+
+
प्रधानमन्त्री कप क्रिकेट :

मधेशलाई हराएपछि पुलिस समूह विजेता, कुशलको उत्कृष्ट बलिङ

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २२ गते १५:५७

२१ कात्तिक, काठमाडौं । कुशल भुर्तेलले करिअरकै उत्कृष्ट बलिङ गर्दा प्रधानमन्त्री कप राष्ट्रिय एकदिवशीय क्रिकेटमा नेपाल पुलिसले मधेश प्रदेशमाथि १९१ रनको फराकिलो जित निकालेको छ ।

यसअघि नै सेमिफाइनलमा पुगेका दुई टिमबीच समूहको विजेताका लागि प्रतिस्पर्धा भएको थियो । यो नतिजासँगै पुलिस समूह ‘बी’को विजेता बनेको छ ।

त्रिबि क्रिकेट मैदानमा २७४ रनको लक्ष्य पछ्याएको मधेश २८.३ ओभरमा ८२ रनमा अलआउट भयो । मधेशलाई प्रतियोगिताको पहिलो हार चखाउने क्रममा पुलिसका पार्टटाइम बलर कुशल भुर्तेलले ५ विकेट लिए । उनले ८.३ ओभरमा २ मेडन राख्दै २२ रन खर्चिए ।

मधेसका लागि आदिल आलमले सर्वाधिक ४२ रन बनाए । उनले अन्तिम विकेटका लागि विशाल पटेलसँग ३४ रनको साझेदारी गरे । रतन रौनकले ११ रन बनाए । ओपनर ब्याटर हरिशंकर शाहले १० रन जोडे । पुलिसका लागि करण केसीले ३ विकेट, रसिद खानले २ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको पुलिसले मध्यक्रमका चार ब्याटरको अर्धशतक सहयोगमा २७३ रनको योगफल खडा गरेको थियो । पुलिस टिम ४९.१ ओभरमा अलआउट भएको हो ।

सुरुवाती तीन ब्याटर सस्तैमा आउट भए पनि अमित श्रेष्ठ, आरिफ शेख र कप्तान दीपेन्द्र सिंह ऐरीले शानदार प्रदर्शन गरे । ९६ बलमा ९ चौकासहित ६५ रन बनाएका अमितले आरिफसँग मिलेर चौथो विकेटका लागि ९० रनको साझेदारी गरेका थिए ।

उपकप्तान आरिफले कप्तान दीपेन्द्रसँग मिलेर पाँचौं विकेटका लागि ६५ रनको साझेदारी गरे । आरिफ ८६ बलमा ८ चौका र १ छक्कासहित ७३ रन बनाएर क्याचआउट भए ।

४३ बलमा ३ चौका र १ छक्कासहित ५१ रनको योगदान गरेका दीपेन्द्रले छैटौं विकेटका लागि दिलिप नाथसँग मिलेर ५२ रनको साझेदारी गरे । दिलिपले ३१ बलमा ३ छक्का र १ चौकासहित ४० रनको योगदान गरे । अन्तिम चार ओभरमा पुलिसले २१ रन थप्दा चार विकेट गुमाउन पुग्यो । बलिङमा मधेशका राजेश यादव र रुपेश सिंहले ३–३ तथा आदिल आलमले २ विकेट लिए ।

समूह बी को विजेता बनेको पुलिसले सेमिफाइनलमा समूह ए को उपविजेतासँग फाइनल प्रवेशका लागि खेल्नेछ । मधेशले समूह ए को विजेतासँग खेल्नेछ ।

तस्वीरहरूः विकास श्रेष्ठ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?