
हामी भन्छौं कि, ‘यो देशमा केही राम्रो छैन ।’ त्यो गलत हो । यहाँको सार्वजनिक सेवा (ब्युरोक्रेसी) खत्तम नै भइसक्यो भन्ने लाग्छ भने पनि हामी गलत छौं । सरकारले उपलब्ध गराएको शुद्ध तलब र सामान्य सुविधालाई प्रेमपूर्वक स्वीकार गरेर पूर्ण निष्ठा र इमानदारी साथ काम गर्ने राष्ट्रसेवक कर्मचारी पनि धेरै छन् । जसले गर्दा हाम्रो सार्वजनिक सेवा अझै पनि जीवित छ । अझ कतै–कतै त निकै चुस्त र प्रभावकारी सेवा पनि देख्न पाइन्छ ।
जबसम्म हाम्रो घरमा कुनै तरहले पानीको आपूर्ति भइरहन्छ, जबसम्म विद्युत्को आपूर्ति, ढलको व्यवस्था र अन्य आधारभूत आवश्यकताका वस्तु र सेवाको आपूर्ति (किन्नकै लागि भए पनि) कायम रहन्छ तबसम्म सार्वजनिक सेवा निष्प्रभावी भइसकेको मान्न मिल्दैन । युवाल नोआ हरारी लेख्छन्– ‘ब्युरोक्रेसी यस्तो मन नपर्ने अपरिहार्यता (नेसेस्सरी एभिल) हो जसलाई हामीले जति नचाहे पनि त्यो हाम्रो लागि अनिवार्य कुरा हो ।’
चार ‘स’ (शिक्षा, स्वास्थ्य, सरसफाइ, सार्वजनिक सवारी) अनि ‘रोपाइँ’ (रोजगारी, पानी, इन्धन) यति ७ कुराको राम्रो व्यवस्था छ भने त्यो उन्नत समाज हो । संसारका प्रायःजसो सबै राजनीतिक, वैज्ञानिक, व्यावसायिक, सामाजिक व्यवहार यिनै ७ तत्वको सुधार र व्यवस्थापनमा जुटेका हुन्छन् ।
तर ज–जसले जे–जे कुराको आविष्कार वा शुरुआत गरे पनि त्यसको कार्यान्वयन, निरन्तरता र सुधार गर्ने भनेको ब्युरोक्रेसीले नै हो । जुन देशको ब्युरोक्रेसी यी कुराको चाँजो–पाँजो मिलाउन बढी सक्षम छ त्यो देश पक्कै समृद्ध छ ।
‘फन्ड फर पिस’ को सन् २०२४ को रिपोर्ट अनुसार नेपालले सार्वजनिक सेवा सूचकांकमा ६.८ अंक प्राप्त गरेको छ, जुन अघिल्लो वर्षको ७.१ भन्दा केही सुधारिएको हो (रेटिङः ‘१०’ अंक सबैभन्दा खराब र ‘०’ सबैभन्दा राम्रो सेवा हो) । त्यसैगरी विश्व बैंकको सरकारी प्रभावकारिता सूचकांक २०२३ मा नेपाल २१.८ प्रतिशतमा छ जसले विश्वका अरू ७८ प्रतिशत देशहरूले नेपालले भन्दा राम्रो सरकारी सेवा प्रवाह गर्छन् भन्ने कुरा देखाउँछ । त्यसैले हामीले आ–आफ्नो क्षेत्रबाट केही न केही योगदान गरेर हाम्रो सार्वजनिक सेवाको स्तर सुधार्नै पर्छ ।
इतिहासलाई नियाल्ने हो भने, जबसम्म सार्वजनिक सेवा प्रवाहित निकायले ढल निकास र पानी आपूर्ति प्रणालीका समस्याहरूको बारेमा विस्तृत र वैज्ञानिक अध्ययन गर्न सकेको थिएन, तबसम्म विश्वभर झाडापखाला, हैजा जस्ता सामान्य रोगबाट पनि लाखौं मानिसले ज्यान गुमाउनु परिराखेको थियो ।
