
२५ भदौ, काठमाडौं । जेनजी प्रदर्शनकारीहरूको सोमबारबाट सुरु भएको आन्दोलन मंगलबार पनि जारी रह्यो ।
आन्दोलन चर्किएको मौकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूले सामाजिक सञ्जालबाटै पार्टी सभापति रवि लामिछानेलाई नख्खु कारागारमा स्वागत गर्न आह्वान गरिरहेका थिए ।
उनीहरूले नख्खु कारागार पुगेर रवि लामिछाने निकाल्न दबाब दिए । सहकारी ठगी आरोपमा नख्खु कारागार पुगेका रास्वपा सभापति तथा पूर्वगृहन्त्री लामिछानेलाई उनीहरूले बाहिर निकाले ।
लामिछाने कारबाट हात हल्लाउँदै काराबारबाट बाहिरिए । उनको दाबी छ, ‘म प्रक्रिया पूरा गरेरै जेलबाट निस्किएको हुँ ।’
कारागारबाट निस्केको केही समयमै सामाजिक सञ्जालमा लाइभ आएर उनले सार्वजनिक गरेको कारागार प्रशासक सत्यराज जोशीको हस्ताक्षर रहेको पत्रमा भनिएको छ, ‘…अमन चयनमा थप खलल पुग्ने हुँदा निजलाई तत्काल थुनामुक्त गर्न निर्णयानुसार जानकारी गराइन्छ ।’
तर, यो पत्रको आधिकारिकताबारे कारागार प्रशासनले केही बोलेको छैन । कारागार व्यवस्था विभागका निर्देशक चोमेन्द्र न्यौपानेले पत्रबारे आफू जानकारी नरहेको बताउँछन् ।
रवि छुटेको यही नजिर देखाउँदै अहिले देशभरका कारागारहरूबाट कैदीबन्दीहरू धमाधम छुट्ने क्रम जारी रहेको छ ।
रवि छुटेको केही समयमै त्यही नख्खु कारागारबाट कुख्यात अभियुक्त सञ्जय टक्ला निस्के । उनी १२ वर्षदेखि कारागारमा थिए । पूर्वराज्यमन्त्री समेत रहेका उनी जन्मकैदको सजाय भोग्दै थिए ।
१८ वैशाख २०६९ मा जनकपुरको रामानन्द चोकमा ५ जनाको ज्यान जाने गरी भएको वम विष्फोट घटनाको मुख्य नाइकेको अभियोगमा उनी सजाय काटिरहेका थिए । अदालतको आदेशमा, उनलाई जनकपुरको रेडियो टुडेका सञ्चार उद्यमी अरुण सिंहानियाको हत्या काण्डको पनि मुख्य योजनाकार पनि भनिएको छ ।
त्यसपछि नख्खु कारागार नै पूरै खाली भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामकृष्ण अधिकारी बताउँछन् । कारागारबाट निस्केपछि कैदीहरूले कारागार नै जलाइदिए ।
यसरी नख्खु मात्रै होइन, अहिले देशभरका कारागारहरूबाट धमाधम कैदीबन्दीहरू निस्कने क्रम जारी छ । कैलाली कारागार पनि पूरै खाली छ । कास्की कारागारबाट पनि धेरै कैदीबन्दी भागेका छन् ।
झुम्का कारागार, सोलु कारागार, रौतहट कारागार, मकवानपुरको भीमफेदी कारागारबाट पनि कैदीबन्दी भागेका छन् ।
म्याग्दी कारागारमा रहेका ८८ मध्ये ७२ जना कैदीबन्दी भागेका छन् भने बिरामी र हिंड्न नसक्ने १२ जना कारागारमै छन् ।
सुदूरपश्चिमको बाजुराबाहेक सबै जिल्ला कारागारमा रहेका कैदीबन्दी भागेका छन् । कैलाली कारागारमा मात्रै कम्तीमा पनि ७ सय कैदी थिए । यो प्रदेशका ८ वटा कारागारबाट करिब १४०० कैदीबन्दी भागेको बताइएको छ ।
कञ्चनपुर कारागारमा रहेका ४७६ कैदीबन्दीमध्ये २२ जनाबाहेक सबैलाई प्रदर्शनकारीले निकालेर आफैूसँगै लगेको बताइएको छ ।
