+
+
Shares
कथा :

स्माइल प्लिज !

खगेन्द्र गिरी खगेन्द्र गिरी
२०८२ असोज १५ गते १४:०९

एउटी केटी छे ।

उदास । निदाउरी । तिक्त । समस्या र बाध्यताको जङ्गलमा हराएकी । हाँस्न बिर्सिएकी । रुन नसकेकी । कचल्टिएकी । चिन्ताको गर्तमा खसेकी । भेट्नो कुहिएको फूल । तुसारोले खाएको तृण । चरीले छाडेको गुँड । यस्तैयस्तै उपमा दिन्थे होला, जाँगरिला कविहरुले देखेको भए उसलाई ।

अर्की केटी छे ।

मस्त । दङ्ग । निस्फिक्री । उन्मुक्त । दु:ख र अवसादको अनुहारै नचिनेकी ।  कविहरुले उसलाई देखेको भए कविता होइन, प्रेमपत्र लेख्ने थिए ।

खाटमा निद्रा नलागेपछि भुइँमा गद्दा झारेर पल्टेकी छे, उदास केटी । क्वारक्वार्ती सिलिङ हेर्दै छे । भित्ता नियाल्छे, बुद्ध र बिली आइलिसका बडेमानका दुई तस्बिर देखिन्छन् । बुद्ध उदास केटीको रोजाइ, बिली निस्फिक्री केटीको छनोट ।

उदास केटी आँखा चिम्म गर्छे । अहँ, आँखा बन्द रहन मान्दैनन् । किन यो छटपटी ? किन यो बेचैनी ?

डार्लिङ, उदास केटी सिरक तान्दै निस्फिक्री केटीलाई पुकार्छे, के गर्ने ? कुनै उपाय फुरा त !

एउटै उपाय छ, निस्फिक्री केटी सव्यङ्ग्य जवाफ दिन्छे, केही नगर्ने । आनन्दले सुत्ने सिरकले मुख छोपेर, दिनभरि । सोच्न छाडिदिने ।

भन्छेस् नि तँ । जिन्दगी त्यति सजिलो भए त !

त्यो त तेरै हातमा छ केटी, सजिलो पार्ने कि अप्ठेरो !

तँलाई पो केही तनाव छैन । आफूलाई…

हन के ठान्छेस् तँ आफूलाई ? निस्फिक्री केटी नाक बजाउँछे, तँ नभए यो पृथ्वी घुम्दैन ?

घुम्छ, तर…

दिन र रात हुँदैन ?

हुन्छ, तर…

यो दुनियाँको मालिक अरु नै छन्, केटी । तँ त खालि भाडावाल होस् । कसैले गन्छ तलाईं ? भाउ दिन्छ ? यो कुरा नबुझेर किन सुर्ता गर्छेस् ?

अरु बेला भए उदास केटी अर्कोतिर फर्केर रुन थाल्थी । तर, आज ऊ पछि हट्न चाहन्न । प्रतिवाद गर्छे ।

कल्ले मालिक हुँ भनेको छ र ? ल, तैंले भनेजस्तो झ्यासै हुँ म, भुसुनै हुँ । तर, भुसुनाले पनि त मिठै खान खोज्छ, एक दिन बढी नै बा“च्न खोज्छ । कि होइन ? म त मान्छे पो त । लु भन्, मैले अलिकति राम्रो जिन्दगी खोजेर के गल्ती गरें ?

हा…हा… हा… हँसाउछे केटी ! जति उफ्रीपाफ्री गर् न तँ, केही नापिन्छ ? नापिंदैन । बदलिन्छ तेरो हाल ? अहँ । चिन्ताले छाड्छ तँलाई ? अहँ । अर्बपति हुन्छेस् तँ ? मरिगए हुन्नस् । अनि, केको च्याँच्याँ ?

उसो भए छाड्दिऊँ त लत्तो ? उदास केटी झर्किन्छे, भाको एउटा जागिर पनि छाडेर सुतूँ ?

छाड्दे, केही नाप्पि“दैन । निस्फिक्री केटी अझ निचोरिएको जवाफ दिन्छे ।

अनि, के गरेर बस्ने ? रेस्टुरेन्ट छिर्दा पैसै लाग्छ, नयाँ लुगा किन्न पैसै लाग्छ… ।

हेर् केटी, एक बारको जुनी हो । तेरो उमेरमा मान्छेले दुनियाँ हल्लाउँछन् । तँ आफैं भन्, खानुबस्नुको चिन्तामा डुब्ने कि आफूखुसी गर्ने हो ?

उदास केटी एक छिन गम खान्छे । कुरा ठीकै हो । गर्नेहरुले संसार हल्लाइराखेका छन् । बीसे–बाइसेले चार्टबस्टर गीत गाएका छन्, अस्कर जितुवा फिल्म खेलेका छन् । खेलाडीहरुको त के कुरा भो र ! देखाउने उमेरै यही हो । केही नगर्नेहरु पनि कमसे कम भाइरल भका छन् । देशमा नबिकेकाहरु विदेश गका छन् । गर्नेलाई दुनियाँ फराकिलो छ ।

अनि, सुन् ! निस्फिक्री केटी चेतावनी फ्याँक्छे, त्यो घामड पनि तेरो लायक छैन ।

अब नबोल् है तँ, उदास केटी दिक्क मान्छे, जोखेर, तौलेर, लायक र नालायक नापेर प्रेम गरिन्न !

प्रेम ? प्रेम गर्नलाई त पहिला मान्छेको भा“डो हुनुपर्छ । तँ भिउँटको पछि लागेकी छेस् । बुझिस् ?

