
News Summary
Generated by OK AI. Editorially reviewed.- त्रिभुवन विश्वविद्यालयमा नेविसंघका नेता र विद्यार्थीले तोडफोड गरेपछि पदाधिकारी कार्यालय प्रवेश गरेका छैनन्।
- तोडफोड र तालाबन्दी भएपछि त्रिविका पदाधिकारीले बाहिरैबाट काम गरिरहेका छन्।
- त्रिविका पदाधिकारीले तोडफोड गर्नेविरुद्ध जाहेरी दिएको भएपनि हालसम्म दोषी पक्राउ परेका छैनन्।
२३ जेठ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा नेविसंघका नेता तथा स्ववियु पदाधिकारीले तोडफोड र तालबान्दी गरेपछि पदाधिकारी कार्यालय प्रवेश गर्न पाएका छैनन् । त्रिवि अधिकारीहरूको अनुसार उपकुलपति, रेक्टर र रजिस्ट्रार कार्यालयबाट हुने कामकाज ठप्प भएको छ । ‘भीसी, रेक्टर र रजिस्ट्रार सर कार्यालयमा आउनु भएको छैन,’ त्रिविका एक अधिकारीले भने ।
ती कर्मचारीले भनेजस्तै त्रिविका तीन पदाधिकारी बिहीबार पुल्चोक क्याम्पसमा भेटिए । उनीहरू भेटिनु पर्ने थियो– कीर्तिपुरस्थित उपकुलपति, रेक्टर र रजिस्ट्रार कार्यालयमा । तर, पत्रकार सम्मेलन गर्न उपकुलपति प्रा.डा. खड्ग केसी, रेक्टर प्रा.डा दुविनन्द ढकाल र रजिस्ट्रार प्रा.डा. केदारप्रसाद रिजाल पुल्चोक पुगेका थिए । त्रिविमा प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापकको विज्ञापन आह्वान गरिएको विषयमा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो ।
उक्त कार्यक्रममा पत्रकारको प्रश्न थियो– पत्रकार सम्मेलन कीर्तिपुरमा नगरेर पुल्चोकमा किन ? जवाफ दिन पदाधिकारी खासै तयार भएनन् । ‘तपाईंहरूलाई थाहै छ यसबारे नबोलौं होला,’ उपकुलपति केसी र रजिस्ट्रार रिजालले भने, ‘पुल्चोक पनि त हाम्रै सम्पत्ति हो ।’
गत १४ जेठमा नेविसंघका नेता कार्यकर्ताले उपकुलपति केसीको कार्यकक्षमा तोडफोड र रेक्टर कार्यालयमा तालाबन्दी गरेपछि पदाधिकारी कार्यकक्षमा जान सकेका छैनन् । यसबारे त्रिविले छानबिन र अनुसन्धान गर्न राज्यलाई जिम्मा दिएको छ । ‘हामीले सबै कुरा राज्यलाई जिम्मा दिएका छौं,’ उपकुलपति केसीले भने ।
रजिस्ट्रार रिजालको कार्यकक्षमा भने जनप्रशासन क्याम्पसको प्रमुख नियुक्तिको विषयलाई लिएर विद्यार्थीले ताला लगाएका छन् । तोडफोड र तालाबन्दी भएपछि त्रिविका पदाधिकारीले बाहिरैबाट काम गरिरहेका छन् ।
‘कहिले पुल्चोक, कहिले परीक्षा नियन्त्रण कार्यालयमा बसेर काम गरिरहनु भएको छ । आफ्नो कार्यकक्षमा बस्ने स्थिति छैन । दैनिक प्रशासिनक काम पनि रोक्न मिलेन,’ रजिस्ट्रार कार्यालयका एक कर्मचारीले भने, ‘कतै ताला, कतै तोडफोड भएको छ ।’
स्नातक तहको भर्ना खुलाउन माग राखेर नेविसंघबाट निर्वाचित भएका काठमाडौंका विभिन्न क्याम्पसका स्ववियु पदाधिकारीसहितको टोलीले १४ जेठमा त्रिविमा तोडफोड गरेको थियो । त्रिविका पदाधिकारीहरूलाई विद्यार्थीले ज्यान मार्नेसम्मको धम्की दिएका छन् । त्यसैले बिहीबार पत्रकार सम्मेलन स्थल बाहिर प्रहरी समेत परिचालन गरिएको थियो । ‘दलका विद्यार्थीसँग डराए प्रहरी बोलाइएको हो,’ त्रिविका एक कर्मचारीले भने ।
तोडफोडपछि त्रिविले दोषीलाई कारबाही गर्न प्रहरी वृत्त कीर्तिपुरमा जाहेरी दिएको छ । त्रिविले २१ जेठमा प्रहरी वृत्तमा जाहेरी दिएको हो । सीसीटीभी फुटेजको आधारमा दोषी पहिचान गरी कारबाही गर्न त्रिविले जाहेरीमा भनेको छ ।
तर हालसम्म तोडफोडमा संलग्नहरू पक्राउ परेका छैनन् । सार्वजनिक सम्पत्ति तोडफोड गर्नुलाई कानुनले समेत अपराध भनेको छ । मुलुकी अपराध संहितामा सार्वजनिक सम्पत्ति तोडफोड गर्नेलाई १ वर्षसम्मको कैद र १० हजार जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पनि तोडफोडमा संलग्नलाई कारबाही गर्न गृह प्रशासनलाई भनेको छ । त्रिविका अनुसार शंकरदेवका मदनराज उपाध्याय, भुवन ओझा, गजेन्द्र बम, भोजराज जोशी, लोकेश कुँवर, सविन भट्ट, सोनु साह, किशोर थापा छन् ।
पब्लिक युथ क्याम्पसका सन्तोष श्रेष्ठ, सरस्वती क्याम्पसका मुस्कानराज गौतम, भक्तपुर क्याम्पसका पुकार पराजुली, कैलाशकुट बहुमुखी क्याम्पसका मुरारी गौतम, काभ्रे बहुमुखी क्याम्पसका रोहित पराजुली, राजेश तिमिल्सिना लगायतको संलग्न रहेको त्रिविले जनएको छ । तोडफोडमा गृह मन्त्री रमेश लेखक निकटका विद्यार्थी नेताहरू सहभागी रहेको नेविसंघकै नेताहरूले बताउँदै आएका छन् ।
प्रतिक्रिया 4