लन्डनमा सन् १८५४ मा सयौं मानिसले हैजाको कारणले ज्यान गुमाउनु परेको थियो । ब्युरोक्रेटिक अध्ययनले देखायो कि पानी तान्ने पम्पमा फोहोर मिसिएकोले शहरमा हैजा फैलिएको थियो र त्यो कुराको समाधान गर्नासाथ हैजाको प्रकोप हट्यो ।
सन् २००९ को ‘मे’ देखि ‘जुलाई’ सम्ममा नेपालको जाजरकोटमा फैलिएको हैजाले ३० हजार भन्दा बढी स्थानीयवासीलाई गाँज्यो, जसमा ३०० देखि ५०० (रिपोर्टको तथ्यांक फरक–फरक पाइएको) मानिसले ज्यान गुमाउनु पर्यो । त्यसैगरी सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शौचालय नहुनु भारतको सबैभन्दा ठूलो समस्या मध्ये एक भएको बताएका थिए ।
सन् २०१४ देखि २०२० भित्रमा ‘सफा भारत अभियान’ अन्तर्गत भारत सरकारले १० करोड शौचालय बनाउन दशौं अरब डलर लगानी गर्यो (‘नेक्सस’, ७८–७९) । के यो कुरा ब्युरोक्रेसी विना सम्भव छ ? के हामी ‘ब्युरोक्रेसी’ विनाको स्वास्थ्य सेवा र विद्यालयहरूको कल्पना गर्न सक्छौं ?
हामीलाई नागरिकताको प्रमाणपत्र कसले दिन्छ ? सडक, पुल, नहर, कसले बनाइदिन्छ ? हामीले विनिमयको साधन ‘मुद्रा’ कसरी प्राप्त गर्छौं ? हामीले सुलभ र सुचारु विद्युत् कसरी पाउँछौं ? नेताले भिजन ल्याउलान्, संसद्ले नियम, कानून बनाउला, तर समस्याको हल गर्न त काम नै हुनुपर्यो नि, जुन ब्युरोक्रेसी विना असम्भवप्रायः छ ।
त्यसैले ब्युरोक्रेसीलाई धारे हात लगाउनु भन्दा सुधार गर्न आ–आफ्नो ठाउँबाट पहल गर्यौं भने त्यसबाट राम्रो नतिजा निस्कन सक्ला । फेरि पनि कसरी भन्ने प्रश्न उठ्न सक्छ । समाधान एक मात्र छ । त्यो हो– सचेत, धैर्य र इमानदार नागरिक । छिटो काम गराउन र गर्न नमिल्ने काम गराउन जब हामी सेवाग्राही नै जोडबल गर्न लाग्छौं तब कर्मचारीले पनि दायाँ–बायाँ गर्ने मौका पाउँछन्, खेल्ने मौका पाउँछन् ।
यसो भनौं कि हाम्रो गैरजिम्मेवारी हर्कतमा उनीहरूका स्वार्थ घोलिदिन्छन् । त्यसैले आफ्ना अधिकारप्रति सचेत र इमानदार सेवाग्राही वा नागरिक मात्रै सुदृढ सार्वजनिक सेवाको द्योतक हो । यसै मेसोमा नेपाल विद्युत् प्राधिकरण थिमि, चारदोबाटोको एउटा उदाहरण पेश गर्न अनुमति चाहन्छु ।
केही वर्ष अगाडिको कुरा हो । सानो थिमि पूर्वको हाम्रो सानो बस्तीमा घरहरू भटाभट बनिराखेका थिए तर आधा–उधि घरमा बिजुलीका पोल र लाइन थियो भने आधा–उधि घरमा बिजुली आपूर्ति हुने कुनै सम्भावना थिएन । ती भाग्यवान् घरहरूले पनि कुनै नेताको शक्तिले गर्दा उज्यालिन पाएका रहेछन् ।
