+
+
Shares
विचार :

कुलिङ पिरियडमा सत्ताधारीको कैफियत

सदनमा यस्ता बदमासी, फट्याइँ बेहिसाब चलिरहेकै छन् । कुलिङ पिरियडसम्बन्धी व्यवस्थालाई निस्तेज पार्न गरिएको षड्यन्त्र त्यसैको अर्को उदाहरण हो ।

मनीष झा मनीष झा
२०८२ असार १७ गते २०:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संसद्मा मतदानका बेला ध्वनि मत दिएर घर फर्किन हतार हुने दृश्य पहिलो पटक होइन।
  • संसद् बैठकमा रिबन लगाएर विरोध प्रदर्शन र विवाद भएको थियो।
  • संसदीय प्रक्रिया र जिम्मेवारीको अभावले देशको कानुनी र राजनीतिक प्रणालीमा समस्या देखिएको छ।

“यो देश कसरी चल्छ भन्ने चिन्ता छैन मलाई, मलाई चिन्ता त यो देश यसरी नै चल्छ की? भन्ने छ।” पूर्वसचिव खेमराज नेपालको पुस्तक “समाज, संस्कार र शासन” मा रहेको एउटा लाइनले मलाई पटक पटक छोएको छ । त्यसैले विभिन्न प्रसंगमा यो लाइन प्रयोग गर्ने गरेको छु। यतिबेला यो चिन्ता सर्वत्र छ । किनभने, कुलिङ्ग पिरियड प्रकरणले राज्य संचालनको जिम्मेवारीमा रहेका विभिन्न पक्षको स्वार्थ र कमजोरीलाई उदाङ्गो पारिदिएको छ।

कुलिङ्ग पिरियडको चर्चा दौरान राज्यको धेरै पक्षको बौद्धिक दरिद्रताबारे गम्भीर प्रश्न पनि उठेको छ। सिंहदरबार भित्रको स्वार्थी आवरण नाङ्गिएको छ।

भिजिट भिषा मार्फत मानव तस्करी जस्तो संगठित अपराधमा संसदीय वा न्यायिक छानबिन समिति बनाउन र १८ वर्षदेखि जिम्मेवारीमा रहेका १४ गृहमन्त्री लगायतलाई छानबिनको दायरामा ल्याउन माग गर्दै रास्वपा सदनमा आन्दोलित छ ।

१३ जेठदेखि संघीय सदनमा आफ्नो विरोध जनाइरहेको रास्वपाका हामी सांसद ३ असारमा निलो रिबन लगाएर सदनमा विरोधमा उत्रिएका थियौं। नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे र सचेतक सुशीला थिङ्लाई निलो रिवन मन परेन र रास्वपालाई सदनबाट निकाल्न माग गर्नुभयो । हामीले पनि चर्को स्वरले आफ्नो अडान राख्यौं।

सभामुखले ३० मिनेटका लागि भनेर बैठक स्थगनको सूचना दिनुभयो । सदनभित्रै कुर्सी भाँच्न, माइक तोड्न, मर्यादा पालकलाई चिथोर्न, टोक्न, ब्रिफकेस खोस्न बानी परेकाहरूले सदनमा एउटा सानो अङ्ग पनि नछोप्ने रिबन लगाएको पनि पचाउन सकेनन् ।

७ मिनेटको विवाद बहसपश्चात अप्रत्याशित रुपमा त्यसदिनको बैठक स्थगनको घोषणा भयो। सहमति जुटाउन भन्दै ३० मिनेट ब्रेक लिइएको थियो । तर, त्यो अवधिमा न राष्ट्रिय स्वतन्त्र पार्टीका कोही जिम्मेवार व्यक्तिसँग वा कोही सांसदसँग छलफल भयो न सम्झौताको प्रयास । हामी अचम्बित भयौँ । हाम्रो बहानाले वा निलो रिवनको बहानाले रोकिएको सदनको बैठक त्यसदिन बस्नै सकेन ।

संघीय सदनको बैठक एक दिनको फरकमा अर्को दिनका लागि आह्वान गरियो । तर बीचको समयमा पनि सहमतिका लागि कुनै पहल भएन, कसैले हाम्रा मागबारे छलफल नै गरेन । अनि हामीले थाहा पायौं निलो रिवन केवल बैठक स्थगित गर्नका लागि बहाना मात्र बनाइएको रहेछ ।

खासमा सत्तामा रहेका गठबन्धनका प्रमुख दुई दललाई राज्य व्यवस्था समितिमा छलफलमा रहेको संघीय निजामती ऐन विधेयकमा रहेको आफूहरूबीचकै विवाद मिलाउन समय चाहिएको रहेछ । रास्वपालाई अर्घेलो देखाएर सदन स्थगित गराई उनीहरूले आफूलाई चाहिएको समयको व्यवस्थापन पो गरेका रहेछन् ।