फेरि त के नै बाँकी रह्यो र ! उदास केटी आफैंलाई प्रश्न गर्छे । के चैं छ जिन्दगीमा सम्हाल्नलायक, समात्नलायक ? यस्तो आत्माविहीन, रित्तो ढ्वाङजस्तो जिन्दगी रुङेर किन बसिराछु ? यस्तो पनि हुन्छ लाइफ ? फक इट !

उदास केटी सिरक फालेर उठ्छे ।

जगबाट सारेर एक गिलास पानी पिउँछे । अलिकति पानीले हात भिजाएर ठुटे कपाल सम्याउँछे । हलुका सनस्क्रिन दल्छे । हिजै लगाएको बासी कुर्तामा ज्यान हुल्छे र झोला बोकेर बाहिर निस्किन्छे ।

एक छिन कम्पन पैदा हुन्छ, भूकम्पै गएजसरी । अनि, भयङ्कर झट्कासहित लिफ्ट रोकिन्छ । उदास केटीलाई डर लाग्न थाल्छ । भित्तामा टाँसिएको नम्बरमा कल गर्छे । एक घण्टाभन्दा ढिला होला, छिटो हुँदैन । टोलको ट्रान्सफर्मर पड्कियो । जेनेरेटर स्टार्ट भएन । तेस्का बाजे !

एक घण्टा कसरी बिताउने ? उदास केटीको मन आत्तिन थाल्छ, यत्रो लिफ्टमा एक्लै ! भूतप्रेतका कथा, हरर फिल्म सब याद आउन थाल्छन् । धड्कन तेज हुन्छ । कोही भए गफ गरेर पनि समय बित्थ्यो । उदास केटी हातमा फोन लिएर आफन्त सबैको अनुहार मनमा एक सरो डुलाउँछे ।

परिवारका मान्छे ? हुँदैन । आत्तिन्छन् ।

साथीहरु ? कहाँ छन् र साथीहरु ? अमेरिकामा भएकाहरु सुतिराखेका होलान् । युरोपकाहरु भर्खर अफिस पुगेका होलान् । जो यहाँ छन्, ती अब कहाँ साथी रहे र ? असफलता, इन्फिरिअरिटी कम्प्लेक्स, डिप्रेसन र एन्जाइटीका धमिराहरुले पहिलेको न्यानोपन खाइसक्यो । कुरै त हुन्न । के फोन गर्नु ।

घामड केटो ? तीन दिन भो त्यल्ले मेसेज नगरेको । पहिले म किन बोलू“ !

उदास केटीको उदासीको पारो ह्वात्त चढ्छ । कोही छैन कुरा गर्नलायक । बह पोख्नलायक । यस्तो पनि जिन्दगी ! एक फेर फेरि विपश्यना जाऊँ कि क्या हो !

त्यही बेला फोनको घण्टी बज्छ । उदास केटीको आँखामा थोरै चमक देखा पर्छ ।

हेलो !

तपाईंको जीवनमा कुनै समस्या छ ? टेलिभिजनमा धार्मिक प्रवचन दिने मान्छेझैं गम्भीर पुरुष आवाज बोल्छ, राम्रो जागिरको खोजीमा हुनुहुन्छ ? व्यापार चम्काउन चाहनुहुन्छ ? सम्बन्धमा दिगोपन खोज्दै हुनुहुन्छ ?

हे भगवान् !

उसो भए तपाईंलाई सहयोग गर्ने मौका हामीलाई दिनुहोस् । डिभाइन स्माइल… …

उफ्, डिभाइन स्माइल ?

यसले केही सातादेखि उसको जिन्दगी नर्क बनाइरहेको छ ।

एक क्लिकबाट भएको थियो यसको सुरुवात । उदास केटीलाई उस्तो सम्झना छैन,  सायद फेसबुकमा कुनै स्पोन्सर्ड कन्टेन्टमा उसले लाइक बटन दबाएकी थिई । पहिले दुई दिन मेसेज आयो । त्यसपछि तारन्तार फोन । तालिममा सहभागी हुन आइदिनोस् ।

केको तालिम ?

मुस्कुराउन सिकाउने तालिम ।

पहिले त उदास केटीले विनम्रतापूर्वक अस्वीकार गरिरही । तर, जब किस्ता बुझाउन नसकेको ऋणीलाई ब्याङ्कको ताकिताजसरी दिनमै दुईतीन पटक फोन आउन थाल्यो, मेसेज आउन थाल्यो, उसले आफूलाई रोक्न सकिन । त्यसपछि उसले गाली गरी, साइबर ब्युरोमा उजुरी गर्ने धम्की दिई । तैपनि, कल रोकिएन । एउटा नम्बर ब्लक गर्‍यो, अर्कोबाट आउँछ ।

मुद्दै हाल्छु म अब चैं, उदास केटी झोंक्किन्छे । कति पटक भनें होला..

म्याम, म फणीन्द्र बोल्दै छु । प्लिज एक पटक भिजिट गर्दिनुस् ।

तपाईंहरु मान्छे हो कि पशु ? कुरा बुझ्नुहुन्न ?

प्लिज म्याम, जति गाली गर्नु छ गर्नुस् । तर, एक पटक भिजिट गर्दिनुस् । तपाईं निराश बन्नुहुन्न । म पर्सनल ग्यारेन्टी गर्छु ।

ओके, ओके । हरेस खाएर उदास केटी सहमति जनाउँछे ।

थ्याङ्क यू, म्याम । पक्का आउनुहुन्छ नि ?

रिदम माइन्ड केयर क्लिनिकमा भीडभाड छ । रिसेप्सनिस्ट फोनमा घोप्टी परेर बसेकी छ । अधीर प्रकृतिका मानिसहरु बेलाबेला पालो सोध्न आउँछन् । ऊ झनक्क रिसाउँछे, वेट गर्नुस् न पाँच मिनेट !

