News Summary
Generated by OK AI. Editorially reviewed.- महिनावारी रोकिनु गर्भावस्थाको पहिलो संकेत हुनसक्छ, तर अन्य लक्षणहरू पनि देखिन सक्छन्।
- गर्भावस्थाको पुष्टि गर्न परीक्षण जस्तै युरिन प्रेग्नेन्सी टेस्ट, रगत परीक्षण र अल्ट्रासाउन्ड आवश्यक हुन्छ।
- असामान्य लक्षणहरू देखिएमा चिकित्सकसँग परामर्श गर्न र आवश्यक परीक्षण गर्न सुझाव दिइन्छ।
दम्पतीबीच नियमित शारीरिक सम्बन्ध भइरहेका बेला जब श्रीमतीको महिनावारी समयमा नभएर रोकिन्छ, त्यो गर्भावस्थाको पहिलो सूचक हुनसक्छ । यो सूचकले सन्तानको आकांक्षा राखिरहेका दम्पतीको मनमा नयाँ आशा र उत्साह जगाउँछ ।
तर, केवल महिनावारी रोकिनु मात्र गर्भ पुष्टि गर्न पर्याप्त हुँदैन । गर्भ रहँदा महिलाको शरीरमा विभिन्न प्रकारका परिवर्तन र लक्षण देखा पर्छन्, जसले गर्भ रहेको अनुमान गर्न सजिलो बनाउँछ।
यद्यपि, ती लक्षणहरू कहिलेकाहीँ अत्यन्त सामान्य लाग्न सक्छन् वा अस्पष्ट हुन सक्छन्, जसकारण महिलाले आफू गर्भवती भएको थाहा नपाउन सक्छिन्।
त्यसैले, विशेषगरी सन्तानको योजना बनाइरहेका दम्पतीहरूले यस्ता लक्षणहरू देखिएमा सजग रहनु आवश्यक हुन्छ। समयमै जानकारी नहुँदा वा जाँच नगर्दा केही अवस्थामा स्वास्थ्यमा जटिलता आउन सक्छ।
कुनै पनि असामान्य लक्षण देखिएमा ढिलाइ नगरी गर्भ परीक्षण गर्नु बुद्धिमानी हुन्छ।
के कस्ता लक्षण देखिन्छन् ?
गर्भावस्था शुरु भएसँगै शरीरले विभिन्न संकेत र लक्षणहरू देखाउन थाल्छ । यी लक्षणहरू हरेक महिलामा फरक–फरक हुन सक्छन् ।
महिनावारी रोकिनु
गर्भ रहेको पहिलो संकेत हो, महिनावारी समयमा नहुनु । नियमित महिनावारी हुने महिलाहरुले आफ्नो मिति कट्दा पनि नभए पछि गर्भ रहेको शंका गर्न सक्छन् । यो दम्पतीका लागि सुखद् समाचारको पहिलो संकेत हुन सक्छ ।
तर, अनियमित महिनावारी हुने महिलाहरूले यो संकेतमा मात्र भर पर्नुहुँदैन। उनीहरूले अन्य लक्षणहरूमा ध्यान दिनुपर्छ। किनभने अनियमित महिनावारीले गर्भावस्थाको पुष्टि गर्न गाह्रो बनाउन सक्छ।
स्तनमा परिवर्तन आउनु
छाती पहिलेभन्दा बढी संवेदनशील हुन्छ । आकारप्रकार तुलनात्मक रुपमा ठूलो हुनु, हिँड्दा वा भर्याङ तलमाथि गर्दा दुखाइ हुनु, स्तन कस्सिएको अनुभव हुने जस्ता लक्षण गर्भवती भएमा देखिन्छ । निप्पलको वरपरको क्षेत्र गाढा हुँदै जान्छ । यी परिवर्तनहरू प्रायः गर्भ बसेको पहिलो हप्तादेखि नै शुरू हुन्छन्।
थकान तथा कमजोरी
गर्भावस्थाको अर्को लक्षण हो, थकान र कमजोरी अनुभव हुनु । प्रोजेस्टेरोन र एस्ट्रोजन हर्मोनको असन्तुलनले गर्दा शरीर आलश्य हुने र एकैछिनमा गल्ने हुनसक्छ । कतिपय महिलामा यो लक्षण लगातार गर्भ रहेको तीन महिनासम्म देखिनसक्छ ।
वाकवाकी लाग्नु
प्राय गर्भवती महिलामा देखिने लक्षणमा बिहान-बिहान वाकवाकी लाग्नु पनि एक हो । यससँगै कसैलाई खानेकुराको गन्ध आउने बित्तिकै पनि बान्ता आउने र खानेकुरा नरुच्ने हुनसक्छ । कसैलाई त पानीबाट पनि एलर्जी भई खानै मन नलाग्ने हुनसक्छ ।
पिसाब छिटो छिटो लाग्नु
गर्भावस्थाको सुरुवाती चरणमा शरीरमा अतिरिक्त तरल पदार्थ उत्पादित हुन्छ, जसले गर्दा मूत्राशयमा दबाब उत्पन्न भई पटक–पटक पिसाब लाग्ने गर्छ । सो क्रम राति बढी भएमा गर्भ रहेको एक संकेत पनि हुनसक्छ ।
