+
+
Shares

जब राजा महेन्द्रले नेताको ‘मूल्य’ सुनाए…

भित्तामा टाँसिएको तस्बिरतर्फ देखाउँदै राजाले भने, ‘यसको मूल्य छैन ।’ यसो फर्किएर हेरेको त त्यहाँ सान्दाजुको फोटो राखिएको रहेछ ।

जगत नेपाल जगत नेपाल
२०८२ साउन १९ गते १२:५९
राणाशासनविरुद्धको मुक्तिक्रान्तिका क्रममा ‘पोलिटिकल कमिसार’ रहेका गिरिजाप्रसाद कोइराला हतियारसहित साथीहरुसँग र डा. जगत नेपालद्वारा लिखित संस्मरणात्मक पुस्तक ‘गिरिजाप्रसाद कोइरालाका आफ्नै कुरा’

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राजाले भने, ‘बाख्राको मोल यति, भेडाको मोल यति कसैको पाँच सय, पाँच हजार, १० हजार यस्तै मोल हुन्छ नि । त्यस्तै मान्छेको पनि मूल्य हुन्छ ।’
  • फलानाको मूल्य यति फलानाको यति भन्दाभन्दै त टंकप्रसाद आचार्यको मूल्य यति भने । गर्दागर्दै मातृकाप्रसाद कोइरालाको मूल्य पनि सुनाइदिए ।
  • फेरि राजासँग भेटेको कुरा भारतीय राजदूतलाई थाहा भइहाल्ने । उनले बोलाए, राति डिनरमा ।

राजा महेन्द्रसँग भेट्न पहिलो पटक दरबार जाने दिन आयो । मेरो साथी हदराज बोहरालाई भनें, ‘तेरो जिप छ हिँड् न ।’

कुन गेटबाट जाने ? कसरी जाने ? केही थाहा थिएन । त्यति बेला एकदमै पुरानो स्टाइलको दरबार थियो । अहिले त मुहार नै फेरिएको छ । अब कताबाट छिर्ने मलाई केही थाहा थिएन । पहिले भित्र गएँ । दरबारको मानिसले यसो मुख हेर्‍यो र ‘गिरिजाप्रसाद हो ?’ भनेर सोध्यो । मैले, ‘अँ हो’ भनें । उसले फेरि, ‘यहाँ बस्नुस्’ भन्यो अनि माथिपट्टि प्रतीक्षा कक्षमा बसायो ।

एकछिन पछि सचिव आएर, ‘जाऊँ’ भनें । बत्ती कम थियो । अलिअलि अँध्यारो जस्तो । मैले राजालाई नमस्कार गरें । उनले ‘बस’ भने । आमने सामने कुर्सी राखिएको थियो । राजासँग कसरी कुरा गर्ने, के गर्ने मलाई केही पनि थाहा थिएन । गाउँको मान्छे । कुरा कहाँबाट सुरु गर्ने ? के भन्ने ? केही थाहा छैन ।

पहिलोपटक राजालाई भेट्दै थिएँ । राजा र म सिधा–सिधा ‘फेस टू फेस’ बस्यौं । राजाले नै कुरा सुरु गरे । सायद उनलाई नै अप्ठ्यारो लाग्यो होला भन्ने ठान्छु म । राजाले भने, ‘हेर गिरिजा राजनीति अत्यन्तै खराब चिज रहेछ । आफ्नो परममित्रलाई पनि जेल हाल्नुपर्ने । बीपी मेरो ‘बेस्ट फ्रेन्ड’ (सबैभन्दा राम्रो साथी) उनलाई नै जेल हाल्नुपर्‍यो ।’

राजा तिमी नै भन्ने गर्थे । राजाले मेरो धक खुलाइदिए जस्तो लाग्यो । मलाई पनि कुरा गर्न सजिलो भयो । मैले भनें, ‘सरकारको बेस्ट फ्रेन्ड हो भने किन जेल राखिरहेको ? यत्रो आठ वर्ष भइहाल्यो । अब छोड्नु पर्‍यो सरकार । छोडे सरकारकै इज्जत बढ्नेछ । मलाई दरबारिया भाषा आउँदैन । गाउँको मान्छे पहिलो पटक सरकारलाई भेट्दैछु । म त ठाडो मानिस ठाडै कुरा राखें ।’

राजाले भने, ‘हैन हैन ! यहाँभित्र जसरी बोले पनि हुन्छ । बाहिर बोल्दा मात्र औपचारिकता मिलाउनु पर्छ ।’

राजाले भने, ‘मलाई पनि त ठाउँ दिनुपर्यो नि । कम से कम ढोका नखोले पनि झ्याल त खोल्नुपर्‍यो नि ।’

‘झ्याल किन खोल्ने, ढोकै खोल्नुपर्छ सरकार’ मैले भनें, ‘सरकारलाई ठाउँ दिने ? त्यसो भए त हामी र सरकारमा के फरक भयो त ? सरकारले नै ठाउँ खोजेपछि त समस्या समाधान हुँदैन । सरकारले किन समाएको ? जसरी समाइयो त्यसरी नै छोडिदिए त भइहाल्यो नि । किन छोडेको भनेर कसले प्रश्न गर्छ ?’

