+
+
Shares
सानदार सामुदायिक स्कुल :

समुदायले बदलेको जनता मावि

जनता मावि सफलताको मूल कारण हो– शिक्षक, विद्यालय व्यवस्थापन समिति, अभिभावक संघ र आमा समूह बीचको निरन्तर संवाद, समन्वय, सहकार्य र निगरानी । यी चारै पक्षबीच नियमित छलफल, पठनपाठनको मूल्यांकन, समस्या पहिचान र समाधान गर्ने अभ्यास हुँदै आएको छ ।

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८२ जेठ १ गते २१:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सामुदायिक विद्यालयहरूलाई गुणस्तरीय शिक्षा दिन समुदाय, शिक्षक र अभिभावकबीचको निरन्तर संवाद र सहकार्य महत्वपूर्ण छ।
  • जनता माविले परीक्षामा राम्रो नतिजा ल्याउनुका साथै विद्यार्थीको सीप विकासमा सफलता प्राप्त गरेको छ ।
  • विद्यालयले १० वर्षे रणनीतिक योजनाका माध्यमबाट देशकै नमूना विद्यालय बन्ने लक्ष्य राखेको छ।

सामुदायिक विद्यालयलाई पहिले पनि सजिलो थिएन, तर यो देश हाँक्ने धेरै मस्तिष्क तिनैले उत्तीर्ण गरेर पठाए । आधुनिक नेपालको जग सामुदायिक स्कूलमै खनिएको थियो भन्न सकिन्छ ।

तर यस बीचमा स्थिति यसरी बदलियो कि अभिभावकहरू आफ्ना बच्चालाई हत्तपत्त सरकारी विद्यालयमा पढाउन मन गर्दैनन् । यस्तो लाग्छ, सामुदायिक विद्यालयप्रति अभिभावकको विश्वास धर्मराएको छ । अझ सरकारी विद्यालयको कमजोर नतिजाप्रति प्रधानमन्त्रीले सार्वजनिक मञ्चबाट टिप्पणी गरिरहेको सुनिन्छ ।

यस वर्ष त सरकारले नै नीति तथा कार्यक्रममै सामुदायिक शिक्षा सुधार्न निजी विद्यालयसँग साझेदारी गर्ने घोषणा गर्‍यो । संविधान बनेको ९ वर्ष भइसक्यो तर शिक्षा ऐन नै अहिलेसम्म बनिसकेको छैन ।

यावत् प्रतिकूलताका बाबजुद देशमा केही यस्ता विद्यालय पनि छन् जसले हजारौं विद्यार्थी पढाइरहेका र उत्कृष्ट नतिजा पनि दिइरहेका छन् । यो त्यस्ता केही उदाहरणीय सरकारी विद्यालयको स्टोरी सेरिज हो, जहाँ हामी कम्तीमा सातै प्रदेशबाट केही नमूना सरकारी स्कूलको रिपोर्टिङ गर्नेछौं ।  – सम्पादक

जनकुपुर । महोत्तरीको बर्दिबास नगरपालिका–३ गौरीडाँडाको जनता माध्यमिक विद्यालय, जहाँ नयाँ शैक्षिक सत्र शुरू हुनुअगावै आफ्ना छोराछोरी भर्ना गर्न अभिभावकको तँछाडमछाड हुन्छ । तारन्तारको फोनले हैरान हुन्छन्, प्रधानाध्यापक रामसकल महतो र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजन ढुंगाना ।

‘विद्यार्थी भर्नाको लागि सोर्सफोर्सको फोनले वाक्क–दिक्क हुन्छु । खुशी पनि लाग्छ । तर विद्यार्थी भर्ना त नियम बमोजिम नै हुन्छ’, अध्यक्ष ढुंगाना भन्छन् ।

यो विद्यालयप्रति विद्यार्थी तथा अभिभावकको यतिविघ्न आकर्षण हुनुको प्रमुख कारण हो, स्तरीय शिक्षा । निजी तथा वरपरका सामुदायिक विद्यालयहरूलाई चुनौती दिने जनता मावि गुणस्तरमा मधेश प्रदेशकै उत्कृष्ट मानिन्छ । यहाँ प्लेग्रुपदेखि कक्षा १२ सम्म अंग्रेजी माध्यममा पठनपाठन हुन्छ ।