देशले इमान्दार राष्ट्रसेवक खोजिरहेको छ, उहाँहरु राजनीतिक शक्ति केन्द्र चाहार्नुहुन्छ। यो करदाता प्रतिको बेइमानी बाहेक केही होइन।

सदनमा यस्ता बदमासी, फट्याइँ बेहिसाव चलिरहेकै छन् । कुलिङ पिरियडसम्बन्धी व्यवस्थालाई निस्तेज पार्न गरिएको षड्यन्त्र त्यसैको अर्को उदाहरण हो । हुन त जनताका लागि उपयोगी हुने गरी कानुन बनाउने सतनियतले संसद् पुग्ने सांसद निकै कम छन् ।

नेतासामू अनुनय विनय गरेर, टिकट किनेर वा कोटा प्रयोग वा दुरुपयोग गरेर त्यहाँ पुगेका सांसद कानुन बनाउने कुरामा र कानुन बनाउनको लागि आवश्यक अध्ययन गर्ने कुरामा के ध्यान दिइरहन्थे र ? उनीहरू कति कमजोर र गैर जिम्मेवार छन् भन्ने यो भन्दा बलियो उदाहरण अरु केही चाहिन्छ र ?

निजामती सेवा कर्मचारी र यति ठूलो संयन्त्रको माध्यमबाट देशको भविष्य निर्धारण गर्ने कानुन बन्दै गर्दा त्यहाँ रहेका सांसदले कति अध्ययन गरेका रहेछन् ? सांसदहरूले कति जिम्मेवारीको साथ तयारी गरेका रहेछन्, मतदान गरेका रहेछन् भन्ने पनि यसले प्रष्ट पारेको छ । मतदानका बेला हुन्छ वा हुँदैन भनेर ध्वनि मत दिएर घर फर्किन हतार हुने दृष्य पहिलोपटक देखिएको होइन ।

पार्टीका नेतालाई जिल्लाजिल्ला पुग्न हतारो छ । नेताहरू त्यहाँ मञ्चमा आसन ग्रहण गर्न पाइएला कि नपाइएला, बोल्न पाइएला कि नपाइएला, यसपटक त सांसद भइहालें अर्कोपटक सांसद वा मन्त्री हुन पाइएला कि नपाइएला, राजनीतिक भविष्य सुरक्षित होला कि नहोला भन्ने चिन्ताले घेरिएका छन् । अनि उहाँहरूलेकुलिङ पिरियडमा निर्वाह गरेको भूमिका के फरक हुन्थ्यो ?

कर्मचारीको प्राथमिकता, चरित्र र दायित्व :

इङ्लिस प्रिमियर लिग फुटबलको गत सिजन हालै सकियो । नयाँ सिजन सुरु हुनुअघि खेलाडीहरूले केही समय ब्रेक लिँदैछन् । बहुचर्चित आईपीएल सकियो, खेलाडीहरू आआफ्ना देश र सहर फर्किए र केही समय ब्रेक लिए ।

एसईई दिएका विद्यार्थीहरूले दुई चार महिना आराम गरे, हालै परिणाम आयो । उच्च माध्यमिक तहको परीक्षा सकिएको छ । विद्यार्थीहरू परिणाम कुरिरहेका छन् । यो बीचमा कोही आराम गर्दैछन् र कोही आफूलाई आवश्यकता अनुसार निखार्ने र तिखार्ने काम गर्दैछन्।

ब्रेक विश्वव्यापी मान्यता हो। यात्राको एउटा चरण पार गरेपछि मानिसहरू ब्रेक लिन्छन् । बन्चरोले एउटा रुख ढालेपछि अर्को रुख ढाल्नुअघि त्यसलाई तिखार्ने गरिन्छ । तर, उच्चपदस्थ तहमा रहीसकेका वा रहेका हाम्रा कर्मचारीहरूले आफूलाई निखार्ने तिखार्ने आराम गर्ने ब्रेक लिने वा आगामी यात्राको लागि तयारी गर्ने मान्यता आवश्यक नै ठान्दैनन्। वर्तमान जिम्मेवारीलाई नै यादगार, ऐतिहासिक, उत्पादनशील र प्रभावकारी बनाउनुसट्टा यसपछिको जिम्मेवारीको चिन्ता गरेर घरदैलोमा समय बिताउँछन्।

