+
+
Shares
कला :

के लेखिरहेका छन् बुद्धिसागर र सुविन भट्टराई ?

सुविन भट्टराई पछिल्लो समय नयाँ उपन्यास लेखनमा व्यस्त छन् । उनको यो उपन्यासको कुनै ‘वर्किङ टाइटल’ छैन ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ३ गते २१:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लेखक बुद्धिसागरले लेखनबाट विश्राम लिएका छन् र दशैंसम्म ब्रेक लिने बताएका छन्।
  • सुविन भट्टराई नयाँ उपन्यास लेखनमा व्यस्त छन् र २०८२ सालभित्र प्रकाशन गर्ने योजना बनाएका छन्।

धेरै समय भयो, पाठकले सुविन भट्टराईलाई पर्खिएको । बुद्धिसागरलाई पनि । अहिलेका पुस्ताले अत्याधिक रुचाएका यी लेखकहरु कहाँ, के गर्दैछन् ? यो प्रश्न व्यपार–उद्यमको होइन लेखनकै हो । जगजाहेर छ, यिनीहरुको मूल कर्म नै लेखन हो । त्यसो भए यो ‘मौन अवधि’मा उनीहरु के लेख्दैछन्  ?

के लेखिरहेका छन् बुद्धिसागर ?

लेखक बुद्धिसागर ‘फुल टाइम’ राइटर हुन् । ‘उसले दिएको उमेर’ उनको पछिल्लो कृति हो । जुन सन् २०२३ मा आएको थियो । त्यसयता लेखनीमा उनको नयाँ परिचय थपिएको छ – स्क्रिप्ट राइटर अर्थात् पटकथाकार ।

गत जेठ २ मा रिलिज भएको ‘के घर के डेरा : घर नम्बर २’ उनले लेखेको (रिलिज) पहिलो फिल्म हो । स्टार कलाकारहरूले भरिभराउ भए पनि यो फिल्मले बक्स अफिसमा राम्रो गर्न सकेन ।

त्यसबाहेक नेपाली साहित्यवृत्तमा केही वर्षदेखि लेखक बुद्धिसागर मौन देखिएका छन् । सम्भवत: उनले केही त गरिरहेकै हुनुपर्छ । आजभोलि के लेखिरहनुभएको छ भन्ने प्रश्नमा बुद्धिसागरले सिधा जवाफ दिए, ‘अहिले चाहिँ खासै केही गरिरा’छैन मैले । राइटिङबाट ब्रेक लिएको छु ।’

अर्थात् यसबेला लेखक बुद्धिसागर लेखनीबाट छुट्टिमा छन् । जुन उनी आफैंले जानुबुझी गरेको हो । उनले लेखनबाट छोटो विश्राम लिने ‘स्विस अन’ अन गरेका छन् । यो ब्रेक दशैंसम्म लम्बिने उनको भनाइ छ ।

 

लेखनबाट विश्राम लिइरहेको यो समयमा उनले मुख्य ध्यान पठनपाठन र फिल्म तथा सिरिज हेर्नमा केन्द्रित गरेका छन् । ‘दशैंसम्म खासै केही नगरौं भनेर अहिले त बढी मात्रामा फिल्म हेर्ने अनि किताबहरू पढ्ने गरिरहेको छु’ उनले भने ।

हामीसँग कुराकानी हुनुभन्दा केही समयअघि मात्रै गत वर्षको बुकर प्राइज विजेता सामन्था हार्भीको ‘ओर्बिटल : अ नोभल’ पढिभ्याएको उनले सुनाए ।

फिल्म हेर्ने सन्दर्भमा भने उनले फरक उत्तर दिए । किनकि उनी नयाँ/पुराना दुवै हेर्ने गर्छन् । त्यसमा पनि पहिले हेरेकोलाई फेरि हेर्ने गर्ने गर्छन् । कहिलेकाहीँ पहिला हेर्दा राम्ररी नबुझिकेका फिल्महरू पुनः हेर्ने गरेको उनको भनाइ छ ।

त्यस्तै गीतसंगीतको सन्दर्भमा उनको एउटा रोचक बानी छ, नयाँ देशका गीतहरू खोज्ने/सुन्ने । भाषा नबुझिए पनि संगीतको ताल र रिदमबाट त्यस देशको संगीत कस्तो रहेछ भनेर बुझ्न उनलाई मनपर्छ । त्यसअनुसार उनी युट्युब पनि चहारिरहेका हुन्छन् ।

बुद्धिसागरलाई कुनै विशेष गायक वा गायिकाप्रति झुकाव छैन । प्रायः स्पोटिफाइमा जे आउँछ, त्यही नै सुन्ने गर्छन् । मर्निङवाक जाँदा गीत सुन्ने र मन परेका गीतहरू सेभ गर्ने उनको नयाँ दैनिकी हो ।

आकजल उनले यसरी नै समय व्यतीत गरिरहेका छन् । उनी तत्काल केही नयाँ लेख्ने मुडमा छैनन् । फेरि त्यसो भन्दा ‘स्क्रिप्ट राइटर बुद्धिसागर’लाई मर्का पर्न सक्छ ।

किनकि उनले व्यावसायिक रूपमा पटकथा लेखिरहेको छन् । तर उनी त्यसमा खुल्न चाहेनन् । पटकथाबाट फिल्म बन्ने/नबन्ने ठेगान नहुनु, बने पनि कहिले आउने निश्चित नहुनु आफू खुल्न नचाहनुको कारण रहेको उनले सुनाए ।