डाक्टरको कोठाबाट जति पटक भित्रबाट मान्छे निस्किन्छ, त्यति पटक रिसेप्सनिस्ट नयाँ नाम बोलाउँछे । उसले जिब्रो बटारेर अङ्ग्रेजी लवजमा नेपाली नाम उच्चारण गर्दा प्रतीक्षारत मान्छेहरु दिक्दारी बिर्सेर एक छिन हाँस्छन् । आपस्तमा कानेखुसी गर्छन् ।

उदास केटीले प्रतीक्षामा पट्यार मान्न अस्वीकार गरेकी छ । पट्यार मान्यो कि हात आफसेआफ मुखमा । उसले वाचा गरेकी छ, नङ नटोक्ने, केही नकोट्याउने । ऊ बेन्चमा अडेसिन्छे, आँखा चिम्लिन्छे, लामोलामो सास फेर्छे ।

के प्रब्लम छ तपाईंलाई ?

कोही बोल्छ, चर्को स्वरमा । सबैले सुन्ने गरी । उदास केटी आवाज आएतर्फ मुन्टो फर्काउँछे । सोही बेन्चमा उपरखुट्टी लगाएर बसेको छ, एक तन्नेरी । सन्काहाजस्तो रिसउठ्दो अनुहार । खुट्टाभन्दा डेढ बित्ता लामा जुत्ता । निर्लज्ज तरिकाले ट्वाकट्वाक पारिरहेको ।

के खालको प्रश्न हो यो ? किन आउँछन् मान्छे यहाँ ? अनि किन चाहियो नि तँलाई ? चासो किन ? सोमत छैन ? के प्रब्लम छ तपाईंलाई रे ? मनले जति गाली फलाके पनि उदास केटी अनुहारमा यी भाव व्यक्त हुन दिन्न । सानो स्वरमा बोल्छे, त्यही त हो । सबैको जस्तो ।

औषधि चैं नखानु, है ! तन्नेरी साउतीको आवाजमा बोल्छ । डाक्टरको भर नपर्नुहोला । यी मुला डाक्टरहरु कमिसनको लोभमा औषधि लेख्छन् ।

तन्नेरी थामि“दैन । ऊ अझ नजिक सर्छ, फुर्तिलो तरिकाले । झन्डैझन्डै टाँसिनै आइपुग्छ ।

मैले कति खान्नँ भनें । ऊ बरबराउन थाल्छ, अहँ । जबर्जस्ती… मेरो त बाउआमा पनि पातकी भएर क्या ! आफूले जन्माको छोराको विश्वास नगर्ने ! झुटो बोल्यो भन्ने ! यो ठग डाक्टरको कुरा चैं खुरुखुरु मान्ने । सिध्यार छाडे मलाई !

आँखा पढ्ने खुबी छ उदास केटीको । मनको कुरा बोल्न कसैले मुख खोल्नै पर्दैन । ऊ पढ्न सक्छे, शब्दशब्द, अक्षरअक्षर । सन्काहाजस्तो तन्नेरी त्रस्त छ । ऊ उठेर अर्को कुनामा सर्छे । तन्नेरीको नजरबाट छेलिएर बस्छे । र, आफूलाई शान्त राख्न कोसिस गर्छ ।

तर, अर्को निमेषमै उसको कोसिस भङ्ग हुन्छ । पिठ्यु“नेरको बेन्चमा बसेका दुई वृद्ध बाझिरहेका छन् ।

पैली कुरा क्लियर पारुँ न, तपाईं इजरायल कि प्यालेस्टाइन ?

म इजरायल ।

अनि, रसिया कि युक्रेन ?

म युक्रेन ।

यहींनेर तपाईंको तर्क मिलेन क्या ! इजरायल र रुस मिचाहा हुन् । युक्रेन र प्यालेस्टाइन मिचिएका हुन् । आफ्नो भूमि बचाउन लड्दै छन् ।

तपाईंको तर्क चैं कसरी मिल्यो ? इजरायललाई आत्मरक्षाको अधिकार छैन ?

ए इजरायललाई प्यालेस्टाइनी मार्ने अधिकार छ ?

छ ।

उसो भए त रुसलाई पनि त युक्रेनी मार्ने अधिकार होला नि !

कम्युनिस्ट जस्तो कुरा नगर्नुस् न । सबथोक ब्ल्याक एन्ड ह्वाइट हुन्छ र ? त्यही भएर म भन्छु । कम्युनिस्टहरु मान्छे होइनन् । तिनको बुद्धि हुँदैन । यो देश बिग्रेको किन थाहा छ ? कम्युनिस्ट…

उदास केटी यो बाझो सुन्न सक्दिन । जुरुक्क उठेर अर्को कुनामा सर्छे ।

बैनीलाई के प्रब्लम छ ?

ऊ आवाज आएतिर मुड्छे । छेउमा एउटी सुकिली अधबैंसे बसेकी छे । सबभन्दा पहिले नजर उसको पाखुरामा जान्छ । आम्मामा, पाखुरा हो कि थाम ? आफ्नो त दुइटै तिघ्रा खप्ट्याउँदा नि यत्रो हुँदैन होला, हौ । कसरी बोकेर हिँड्छे त्यत्रो मासु ! बसेर उठ्दा गानो जाँदैन के ! कस्तो सुहाएको क्या फेरि !

के व्यथा छ भनेको बैनीलाई ? अधबैंसे मिठो स्वरमा दोहोर्‍याउँछे । उदास केटीको मनमा उही आँधी उठ्छ । किन चाहिएको अर्काको कुरा ! लोखर्केजस्तो स्वाँकस्वाँक अरुको पछिपछि सुँघ्दै किन हिंड्नपर्ने ?

