 
																						खासमा हाम्रा आँखाहरू विश्वप्रसिद्ध लेखक अर्नेस्ट हेमिङ्वे बसेको घरको दर्शन गर्न आतुर थिए । लोकेसन पत्ता लगाएपछि छोरी युन्छोमी भन्दै थिइन्, “हामी बसेको होटल नजिकै उनी बसेको घर छ । त्यहाँ जानुपर्छ है !”
अघिल्लो दिन आइफिल टावरलाई कोण–कोणबाट हेर्दै त्यसको परिक्रमा गरिसकेपछि सेन नदीको किनारै किनारको आर्ट मार्केट चक्कर लगाउँदैमा हामीलाई ठिक्क भएको थियो । ‘पोन्त डेस आर्टस्’ अर्थात् कलाहरूको पुल नाम दिइएको १५५ मिटर लामो यो आर्ट मार्केटमा साना–साना स्टीलका गुम्टीहरू रहेछन्, हाम्रो नेपालको पान पसल जस्तै, तर व्यवस्थित । त्यहाँ बहुमूल्य चित्रकला तथा त्यसका प्रतिरूपहरू बिक्रीका लागि राखिएका छन् । भनिरहन पर्दैन, कलाको इज्जत गर्ने विश्वका शहरमध्ये पेरिसको नामसुवास सानो छैन ।
पोन्त डेस आर्टस्को चक्कर मारेपछि यहीं पुलले छोएको लुभ्र दरबार परिसर पुग्यौं हामी । आफ्नै तालिकाको गडबडीले हामी दरबारभित्र पस्नबाट वञ्चित हुन पुगेका थियौं । हरेक मङ्गलबार विदा मनाउने लुभ्र दरबारको परिसर टेक्न पनि सोही दिन पुगेछौं हामी । दरबारभित्र रहेकी मोनालिसासँग मुस्कान साट्न नपाउनुको थकथकी मेट्न हामीसँग दरबार बाहिरको भव्यता नियाल्नुको विकल्प थिएन ।
लुभ्र दरबारभित्रको भव्य कला सङ्ग्रहालय पूर्ण रूपमा अवलोकन गर्न त ११० दिन लाग्छ रे ! बाहिरबाटै हेर्दा विशाल र भव्य लुभ्र दरबार भित्र कति भव्य होला ? दरबारभित्र पस्न नपाएका हामीले यस्तै कल्पना मात्रै गर्न भ्यायौं ।
 भोल्तेयरको समाधिमा
भोल्तेयरको समाधिमा
यात्राको तेस्रो दिन । साँझ बिदा हुनुछ पेरिस शहरबाट । तर हामीसँग पाँच घण्टा समय बाँकी छ । हामीले होटल पनि छाडिसकेका छौं । त्यसैले पेरिस शहरको सकेसम्मको गल्ली चहार्ने विचारले हामीले अलि चाँडै होटल छाडेका थियौं ।
हाम्रा आँखाले भने अर्नेस्ट हेमिङ्वे बसेको घर खोजिरहेछ ।
“लु अब, यहाँभित्र पसौं”, पुरानो शैलीको एक भव्य महलको आँगनमा पुगेपछि छोरीले प्रस्ताव गरिन् । म त उनले नै बनाएको सूची अनुसार उनलाई नै पछ्याउँदै हिंडिरहेको मान्छे । उनको सूचीभित्र यो भव्य महल पनि रहेछ, प्लेस दु प्यान्थेअम ।
यो एउटा स्मारक हो । पूरै सिंगमरमरले बनेको यस स्मारकको डिजाइनर हुन्, ज्याकस जेर्मन साउफ्लट । सन् १७५८ देखि निर्माण सुरु भएको यस स्मारकको निर्माण सम्पन्न हुन ३२ वर्ष लागेको थियो । यो स्मारकको निर्माण सम्पन्न भएलगत्तै फ्रान्समा राज्यक्रान्ति भयो । यो राज्यक्रान्तिका लागि उत्प्रेरक भोल्तेयर र रुसो जस्ता विचारकहरूको शवलाई यही स्मारकभित्र समाधिस्थ गरिएको छ ।
स्मारकभित्र प्रवेश गर्नासाथ फ्रान्सका पुराना प्रचलनहरू झल्कने सामग्रीहरू हेर्दै जाँदा एक ठाउँमा राखिएका पुराना साइकलको सङ्ग्रहले मेरो आँखा तानिहाल्यो । मलाई यसले आकर्षित गर्नुको मुख्य कारण हुन्, नेपालका साइकल अभियन्ता तथा लेखक डा. तारालाल श्रेष्ठ ।