भर्ना हुन कक्षा ८ र ९ मा विद्यार्थीले अनिवार्य रूपमा प्रवेश परीक्षा पास गर्नुपर्छ । भर्नाका लागि पहिलो प्राथमिकता बर्दिबास वडा नम्बर ३ को गौरीबास, नगरपालिकाभित्रका बासिन्दा र त्यसपछि मात्र छिमेकी पालिका अथवा बाहिरकालाई रहन्छ ।

प्रत्येक वर्ष नयाँ शैक्षिक सत्रमा विद्यार्थी भर्ना गर्न व्यापक दबाब रहने र ५० जना विद्यार्थीको लागि भर्ना खुला गर्दा ३०० सम्मले फारम भर्ने विद्यालयका प्रधानाध्यापक महतो बताउँछन् । भन्छन्, ‘भर्ना हुन टाढा–टाढादेखि विद्यार्थी आउँछन् । बोर्डिङ स्कूल छोडेर आएका विद्यार्थीको समेत लाइन हुन्छ ।’

विद्यालयमा उपलब्ध भौतिक पूर्वाधार, जनशक्ति तथा साधन–स्रोतलाई मध्यनजर गर्दै नयाँ भर्ना लिने गरिएको छ । कति भर्ना लिने भन्ने निर्क्योल विद्यालय व्यवस्थापन समिति, अभिभावक संघ, शिक्षक–अभिभावक संघ र समुदाय परिचालन समूहको निर्णयबाट हुने गरेको ढुंगाना बताउँछन् ।

प्रधानाध्यापक महतोका अनुसार प्रवेश परीक्षाबाट सीमित विद्यार्थी भर्ना लिंदा पनि अहिले विद्यालयमा २३०० सय विद्यार्थी अध्ययनरत छन् । कक्षा ९ मा मात्रै पाँच वटा सेक्सनमा पढाइ भइरहेको छ । विद्यार्थी चापको कारण विद्यालय दुई सिफ्टमा सञ्चालन भइरहेको छ । सबै कक्षामा भर्नाका लागि दबाब रहे पनि बालविकास अनि कक्षा ८ र ९ मा मात्र सीमित भर्ना लिने गरिएको छ ।

यहाँको अर्को विशेषता यस विद्यालयका शिक्षकले आफ्ना सन्तानलाई यहीं पढाउनुपर्छ । २०७१ सालदेखि नै यो नीति लागू गरिएको व्यवस्थापन समिति अध्यक्ष ढुंगानाको भनाइ छ ।

यो विद्यालयबाट २०८१ सालमा १७६ जना विद्यार्थीले एसईई परीक्षा दिएका छन् । अघिल्लो वर्ष १३१ जनाले एसईई दिएकोमा १२८ जना पास भएको प्रधानाध्यापक महतोले जानकारी दिए ।

विद्यालयमा २०६८ मा कक्षा ५ सम्म अंग्रेजी माध्यमबाट पढाइ शुरू भयो । २०७४ सम्म कक्षा १० सम्मै अंग्रेजीमा पढाइ हुन थाल्यो । अहिले कक्षा १२ सम्म नै अंग्रेजी माध्यममा पढाइ हुने गरेको छ ।

कक्षा ७ सम्म निःशुल्क पठनपाठन हुन्छ । कक्षा ८ देखि डिप्लोमासम्म सशुल्क हुन्छ । शुल्क सबैको लागि अनिवार्य भने छैन । स्थानीय विद्यार्थी, दलित, विपन्न, जेहेनदार, अशक्त अपाङ्गताका लागि कक्षा १२ सम्मै निःशुल्क रहेको व्यवस्थापन समिति अध्यक्ष ढुंगानाको भनाइ छ ।

शुल्कबाट विद्यालयको जनशक्ति तथा अन्य व्यवस्थापनमा खर्च गर्ने गरिन्छ । प्रधानाध्यापक महतोका अनुसार विद्यालयमा अहिले ७८ जना शिक्षक–शिक्षिका छन् । जसमा स्थायी दरबन्दीका मात्र ११ जना छन् । अन्य सबै सामुदायिक स्रोतमा छन् । ‘कक्षा ८ देखि डिप्लोमासम्मका विद्यार्थीले तिर्ने शुल्कबाट मासिक १७ लाख सामुदायिक स्रोतका शिक्षकहरूको तलबमा खर्च गरिन्छ’, प्रअ महतोले सुनाए । यसरी रकम तिरेर पनि अभिभावकहरू विद्यार्थी भर्ना गराउन तँछाडमछाड गर्छन् ।