व्यथा त अलि डरलाग्दै छ दिदी ! ऊ नम्रतापूर्वक बोल्छे । बिलकुल बनावटी नम्रता ।

भन्नाले ?

घाँटी थिच्न मन लाग्छ मलाई अरुको ! चिथर्न, ङ्याक्न मन लाग्छ । आफूलाई रोक्नै सक्दिनँ । सधैं त होइन, बेलाबेला !

अधबैंसे उठ्छे । त्रस्त नजरले उदास केटीलाई एक फेर हेर्छे र अर्को बेन्चमा गएर बस्छे ।

शुभेच्छ प्रजपटि ! शुभेच्छ प्रजपटि !

उदास केटी झटपट उठ्छे र भित्र पस्छे ।

फेरि आउनुभो ! उसलाई देख्नेबित्तिकै डाक्टर आश्चर्य र दिक्दारीमिश्रित आवाजमा बोल्छ ।

उदास केटी अनच्छित अतिथिझैं सामुन्ने बस्छे ।

सिलिङमा चहकिलो बत्ती बलेको छ । बत्तीको प्रकाश सिधै डाक्टरको थाप्लोमा परेको छ । उसको थाप्लो यति चिल्लो छ, त्यहाँबाट परावर्तन भएको प्रकाश डाक्टरले कसोकसो मुन्टो हल्लाउँदा उदास केटीको अनुहारमा पर्छ । ऊ आँखा जोगाउन घरी मुन्टो यता, घरी उता गरिरहन्छे ।

रुटिन प्रश्नोत्तर चल्छ । के प्रब्लम छ नयाँ ?

त्यही हो ।

भन्नाले ?

सिम्पटम्स कम भएन डाक्साब !

किन त ?

तनाव छ, पैसा छैन…

यसको उपचार त मबाट नहोला ! डाक्टर नरम स्वरमा उसलाई रोक्छ ।

उदास केटी उसका आँखा हेर्छे । बाफरे ! डाक्टरका आँखा बम्किन्छन्, तेरो ब्याङ्क खाताको ठेक्का मैले लिएको छु ? पैसा छैन त कमा । कसले रोकेको छ ?

उसको नजर पढेर उदास केटी झनै खुम्चिन्छे । ऊ एक फेर कुर्सीमा बसाइ मिलाउँछे, दुई फेर घाँटी सफा गर्छे र तीन फेर स्याँक्कस्याँक्क गर्छे । डाक्टरसँग आँखा जुधाउने हिम्मत हराउँछ । के भन्ने यस्ता स्वाँठलाई ! डाक्टर किन भयो यो झ्या“क्ने ! समस्या सुन्न सक्दैन भने । कन्सल्टेसन त यसलाई पो जरुरी छ ।

प्रतिरक्षामा का“तर मुस्कान फाल्छे ऊ । एक छिनपछि हिम्मत जुटाउँछे र यथाशक्य नरम स्वरमा बोल्छे, डाक्साब ! रित्तो गोजी, अभरा जागिर, घामड प्रेमी सबै समस्यै हो नि ! हजुर तनाव नलिनू भन्नुहुन्छ । तनाव दिने यिनै त हुन् ।

डाक्टर केही बेर निश्चल बसिरहन्छ । तालुमा हात राख्छ, पोक्चे गाला र छोटो घाँटी मुसार्छ । त्यसपछि हात मुखछेउ ल्याएर एक फेर फुक्छ । मानौं, गा“ड आउने अनिष्ट रोक्दै छ । ओके । लेट्स टक अबाउट योर जब । के काम गर्नुहुन्छ रे ?

एप, वेब डेभलप गर्छु । केटीको स्वरमा अलिकति आत्मविश्वास देखिन्छ ।

वाउ ! यति बेला मालामाल हुनुपर्ने होइन ? मान्छे साग बेच्नसमेत एप बनाइराछन् ।

कामको कमी छैन, डाक्साब । भ्याइनभ्याइ छ । दिनको एघारबाह्र घण्टा खट्नुपर्छ । कहिलेकाहीँ असाइनमेन्ट सक्न आधा रातसम्म काम गर्नुपर्छ ।

अनि ?

तर, पैसा आउँदैन ।

किन ?

टाइप सी बोस पर्नाले ।

भनेको ?

चुत्याहा !

ओ ! डाक्टर ठूलो रहस्य सल्टिएझैं मुन्टो हल्लाउँछ ।

गाला रातो पार्दै उदास केटी बह पोख्छे, जति पैसा आउँछ, सबै जग्गामा खन्याउँछ । थर्काउनेहरुलाई खुरुखुरु तलब दिँदोरछ । सोझा स्टाफलाई धुरुधुरु रुवाइसक्यो । चार महिनामा एक महिनाको तलब दिन्छ ।

त्यस्तो जागिरमा अल्झेर बस्ने हो त हातमा यत्रो सीप भाको मान्छे ? डाक्टर ठूलो स्वरमा बोल्छ ।

के गर्ने डाक्साब सबैतिर यस्तै छ । अघिल्लोले छ महिना तलब नदिएपछि छाडेर यसमा आको ।

विदेश ट्राई गर्ने कि ! नत्र आफ्नै केही सुरु गरे नि भो । स्टार्टअपको जमाना छ ।

उदास केटीको ओठमा चिसो, विकृत हाँसो देखा पर्छ । कति सजिलो !