खासमा म डा. श्रेष्ठले गर्ने गरेको सबाल्टर्न सिद्धान्तको नेपाल सुहाउँदो व्याख्या र विश्लेषणबाट प्र्रभावित छु । इटालीका माक्र्सवादी चिन्तक एन्तोनियो ग्राम्सीले तल्लो तहको मानिसलाई जनाउन प्रयोग गरेको ‘सबाल्टर्न’ शब्दलाई टपक्क टिपेर तल्लो तहका वा सीमान्तकृत समुदायको पक्षबाट पनि इतिहास अन्वेषण गरिनुपर्ने इतिहास दर्शन २०औं शताब्दीको आठौं दशकमा दक्षिणएशियामा विकासित हुन पुग्यो । यसको श्रेय पश्चिम बंगाल निवासी भारतीय इतिहासकार रञ्जित गुहा र उनको समूहलाई जान्छ । विगतमा इतिहास भर्टिकल अर्थात् ठाडो शैलीमा मात्र लेखिएको र यसले केवल अभिजात्य वर्गलाई मात्रै समेटेकोले अबको इतिहास तेर्सो अर्थात् होरिजेन्टल शैलीमा लेखिनुपर्ने मान्यता गुहा र उनका साथीहरूले विकसित गरे । यस्तो शैलीले सीमान्तकृत वर्गलाई पनि समेट्ने धारणा उनीहरूको रहेको छ । यसैलाई भनिन्छ, सबाल्टर्न इतिहास दर्शन ।
यता डा. तारालाल श्रेष्ठले खासगरी साहित्यको क्षेत्रमा पनि सीमान्तकृत वर्गलाई समेट्न सबाल्टर्न दर्शन उपयुक्त हुने धारणा राख्दै आएका छन् ।
डा. श्रेष्ठको अर्को पाटो हो, साइकल अभियान । प्यान्थेअमभित्र पस्दै गर्दा जब मेरा आँखा पुराना साइकलहरूको सङ्ग्रहमाथि पर्यो, तब डा. श्रेष्ठलाई नसम्झने कुरै भएन ।
त्यहाँ राखिएका पुराना साइकलहरू हेर्दा त्यसबेला टायरमा मोटा र बलिया डोरीको पनि प्रयोग हुने गरेको देख्न पाइयो । साइकललाई युद्धमा पनि प्रयोग गर्ने गरिएको, पशुपालकहरूले दूध ढुवानी गर्ने मात्रै होइन अन्न उत्पादक कृषकहरूले बाली उठाउन पनि साइकलको प्रयोग गर्ने रहेछन् । साइकलको उपयोगिता र यसको इतिहास झल्काउने त्यस साइकल सङ्ग्रहको भिडियो खिचेर डा. श्रेष्ठलाई पठाउने हतारो चलिहाल्यो ।
त्यसपछि हामी भुइँतलामा ओर्लियौं । भुइँतला पूरै महान् व्यक्तित्वहरूप्रति समर्पित रहेछ । त्यहाँभित्र फ्रान्सकै र फ्रान्सभन्दा बाहिरबाट त्यहाँ आई महत्वपूर्ण योगदान दिने महान् व्यक्तित्वहरूको समाधि राखिएका छन् । त्यहाँ पुग्दा ती व्यक्तित्वहरूको महानता सम्झेर श्रद्धाले शिर आफैं झुक्दोरहेछ ।
म चाहिं भोल्तेयरलाई खोज्दै थिएँ । उनको समाधि अरूको तुलनामा अलि विशेषतायुक्त लाग्यो । उनको सिमेट्रीलाई काठको कलात्मक बाकसले सजाइएको छ । सिमेट्रीअगाडि उनको पूर्ण कदको सालिक ठड्याइएको छ । यसबाट पनि यस स्मारकभित्र भोल्तेयरलाई विशेष सम्मान गरिएको भन्न कञ्जुस्याईं गर्नु पर्दैन ।
एक कवि, नाटककार, इतिहासकार र दार्शनिक व्यक्तित्वका रूपमा देखा परेका भोल्तेयरकै राजनीतिक दर्शनले फ्रान्सेली राज्यक्रान्तिमा उत्प्रेरक भूमिका खेलेको थियो । फ्रान्समा १८औं शताब्दीलाई भोल्तेयरको शताब्दी मानिन्छ ।
सन् १६९४ मा जन्मेका भोल्तेयरको सन् १७७८ मा देहान्त भयो । उनी जन्मेको समय, उनले विभिन्न विचार र दर्शन सिर्जना गरिरहेको समय नेपालको अवस्था कस्तो थियो ?