‘सरकारले बेवास्ता गर्छ । विना जनशक्ति स्तरीय शिक्षा कसरी दिने ? स्थानीय विद्यार्थीलाई त शुल्क लिनै मिल्दैन । नजिकको सामुदायिक विद्यालयमा पढ्ने उसको अधिकार हो’ व्यवस्थापन समितिका अध्यक्ष ढुंगाना भन्छन्, ‘तर आफ्नै घर नजिकका विद्यालय छाडेर यहाँ पढ्न आउने त थोरबहुत शुल्क तिर्ने हैसियतकै हुन्छन् । तिर्न तयार हुन्छन् ।’ उनका अनुसार विद्यार्थीबाट यसरी लिने मासिक अधिकतम शुल्क १ हजार रुपैयाँ हो ।

२०६९ सालदेखि यहाँ प्राविधिक तथा व्यावसायिक शिक्षाका कार्यक्रम अन्तर्गत पशु विज्ञान कक्षा ९ देखि १२ सम्म पढाइ भइरहेको छ । क्रमशः २०७१ मा मेडिकल साइन्स डिप्लोमा र २०७२ मा प्लान्ट साइन्स कार्यक्रमको अध्ययन–अध्यापन भइरहेको छ ।

कमजोर विद्यार्थीलाई तीन महिना अतिरिक्त कक्षाको व्यवस्था छ । त्यस्ता विद्यार्थीको पहिचान गरी अतिरिक्त कक्षा दिने गरिएको व्यवस्थापन समिति अध्यक्ष ढुंगानाको भनाइ छ ।

प्रधानाध्यापक महतोका अनुसार यस विद्यालयमा पढ्ने करिब ७० प्रतिशत विद्यार्थी बाहिरका छन् । अधिकांश विद्यार्थी बस्तीमै कोठा भाडामा लिएर बसी पढ्ने गरेका छन् ।

यो विद्यालयको संरक्षकमा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेल छन् । उनको यसमा ठूलो योगदान रहेको व्यवस्थापन समिति अध्यक्ष ढुंगानाको भनाइ छ ।

विद्यालयमा ठूल्ठूला चारवटा भवन छन् । सबै कक्षाकोठाको गेटमा बोर्ड राखिएको छ । जसमा दैनिक विद्यार्थीको उपस्थिति र अनुपस्थिति लेखिन्छ ।

प्रांगण फलफूल बगैंचाले आकर्षक छ । कक्षाकोठा बाहिर भित्तामा विभिन्न खालका सन्देश दिने नारा लेखिएको छ भने बालबालिकालाई आकर्षित गर्ने चित्र कोरिएको छ । बीचमा स्वर्ण स्तम्भ छ । त्यसमा चारैतिरबाट विद्यालयमा विशेष योगदान दिनेको नाम लेखिएको छ ।

यस विद्यालयमा दृष्टिविहीनको लागि पनि पढाइ हुने गरेको छ । अभिभावक संघका सदस्य हर्कबहादुर भुजेल सबैको चासो, चिन्ताले यो विद्यालय उदाहरणीय बनेको बताउँछन् । ‘आज यो अवस्थामा आउनुमा समुदायको ठूलो सहयोग छ’, उनले विद्यालयको संरचना देखाउँदै सुनाए ।

प्रभावकारी पठनपाठनका लागि समूहको नियमित संवाद र निगरानी

जनता मावि यत्तिकै नमूना बनेको होइन । यसको सफलताको मूल कारण हो– शिक्षक, विद्यालय व्यवस्थापन समिति, अभिभावक संघ र आमा समूहबीचको निरन्तर संवाद, समन्वय, सहकार्य र निगरानी । यी चारै पक्षबीच नियमित छलफल, पठनपाठनको मूल्यांकन, समस्या पहिचान र समाधान गर्ने अभ्यास हुँदै आएको छ ।

अभिभावक संघकी अध्यक्ष सविता घिमिरेका अनुसार यी विविध पक्षले पढाइको गुणस्तर मूल्यांकन, नयाँ भर्नाबारे छलफल, शुल्क निर्धारण, शिक्षकहरूको विवरण संकलन, अभिभावक भेला आयोजना, विद्यार्थीलाई प्रभावकारी ढंगले पढाउने विधि खोजी तथा सामाजिक परीक्षणको जिम्मेवारी लिएको छ । ‘शिक्षक, व्यवस्थापन समिति, अभिभावक संघ र आमा समूहबीच नियमित छलफल, संवाद र निगरानी हुन्छ’ घिमिरे भन्छिन्, ‘समस्या देखिनासाथ समाधान गरिन्छ ।’