सप्पैले दिने उपाय यही हो, मन्द स्वरमा बोल्छे उदास केटी, घरमा किचकिच छ । कि बिहा गर्, कि विदेश जा । यत्रो खर्च गरेर पढियो, अब फेरि खर्च गरेर विदेश जाऊँ । स्टार्टअप पनि ट्राई गरिसकें । यो फिल्ड बुझेको जेन्युइन लगानीकर्ता भेटि“दैनन् । केही नबुझेका ठेकेदारहरु पैसा हाल्न सुरिन्छन् । त्यस्तासँग काम गर्नै सकिन्न ।

डाक्टर दिक्दार देखिन्छ । सोलुसन के हो त तपाईंको विचारमा ?

सिम्पल छ, सर । काम गरेको ज्याला पाउनुपर्‍यो । समयमा ।

हो, दुवै हातका जोडी औंलाले उद्धरण चिह्न बनाउँदै बोल्छ डाक्टर, यसरी एक पटक सिधा कुरा किन गर्नुहुन्न तपाईंको टाइप सी बोससँग ?

उदास केटी केही बोल्दिन ।

डाक्टर टेबलमा कलमको बिँड टिकीटिकी पारिरहन्छ । पर्खिरहन्छ । उदास केटी केके सोचेर बसिरहन्छे । सन्नाटा भङ्ग गर्न डाक्टर बोल्छ, ओके । अब बताउनुस्, के छ रिलेसनसिप स्टाटस ?

झन् तनाव छ, डाक्साब । न मरिजाने, न गरिखाने टाइपको ।

किन त्यस्तो ?

घामड पर्दियो आफ्नै मान्छे । उदास केटीका आँखा धमिला हुन्छन् । बोलीमा आवेग नपोखियोस् भनेर ऊ कुर्सीको हत्था जोडले समात्छे । पोहोरै प्रपोज गरेको बिहेको । यति खेर भइसक्नुपर्ने । तर, बाउआमाले अर्की केटी हेरेका छन् भन्छ ।

ह्वाट ?

ब्रेकअप दे न त भन्छु । होइन प्युर लभ हो, फस्ट लभ हो, तँलाई छाड्दिनँ भन्छ । उसो भए बाउआमालाई, उनीहरुले हेरेको केटीलाई नो भन् न त भन्छु । ऊ भन्न नसक्ने ।

अनि ?

केटी अस्ट्रेलियामा छ रे । अब त्यो केटीले नो भनी भने मसँग बिहे गर्ने । नत्र बाउआमाको आदेश मानेर… ।

अ क्लासिक इग्जाम्पल अफ टक्सिक रिलेसनसिप ! झटारो हान्दा कालिज मर्लाजत्रो माणिकजडित औंठी सिउरिएको चोर औंला तेर्स्याउँदै डाक्टर भन्छ, यहाँनेर… यहीँनेर लात हानेर किन हिँड्नुहुन्न त्यस्तालाई ?

उदास केटी अलमलिन्छे । यसको जवाफ उसलाई थाहा छैन । के भन्ने ! इट्स कम्प्लिकेटेड । प्रेम गर्नेहरुलाई यसै थाहा हुन्छ । अब जिन्दगी प्रेम नगर्नेलाई त जति भनेर नि बुझाउन सकिन्न ।

उदास केटी धुइँपत्ताल जवाफ खोजी गर्छे । र, सबैभन्दा पहिले फेला परेको सबैभन्दा सजिलो जवाफ दिन्छे, लभ भने पनि सेन्टिमेन्ट भने पनि मान्छेले हिसाबकिताब गरिहाल्दो रहेछ, डाक्साब !

हिसाबकिताबै गरुँ न, डाक्टर तासको गड्डी अगाडि परेको जुवाडेजसरी जोसिएर अघि सर्छ । तपाईंमा के कमी छ भन्नुस् त, त्यस्ता घामडको पछि लाग्नलाई ? आफूलाई हेर्नुस् । रुप भने रुप, पढाइ भने पढाइ, उमेर भने उमेर ! तर, तपाईंले आफूलाई कैद गर्नुभएको छ, एउटा गुफाभित्र । निस्किनुस् त्यो गुफाबाट । दुनियाँ हेर्नुस्, मौका हेर्नुस् । मौकाको कमी छैन दुनियाँमा ।

चर्कोचर्को स्वरमा बोलेपछि डाक्टर एक छिन विश्राम गर्छ र साउतीको स्वरमा बोल्छ, बिहेको कुरा चलेको छैन घरमा ?

आइरहन्छ नि डाक्साब ! अस्ति भर्खर एउटा सेनाको मेजर आइरथ्यो । लुगा व्यापारी पनि आको थियो । यसो कुरा गर्‍यो, ठ्याक्कै एलिएनजस्ता । उनीहरुको सोच नै म बुझ्दिनँ । कसरी ओके भन्नु !

डाक्टर पछि सर्छ, हात तन्काउँछ र बोल्छ, उसो भए तपाईंको नजरमा यसको समाधान के त ?

माया गर्छु भन्नेले माया गर्नुपर्‍यो । घामड हुनु भएन । कि बाउआमालाई नो भन्नुपर्‍यो, कि मलाई !

गुड ! डाक्टर अनुहारमा कृत्रिम मुस्कान छर्छ । मेरो एउटा सुझाव ऊसँग फाइनल कुरा गर्नुस् एक चोटि । चित्त बुझाउनका लागि । अनि, जतिसक्दो चा“डो, जतिसक्दो टाढा भाग्नुस् त्यो मान्छेबाट ।

उदास केटी केही बोल्दिन ।

अनि, तपाईंको त्यो साथीको चैं हालचाल के छ ? के रे नाम ?

निस्फिक्री केटी ?

हो, हो, डाक्टर नाडीको घडीमा आँखा गाडेर सोध्छ, कत्तिको हुन्छ गफ ?

बाहिर हुँदा, अफिसमा हुँदा आउँदिन आजकल । घरमै पनि किचेनमा, आमाबाबासँग हुँदा आउँदिन । जब म कोठामा एक्लै हुन्छु, किचकिच सुरु भइहाल्छ ।

के भन्छे ?

