पेटको स्वास्थ्यसँग खानपानको गहिरो सम्बन्ध छ, किनभने हामीले खाने खानाले पाचन प्रणाली, आन्द्राको स्वास्थ्य र समग्र शरीरलाई प्रत्यक्ष प्रभाव पार्छ । त्यसैले पेटलाई स्वास्थ राख्नका लागि खानपानमा विशेष ध्यान दिनुपर्छ भनिन्छ ।
पेटलाई स्वास्थ्य राख्नका लागि कस्तो खानपान राम्रो हुन्छ त ? खानपानसँगै पाचन प्रणाली बलियो अन्य बनाउने उपाय के-के हुन् ? लगायतका विषयमा पेट तथा कलेजो रोग विशेषज्ञ प्रा.डा मनोज कुमार शाहसँग अनलाइन खबरका लागि सुमित्रा लुईटेलले गरेको कुराकानीको सम्पादित अंश :
खाली पेट के-के खान हुँदैन ?
नेपालको सन्दर्भमा बिहान उठ्नेबित्तिकै चिया कफी पिउने चलन छ । यस्ता खानेकुराले एसिड रिफल्क्स गर्छ । त्यसैले बिहान उठ्नेबित्तिकै खाली पेटमा चिया कफी खान हुँदैन । कतिपय व्यक्तिलाई भने केही खानेकुराको एलर्जी हुन्छ, त्यस्ता व्यक्तिले एलर्जी हुने खानेकुरा खाली पेटमा खानु हुँदैन । जस्तो कसैलाई दूधको एलर्जी हुन्छ भने त्यस्ता व्यक्तिले बिहान दूध खानु हुँदैन ।
खाली पेटमा चिया कफी खाँदा ग्यास्ट्रिक हुन्छ ?
खाली पेटमा विशेष गरी दूध चिया वा कफी पियो भने ग्यास्ट्राइटिस अर्थात चलनचल्तीको भाषामा ग्यास्ट्रिक हुन्छ भन्ने गरेको हामी धेरै सुन्छौँ ।
दूध चिया वा कफी खाँदा सबैलाई ग्यास्ट्रिक हुन्छ भन्ने होइन । तर, खाली पेटमा चिया कफी पिउँदा पेटमा एसिडको स्तर बढ्छ, जसले गर्दा एसिडिटी र ग्यासको समस्या हुन सक्छ । कफीमा पाइने क्याफिनले पेटको अम्लता बढाएर जलन निम्त्याउँछ ।
कसैलाई बिहान उठ्नेबित्तिकै दूध चिया खाने बानी परेको छ भने पनि खासै फरक पर्दैन । दूध चिया खाएको कारण समस्या हुने होइन । चिया पिउनै नहुने भन्ने होइन । तर कति मात्रामा, कुन समय र कसरी पकाइको छ भन्ने कुरामा विचार गर्नुपर्छ ।
कुनै पनि पेटको समस्या भयो भने ग्यास्ट्रिक भयो भन्ने चलन छ नि ?
हामीले खाएको खानेकुरा खाद्य नली हुँदै आमाशयमा पुग्छ । आमाशयमा एसिडको उत्पादन भइरहेको हुन्छ । खानासँग भित्र गएका ब्याक्टेरियालाई मार्नेदेखि खाना पचाउने काम त्यहीँ एसिडले गर्छ । एसिडले तन्तुलाई जलाउने र बचाउन सक्ने क्षमता पनि राख्छ ।
शरीरलाई एसिडबाट बचाउन जुन काम हुन्छ त्यो काममा कुनै पनि किसिमले कमी आयो भने साधारणतया ग्यास्ट्रिक हुन्छ । तर, स्वास्थ्य परीक्षण नगरी आफैँले अनुमानको आधारमा ग्यास्ट्रिक भएको भनेर औषधि सेवन गर्नुहुँदैन ।
एसिड बढ्दा पेट, छाती पोल्ने र खानेकुरामा अरुचि हुन्छ । यस्तोमा राहतका लागि चिकित्सकको सल्लाहमा औषधि खानुपर्छ । चिकित्सकको सल्लाह बिना लामो समय ग्यास्ट्रिकको औषधि खाइयो भने औषधिले विभिन्न साइड इफेक्ट हुन सक्छ ।
के हो त ग्यास्ट्रिक ?
ग्यास्ट्रिकको अर्थ पेटको भित्री तह सुन्निनु हो । पेटमा ग्यास भरिएर ग्यास्ट्राइटिस हुन्छ भन्नु गलत हो । यो त ग्यास्ट्राइटिसको एउटा लक्षण मात्र हो । ग्यास्ट्राइटिस भएमा फुलेको पेटमा हावा भरिएको अनुभव हुन्छ । राम्रोसँग खाना नपच्ने, लामो समय खाना नखाँदा पेट पोल्ने, खान मन नलाग्ने, ढ्याउ आइरहने लगायतका लक्षण देखिन्छन् ।
अल्ट्रा प्रोसेड फुडले पेटको स्वास्थ्यमा असर गर्छ ?