स्थानीय माधव कोइरालाका अनुसार विद्यालयको परिवर्तनमा समुदाय, अभिभावकको चासो, निरन्तर निगरानी र संलग्नता प्रमुख कारण हुन् । यस अभियानमा व्यवस्थापन समितिका अध्यक्ष राजन ढुंगानाको नेतृत्वदायी भूमिका विशेष रहेको उनको भनाइ छ । ‘यो राज्यले होइन, समुदायले बनाएको नमूना हो’, कोइराला दाबी गर्छन् । यो विद्यालय २०६७ सम्म त छाप्रोमै थियो ।

अध्यक्ष ढुंगाना स्वयं पनि विद्यालय सफलतामा सबै पक्षबीचको सशक्त समन्वय र सहकार्यको महत्वपूर्ण भूमिका रहेको बताउँछन् । विद्यालयलाई समय, श्रम, चन्दा र सेवाको रूपमा अभिभावकहरूले निरन्तर सहयोग गर्दै आएका छन् । ‘देशकै नमूना विद्यालय बनाउने लक्ष्य सहित हामी अघि बढिरहेका छौं’ उनी भन्छन्, ‘यस अभियानमा शिक्षक, व्यवस्थापन समिति, अभिभावक संघ र सम्पूर्ण समुदायको निरन्तर समर्थन छ ।’

आमाहरूले पकाउँछन्, पोषिलो दिवाखाजा

विद्यालयमा बालबालिकालाई दिइने दिवाखाजा स्वयं आमाहरूले पकाउने परम्परा छ । विद्यालयमा बाहिरबाट ल्याइने जंकफुड वा स्वास्थ्यमा असर पार्ने खाद्य सामग्री दिइँदैन । घरमा आफ्ना बच्चालाई खुवाइने जस्तै पोषिलो र स्वच्छ खाजा विद्यालयमै आमाहरूले पकाएर खुवाउँछन् ।

विद्यालयमा अध्ययनरत बालबालिकाका आमाहरूलाई समेटेर गठन गरिएको आमा समूहले हरेक दिन फरक–फरक परिकार तयार पार्ने गर्छन् । कुनै दिन फलफूल, कुनै दिन गेडागुडी, चनाभुजा, दही–च्युरा, घिउ–जाउलो जस्ता पोषणयुक्त परिकार तयार पारिन्छन् । खाजा पकाउने, खुवाउने र भाँडा माझ्ने सम्पूर्ण काम आमा समूहकै जिम्मेवारीमा हुन्छ । दैनिक रूपमा ७–८ जनाको समूह खटिन्छ ।

आमा समूहकी सदस्य सीता केसीका अनुसार, आमाले आफ्नै बालबालिकाका लागि पकाउने भएकाले खाजा सफा, गुणस्तरीय र पोषिलो हुन्छ । ‘आफ्नै आमाले पकाएको खाजा भन्दा पोषिलो र भरपर्दो अरू के हुन सक्छ र ? हामी पालैपालो खटिन्छौं, ५–६ महिनामा मात्र पालो आउँछ । त्यसैले हरेक दिन जानुपर्दैन तर खाजा भने सधैं गुणस्तरीय हुन्छ’, उनी भन्छिन् ।

विद्यालयले टोलटोलमा गरी १८ वटा आमा समूह गठन गरेको छ । प्रत्येक समूहमा २०–३० जना आमाहरू सदस्य छन् । ती समूहहरू फेरि ७–८ जनाको साना समूहमा विभाजन गरिएका छन् । जसले पालो अनुसार खाजा पकाउने गर्छन् । खाजा समितिले नियमित अनुगमन गर्छ । विद्यालयले त्यसका लागि छुट्टै समिति बनाएको छ ।

बालविकासदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई सरकारले निःशुल्क दिवाखाजाको व्यवस्था गरेको छ ।

देशकै सामुदायिक नमूना बनाउन १० वर्षे गुरुयोजना

विद्यालयलाई देशकै समुदायको नमूना बनाउन २०७९ मा शिक्षा सम्मेलन गरेर १० वर्षे रणनीतिक गुरुयोजना बनाइएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ढुंगानाका अनुसार २०७९ मा विद्यालय स्तरमै गुरुयोजना बनाउन देशमै पहिलो पटक शिक्षा सम्मेलन आयोजना गरिएको थियो । सम्मेलनमा अभिभावक, आमा समूहका प्रतिनिधि, शिक्षक संघ, व्यवस्थापन समिति लगायतको सहभागितामा दुई दिनसम्म छलफल भई ४० बुँदे रणनीतिक योजना घोषणा गरिएको थियो ।