जन्मतिथिको हिसाबले भोल्तेयर गोर्खाली राजा नरभूपाल शाहभन्दा तीन वर्ष जेठा थिए । उनी जन्मेको बेला गोर्खा राज्यमा पृथ्वीपति शाह शासन गर्दै रहेछन् । आफ्ना हजुरबा पृथ्वीपति शाहको निधनपछि नरभूपाल शाह राजा भए । एक कमजोर प्रकृतिको राजाको रूपमा इतिहासकारहरूबाट चित्रित नरभूपाल शाहले गोर्खामा राज्य गरिरहेको बेला उता फ्रान्समा भोल्तेयरले लेखनको माध्यमबाट चेतनाको विगुल फुकिरहेका थिए । नरभूपाल शाहको देहान्तपछि राजा भएका पृथ्वीनारायण शाहले गोर्खा राज्य विस्तार गरिरहेका बेला भोल्तेयर फ्रान्समा फ्रान्सेली राज्यक्रान्तिका लागि दार्शनिक आधार तयार पारिरहेका थिए । ३२ वर्षको राज्यकालपछि पृथ्वीनारायण शाहको देहान्त भयो । उनीपछि छोटो समय प्रतापसिंह शाह नेपालका राजा भए । उता भोल्तेयरले आफ्नो जीवनको कार्यभार पूरा गरेर देह त्याग्दा यता नेपालको राजगद्दीमा बालक राजा रणबहादुर शाह थिए भने उनकी आमा राजेन्द्रलक्ष्मी र काका बहादुर शाहको दरबारभित्र ठूलो हानाथाप चलिरहेको थियो ।

त्यो बेला फ्रान्समा पादरीहरूको आदेश नै कानुन हुन्थ्यो । धर्मको आधारमा शासन चल्थ्यो । तर भोल्तेयरको बौद्धिक तर्कका अगाडि फ्रान्सका निरङ्कुश शासकहरू पनि नतमस्तक हुन्थे । उनी ३१ वर्षको उमेरमा जेल परे । ११ महिनाको कैदपछि उनलाई एक दरबारिया सामन्तले शासकसमक्ष हाजिर गराउँदै भने, “म तपाईंसमक्ष यस्तो व्यक्तिलाई हाजिर गराउँदैछु, जसलाई तपाईंले जेलमुक्त गराउनुभयो । उसलाई तपाईं फेरि जेल पठाउन सक्नुहुनेछ ।”
त्यसबेला पेरिसमा ठूलो आँधीहुरी चलिरहेको थियो । आँधीहुरी प्राकृतिक थियो, राजनीतिक होइन । दरबारभित्र लगिएका भोल्तेयरले शासकसमक्ष व्यङ्ग्य गर्दै भनेका थिए, “यदि आकाशमा शासनको उचित व्यवस्था हुँदो हो त स्थिति यति भयानक हुने थिएन ।”
शासकले मुसुमुसु हाँस्दै “यदि भोल्तेयरले राम्रो व्यवहार गरे राज्यले उनलाई सहयोग गर्ने” बताउनासाथ भोल्तेयरले भनेका थिए, “यसका लागि तपाईंप्रति आभारी छु, तर असल व्यवहार गर्ने जिम्मेवारी केवल नागरिकको हुँदैन ।”
उनले यसो भनिरहँदा दरबारभित्र सन्नाटा छाएको थियो । त्यसबेला शासकले मुसुमुसु हाँस्दै भनेका थिए, “सही लेखक त्यो हो, जो शासकसम्मुख पनि सत्य बोल्न डराउँदैन ।”
आफ्नो वैचारिक शक्तिले शासकहरूलाई समेत गलाउने तागत राख्थे भोल्तेयर । त्यहाँका शासकहरू पनि उचित विचारको उचित सम्मान गर्थे । यता हाम्रो देशमा न असल विचारको जन्म हुन सक्यो, न विचारले सम्मान पायो । आजसम्म बौद्धिक क्रान्ति मृगतृष्णा हुन पुगेको छ यहाँ, अनि देश कताबाट उभो लागोस् ?