उही त हो । तँ केही होइनस्, कोही होइनस् । यो दुनियाँको मालिक अरु नै छन् । तँ त जाबो भाडावाल भन्छे । उदास केटी दुवै हात उचालेर उद्धरण चिह्न बनाउँदै बोल्छे, मरिहत्ते नगर् ! सबलाई मिडिल फिङ्गर देखाइदे । कसैले भनेको नमान्, आफूखुसी गर् । जब उसको कुरा सुन्छु, मैले बा“च्न जानिनँ कि जस्तो लाग्छ !

अझै ? डाक्टर आश्चर्य प्रकट गर्छ ।

अझै । उदास केटी पुष्टि गर्छे ।

छाड्दिनुस् क्या यी कुरा । मैले भनिनँ ? यी सब समस्या साधारण हुन् । तपाईं यहाँ बाहिर गल्लीमा निस्केर सोध्न थाल्नुस् त । हरेकसँग यीभन्दा दश गुणा डरलाग्दा समस्या छन् ।

तर, ती सबै खुसी छन् । आआफ्ना काम गरिराछन् । म तपाईंकहाँ धाइराछु….

तपाईंको गल्ती हो र ? भन्नुस् त तपाईंको गल्ती हो र ?

गल्ती जोसुकैको होस्, सहनु मैले परेको छ ।

साह्रै नै परेको हो ?

एकदम !

के गर्ने त ? दबाई खाने ?

नो, नखाने ।

ओके । अर्को हप्ता आउनुस् ।

उदास केटी उभिन्छे । जानुअघि केही बिर्सेझैं बोल्छे, साँच्ची डाक्साब ! हिजोअस्ति केमा पढ्याथें । हजुरको सर्टिफिकेट फेक रे । भर्खर ब्याचलर्स पढ्दै हुनुहुन्छ भनेर लेख्या रैछ !

डाक्टरको अनुहारमा अलिकति आश्चर्य र अलिकति मुस्कान देखिन्छ । त्यसपछि अचानक ऊ क्रुद्ध हुन्छ र हातले बाहिरतर्फ देखाउँदै डुक्रिन्छ, यी सब मान्छे पागल हुन् ? ब्याचलर्स पनि नगरेको मान्छेसँग उपचार गर्न आउने ? तपाईं पागल हो ?

उदास केटी जडवत् उभिइरहन्छे । एक छिनको विश्रामपछि डाक्टर मत्थर हुन्छ । ऊ बिलौना गर्न थाल्छ । देख्नुभो ! तनाव कसरी हुन्छ ? गल्ती गरिराख्नुपर्दो रहेछ त ? यत्रो मान्छेलाई गुन लगाको छु । साँच्चै भन्दा सानोतिनो क्रान्ति नै ल्याएको छु, नेपालको मानसिक स्वास्थ्यको क्षेत्रमा । मेरो एउटा भिडियो युट्युबमा तीन लाखले हेरेका छन् । टिकटकमा चालीस लाख भ्युज छ । ती सबै पागल हुन् ? यो… यो… डब्ल्यूएचओको सर्टिफिकेट नक्कली हो ? तर, मान्छेले अझै खेदो गर्न छाडेका छैनन् ।

डाक्टर टेबलबाट गिलास उठाएर पानी पिउन थाल्छ । उदास केटी लुसुक्क बाहिर निस्किन्छे ।

हलमा करिब डेढ दर्जन मानिस छन् । अधिकांश तन्नेरी । एकाध पाका पनि । उदास केटीले देखी, दुई खालका मान्छे छन् । एउटा सानो झुन्ड छ, पाँचसात जनाको । उनीहरु सबैभन्दा अगाडि बसेका छन्, अनुहारमा उत्सुकता, जीउमा ब्रान्डेड कपडा, महँगा अत्तर । प्रत्येकका हातमा आइफोन । घामपानीसँग जुध्न नपरेको त्वचा । हरेक व्यक्ति हरेकसँग बोलिरहेका । कहिले फर्किस्यो स्टेट्सबाट ? मेरो त ज्यानवरीमा छ फ्लाइट । वाउ ! मलाई थाहा थियो, नानी आईभी लिगमै जान्छिन् भन्ने । बनावटी विनम्रता । अनि, त्यसमा लुकेको अहङ्कार । दुई जना त उदास केटीले देखिरहेकै मान्छे हुन् । सेलेब्रिटी ब्याङ्कर र मानव अधिकारकर्मी । सोसल मिडियामा हिट । यिनले जिन्दगीमा गर्न बाँकी केही छैन, के खान आएका होलान् !

अर्को समूह छ, अलि पछाडि । उनीहरु एकअर्कासँग सशङ्कित देखिन्छन् । परपर बसेका छन्, अनुहारमा बेचैनी बोकेर । सामान्य लुगाफाटो । चिसो एसीमा पनि पसिना काढिरहेका । कोही कोहीसँग बोलिरहेको छैन । सायद बित्थामा पाँच हजार तिर्नुपरेको ग्लानिमा डुबेका होलान् । यिनलाई पक्कै उसलाई झैं अङ्कुश लगाएर तानिएको होला ।

ऊ यी दुई खाले मान्छेको बीचमा रहेको खाली ठाउँमा बस्छे ।

केही बेरपछि निद्राबाट ब्युँझेको व्यक्तिझैं अगाडिको ठूलो स्क्रिन झट्ट ब्युँझिन्छ । त्यसमा एउटा इमोजीको साथ लेखिएको छ— स्माइल प्लिज !