राजाले भने, ‘हैन, मैले पनि त बाटो पाउनुपर्‍यो नि ।’

बीपी कोइराला

त्यो बेला मलाई बोल्न आउँदैनथ्यो । पछि मात्र बोल्न सिकेको हुँ । कुरा गर्दै जाँदा बिर्सन्थें अनि तारिणी दाइले सिकाएको सम्झन्थें र बीच–बीचमा ‘सरकार !’ भन्थें ।

कुराकानीका क्रममा राजाले भने, ‘हैन, मेरो पनि त इज्जत छ । तिमी यसो गर, बीपीलाई भेट ।’

मैले हुन्छ, म भेट्छु तर एक्लै भेट्छु भनें । राजाले कहिले जान्छौं भनेर सोधेपछि मैले भोलि नै जाने कुरा बताएँ । राजाले ल हुन्छ भने ।

म भोलिपल्ट सान्दाजुलाई भेट्न सुन्दरीजल बन्दीगृह गएँ । सान्दाजुलाई राजासँग भएको कुरा बिस्तारमा सुनाएँ । मैले राजालाई, ‘बीपी कोइराला मरेर जानुहुन्छ तर आत्मसमर्पण गर्नुहुन्न । गल्ती गरेको भए पो आत्मसमर्पण गर्ने ? आत्मसमर्पण गर्ने कुनै कारण नै छैन’ भनेर भनेको कुरा बीपीलाई सुनाएँ ।

मैले भनें, ‘सान्दाजु, अब मेरो जिम्मेवारी थपियो । सान्दाजुलाई छुटाएपछि म पनि रेस्ट गर्छु । यो राजनीति गर्दागर्दा म पनि थाकिसकेंं । सान्दाजुलाई छुटाएपछि जिम्मेवारी र बोझ तपाईंको टाउकोमा जान्छ । त्यसैले म यो काम जसरी पनि सफल बनाउँछु ।’

दुई भाइले कफी खायौं । कोही थिएनन् । धेरैबेर कुरा भयो । भाउजूहरुलाई सञ्चो–बिसन्चो के छ भनेर सोध्नुभयो । एक घण्टा जति बस्यौं । उहाँलाई पनि रमाइलो लाग्यो ।

सान्दाजुलाई के–के चाहिन्छ ? भनेर सोधें । उहाँले अलिकति ‘टिन फ्रुट’ (डिब्बा बन्द फलफूल) पठाइदिन भन्नुभयो । नयाँ सडकमा एउटा ठूलो पसल थियो । त्यहाँ गएर जेलमा बीपीलाई पठाउनका लागि टिन फ्रुट प्याक गरिदिन भनें । आफू पनि जेलमा बस्दा दु:ख पाएकोले सान्दाजुलाई पनि त्यस्तै भएको होला भनेर चियाका निम्ति धुलो दूध, क्रिम, बटर पनि प्याक गर्न लगाएँ । उसले त ठूलो प्याक बनाइदियो ।

आफूसँग त्यत्रो पैसा थिएन । ‘म त तिर्न सक्दिनँ । थोरै प्याक गर्न लगाएको त्यति ठूलो बनाउनुभएछ,’ मैले भनें । उनले बीपीलाई पठाउने भनेर फ्रिमा दिनका लागि प्याक गरेको हो, जेजे चाहिन्छ भन्नुस् पैसा चाहिँदैन भने । मैले त्यो सामान सुन्दरीजल पठाइदिएँ ।

फेरि राजासँग भेटेको कुरा भारतीय राजदूतलाई थाहा भइहाल्ने । उनले बोलाए, राति डिनरमा । ‘राजासँग केके कुरा भयो ?’ भनेर सोधे । मैले सान्दाजुसँग भेट्छु भनेको थिएँ, भेट्न दिए । मैले उहाँलाई छोड्नुपर्छ भनें । आफूले राजालाई भनेको कुरा मैले उनलाई बताएँ तर राजाले आफूसँग भनेको कुरा चाहिँ भनिनँ ।

त्यसको दुई दिनपछि राजाले फेरि बोलाए । उनले ‘राजदूतसँग भेट भएको हो ?’ भनेर सुरुमै सोधे । मैले ‘हो’ भनें । उनले त्यति वास्ता गरेनन्, ‘ठीक छ’ मात्र भने ।

राजाले बीपीसँग के कुरा भयो ? भनेर सोधे । मैले भनें, ‘सरकारसँग मैले भनिसकेको छु नि, मरेर जानुहुन्छ तर आत्मसमर्पण गर्नुहुन्न । ‘बेस्ट फ्रेन्ड’ पनि भन्ने अनि आत्मसमर्पण पनि गराउने ?’