पहिले हाम्रो खानपानशैली एकदमै राम्रो थियो । प्राकृतिक र घरमा पोकेको खानेकुरा खाने चलन थियो । तर, पछिल्लो समय हाम्रो खानपान शैली एकदमै धेरै परिवर्तन भएको छ । प्राकृतिक, घरमा पाकेको ताजा खानेकुरा भन्दा बजारमा पाइने अल्ट्रा प्रोसेस्ड खानेकुरा खाइरहेका छौँ ।
प्याकेटमा आउने चिप्स, चकलेट, बिस्कुट , पाउरोटी र केक जस्ता खानेकुरा अल्ट्रा प्रोसेस्ड फुडका केही उदाहरण हुन् । यी खानेकुराले तत्कालै पेट फुल्ने, पेट दुख्ने समस्या हुन्छ । साथै यसले आन्द्राको स्वस्थ ब्याक्टेरियालाई नष्ट गर्ने र पाचन प्रणालीमा दीर्घकालीन समस्या ल्याउन सक्छ । यस्तै खानेकुराले गर्दा पछिल्लो समय मानिसहरूमा पेटको समस्या बढिरहेको छ ।
पाचन प्रणाली बलियो बनाउने उपाय के-के हुन् ?
सामान्यतया हामीले खाने खानादेखि दिसाको रुपमा फ्याँक्ने विकारको पदार्थसम्म बन्ने प्रक्रिया पाचन प्रणालीमार्फत हुन्छ । राम्रो पाचन प्रणालीले खानालाई ऊर्जामा परिणत गर्छ र शरीरलाई रोगसँग लड्ने शक्ति दिन्छ । तर पाचन प्रणाली कमजोर भयो भने धेरै स्वास्थ्य समस्या निम्तिन सक्छ । पाचन ठिक नहुँदा खानेकुरा राम्ररी पच्दैन । साथै अन्य समस्या पनि निम्तिन सक्छ ।
पाचन प्रणालीलाई बलियो बनाउने सबैभन्दा प्रमुख उपाय स्वास्थ्य खानपान नै हो । पाचन क्षमता सुधार्ने सरल र प्राकृतिक काइदा हो, ताजा खानेकुरा सेवन गर्ने । सुपाच्य र सन्तुलित खानेकुरा सेवन गर्नु नै यसको सही उपाय हो । यस्तोमा सागसब्जी, फलफूल, सलाद र पर्याप्त पानीलाई आफ्नो नियमित खानामा समावेश गर्नुपर्छ ।
खानाका लागि निश्चित तालिका अपनाउनु पर्छ । बेलाबेलामा थोरै-थोरै खानेकुरा खानुपर्छ । खानेबित्तिकै सुत्नु हुँदैन । शरीरले पचाउन सक्ने क्षमता भन्दा बढी खाना खाँदा पाचन प्रणालीमा गडबडी हुन्छ । त्यसैले शारीरिक बनावट अनुसार खानाको मात्रा लिनुपर्छ ।
स्याउ, अण्डा र ब्रोकाउली, दूध जस्ता स्वस्थ खानेकुराले पनि सबैलाई फाइदा नै गर्छ भन्ने छैन । यस्ता खानेकुरा खाँदा पेट ढुस्स हुने, ढ्याउढ्याउ आउने जस्तो समस्या हुन्छ भने त्यस्ता व्यक्तिले यस्ता खानेकुरा नखानु नै उचित हुन्छ ।
तनावले पाचन यन्त्रमा समेत नकारात्मक असर पार्छ । त्यसैले तनाव व्यवस्थापन गर्ने उपाय खोज्नुपर्छ । योग, प्राणायाम जस्तो विधि अपनाएर तनाव व्यवस्थापन गर्न सकिन्छ ।
तौल नियन्त्रण गरिएन भने पनि पाचन प्रणालीको समस्या निम्तन्छ । त्यसैले शरीरको उचाइ र तौलको अनुपात(बीएमआई) ठिक अवस्थामा राख्नुपर्छ । शरीरको तौल(केजी)लाई उचाइ (सेन्टिमिटर) ले दुई पटक भाग गर्दा आउने अंक (केजी/सेन्टिमिटर२) नै बीएमआईहो । बीएमआई १८ देखि २३ सम्म हुनुलाई सामान्य मानिन्छ । बीएमआई सामान्य भयो भने पाचन प्रणाली राम्रो हुन्छ ।
पाचन क्षमतालाई बलियो बनाउनका लागि शारीरिक श्रम आवश्यक हुन्छ । दैनिक रुपमा केही न केही काम गर्नुपर्छ । सम्भव भएसम्म पसिना निस्कने गरी काम गर्नुपर्छ , नियमित व्यायाम गर्नुपर्छ । समुचित श्रम र व्यायामले पाचन यन्त्रलाई बलियो बनाउन मद्दत गर्छ ।
पेटका लागि प्रोबायोटिक राम्रो हो भनिन्छ नि ?