हलका सबै जना चलायमान हुन्छन् । आआफ्ना धुन छोडेर अगाडि सोझिन्छन् । ढोकाबाट सेतो सुटमा सजिएकी महिला प्रवेश गर्छे । चौडा शरीरका कारण ऊ कम उचाइकी देखिन्छे । ऊ एक पटक हलमा नजर डुलाउँछे, उपस्थित हरेकलाई तौलिन्छे र रोबोटजसरी अररो चालमा स्क्रिनअगाडि पुग्छे ।

जापानमा ठूलो नाम छ रे नि ! अगाडिको समूहमा खासखुस चल्छ ।

हन जापानमा त सबैले यस्तो ट्रेनिङ लिन्छन् रे त !

लिँदा हुन् नि, उनीहरु संसारकै शिष्ट जातिका मान्छे । हाम्रोजस्तो हो र !

हाम्रो नि थियो नि । राजारानी हुञ्जेल करलागी थियो । अहिले त सोमत तुरिएकाहरुको रजाइँ छ !

यस पालि दुई सेसनका लागि मात्र आउनुभको रे !

बोल्नु सुरु गर्नुअघि रोबोटजस्ती महिला हलुका मुस्कुराउँछे । भावविहीन, मृत मुस्कान । त्यसपछि पूरै झुकेर नमस्कार गर्छे र गुलियो स्वरमा बोल्न थाल्छे ।

रोबोटजस्ती महिला सुरुमा मुस्कानको महङ्खवबारे प्रकाश पार्न थाल्छे । मुस्कानले कसरी तपाईंको आत्मविश्वास बढाउँछ, सामुन्नेको व्यक्तिको मन जित्न सघाउँछ । कसरी मुस्कान निहत्थाहरुको सबैभन्दा शक्तिशाली हतियार हो, आदिआदि ।

त्यसपछि ऊ मुस्कानको उद्भव र इतिहासतर्फ जान्छे । कतिपय कुरा उदास केटीले थाहा पाइसकेकै थिए । कतिपय ऊ पहिलो पल्ट सुन्दै थिई । मुस्कान मानव जातिभन्दा पनि पुरानो हो । यो सर्वव्यापी, सर्वकालिक छ । मान्छेका आदिम पूर्वज आफूमाथि खतरा उत्पन्न हुँदा दाँत देखाएर ङिच्च गर्थे । त्यो त्रासको अभिव्यक्ति थियो । पछि यो खुसीको, रमाइलोको अभिव्यक्ति बन्न पुग्यो । हाँसो/मुस्कान र प्रगतिको साइनो नयाँ होइन । जब मानव समाज उज्यालो चरणमा प्रवेश गर्छ, तब मानिसहरु उन्मुक्त हाँसो हाँस्छन् । जब समाज अन्धकार युगमा जाकिन्छ, तब हाँसो प्रतिबन्धित हुन्छ । मध्ययुगमा कतिपय समाजमा हाँसो वर्जित थियो । युरोपेलीहरुको दाबी थियो, दाँतै देखाउनु थियो भने भगवान्ले मान्छेलाई ओठ दिने थिएनन् । मोनालिसा त्यसै ओठ बन्द गरेर मुस्कुराएकी हुन् र ! नेपालीहरु नै भन्थे, हाँस्नु छैन कदापि नारीहरुले वेश्या हुने हाँस्तछन् ।

फेरि, पुनर्जागरण, औद्योगिकीकरण र लोकतान्त्रिक चेतसँगै एउटा यस्तो लहर आयो, हाँसो/मुस्कान आत्मविश्वासको, न्यानोपनको, प्रेमको, जीतको प्रतीक बन्यो । रुञ्चे अनुहार भएका स्टालिन र ब्रेझनेभको मुलुकलाई हँसिला केनेडीको मुलुकले जित्यो । भूमण्डलीकरणको युगमा पान–अमेरिकन एयरलाइन्सका विमान परिचारिकाहरुको हाँसो दुनियाँले नक्कल गर्‍यो । हाँसो अभिव्यक्ति मात्र रहेन, सम्पत्ति बन्यो । हलिउडका ठूला कलाकारले आफ्नो मुस्कानको बिमासमेत गराए ।

अहिले पनि हाँसोको अर्थ र प्रकृति समाजअनुसार फरक छ । व्यक्तिवादी संस्कृति भएको पश्चिममा जोडले हाँस्न प्रेरित गरिन्छ । अलिकति सामूहिक संस्कृति भएको पूर्वमा शान्त हाँसोलाई राम्रो मानिन्छ । बुद्धको जस्तो । जे भए पनि हामी दुई कामका लागि मुस्कुराउँछौं, या त मनको कुरा अभिव्यक्त गर्न, या लुकाउन ।

उदास केटीलाई कहीँ नभएको पट्यार लाग्छ । हाई काढ्छे, औंला पड्काउँछे, बसाइ मिलाउँछे । बडो मुस्किलले ऊ सुनिरहेकी छ । रोबोटजस्ती महिला मुस्कानका नियम गिन्ती गरिरहेकी छ— मुस्कुराउँदा चार मिलिमिटरभन्दा ज्यादा गिजा देखिनु हुँदैन । देखियो भने मुस्कान होइन, धस्कान हुन जान्छ । दश मिलिमिटरभन्दा ज्यादा दाँत देखिनु हुँदैन । त्यो पनि माथिल्लोपट्टिको मात्र । मुस्कानमा आत्मविश्वास हुनुपर्छ, नक्कली होस् कि असली । फेक स्माइल अलवेज वर्क्स ।

लामो प्रवचनपछि रोबोटजस्ती महिला एकएक जनालाई पालैपालो मुस्कुराउने तरिका सिकाउन थाल्छे । अगाडिका शिष्टहरुलाई सिकाइसकेपछि ऊ उदास केटीसम्मुख आइपुग्छे ।

नानु ! तिम्ले किन कोसिस पनि नगरेको ? रोबोटजस्ती महिला हत्केलामा चिउँडोे अड्याएर जोखाना हेरिरहेकी उदास केटीलाई भन्छे ।

मलाई मुस्कुराउने तरिका होइन, कारण चाहिएको छ । ऊ बेवास्तापूर्वक जवाफ दिन्छे ।

हो, त्यहीं भयो गल्ती ! अघि मैले भनेको सुनिनौ ? खुसीको कारण खोज्ने होइन, जे छ त्यसमा खुसी हुने हो । तिम्रो अनुहार त करोडको छ । यति राम्रो अनुहार कुचुक्क पारेर बसेपछि कसरी हुन्छ ? खै मुस्कुराऊ यसरी !

