१९ मंसिर, काठमाडौं । स्पानिस ला लिगामा शीर्ष स्थानको रियल मड्रिडले रियल सोसिडाडलाई २-० ले पराजित गर्दै अंक दूरी बढाएको छ ।
शनिवार राति सोसिडाडको मैदानमा भएको खेलमा रियललाई जिताउन भिनिसियस जुनियर र लुका जोभिकले गोल गरे ।
छिमेकी एट्लेटिको मड्रिड मायोर्कासँग २-१ ले पराजित भएपछि रियललाई झन् फाइदा पुगेको छ ।
रियलले दोस्रो स्थानमा रहेको सेभियामाथि ८ अंकको अग्रता बनाएको छ । रियलको १५ खेलबाट ३९ अंक छ । सेभियाको ३१ अंक छ । सोसिडाड १६ खेलबाट २७ अंकसहित पाँचौ स्थानमा झरेको छ ।
टाकेफुसा कुबोले इन्जुरी टाइममा गोल गरेपछि मायोर्काले एट्लेटिको विरुद्ध पुनरागमन जित हात पारेको हो । माथियस कुन्हाले गोल गर्दै एट्लेटिकोलाई पहिले अग्रता दिलाए पनि कायम राख्न सकेन । फ्रान्को रुसोले मायोर्काका लागि बराबरी गोल फर्काएका थिए ।
हारपछि एट्लेटिको १५ खेलबाट २९ अंकसहित चौथो स्थानमा छ ।
यस्तै अर्को खेलमा बार्सिलोना घरेलु मैदानमै रियल बेटिससँग पराजित भएको छ । बेटिसका लागि दोस्रो हाफमा जुअनमीले गोल गरेका थिए ।
जितपछि बेटिस १६ खेलबाट ३० अंक जोडेर तेस्रो स्थानमा उक्लेको छ । बार्सिलोना भने २३ अंकसहित सातौं स्थानमा छ । जाभी प्रशिक्षक बनेपछि बार्सिलोनाले लिगमा पहिलो हार बेहोरेको हो ।
प्रतिक्रिया 4