हाम्रो शरीरमा लगभग दुई केजी जति राम्रा ब्याक्टेरिया हुन्छन् । विशेष गरी आन्द्राको भित्री तहमा यी ब्याक्टेरियाको तह हुन्छ । यो शरीरमा हुने राम्रो ब्याक्टेरिया हो जसले खानालाई पचाउँछ । यसले खाना पचाउने मात्र हैन शरीरमा भएका नराम्रा ब्याक्टेरियालाई मार्ने पनि गर्छ । शरीरमा हुने असल जीवाणुमध्येमा पर्छ, प्रोबायोटिक ।
प्रोबायोटिक प्रायः प्राकृतिक रूपमा दहीमा पाइन्छ । ‘ल्याक्टिक एसिड’ जीवाणुले दूधबाट दही बन्छ र त्यो खाद्यपदार्थमा राम्रो जीवाणु प्रोबायोटिक पनि हुन्छ । प्रोबायोटिकको मुख्य स्रोत दही हो । साथै गुन्द्रुक, सिन्की, किम्ची, अचार पनि प्रोबायोटिका स्रोत हुन् ।
शाकाहारी भन्दा मांसाहारीमा पेटको समस्या बढी देखा पर्ने हो ?
शाकाहारी भन्दा मांसाहारीमा पेटको समस्या बढी देखा पर्ने भन्ने हुँदैन । धेरै खाएमा मासु मात्र होइन, सबै खानेकुराले हानि गर्छ । रातो र प्रशोधित मासु धेरै मात्रामा खाँदा त्यस्तै पाचन प्रक्रियामा समस्या भएर कब्जियत, पायल्स, फिसर, फिस्टुला जस्ता समस्या हुन सक्छ ।
पेटको सम्बन्ध मानसिक स्वास्थ्यसँग पनि हुन्छ ?
मस्तिष्क र पेटबीच बलियो सञ्चार प्रणाली हुन्छ, जसलाई ‘पेट–मस्तिष्क अक्ष’ भनिन्छ । दुवै एक-अर्काका लागि महत्त्वपूर्ण छन् । पेटमा हुने सूक्ष्म जीवाणुहरूको अनुपस्थितिमा मस्तिष्कको विकास असामान्य किसिमको हुन पुग्छ ।
पेटलाई कहिलेकाहीँ ‘दोस्रो मस्तिष्क’ पनि भनिन्छ किनभने ब्याक्टेरियाहरूले पेटमा रहेका १० करोड स्नायु कोशिकाहरू मार्फत हाम्रो व्यवहारलाई प्रभावित गर्न सक्छन् । स्नायु कोशिकाहरू हाम्रो मस्तिष्क र केन्द्रीय स्नायु प्रणालीमा पाइने त्यस्ता कोशिका हुन्, जसले हाम्रो शरीरलाई कस्तो व्यवहार गर्ने भनेर बताउँछ ।
हाम्रो पेटले मस्तिष्कमा पाइने ‘सेराेटाेनिन’जस्ता न्युरोट्रान्समिटरहरूको उत्पादन गर्ने भएकाले मनस्थिति नियन्त्रणमा पनि भूमिका खेल्छ ।
पेट खराब भएमा अत्याधिक रिस, चिन्ता, बेचैनी, उदासी, अत्याधिक उत्तेजना आदि लक्षणहरू देखिन्छन्, जबकि यदि यी सबै लक्षणहरू छन् भने पेट खराब हुने समस्या पनि हुन सक्छ ।
पेटको समस्या पत्ता लगाउन गर्नुपर्ने परीक्षणहरू के के हुन् ?
ग्यासट्राइटिसको एउटा कारण एच पाइलोरी ब्याक्टेरिया पनि हो । यो ब्याक्टेरियाले क्रोनिक, एक्टिभ ग्याष्ट्राइटिसदेखि पछि क्यान्सरसम्म गराउन सक्ने जोखिम धेरै हुन्छ । त्यसैले यसको पहिचान गरेर उपचार गरी शरीरबाट यो ब्याक्टेरियालाई निर्मुल पार्न जरुरी हुन्छ ।
साथै पेटको अन्य समस्या पत्ता लगाउन विभिन्न परीक्षणहरू गरिन्छन्, जसमा एक्स–रे, सिटी स्क्यान, एमआरआई, अल्ट्रासाउन्ड र ईन्डोस्कोपी पर्छ । रगत परीक्षण र दिसा परीक्षणले पनि पेटको समस्या पत्ता लगाउन गर्न मद्दत गर्न सक्छ ।
प्रतिक्रिया 4