विभिन्न जघन्य अपराधमा कारागारमा पुगेकाहरू धमाधम बाहिर निस्कन थालेपछि उनीहरूबाट सुरक्षा चुनौती थप बढेको छ । अझ कारागारबाट निस्केका केही कैदीहरूको निशानामा अदालतहरू परेका छन् । कारागारबाट छुटेपछि उनीहरूले अदालतलाई लक्षित गर्दै आगजनी गरेको एक सुरक्षा अधिकारी बताउँछन् ।
‘जघन्य अपराधमा कारागार बसेकाहरू निस्केर पहिलो टार्गेटमा अदालतलाई पार्ने देखिएको छ । यो क्रम अझै जारी रहने देखिन्छ,’ एक सुरक्षा अधिकारीले अनलाइनखबरसँग भने ।
ती अधिकृतले भनेजस्तै कपिलवस्तु कारागारबाट ४०० बढी कैदीबन्दी भागेका थिए । फरार भएका कैदी बन्दीले नजिकै रहेको कपिलवस्तु अदालतमा तोडफोड र आगजनी समेत गरेको सुरक्षा स्रोतले बताएको छ ।

आफूविरुद्ध मुद्दाका प्रमाणहरू नष्ट गर्ने उद्देश्यले उनीहरूले अदालत, सरकारी वकिल कार्यालय लक्षित आगजनी गरेका हुन् ।
यसरी कैदीहरू धमाधम निस्केपछि थप सुरक्षा चुनौती बढेको छ । आगजनी र लुटपाटका घटनाहरू थप बढ्न सक्ने बताइएको छ ।
यसअघि नायब महान्याधिवक्ता रहिसकेका सरकारी वकिल समूहका सचिव रेवतीराज त्रिपाठी पनि यसरी कैदीबन्दी भाग्दा समाज थप अशान्त बन्ने बताउँछन् ।
‘अपराधीहरू समाज गएपछि खतरा हुन्छ, असुरक्षित महसुस हुन्छ,’ उनी भन्छन्, ‘अब जनता कसरी सुरक्षित हुने भन्ने प्रश्न उठ्छ र यसबाट दण्डहिनताले प्रशय पाउँछ ।’
मंगलबारसम्मको तथ्यांकअनुसार, देशभरका कारागारमा करिब ३० हजारको हाराहारीमा कैदीबन्दी थिए । सामान्य अपराधदेखि जघन्य अपराध, देशी विदेशी गरी करिब ३० हजारको हाराहारीमा कैदीबन्दीहरू रहेका कारागार व्यवस्थापन विभागका चामेन्द्र न्यौपानेले जानकारी दिए ।
तीमध्ये कति कैदीबन्दी अहिले कारागारमा छन् र कति फरार भए भन्ने यकिन तथ्यांक विभागसँगै छैन । अहिले पनि कारागारबाट भाग्ने क्रम जारी रहेको उनले बताए । ‘अहिलेसम्म यति भागे भन्ने यकिन विवरण नै छैन । भाग्ने क्रम अझै जारी छ,’ न्यौपानेले थपे ।
उनका अनुसार, केही कारागारमा त बाहिरबाट समेत अरू व्यक्तिहरू गएर मान्छे निकाल्न भन्दै तोडफोड र आगजनीको गरेका थिए । अहिले पनि केही स्थानमा यस्तो प्रयास भइरहेका छन् ।
धादिङबेसीस्थित कारागारमा बुधबार बिहान पनि कैदीबन्दीहरूले प्रदर्शन गरिरहेका छन् ।
केही कारागारमा भने भित्रैबाट कैदीबन्दीहरूले तोडफोड र आगजनी गर्दै भाग्ने प्रयास गरिहेका छन् । यसरी भाग्ने क्रममा पर्सा कारागारमा पनि झडप भएको छ ।
डिल्लीबजार कारागारमा पनि आगजनी भएको छ । कैदीबन्दीहरूले आफूहरू पनि निस्कन पाउनुपर्ने भन्दै आगजनी गरेका छन् । बुधबार बिहान १० बजेतिर कारागारमा आगोको मुस्लो आइरहेको कारागार प्रशासक बाबुराम अर्यालले अनलाइनखबरलाई जानकारी दिए ।
कैदीबन्दी आगजनी र तोडफोडमा उत्रिएपछि अहिले कारागारको सुरक्षा सेनाले गरेको छ । कारागारमा आगजनी भएकाले कैदीबन्दीहरूलाई स्थानान्तरण गर्ने तयारी गरिएको अर्यालले बताए ।
प्रतिक्रिया 4