकुमवासीलाई इचंगुनारायण लगियो, ४ जनाले मानेनन्

खाना खुवाउन रोकिएपछि ४५ परिवारका ११५ जना सुकुमवासीहरूमध्ये आजसम्म ११ जनामा सीमित थिए । तीमध्ये ४ जना इचंगुनारायण जान नमानेपछि बससहित लिन आएको टोली ७ जना मात्र लिएर फर्किएको छ ।

कपिल कोइराला कपिल कोइराला
२०८३ साउन ६ गते १५:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काभ्रेको बनेपास्थित होल्डिङ सेन्टरमा बसिरहेका सात सुकुमवासीलाई अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले काठमाडौंको इचंगुनारायण सारेको छ ।
  • सरकारले गत असार २२ गतेदेखि बनेपाको केन्द्रमा खाना खुवाउन बन्द गरेपछि ११ जनामध्ये चार जनाले भने त्यहाँबाट हट्न अस्वीकार गरेका छन् ।
  • सुकुमवासी कुन्तीमाया पुलामीले आफूहरूको नाम जग्गा पाउने सूचीमा नपरेको भन्दै सरकारले उचित व्यवस्थापन नगरेसम्म होल्डिङ सेन्टर नछाड्ने बताएकी छिन् ।

६ साउन, काभ्रेपलाञ्चोक (बनेपा) । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ बुडोलस्थित नेपाल रेडक्रस सोसाइटीको तालिम केन्द्रमा रहेको होल्डिङ सेन्टरमा बसिरहेका ७ सुकुमवासीहरूलाई नार्गाजुनस्थित इचंगुनारायण होल्डिङ सेन्टरमा लगिएको छ ।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका समाजशास्त्री खगेन्द्र विष्टको नेतृत्वमा आएको टोलीले होल्डिङ सेन्टरमा बसिरहेका ११ जना मध्ये ७ सुकुमवासीहरूलाई नार्गाजुनस्थित इचंगुनारायण होल्डिङ सेन्टरमा लगेको हो ।

समाजशास्त्री विष्टले बनेपामा रहेकाहरुको गुनासो आएकोले नियमित खाना खुवाउने उद्देश्यले नार्गाजुनस्थित इचंगुनारायण सार्न खोजिएको जानकारी दिए । सरकारले बनेपाको होल्डिङ सेन्टर खाली गर्ने तयारी स्वरुप गत असार २२ गतेदेखि नै खाना खुवाउन रोकेको थियो । खाना खुवाउन रोकिएपछि ४५ परिवारका ११५ जना सुकुमवासीहरूमध्ये आजसम्म ११ जनामा सीमित थिए । तीमध्ये ४ जना इचंगुनारायण जान नमानेपछि बससहित लिन आएको टोली ७ जना मात्र लिएर फर्किएको छ ।

‘यहाँ रहेकाहरुकोे खाना पनि चाहियो, बास पनि चाहियो भनेर गुनासो भयो । खानाको व्यवस्था भएको स्थानमा लैजान आएका हौं । जान मान्नेलाई लैजान्छौं, नमान्नेहरू आफ्नै खुशी गर्नुहुन्छ,’ विष्टले भने।

३ जनाको परिवार रहेकी रिमा पोखरेल भन्छिन्, ‘केहीदिन इचंगुनारायण बसेर कोठा खोज्छु । कोठाको व्यवस्थापन हुने बित्तकै बस्दिनँ ।’

तीन परिवारका ४ जना भने बनेपाको होल्डिङ सेन्टर नछाड्ने भन्दै जान नमानेका हुन् । जान नमान्नेमा कुन्तीमाया पुलामी र उनका श्रीमान टेक थापा मगर, हेमकुमारी दाहाल र जमुना धिताल छन् ।

‘छानबिन गरेर नाम निकाल्छु भनेर रेडक्रसको होल्डिङ सेन्टरबाट जम्मा ८ जनाको मात्र जग्गा पाउने लिष्ट सार्वजनिक गरे, हाम्रो नाम नै आएन,’ होल्डिङ सेन्टरमा बसिरहेकी एकल महिला दाहालले भन्छिन् ।

संघर्ष गरेर जोडेको पनि सबै भत्काइदिने अनि पीडितको नाम पनि ननिस्कने भएपछि समस्यामा परेको अर्की पीडित कुन्तीमाया पुलामी बताउँछिन् ।

‘हामी यहाँ छौ भनेर पनि मिडियाले भनेपछि मात्र थाहा पाएका हुन रे । ४१ जनाको नाम भरेकोमध्ये ८ जनाको नाम निकालेपछि कि तेरो बाउ बाजेको सम्पति यहाँ छ भनेर देखाइदिन पर्‍यो की हामीलाई सरकारले जग्गा दिलाइ दिनुपर्‍यो । त्यो नगरेसम्म हामी कहिँ जाँदैनौं,’ पुलामीले भनिन् ।

सुरुमा सरकारले बिहान चिया–बिस्कुट, बिहान र बेलुका खाना तथा दिउँसो खाजाको व्यवस्था गरेको भएपनि गत असार २२ गते देखि बनेपामा रहेको होल्डिङ सेन्टरमा सरकारले नै खाना खुवाउन रोकेको थियो ।

लेखक
कपिल कोइराला

कोइराला काभ्रेमा रहेर पत्रकारिता गर्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?