अध्यक्ष ढुंगानाका अनुसार योजना अनुसार, प्रारम्भिक तीन वर्ष पूर्ण रूपमा शैक्षिक गुणस्तरमा केन्द्रित हुनेछ । त्यसपछि विद्यार्थीहरूलाई उत्पादनमुखी कार्यमा जोड्नेछ भने भौतिक पूर्वाधारको समेत व्यवस्थापन गर्दै जाने लक्ष्य छ । अन्तिम चरणमा यो विद्यालय देशको नमूना र समग्रमा उत्कृष्ट बन्ने लक्ष्य सहित अघि बढाइएको छ ।

‘हाम्रो गुरुयोजनाको उद्देश्य सामुदायिक पहल मार्फत देशकै नमूना विद्यालय बनाउनु हो । सरकारले प्रत्येक क्षेत्रमा एक सामुदायिक विद्यालयलाई नमूना घोषणा गर्‍यो । हामीले पनि पहल गर्‍यौं’ ढुंगाना भन्छन्, ‘तर राज्यले हाम्रो विद्यालयलाई नमूना मानेन । त्यसैले हामी राज्यको घोषणाप्रति होइन, समुदायको समर्पण र सहकार्यमा आधारित नमूना विद्यालय निर्माणको अभियानमा अघि बढिरहेका छौं ।’

पढेर निस्किएपछि हातमा सीप होस्

विद्यालयको १० वर्षे रणनीतिक योजनामा अब विद्यालयबाट उत्तीर्ण हुने प्रत्येक विद्यार्थीले कुनै न कुनै सीप सहित अगाडि बढ्न सकून् भन्ने उद्देश्य लिइएको छ ।

‘कमाउ र पढ’ कार्यक्रम अन्तर्गत प्राविधिक शिक्षा अध्ययनरत विद्यार्थीका लागि बंगुर, कुखुरा तथा माछापालन जस्ता फार्महरू विद्यालयले स्थापना गरेको छ । प्राविधिक विषय पढ्नेहरू त्यसमै प्रयोगात्मक अभ्यास गर्छन् ।

‘प्राविधिक विषय पढ्ने विद्यार्थीको प्रयोगात्मक अभ्यासका लागि विद्यालयको जग्गामा आफ्नै फार्महरू खोलिएको छ । त्यसमा उनीहरू अभ्यास गर्छन्’ अध्यक्ष ढुंगाना भन्छन्, ‘होटल म्यानेजमेन्ट कार्यक्रम पनि सञ्चालनमा ल्याइएको छ । विद्यार्थीलाई श्रमसँग जोडिने, पकाउने तथा भोजन व्यवस्थापनमा सीप प्रदान गरिन्छ’, अध्यक्ष ढुंगानाको भनाइ छ ।

एसईई परीक्षा उत्तीर्ण गरेपछि विद्यार्थीले आफूले चाहेको विषय अध्ययन गर्न पाउन् भन्ने उद्देश्यले ‘सम्पूर्णतामा एक विद्यालय’ को अवधारणा अघि सारिएको छ, जसका लागि ठूलो पूर्वाधारमा लगानी आवश्यक हुन्छ ।

घोकन्ते सिकाइ पद्धति विरुद्ध विद्यालय

हालको शिक्षण सिकाइ पद्धति परम्परागत घोकन्ते प्रणालीमा आधारित भएकाले त्यसबाट गुणस्तर वृद्धि सम्भव छैन भन्ने विद्यालयको ठहर छ । त्यसैले शिक्षकहरूलाई हरेक ६–६ महिनामा सृजनात्मक र आलोचनात्मक शिक्षण विधिमा आधारित तालिम दिइरहेको व्यवस्थापन समिति अध्यक्ष ढुंगानाको भनाइ छ ।

जसका लागि विद्यालयमा शैक्षिक अभियन्ता समाजशास्त्री विमल गौतम फुँयाल र पुनम कुइँकेल जस्ता विज्ञहरूलाई राखिएको छ ।

शिक्षामा समानता सुनिश्चित गर्नुपर्छ भन्ने सोचका साथ समुदायको प्रयासबाट जनता मावि गुणस्तरीय र उदाहरणीय विद्यालय बन्न सफल छ । शिक्षामा सबै वर्गका बालबालिकाले समान अवसर पाउनुपर्छ भन्ने उद्देश्य लिई, हुनेखाने मात्र होइन; गरीब, विपन्न, दलित तथा सर्वहारा वर्गका बालबालिकाका लागि पनि विद्यालय यहाँसम्म आएको व्यवस्थापन समिति अध्यक्ष ढुंगाना बताउँछन् ।