खैर, लेखकहरूलाई प्राय: राइटिङ ब्लक हुने गर्छ । यो भनेको लेख्नलाई कुनै पनि विचार नहुनु अथवा भए पनि लेख्ने मन नहुनु हो । संसारका धेरै लेखकहरूले यस्तो अवस्थाबाट बँच्न निश्चित समय विश्राम लिने गर्छन् ।

उनले पनि यो विश्राम मानसिक रूपमा स्फूर्त हुनु र अनुसन्धानमा ध्यान दिनु रहेको बताएका छन् । त्यस्तै एउटा लेखकका लागि अध्ययन, अवलोकन र अन्य गतिविधिबाट आफूलाई समृद्ध बनाउन यस्तो समय चाहिने उनको भनाइ छ ।

यसकारण दशैं/तिहारपछि उनी पुनः लेखनमा फर्किने अपेक्षा गर्न सकिन्छ । तर उनको नयाँ पुस्तकका लागि भने केही वर्ष कुर्नुपर्ने देखिन्छ ।

के लेखिरहेका छन् सुबिन भट्टराई ?

सन् २०२२ मा आएको ‘इजोरिया’ लेखक सुविन भट्टराईको पछिल्लो कृति हो । लेखक भट्टराई नेपाली साहित्यमा धेरै खोजिनेमध्येको एकमा पर्छन् । तर उनको नयाँ कृति नआएको नै तीन वर्ष भइसकेको छ ।

यस्तोमा उनले आजकल लेखनीमा के गरिरहेका छन् ? अनलाइन खबरले उनीसँग प्रश्न सोधेको छ ।

सुविन भट्टराई पछिल्लो समय नयाँ उपन्यास लेखनमा व्यस्त छन् । गत ६-७ महिनादेखि यसको काममा जुटिरहेका भट्टराई हालसम्म उपन्यास ‘काँचो अवस्थामै रहेको बताउँछन्।

उनको यो उपन्यासको कुनै ‘वर्किङ टाइटल’ छैन । भट्टराईका अनुसार पुस्तक प्रेसमा जाने बेलामा मात्रै यसको शीर्षक सार्वजनिक हुनेछ । हाललाई उनको कम्प्युटरको फोल्डरमा यसको नाम ‘नोभेल’ मात्रै राखिएको छ ।

अब करिब डेढ महिनाभित्रमा नयाँ उपन्यासको लेखन कार्य सम्पन्न गर्ने उनको अनुमान छ । नयाँ उपन्यासमा आधुनिक समाज, आधुनिक सम्बन्ध र तिनका विभिन्न आयामहरूलाई समेट्ने प्रयास गरिरहेको उनी सुनाउँछन् ।

विशेषत: युवाहरूलाई नेपाली साहित्य पढ्न बानी लगाउने लेखक भनेर उनी चिनिन्छन् । उनका धेरै उपन्यासहरूको मुख्य विषयवस्तु ‘प्रेम’ हुने गर्छ । बारम्बार उही विषयमा लेखिरहेको आरोप समेत उनलाई लाग्ने गरेको छ ।

त्यस्तोमा पाठकहरूले नयाँ उपन्यासमा फरक स्वाद पाउने सम्भावना छ । उनको यो उपन्यास फाइन प्रिन्टबाट आउने सम्भावना बलियो छ । किनकि भट्टराईले सो प्रकाशन गृहसँग निरन्तर सहकार्य गर्दै आएका छन् ।

नेपाली पात्रोअनुसार २०८२ सालभरिमा यो पुस्तक पाठकमाँझ आउने उनको अपेक्षा छ । तर, त्यसको पूर्णत: हात उनमै छ ।

लेखक भट्टराई ‘फुलटाइम’ लेखक भनेर समेत चिनिन्छन् । यसकारण उनले उपन्यासमात्र लेख्नु विश्वासयोग्य हुँदैन । पहिले फुटकर लेखनी पनि गर्ने उनले आजकल उपन्यासबाहेक कथा, कविता र संस्मरण विधामा पनि कलम चलाइरहेका छन् । यी रचनाहरू पनि कुनै समय प्रकाशित हुन सक्ने उनको भनाइ छ ।

लेखनबाहेक आजभोलि सुविन भट्टराई ‘राइटिङ वर्कसप’हरू सञ्चालन गर्न पनि सक्रिय छन् । हालै एउटा सिजन सम्पन्न गरेका उनले दोस्रो सिजन दशैंअघि सुरु गर्ने योजनामा छन् । यससम्बन्धी थप जानकारी आफ्नो सामाजिक सञ्जालमार्फत दिने उनी बताउँछन् ।

त्यस्तै लेखनसँगै उनको पढ्ने काम पनि निरन्तर जारी छ । हाल उनी पल मर्रे को ‘द बिस्टिङ’ नामक पुस्तक पढिरहेका छन् । उनको पढ्ने शैली एकैचोटि धेरै नपढेर दैनिक थोरैथोरै तर निरन्तर पढ्ने रहेको छ ।

सिनेमा हेर्ने सन्दर्भमा उनी हरेक दिनजसो सिनेमा हेर्ने गर्छन् । हालै हेरेकामध्ये सन् १९७७ को ‘द एसेन्ट’ मन परेको उनी सुनाउँछन् ।

समग्रमा लेखक सुविन भट्टराई चुपचाप नयाँ उपन्यास लेखनमा केन्द्रित छन् । त्यसबाहेक कथा, कविता, संस्मरणजस्ता विधामा पनि काम गरिरहेका छन् । यसकारण पाठकहरूले यही वर्ष उनको नयाँ कृति पढ्न पाउने अपेक्षा गर्न सक्छन् । आगामी वर्षहरूमा भने हरेक वर्ष एउटा पुस्तक निकाल्ने उनको योजना छ ।

सप्ताहान्त
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?