हामी पनि प्राधिकरणले उपलब्ध गराउने फर्ममा बकाइदा निवेदन लिएर हाम्रो टोलमा पनि बिजुलीका खम्बा गाडिदिन र बिजुलीको तार तानेर विद्युत् आपूर्ति गरिदिनुहुन भनी उक्त कार्यालय पुग्यौं । केही प्रक्रिया पूरा गरेपछि हाम्रो निवेदन बुझियो र हप्ता दिनपछि आउन भनियो ।
हामी हप्ता दिनपछि पुग्यौं तर फेरि इन्जिनियर हेर्न आउनुपर्ने र दिन मिल्ने भए प्रारम्भिक मूल्यांकन (इस्टिमेट) गर्नुपर्ने भएकोले अरू २/३ हप्ता पछि मात्र हाम्रो पालो आउने भएकोले सोही अनुसार आउन भनियो । हामीले त्यसै गर्यौं ।
अर्को एक महिना पछि पुग्दा त त्यहाँका इन्जिनियरले झर्कंदै भने कि, त्यो तपाईंहरू बसेको ठाउँ प्लटिंग गरेको ठाउँ हो, त्यहाँ हामीले सेवा ‘एक्सटेन्सन’ गर्न मिल्दैन । हामीले अनौठो मान्दै भन्यौं, ‘त्यसो भए प्लटिंगमा टुकी जलाएर बस्ने त ?’ जंगिदै उताबाट उत्तर आयो, ‘हामी त आदेश पालना गर्ने मात्रै हौं, त्यसैले माथि गएर कार्यालय प्रमुखसँगै कुरा गर्नुहोस् ।’
हामी तपाईंको जय होस् भन्दै कार्यालय प्रमुखको च्याम्बरतिर लाग्यौं । तर हाकिमको मुख्य कोठा प्रवेश गर्नभन्दा अगावै उनकी सहयोगी बोलिन्, सर बिदामा हुनुहुन्छ, अर्को हप्ता मात्रै आउनुहोस् ।’
अरू केही हप्ताहरूले हाकिमका अति जरूरी काम, भेटघाट र दिनचर्याको बीचमा सुइँकुच्चा ठोके । आखिर त्यो दिन र पल आएरै छोड्यो, जहाँ हामीले हाकिमको दर्शन–भेट पायौं । हामी खुशी थियौं । अग्ला, ज्यान परेका, फ्रेन्च कट र सुटमा हाकिम भव्य व्यक्तित्वशाली देखिन्थे । केही समयको पर्खाइपछि हामी बाहिरपट्टिको पर्खाइबाट हाकिमको भव्य बैठक कोठाको काउचमा पुग्यौं ।
तपाईंहरूको के थियो होला ? हाकिमले पत्रिकामा आँखा लगाउँदै सोधे ।
आँखा पत्रिकामा र शब्द हामीतिरले प्रष्ट संकेत गथ्र्यो कि उनी हाम्रा कुरामा धेरै ध्यान दिने मूडमा छैनन् । तैपनि हामीले भन्यौं कि ‘सर हाम्रो घरमा बत्ती नबल्ने भयो । नगरपालिकाबाट अनुमति लिएरै बनाएको घर हो । विद्युत्को लाइन जोडिदिन तपाईंको कार्यालयमा निवेदन चढाएको पनि दुई महिनाभन्दा बढी भयो ।
तपाईंको इन्जिनियर भन्नुहुन्छ कि ‘प्लटिंग’ गरेको जग्गाको घरमा विद्युत् जोड्न मिल्दैन रे ! के हामीले साँच्चै विद्युत् लाइन नपाउने हो ? ‘अनि के त ? तपाईं व्यक्तिले प्लटिंग गरेको जग्गा किनेर घर बनाउने, अनि सरकारी प्राधिकरणले तपाईंको घरमा विद्युत् ‘लाइन’ जोडिदिनुपर्ने ? मिल्दैन जोड्न ।’ उनले सातो लिने भावभंगीमा कड्किएर उत्तर दिए ।