यसरी बदलियो जनता मावि

शिक्षामा सबै वर्गका बालबालिकालाई समान अवसर सुनिश्चित गर्नुपर्ने सोचका साथ २०६८ सालदेखि रूपान्तरणको अभियान थालियो । स्थानीय माओवादी नेता राजन ढुंगाना विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भएपछि उनले समाजसँग विद्यालयलाई जोडेर रूपान्तरणको अभियान सुरुवात गरेका थिए ।

‘हामीले यो विद्यालय हुनेखाने मात्रका लागि होइन; गरीब, विपन्न, दलित तथा सर्वहारा वर्गका बालबालिकाका लागि पनि खुला बनाएका छौं’, उनले भने ।

उनी आउँदा विद्यालयले २०७९ सालमा पहिलो पटक एसएलसी परीक्षामा विद्यार्थी सहभागी गराउँदै थियो । विद्यालयको समग्र रूपान्तरणका लागि अभिभावक र समुदायसँग साझेदारीको दृष्टिकोण अपनाए । विशेषगरी दलित र विपन्न समुदायका बालबालिका विद्यालय आउन नछोडून् भन्ने हेतुले उनले विविध सामाजिक अभियानहरू शुरू गरे ।

ढुंगानाले टोलटोलमा ‘अभिभावक कक्षा’ सञ्चालन गर्दै त्यसलाई ‘आमा समूह’ र ‘अभिभावक समूह’मा विस्तार गरे । उनका अनुसार प्रारम्भमा ६ वटा आमा समूह गठन गरिएको थियो । विद्यालयले १० वर्षभित्र बोर्डिङ स्कूलहरूको जस्तो स्तरीय शिक्षा दिने लक्ष्य लिएको थियो । त्यही अनुसार २०६८ सालदेखि अंग्रेजी माध्यमको पढाइ कक्षा ५ सम्म शुरू भयो । हरेक वर्ष बढाउँदै २०७४ सालसम्म कक्षा १० सम्म विस्तार गरियो । यसले अभिभावकहरूमा विद्यालयप्रतिको विश्वास बढायो । ‘हामीले १० वर्षमा पुर्‍याउने लक्ष्य ८ वर्षमै पूरा गर्‍यौं । यो समुदायको सहभागिता र विश्वासकै कारण सम्भव भयो’, ढुंगाना भन्छन् ।

विद्यालय रूपान्तरणको सोच भने माओवादी केन्द्रको सामूहिक बसोबास स्थल ‘आधारशिला संस्था’ सँग गाँसिएको थियो । आधारशिला २०५९ सालमा विद्यालय छेउमै स्थापना गरिएको थियो । त्यहाँ बस्ने माओवादी नेताहरूले शिक्षा प्रणालीमै परिवर्तन आवश्यक ठाने । उनीहरूले बाहिरका विद्यालयहरूमा प्रयोग गर्न खोजे पनि सफल नभएपछि छेउको विद्यालयलाई नै रूपान्तरणको थलो बनाएर अघि बढे ।

यस अभियानमा माओवादी केन्द्रका नेता तथा शिक्षा मन्त्री समेत भइसकेका गिरिराजमणि पोखरेलको ठूलो भूमिका रहेको व्यवस्थापन समिति अध्यक्ष ढुंगानाको भनाइ छ । महोत्तरी क्षेत्र नम्बर १ बाट २०७४ सम्म तीन पटक लगातार चुनाव जितेका पोखरेलले विद्यालयको संरक्षकका रूपमा निरन्तर साथ दिंदै आएका छन् । उनी पटक–पटक शिक्षा र स्वास्थ्यमन्त्री भएका थिए ।

राजन ढुंगाना २०७४ मा बर्दिबास नगरपालिका वडा नं. ३ को वडाध्यक्षमा निर्वाचित भए । त्यसपछि उनी व्यवस्थापन समितिको पदेन सदस्य बने । २०७९ सालदेखि पुनः व्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारी सम्हालिरहेका छन् उनी । ‘विद्यालयको यो यात्रामा समुदाय, शिक्षक र अभिभावकहरूको सहयोग अत्यन्तै महत्वपूर्ण रह्यो’, उनी भन्छन् ।

लेखक
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?