भोल्तेयरको समाधिलाई एकछिन नियालेर उनको सालिकसमक्ष मौन बसेर आफैंलाई प्रश्न गरें, “हाम्रो देशमा राज्यलाई बौद्धिक मार्गदर्शन गर्ने बुद्धिजीवी र बौद्धिक वर्गको सम्मान गर्ने शासक कहिले जन्मेलान् ?”
समाधिस्थ क्यूरी दम्पती
“आहा, मेरी क्यूरी” अचानक थप उत्साहित हुँदै छोरी बोलिन् । त्यतिखेरसम्म हामीले रुसोको समाधि अवलोकन गरिसकेका थियौं ।
समाधि राखिएको कोठाको गेटमा मेरी क्यूरी र पेरी क्यूरी लेखिएको छ । यी महान् वैज्ञानिक दम्पतीमध्ये पहिले देहान्त भएका पेरीलाई तल र उनीभन्दा २८ वर्षपछि देहान्त भएकी मेरीलाई माथि राखिएको छ ।
मेरीले उच्च शिक्षा पेरिसमा प्राप्त गरिन् । मेरी क्यूरीको विषयमा छोरी भन्दै थिइन्, “त्यसबेला नारी शिक्षाको लागि पोल्याण्ड उदार थिएन । त्यसैले उनी पेरिस आइन् र यहीं उनले उच्च शिक्षा प्राप्त गरिन् ।”
मेरीको समाधिमा ताजा फूलहरू चढाइएको देख्यौं । हामीले चाहिं मनका फूलहरू चढायौं ।
मेरी भौतिकशास्त्र र रसायनशास्त्र गरी विज्ञानको दुई वटा शाखामा योगदान गर्ने महान् वैज्ञानिक हुन् । रेडियम पत्ता लगाएबापत सन् १९०६ मा नोबल पुरस्कार पाएकी थिइन् । नोबल पुरस्कारको इतिहासमा उनले उक्त पुरस्कार पाउने पहिलो नारीको नाम राख्दा उनका पति पेरी क्यूरी उक्त पुरस्कारका सहविजेता घोषित भएका थिए । उनले पोलोनियम पत्ता लगाएपछि सन् १९११ मा रसायनशास्त्रतर्फ फेरि नोबल पुरस्कार पाइन् । जीवनभर वैज्ञानिक अनुसन्धानमा लाग्दालाग्दै प्रयोग हुने रसायनको असरले उनी आफैं रोगग्रस्त बनिन्, र रगत कम हुने रोग अप्लास्टिक एनेमियाबाट सन् १९३४ नोभेम्बर ७ मा ६६ वर्षको उमेरमा उनको देहान्त भयो ।
आफ्नो सम्पूर्ण जीवनलाई वैज्ञानिक खोजीमा समर्पण गर्ने मेरी क्यूरीको महानताप्रति सम्मान गर्दै उनलाई विश्वजगतले म्याडम क्यूरीको नामले सम्बोधन गर्छन् ।
क्यूरीले पहिलो पटक नोबल पुरस्कार पाएको घोषणा हुँदा उनीसँग अन्तर्वार्ता लिन पुगेका पत्रकारहरूले उनको घर घेरेका थिए । तर उनले पत्रकारहरूलाई तत्काल आफू अन्तर्वार्ता दिन असमर्थ रहेको खबर पठाएकी थिइन् । खबरमा उनले भनेकी थिइन्, “अहिले मसँग अन्तर्वार्ता दिने समय छैन । म छोरीलाई दूध खुवाउँदैछु । मेरो यो समय छोरीको लागि हो ।”