अनि निजी प्लटिंगमा विद्युत् जोडिदिन मिल्दैन भन्ने सूचना जग्गा किन्न भन्दा वा नक्शा पास गर्न भन्दा पहिले नै तिनै कार्यालय मार्फत हामीलाई जानकारी दिनुपर्दैन त ? हामीले सोध्यौं । त्यो हाम्रो जिम्मेवारी पनि होइन, हाम्रो क्षेत्र पनि होइन । त्यो सेवाग्राही आफैंले बुझ्नुपर्छ । तपाईंहरूसँग अनावश्यक बहस गरेर बस्न मसँग समय छैन । ‘यु मे लिभ’ हाकिमले अंग्रेजी लवजमा गलहत्याउलान् झैं गरे ।
हामीलाई हाकिमको व्यवहारले चिन्तित बनायो । हामीले पनि ‘ट्रयाक टु डिप्लोम्यासी’ जुन पहिल्यै सोचेर आएका थियौं, त्यो प्रयोग गर्यौं र भन्यौं कि पहिलो कुरा त ‘प्लटिंग’ गरेको ठाउँमा विद्युत् प्राधिकरणले लाइन दिन मिल्दैन भन्ने नियम कानून नै छैन, छ भने देखाउनुस् । त्यसैगरी सोही ‘प्लटिंग’को आधा भागमा तपाईं आफैं यो कार्यालय आएपछि नै पोल गाडेर तार समेत टाँगी विद्युत् लाइन जोडिएको छ । त्यतिखेर चाहिं तपाईंको नियम–कानून बनेको थिएन ? होइन भने त्यहाँ कसरी बिजुलीको लाइन जडान भयो ? हामीलाई बताउनुस् । हामीले जोडदार माग गर्यौं ।
तपाईंहरूले जे गरे पनि, जे सोधे पनि यो काम, यो कार्यालयबाट हुन सक्दैन । तपाईंहरू जे गर्न सक्नुहुन्छ गर्नुहोस् । उनले आफ्नो दम्भ कायम राख्दै भने ।
‘अनि कुन कार्यालयबाट हुन सक्छ त देखाइदिनुहोस् ?’ हामीले माग गर्यौं ।
‘मलाई के थाहा ?’ उनले गैरजिम्मेवार उत्तर दिए ।
‘त्यसो भए तपाईंले यति कारणले यो काम गर्न सकिंदैन भनेर लेखेर दिनुहोस् ।’ हामी त्यसपछि जानुपर्ने ठाउँमा जान्छौं । हामीले अर्को माग गर्यौं ।
‘तपाईंहरूलाई के चाहिएको हो ? त्यसको बारेमा निवेदन दिनुहोस्’ उनले झर्कंदै भने ।
निवेदन त पहिल्यै दिइसकिएको थियो । यो निवेदन पक्कै निहुँ खोज्न मागिएको हो भनेर बुझ्न हामीलाई गाह्रो परेन । सोही अनुसार हामीले ‘सोही ठाउँमा राजनीतिक प्रभावको कारणले हो वा अरू कारणले हो आधा भागमा विद्युत् लाइन जोडिदिएको तर हामीलाई महिनौं बित्दा पनि कुनै उत्तर नदिएको र हाल आएर मिल्दैन भनेकोमा हाम्रो चित्त बुझेन, यसैले तुरुन्त यस निवेदनको उत्तर प्राप्त नभए कुनै पनि कानुनी कारबाहीको लागि तयार हुन भन्दै निवेदन लेख्यौं ।
सादा कागजमा लेख्न सजिलो हुने भएकोले हामीले निवेदन अंग्रेजीमा लेखेका थियौं । उनले सोही विषय समाइहाले । ‘यो निवेदनले काम गर्दैन । सरकारी कार्यालयमा नेपाली भाषामा निवेदन लेख्नुपर्छ भन्ने थाहा छैन ?’ हाकिमले फेरि निहुँ खोजे ।