राजासँग कुरा गर्नलाई मेरो पनि धक खुलेको थियो । मैले भनें, ‘यो त हुँदै भएन सरकार, बीपीलाई छोड्नुपर्छ ।’

राजाले भने, ‘केही त गर्नुपर्‍यो नि ।’ उनले फेरि पुरानै कुरा दोहोर्‍याए, ‘मेरो पनि त इज्जत छ ।’

मैले भनें, ‘सरकारको इज्जत छँदैछ । बीपीलाई छोड्यो भने राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा झन् दोब्बर इज्जत प्रतिष्ठा बढ्छ ।’

राजाले भने, ‘होइन, तिमीले भनेको ठीक हो तर छोड्दा मलाई गाह्रो हुन्छ ।’

राजासँग यति कुरा भएपछि फेरि दरबारबाट सुन्दरीजल फर्किएँ र सान्दाइसँग भेटें ।

अनि फेरि अर्कोपल्ट राजासँग भेट भयो । राजाले भने, ‘हेर गिरिजा सबैको मूल्य हुन्छ ।’

राजाले के भन्न थाले मैले बुझ्न सकिनँ । अनि भनें, ‘सरकारले के भन्नुभएको हो ? मैले त बुझ्न सकिन नि ।’

राजाले भने, ‘बाख्राको मोल यति, भेडाको मोल यति, कसैको पाँच सय, पाँच हजार, १० हजार यस्तै मोल हुन्छ नि । त्यस्तै मान्छेको पनि मूल्य हुन्छ ।’

राजाको कुरा सुनेर म झसङ्ग भएँ । के हो यो ? किन मोलको कुरा गर्न थाले ? कतै मलाई नै किन्न खोजेका हुन् कि ? मनमा अनेकौं कुरा खेल्न थाले । फेरि एकैपटक राजाको आवाज कानमा ठोक्किन पुग्यो ।

फलानाको मूल्य, यति फलानाको यति भन्दाभन्दै त टंकप्रसाद आचार्यको मूल्य यति भने । गर्दागर्दै मातृकाप्रसाद कोइरालाको मूल्य पनि सुनाइदिए । राजाले भन्दै गए । फलानाको मोल यति, फलानाको यति ।

मलाई एकदमै तनाव भयो । अब राजाले सान्दाजुको मूल्य सुनाउँछन् । जेसुकै भए पनि उफ्रिन्छु भनेर बसेको थिएँ तर उनले एउटा मान्छेको मूल्य छैन भनिदिए ।

भित्तामा टाँसिएको तस्बिरतर्फ देखाउँदै उनले भने, ‘यसको मूल्य छैन ।’ यसो फर्किएर हेरेको त त्यहाँ सान्दाजुको फोटो राखिएको रहेछ ।

मलाई थाहा थिएन । त्यसअघि नै २–३ पटक मैले त्यो बैठक कक्षमा राजालाई भेटेको थिएँ तर त्यसअघिका भेटमा भित्तामा बीपीको फोटो भए जस्तो लागेको थिएन । सायद त्यही दिन राखेको हुनुपर्छ ।

राजासँग झाेंकिन्छु भनेर बसेको थिएँ तर त्यो प्रसङ्गपछि नरम भइहालें । मलाई राजाले मेरो मूल्य यति हजार वा लाख भन्छन् कि भन्ने डर थियो र यदि राजाले त्यस्तो प्रस्ताव राखे लत्याएर हिँड्छु, कुरै गर्दिनँ भनेर बसेको थिएँ ।

राजाले भने, ‘बीपीको म इज्जत गर्छु, अन्तर्राष्ट्रिय क्षेत्रमा समेत यस्तो मानिस छैन । तिमीले जसरी भए पनि कुरा मिलाऊ । बीपीलाई भन । सम्झाउनु पर्‍यो तिमीले ।’

मैले भनें, ‘सान्दाजु त मलाई नै सम्झाएर पठाइदिनुहुन्छ । मैले कसरी सम्झाउन सक्छु । बरु सरकारले सान्दाजुसँग बसेर कुरा गरे हुन्छ नि । अहिले मसँग कुरा गरे जस्तै गरी आमने–सामने बसेर कुरा गरे भइहाल्यो नि । यहाँकै नागरिक हो । सरकारले बीपीलाई बोलाएर कुरा गर्नुपर्छ र म त्यही कुरा उहाँलाई भन्छु ।’

यसो भन्दा राजाले त्यसको जवाफ दिएनन् । ‘भेटौंला नि’ भनेर राजाले हल्का रुपमा लिए । आशाको झिल्को मात्रै छोडे ।

(डा. जगत नेपालद्वारा लिखित संस्मरणात्मक पुस्तक ‘गिरिजाप्रसाद कोइरालाका आफ्नै कुरा’ को अंश)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?