+
+
Shares
हुम्ला फलोअप-३ :

तिल गाउँबाट वडाध्यक्ष भन्छन् : पहिरोको विपत्ति थामिनसक्नु छ, यहाँ कोही छैनन्, केही छैन

पहिरो गएको ठाउँ हेर्दै अचम्मको रहेछ । म वारिपट्टि रहेकाले गर्दा गाउँ पुग्न पनि निकै गाह्रो थियो । तल एक ठाउँबाट बाटो पार गर्न सकिन्छ जस्तो देखियो । त्यसपछि म त्यो बाटो हुँदै गाउँतर्फ लागें । हेर्दाखेरि ठूलो क्षतिजस्तो नदेखिए पनि बस्ती नै जोखिमतर्फ गइसकेको रहेछ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ४ गते १९:४८
नाम्खा–६ का वडाध्यक्ष पाल्जोर तामाङ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हुम्लाको नाम्खा गाउँपालिका–६ तिलगाउँमा १ जेठको राति पहिरोले १८ घरधुरीलाई जोखिममा पार्यो।
  • वडाध्यक्ष पाल्जोर लामाले घटनाबारे बिहान जानकारी पाएपछि घटनास्थल पुगे र क्षतिका विवरण दिए।
  • प्रहरी र सशस्त्र बलले क्षतिग्रस्त क्षेत्रको निरीक्षण गरी रिपोर्ट संकलन गरे।

हुम्लाको नाम्खा गाउँपालिका–६ तिलगाउँका बासिन्दा १ जेठको राति सुतिसकेका थिए । तर अचनाक करिब ११ बजेतिर खहरेखोला गड्गडाएजस्तो ठूलो आवाज आयो । अहिले १८ घरधुरी बस्दै आएको तिलगाउँका केही स्थानीय ब्युझिए ।

कुनै पानी परेको थिएन, आकाश पनि सफा थियो । तर गाउँ नजिकै लदोसहितको पहिरोले आइपुगेको थियो । त्यसपछि गाउँभरी हल्लाखल्ला भयो । सबैजसो मान्छे राति नै ब्युँझिए ।

१ जेठको घटनाबारे भने २ जेठको बिहानसम्म नाम्खा–६ का वडाध्यक्ष पाल्जोर लामा भने बेखबर थिए । जब सडकमा काम गर्ने व्यक्तिले घटनाबारे सुनाएपछि मात्रै उनले थाहा पाए । उनको गाउँबाट तिलगाउँ पुग्न करिब २ घण्टाजति मात्रै लाग्यो । खबर सुन्ने बित्तिकै आफू तिलगाउँतर्फ लागेको बताए । तिलगाउँ पुगेर घटनाबारे अवलोकन गरेका वडाध्यक्षले त्यहाँको अवस्थाबारे अनलाइनखबरलाई यसरी सुनाए ।

तिलगाउँमा रातिको समयमा पहिरो आएछ । मैले बिहान मात्रै थाहा पाएँ । म बिहान ६ बजेतिर उठ्दा रोडमा काम गर्ने साथीहरुले घटनाबारे जानकारी दिए । पहिरो गएछ के गर्ने भने । त्यसपछि म तिलगाउँतर्फ लागेँ । तलबाट जाने बाटो नभएपछि लेक काटेर गएँ । बिहान ९ बजेतिर पुगे ।

पहिरो गएको ठाउँ हेर्दै अचम्मको रहेछ । म वारिपट्टि रहेकाले गर्दा गाउँ पुग्न पनि निकै गाह्रो थियो । तल एक ठाउँबाट बाटो पार गर्न सकिन्छ जस्तो देखियो । त्यसपछि म त्यो बाटो हुँदै गाउँतर्फ लागें । हेर्दाखेरि ठूलो क्षतिजस्तो नदेखिए पनि बस्ती नै जोखिमतर्फ गइसकेको रहेछ ।

२ वटा घर पहिरोमा पर्न २/३ मिटरको दूरी बाँकी थियो । के भएको होला यस्तो भनेर सबै जना अचम्मा परे । न त पानी परेको छ, न त अरु केही समस्या । तर एकाएक लेदो सहितको पहिरो आएको अवस्थाले हामीलाई चकित बनायो ।