‘हाकिम साहेब ! यो कस्तो कुरामा हानथाप गर्न खोज्नुभएको ? निवेदन भनेको हाम्रो कुरा तपाईंलाई सम्झाउन लेखिएको पत्र न हो । तपाईंले बुझे भएन र ? अनि कुन कानुनमा लेखिएको छ कि विद्युत् प्राधिकरणमा नेपाली भाषामा मात्र निवेदन दिनुपर्छ भनेर मलाई देखाउनुस् त ! यो अदालत त होइन होला ? अघि तपाईंले पनि त ‘यु मे लिभ’ भन्नुभो नि ! त्यो नेपाली भाषा हो ? यत्रो करोडौं नेपाली मध्येमा परीक्षा दिएर अब्बल ठहरिएर सेवा गर्न आउनुभएको मानिसले अंग्रेजी जान्दिनँ, नेपालीमा लेख भन्न मिल्छ ?’ हामीले नेपालीमा निवेदन नलेख्ने अड्डी कस्यौं ।
उनले सोही निवेदन आफ्नो टेबलको सानो ‘सेल्फ’ मा घुसाए र जान भने ।
हामीले हिंड्ने बेलामा भन्यौं कि, ‘हामी एउटा सेवा प्राप्त गर्न महिनौंदेखि तपाईंको कार्यालयमा धाइरहेका छौं । अब धेरै कुर्ने धैर्य हामीसँग छैन । त्यसैले तपाईंले तीन दिनभित्रमा कि विद्युत् लाइन जोडिदिइसक्नु कि तपाईंको फिल्ड इन्जिनियर समेत भएर लिखित उत्तर दिनुस् । त्यसपछि हामी थप कानूनी प्रक्रियामा अघि बढ्छौं ।’
त्यसको पर्सिपल्ट शिवरात्रिको अघिल्लो दिन थियो । बिहानको अन्दाजी ११ बजे मलाई नयाँ नम्बरबाट फोन आयो । ‘सर तपाईं तुरुन्त घर आइपुग्नुपर्यो, हामी बिजुलीको तार टाँग्ने पोल लिएर आएका छौं । तपाईंको टोलमा बाटो साँघुरो भएकोले लामो–लामो खम्बाहरू भित्र लैजान सकिएन । हाकिम साहेबबाट भोलि शिवरात्रि परेकोले आजै पोल गाडेर तार टाँगिसक्नु भन्ने मर्जी भा‘को छ ।’
म छक्क पर्दै हतार–हतार घर पुगें, छिमेकका जग्गाबाट इँटा हटाउन लगाएर र खाली जग्गातिरबाट पोलहरू ‘पास’ गराए । हाम्रो बस्तीमा पोल गाड्ने, तार टाँग्ने, मिटर बक्स ‘इन्स्टल’ गर्ने र विद्युत् लाइन प्रवाह समेत गर्ने काम बिजुलीको गतिमै भयो । अनि हाम्रो बस्तीमा बत्ती बल्यो ।
यहाँ प्रश्न एउटा मात्र हो । काठमाडौंमा बत्ती नबाली वा विद्युत् लाइन नजोडी बसेको त को नै होला र ? तर धैर्यपूर्वक कुर्न सक्ने र बोल्न सक्ने हो भने सोर्स र फोर्सको जरुरत नपर्न सक्छ । कर्मचारीहरू पनि स्वतः वा डरले इमानदार बन्दै जान्छन् । तर हतार गर्ने र थोरै पैसा खर्च गरेर पनि काम गराइहाल्ने भन्ने मानसिकता लिने हो भने न त कर्मचारीतन्त्र नै सुध्रन्छ न त हामीले सास्ती पाउने दिन नै सकिन्छन् ।
प्रतिक्रिया 4