
News Summary
Generated by OK AI. Editorially reviewed.- मन्नत शाहरुख खानको ६ तले बंगला हो, जुन २७ हजार वर्ग फिटमा फैलिएको छ।
- यस बंगला पूर्वमा राजा विजय सेनको ‘विला विएना’ र पछिका मालिकहरूले परिवर्तन गरेका थिए।
- शाहरुख खानले सन् २००१ मा यसलाई किनेर ‘मन्नत’ नाम दिए र यसको भव्यता बढाए।
हिन्दी सिने उद्योगमा कलाकारहरूको चर्चा त हुने नै भयो । त्यससँगै उनीहरू बस्ने आवासको बारेमा पनि व्यापक कुराकानी हुने गर्छ । यस उद्योगमा लामै समयदेखि एउटा बंगलाको सदैव चर्चा हुने गर्छ – मन्नत।
कुल २७ हजार वर्ग फिटमा फैलिएको ६ तले यो बंगला सुपरस्टार शाहरुख खानको वासस्थान हो । धेरैले मन्नतलाई भारतको प्रसिद्ध ठाउँहरूमध्येको एक मान्ने गरेका छन् ।
सोही मन्नतको छतमा उभिएर शाहरुख खान अक्सर हजारौं प्रशंसकहरूको भीडलाई अभिवादन गरिरहका हुन्छन् । तर मुम्बई बान्द्राको ल्यान्ड्सएन्डमा अवस्थित यस बंगलाको कथा भने शाहरुख खानभन्दा धेरै अघि देखिको छ ।
के छ कथा ?
करिब डेढ सय वर्षअघि बम्बई (उसबेलाको नाम)को ब्यान्डस्ट्यान्डमा समुद्रको नजिकै मण्डीका सोह्रौं राजा विजय सेनले आफ्नी पत्नीका लागि एक शानदार बंगला बनाएका थिए । यस बंगलाको नाम ‘विला विएना’ राखिएको थियो । जुन त्यो समयकै सबैभन्दा सुन्दर बंगलाहरूमध्ये एक थियो ।
राजा विजय सेनको निधनपछि सो बंगला बम्बईका धनी पारसी व्यापारी मानेकजी बाटलीवालाले किने । केही वर्षपछि मानेकजी बाटलीवालाको परिवारले विला विएनाको ठ्याक्कै छेउमा खाली जग्गा किने र त्यसमा अर्को बंगला बनाए । त्यस नयाँ बंगलाको नाम किकी मञ्जिल थियो, जुन उनका नाति किकू गान्धीको नाममा थियो ।
तपाईं सोध्नुहोला किकू गान्धी को थिए ? बम्बाईको कला जगत वा कला संस्कृतिमा रुचि राख्नेहरूका लागि किकू गान्धी एउटा ठूलो नाम हुन् ।
किकूले सुरुमा चित्रका लागि चाहिने फ्रेम बनाउने सफल कम्पनी खडा गरेका थिए । तर पछिका वर्षहरूमा भने बम्बई आर्ट सोसाइटी, जहाँगीर आर्ट ग्यालरी, नेसनल ग्यालरी अफ मोडर्न आर्ट र यहाँसम्म कि ललितकला परिषद् स्थापना गर्नमा पनि महत्त्वपूर्ण योगदान दिए ।
जे होस्, त्यस समयमा जुम्ल्याहा बंगलाहरू, किकी मञ्जिल र विला विएना बम्बईका दुई महत्त्वपूर्ण ठेगाना थिए । यीमध्ये वर्षौंपछि विला विएना उनकी बहिनीको भागमा आयो । त्यसपछि सो बंगलाका मालिकहरू परिवर्तन हुँदै गए । र, सोही क्रममा अन्ततः राजा विजय सेनले बनाएको विला विएना यस युगका सुपरस्टार शाहरुख खानको सपनाको घर बन्न पुग्यो ।
यद्यपि सो बंगला शाहरुख खानको घर बन्नुअघि धेरै ठूला स्टारहरूको घर पनि बनिसकेको थियो । यहाँसम्म कि त्यस बंगलालाई छायांकनका लागि भाडामा दिने पनि गरिन्थ्यो । सो बंगला धेरै विज्ञापन, टिभी सिरियल र चलचित्रहरूमा देखिएको पनि छ ।
‘मन्नत’मा अन्य सुपरस्टार