अहिलेसम्म त्यहाँ ताल छ भन्ने थाहै थिएन । त्यहाँ मान्छे नै पुगेका थिएनन्

त्यहाँ १८ घरधुरी बस्नछन् । निकै जोखिमपूर्ण अवस्था देखेपछि मैले जिल्ला, पालिका कार्यालयमा खबर गरेँ । यो वडामा प्रहरी पनि छैन । विपत्ति थामी नसक्नु छ । सहायता वा उद्धारका लागि पहल गर्नेमा म बिना कोही छैन, केही छैन । अवस्था यस्तो थियो । सबै जना के गर्ने भनेर छक्क मात्रै परेका थिए ।

त्यसपछि मैले फोटो, भिडिओ खिचेर पठाउँदै जिल्ला र पालिकामा खबर गरेँ । जिल्लामा खबर गरेपछि हिल्साबाट सशस्त्र र प्रहरी आए । उनीहरु पनि साढे १० बजेतिर आइपुगे ।

हिजो प्रहरी पुगेपछि तिलगाउँमा पानी पर्‍यो। प्रहरीले के के क्षति भएछ टिप्न थाले । रिपोर्ट–रिपोर्ट भन्दै उनीहरु आजै फर्किए ।

पानी पनि नपरी यस्तो कसरी भयो हेर्न जानुपर्छ भन्ने मलाई लाग्यो । ५ जना अनुभवी स्थानीयलाई आज माथि पठाएँ । माथि २ वटा ताल रहेछ । अहिलेसम्म त्यहाँ ताल छ भन्ने थाहै थिएन । त्यहाँ मान्छे नै पुगेका थिएनन् ।

५ हजार ३ सय मिटर उचाईमा ताल रहेछ । त्यो ताल माथि पानी जमेर आइस नै भएको छ । त्यसैको मुनिबाट दुईटै ताल फुटेर बगेको रहेछ । अहिले पनि मान्छेहरु जोखिममा छन् । मान्छेहरुलाई चौरमा सारिएको छ । त्रिपाल टाँगेर बसेका छन् ।

अहिले तुरुन्तै भनेको त्यहाँ खानेपानीको समस्या छ । अर्को सिँचाईको पनि समस्या छ । कुलो सबै बगाएको छ । यसबारे रिपोर्ट पनि गरेको छु । तर अहिलेसम्म केही भएको छैन ।

(हुम्ला तिलगाउँका वडाध्यक्ष पाल्जोर लामाले पहिरोस्थलबाट अनलाइनखबरकर्मी नारायण अधिकारीसँग गरेको संवाद )

३२ जना त्रिपालमुनि बसेका छन्, ४ सय रोपनी खेलमा सिचाँई हुने कुलो बगायो

यता घटनास्थलमा पुगेको प्रहरी टोलीले पनि तिलगाउँ जोखिममा रहेको रिपोर्टिङ तालुक कार्यालयलाई गरेका छन् । उच्च जोखिममा परेपछि ३२ जनालाई खुल्ला चौरमा सारेर त्रिपाल टाँगेर राखिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले बताए । जसमा २१ महिला, ९ पुरुष र २ बालक छन् । यो गाउँमा ५० घरधुरी मध्ये १८ घरधुरी अहिले बसोबास गर्दै आएका थिए ।

घटनास्थलमा सशस्त्रको बीओपी हिल्साबाट वरिष्ठ हवल्दार लोकबहादुर बुढाको कमाण्डमा ७ जना र इलाका प्रहरी कार्यालयबाट प्रहरी हवल्दारको कमाण्ठमा ६ जना गरी १३ जनाको टोली खटिएको छ । अहिले उनीहरु क्षतिको विवरण संकलन गरेर फर्किसकेका छन् ।

लेदोसहितको पहिरोका कारण तिल्चुङ खोलामा रहेका ५ वटा काठे पुल बगाएको छ । सोनाम साङमु लामाको घरको छत पहिरोका कारण प्वाल परेको छ । छे बुटी लामाको घर चर्किएको छ । धर्मशालाको छत समेत भत्किएको छ ।

१५ किलोवाटको जलविद्युत् भवन, मेसिन, कुलोमा समेत क्षति पुगेको छ । करिब ४ सय रोपनीमा सिचाँई गर्ने कुलो र खानेपानी समेत बगाएको छ । यो घटनाबारे केन्द्र सरकार भने अहिलेसम्म बेखबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?