मेरी क्यूरीले रेडियम पत्ता लगाइरहेको बेला नेपालमा भने चन्द्रशमशेर शासन गरिरहेका थिए । मेरी क्यूरीले रेडियम पत्ता लगाई पहिलोपल्ट नोबल पुरस्कार पाएको १२ वर्षपछि नेपालमा खुलेको त्रिचन्द्र कलेज उद्घाटन गर्दा “आज म आफ्नो खुट्टामा आफैं बञ्चरो हानिरहेको छु” भनी भाषण गरेका थिए, चन्द्रशमशेरले । यस्ता शासकहरू भएको हाम्रो देश किन पछि परिरहेको छ भन्ने थाहा पाउन धेरै सोचविचार गरिरहनै पर्दैन ।
हेमिङ्वे बसेको घर पुग्दा
हामी मेरी क्यूरी र पेरी क्यूरीको दर्शनपछि त्यस स्मारकबाट निस्क्यौं । वरिपरिका कलेज परिसर नियाल्यौं र फेरि पेरिसको गल्ली चहार्न थाल्यौं, अर्नेस्ट हेमिङ्वे बसेको घरको खोजीमा ।
म त छोरीले बनाएको सूची र उनले उनले डोर्याएको बाटो पछ्याउने न परें । हिंड्दा हिंड्दै फेरि छोरी उत्साहित हुँदै बोलिन्, “ऊ यहाँ रहेछ ।” अर्थात् हामी अर्नेस्ट हेमिङ्वे बसेको घरको आँगनमा पुग्यौं ।
हेमिङ्वे आफ्नी पत्नी हाड्लेसँग आजभन्दा १०० वर्षअघि अर्थात् सन् १९२१ देखि १९२५ सम्म उक्त घरमा बसेका थिए । घरको माथिल्लो तलामा उनी बसेका थिए । मुनिको तलामा एक क्याफे रहेको छ । क्याफेको ढोकाको देब्रेतिर ‘अर्नेस्ट हेमिङ्वे बसेको घर’ भनी लेखिएको प्लेट टाँसिएको छ । त्यसमुनि एउटा सिसाको फ्रेममा हेमिङ्वे र उनको परिवारको फोटो ससम्मान राखिएको छ ।
पेरिस बसाइको सुरुआतमा हेमिङ्वेले निकै दुःख पाएका थिए । उनी बसेको यस अपार्टमेन्टमा तातोपानी र शौचालयको राम्रो व्यवस्था थिएन । उनीहरू भुइँमा मेट्रेस ओछ्याएर सुत्थे । आफ्ना लेखाइहरूमा उनले यहाँको बसाइमा भोगेको चिसोलाई किलिमन्जरोको हिउँसँग तुलना गरेका छन् ।
पेरिस बसाइका क्रममा उनले पत्रकारिता पनि गरेका थिए । त्यसबेला ग्रीस र टर्कीबीच युद्ध चलिरहेको थियो । उनी ‘टोरोन्टो डेली स्टार’ अखबारका लागि विदेश संवाददाताको रूपमा रिपोर्टिङ गर्थे ।
नोभेम्बर २६ देखि २८ सम्म यसरी पेरिसको फन्को मार्दा आँखाको रमितामा मात्रै रमाइएन, ज्ञानको खोजीमा समर्पित साधकहरूको स्मारकहरूमा पुगेर उनीहरूप्रति श्रद्धाका सुमनहरू पनि चढाइयो ।
 
                









 
                     
                                     
                                 
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                                         
                 
                 
                 
                 
                 
         
                                                %20-%20Copy.jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4