यो समयमा पिसाबथैली पनि अति सक्रिय हुनसक्छ । यदि पिसाब गर्न थोरै ढिला भए पिसाबथैली भरिन सक्छ ।
तल्लो पेट दुखाइ
तल्लो पेटमा हल्का दुखाइ वा महिनावारीको समयमा दुख्ने जस्तो अनुभव हुनुसक्छ । अनि महिनावारी हुने समयमा रगत नभई रगतको दाग जस्तो देखिनसक्छ । रगतको थोपा वा दाग देखिनुलाई ‘इम्प्लान्टेसन ब्लिडिङ’ भनिन्छ ।
यो भनेको भ्रूण गर्भाशयमा बसेको बेला हल्का रक्तस्राव देखिनसक्छ, जुन सामान्य रक्तस्रावभन्दा हल्का फरक हुन्छ ।
माथि उल्लेखित लक्षण गर्भवती आफैँले अनुभव गर्ने र थाहा पाउने लक्षण हो । यी सबै लक्षण कसैमा धेरै एकसाथ देखिन्छन् । कसैमा एक–दुई र केहीमा त लक्षणहरू नदेखिन पनि सक्छन् । एकभन्दा बढी लक्षण देखिएर शंका लागेमा पुष्टि गर्न परीक्षण गर्न सकिन्छ ।
परीक्षण
युरिन प्रेग्नेन्सी टेस्ट (किट)
गर्भ रहेको नरहेको पुष्टि पिसाबको परीक्षणबाट पनि गर्न सकिन्छ । सो परीक्षणलाई युरिन प्रेग्नेन्सी टेस्ट (किट) भनिन्छ । सो परीक्षण घरमै गर्न सकिन्छ । जुन फार्मेसीमा सहजै उपलब्ध छ ।
प्रयोग कसरी गर्ने ?
— बिहानको पिसाबमा एचसीजीको स्तर बढी हुने र सहजै नतिजा आउने भएकाले त्यही समयको पिसाब प्रयोग गर्ने ।
— उपकरण भएको दुईवटा टेस्टिङ पोइन्टमा पिसाबको तीन थोपा जति राख्ने ।
— पिसाबमा एचसीजी हार्मोन मिसिएको छ भने किटको एक किनाराको रङ परिवर्तन हुन्छ । यसले गर्भवती भएको बुझ्न सकिन्छ ।
कहिलेकाहीँ गर्भ बसेको समय भखरै भएको छ भने एकपटकमा मधुरो लाइनले अस्पष्ट बनाउन सक्छ । त्यसैले, दोहोर्याएर अर्कोपटक पनि हेनुपर्छ ।
रगत परीक्षण
किटबाट पनि अस्पष्ट भएमा रगत परीक्षणबाट पनि सुनिश्चित गर्न सकिन्छ। जसलाई ‘बीटा-एचसीजी हर्मोन’ परीक्षण भनिन्छ । यो परीक्षणले रगतमा बीटाइसीजी भन्ने हर्मोनको स्तरबाट गर्भावस्था पत्ता लगाइन्छ । सो परीक्षणले गर्भ बसको ६ देखि ७ दिनबाट नै पोजेटिभ आउनसक्छ ।
त्यति मात्र होइन, बच्चा पाठेघरमा नबसी डिम्बाशय, नलीमा बसेको, रगतको स्तर घट्ने जस्ता लक्षण हेरेर अन्य स्वास्थ्य समस्याले गर्भावस्थामा पारेको असर पनि यो परीक्षणबाट पत्ता लाग्छ ।
अल्ट्रासाउन्ड
अल्ट्रासाउन्ड गरेर पनि बच्चा रहेको ठहर हुनसक्छ । गर्भ रहेको चार सातामा रुपरेखा नआए पनि बच्चाको आकृतिले कति समय हो भनेर भन्न सकिन्छ ।
गर्भ रहेपछि
किनभने गर्भ बसेको थाहा भएदेखि गर्भ रहने ९ महिनासम्म कस्तो खालको शारीरिक र भावनात्मक परिवर्तन हुनसक्छ भन्ने ज्ञान भयो भने आउने महिनाका लागि तयार रहन सहज हुन्छ ।
तत्काल भेट्दा चिकित्सकले केही परीक्षण गरेर बच्चा ठाउँमा बसेको छ कि छैन भन्न सक्छन् । यदि बच्चा ठाउँमा नबसेर डिम्बाशय वा गर्भनलीमा बसेमा स्वास्थ्य अवस्था आमाको पनि गम्भीर हुनसक्छ । यस्तोमा तत्काल उपचार आवश्यक पर्न सक्छ ।
गर्भवस्था सामान्य छ भने चिकित्सकले के खाने ? के गर्ने, के नगर्ने लगायत जानकारी र नियमित फलोअपमा आउन सुझाव दिनसक्छन् । यो बेला बच्चा वा आफ्नो स्वास्थ्यबारे केही जिज्ञासा भए खुलस्त भएर चिकित्सकलाई सोध्न सकिन्छ ।
प्रतिक्रिया 4