देशले इमान्दार राष्ट्रसेवक खोजिरहेको छ, उहाँहरू राजनीतिक शक्ति केन्द्र चाहार्नुहुन्छ। यो करदाता प्रतिको बेइमानी बाहेक केही होइन। ७ जेठमा मुख्यसचिव महासचिव र सचिवज्यूहरूले सिंहदरबार भित्र विभिन्न घरदैलोको क्रममा डायरीले मुख त छोप्न खोज्नुभयो तर बाँकी सबै नाङ्गियो।

सङ्घीय सदनको समिति र उपसमितिमा छलफलमा रहेको विधेयकलाई लिएर संघीय सदनका महासचिव र मुख्यसचिवले घरदैलो गर्नुले संघीय सदनको सचिवालय प्रमुखको व्यवहारमा प्रश्न उठाउने प्रशस्त ठाउँ दिएको छ।

७ जेठमा मुख्यसचिव महासचिव र सचिवज्यूहरूले सिंहदरबार भित्र विभिन्न घरदैलोको क्रममा डायरीले मुख त छोप्न खोज्नुभयो तर बाँकी सबै नाङ्गियो।

कुलिङ पिरियडको घरदैलो चलिरहेको बेला जनताको दैनिकीसँग प्रत्यक्ष सम्बन्ध राख्ने जिम्मेवारीमा रहेको एक संघीय मन्त्रालयका सचिवले फोन गरेर कुलिङ पिरियडको विरुद्धमा सदनमा आवाज उठाइदिनु अनुरोध गर्नुभएको थियो ।

उहाँको एउटा तर्क थियो, यो संविधान विरोधी छ । मैले प्रतिप्रश्न गरे, संविधानको कुन धारा कुन आशय र कुन सिद्धान्तको विरुद्ध छ त्यो पनि भनिदिनुस् न। उहाँले मेरो जिज्ञासा सम्बोधन गर्न सक्नुभएन।

कुलिङ पिरियडको प्रकरण फेरिएको आशय, बदलिएको दस्तावेज र नैतिकतामा उठेको प्रश्न यो सबै नेपालको कर्मचारीतन्त्र, निजामती संयन्त्र, राजनीतिक अभ्यास, संसदीय अभ्यासप्रतिको आवश्यक प्राथमिकता र सबैको लागि आवश्यक आधारभूत तयारीको बारेमा उठेको एउटा गम्भीर प्रश्न हो।

हामी सबैले आआफ्नै कित्तामा उभिएर जिम्मेवारीपूर्वक यसको जवाफ दिनुपर्ने समय आएको छ। फेरि पनि खेमराज नेपालको पंक्ति सम्झिन चाहन्छु कि यो देश कसरी चल्छ भन्ने चिन्ता छैन मलाई चिन्ता यो देश यसरी नै पो चल्ने हो कि भन्ने छ।

सत्तापक्षलाई हामीले पटकपटक भनेका छौं हामी दुश्मन होइनौं। हाम्रा बाटो फरक होलान् देश र जनताको लागि, सुख र समृद्धिको लक्ष्य एउटै हो। आवश्यक पर्दा हाम्रो सहकार्य र सहयोग को लागि भन्नुस् हामी सदा तयार छौं।

यस्ता गम्भीर कानुनहरू बनाउने क्रममा पक्ष र प्रतिपक्ष नभनी देश र जनताका लागि इमान्दार भएर आवश्यक गृहकार्य गर्दै अगाडि बढ्दा यस्ता त्रुटिहरुको जोखिमबाट बच्न सकिन्छ। तर नेपाली राजनीतिमा खै के रोग लागेको छ, गठबन्धनले संख्या मात्र चिन्छ सिद्धान्त बुझ्दैन ।

यस्ता गम्भीर कानुनहरू बनाउने क्रममा पक्ष र प्रतिपक्ष नभनी देश र जनताको लागि इमान्दार भएर आवश्यक गृहकार्य गर्दै अगाडि बढ्दा यस्ता त्रुटिहरूको जोखिमबाट बच्न सकिन्छ। तर खै नेपाली राजनीतिमा के रोग लागेको छ गठबन्धनले संख्या मात्र चिन्छ सिद्धान्त बुझ्दैन । त्यसैले यस्तो कमी कमजोरी हुने गर्छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेज्यूले भन्नुभएझैँ, “हामी राजनीतिमा नयाँ छौँ। तर बेवकुफ छैनौँ।” यस किसिमको प्रत्येक राजनीतिक घटनाक्रम हाम्रो लागि गम्भीर सिकाइ हो। भविष्यको लागि सतर्कताको सन्देश हो। तसर्थ हामी यस किसिमको हरेक सिकाइलाई प्रत्येक आवश्यक आयामबाट नियाल्न चाहन्छौं र गम्भीरताको साथ अध्ययन गर्न चाहन्छौं।

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता झा प्रतिनिधिसभा सदस्य हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?