चलचित्र अनाड़ी (१९५९) मा राज कपूर ‘किसी की मुस्कुराहटों पे हो निसार’ गीतमा अभियन गरिरहेका हुन्छन् । सो गीतको सुरुमै पृष्ठभूमिमा विला विएना देखिन्छ ।
चलचित्र सफर (१९७०) मा यही बंगला अभिनेता फिरोज खानको बंगला बन्छ । चलचित्र राजारानी (१९७३)मा राजेश खन्ना एउटा चोरको भूमिकामा छन् । उनी एक रात चोरी गर्न शानदार बंगलाभित्र पस्छन्, त्यो बंगला विला विएना नै हो ।
‘तेजाब’ (१९८९) मा यो माधुरी दीक्षितको बंगला बन्छ, जसलाई मनाउन अनिल कपूर आफ्ना साथीहरूसँग ‘एक दो तीन’ गीतमा यस बंगलाको बगैंचामा नाच्छन्।
आमिर खानको राख (१९८९), निर्देशक शशिलाल नायरको अंगार (१९९२)मा पनि यस बंगला देखिएको छ ।
संयोग यस्तो छ कि, चलचित्र यस बोस (१९९७) को एउटा गीत ‘बस इतना सा ख्वाब है’ गीतमा शाहरुख सपनाको कुरा गरिरहेका छन् । पृष्ठभूमिमा यही बंगला देखिन्छ ।
त्यसै चलचित्रको छायांकनका दौरान नै यो बंगला शाहरुखको नजरमा आएको थियो । समुद्रको सामुन्नेको त्यो विशाल घर उनलाई एक सपना जस्तै लागेको थियो ।
तर चलचित्रको माध्यममार्फत उनीभन्दा पहिले नै भारतका केही सुपरस्टारहरू मन्नतमा पसिसकेका थिए ।
घर भए/नभएको समय
सन् १९९१ ताका बम्बई आएका शाहरुख खानको सुरुका वर्षहरूमा आफ्नै घर थिएन । उनी कहिले निर्माता विवेक वासवानीको घरमा बसे त कहिले निर्देशक अजीज मिर्जाको घरमा ।
काम गर्दै गएपछि विस्तारै उनलाई सफलता मिल्न थाल्यो । फिल्म स्टार बनेपछि सन् १९९५ मा उनले कार्टर रोडमा श्री अमृत अपार्टमेन्ट्सको सातौं तलामा एउटा फ्ल्याट किने । त्यो नै मुम्बईमा उनको पहिलो घर थियो । तर बढ्दो स्टारडमका कारण उनलाई ठूलो घरको चाहना पनि बढिरहेको थियो ।
त्यसको केही वर्षपछि सन् २००१ मा उनको सपनाको घरको चाह पनि पूरा भयो । समुद्र नजिकको शानदार विला विएनालाई एक नयाँ मालिक मिल्यो ।
त्यस बंगला खरिद गरेपछि सुरुमा शाहरुखले ‘जन्नत’ नाम राखेका थिए । केही समयपछि यसलाई परिवर्तन गरेर ‘मन्नत’ गरिदिए ।
बंगलामा लगानी
शाहरुख खानका अनुसार जसोतसो बंगला किन्न सफल भए पनि उनीहरूले त्यसमा सजावटका लागि धेरै खर्च गर्नु परेको थियो । किनकि बंगला भत्किएका कारण पुन: काम गर्नु परेको थियो ।
एकफेर त्यसलाई सजाउन उनीहरूसँग पैसा नै बाँकी नहुने अवस्था पनि आएको थियो । किनकि डिजाइनरले जति पैसा मागिरहेका थिए, त्यो पैसा उनले महिनाभरमा मात्र कमाउथे ।
त्यसपछि घरको डिजाइनर उनीहरू आफैं बन्न लागे । र, जति कमाउँदै गए, त्यति नै घरका लागि सानातिना चीजहरू किन्दै पनि गए ।
र कालन्तारमा शाहरुखले बंगलाको सुन्दरतालाई कायापलट नै गरिदिए । भनिन्छ, मन्नतमा जान पाएकाहरूले यसको भव्यता कहिल्यै बिर्सन सक्दैनन् ।
हाल यस ऐतिहासिक बंगलामा पन्ध्र बेडरूम, जिम, स्विमिङ पुल, बक्सिङ रिङ, लाइब्रेरी र शाहरुख खानको कार्यालय रहेको छ ।
बिबिसीबाट
प्रतिक्रिया 4