म्यामले चैं मेरो कुरा बुझ्नुभएन । मलाई खुसी हुन पनि आउँछ । हाँस्न पनि आउँछ । तपाईंले जसरी मुस्कुराउन पनि आउँछ । उदास केटी प्रतिवाद गर्छे । तर, मलाई तनावैतनाव छ ।

कस्तो तनाव ?

जब गतिलो छैन । रिलेसन हेल्दी छैन । मलाई दिक्दार लाग्छ । आफैंसँग । कन्सल्टेसन गराको तीन महिना भइसक्यो । कुनै सुधार छैन । उदास केटी रोबोटजस्ती महिलाले मात्र सुन्ने गरी एकै सासमा बोल्छे, हाँस्ने कसरी ? खुसी हुने कसरी ?

एक निमेषका लागि रोबोटजस्ती महिलाको ओठबाट मुस्कान गायब हुन्छ । ऊ एक छिन सोचमा परेजस्ती देखिन्छे । फेरि ऊ मुसुक्क हाँस्छे र बोल्छे, तिमी क्वालिफाइड छौ ?

एस ।

तिमीलाई आफ्नो काम मज्जाले गर्न आउँछ ।

आउँछ ।

र, पनि बोसले राम्रो तलब दिँदैन ?

दिँदैन ।

त्यसो भए दोष तिम्रो ! रोबोटजस्ती महिला ऊतिर औंला देखाएर बोल्छे, दोष तिम्रो ! तिमीले कहिल्यै बोससँग मुस्कुराएर कन्फिडेन्टली कुरा गर्‍या छौ ?

उदास केटी मुन्टो हल्लाउँछे ।

लुक एट मी एभ्रिवान ! रोबोटजस्ती महिला सबैको ध्यान आकर्षित गर्छे । पछाडिकाहरु घाँटी तन्काउँछन्, अगाडिकाहरु मुन्टो बटारेर पछाडि फर्किन्छन् । तपाईंमध्ये कोहीकोही अर्बपति हुनुहुन्छ, सयौं मान्छेलाई काम लगाउनुहुन्छ र कुनै दिन काम अह्राउँदा तपाईंको कुनै कर्मचारीले मानेन भने दोष कसको ? तपाईंको । किनकि, तपाईंले अह्राउन जान्नुभएन । तपाईंमध्ये कोही मागेर पेट भर्नुहुन्छ र कुनै दिन कसैले भिक्षा दिएन भने दोष कसको ? तपाईंको । तपाईंले भिक्षा पाउनुभएन, किनभने तपाईंले माग्न जान्नुभएन । सही तरिकाले मागेको भए मान्छेले नाइँ भन्नै सक्ने थिएन । हो, त्यो मान्छेलाई नाइँ भन्नै नसक्ने बनाउने हतियार हो, मुस्कान । जागिर होस्, रिलेसनसिप होस्, व्यापार होस्, तपाईं तरकारी बेच्नुस् कि कम्पनी बेच्नुस्, मुस्कुराएर आफ्नो भूमिका निभाउनुभयो भने तपाईं सफल हुने सम्भावना ज्यादा हुन्छ ।

भाषण सिध्याएर रोबोटजस्ती महिला फेरि उदास केटीतिर फर्किन्छे । अरुलाई खुसी पार्ने साधन मात्र नसम्झ मुस्कानलाई ! ऊ सानो स्वरमा बोल्छे, ट्रिकल डाउन सुन्या छौ ?

इकोनोमिक थिएरी ? सुनेको छु ।

इकोनोमिक्समा मात्र होइन, फेसन, म्यानेजमेन्ट, सबैथोकमा । टप कर्पोरेसन, टप धनीलाई नाफा हुने नीति बनायो भने त्यसको फाइदा गरिबसम्म पुग्छ । टप आइकन, सेलेब्रिटीले कुनै नयाँ पहिरन, गहना युज गर्‍यो भने त्यो फेसन बन्छ, ट्रेन्ड बन्छ । टप लिडरले आफ्नो काम गर्ने तरिका बदल्यो भने पालेसम्म त्यसको असर पुग्छ । खुसी पनि त्यस्तै हो, जसको सुरुवात तिम्रो ओठबाट हुन्छ । ट्रिकल भएर त्यो खुसी हातका औंलासम्म पुग्छ । ल मुस्कुराऊ त मैले भनेजसरी !

आदेश मानेर उदास केटी खिसिक्क गर्छे । रोबोटजस्ती महिलाको आँखा चिम्रिन्छ, चित्त नबुझेझैं । ऊ कोल्टिएर हेर्छे र उदास केटीको माथिल्लो ओठलाई अलिकति तलसम्म तानेर गिजा छोपिदिन्छे । तलपट्टि टेढिएको ओठलाई सम्याएर सिधा पारिदिन्छे ।

पर्फेक्ट ! दिनभरि यसै गरी बस्नु है, नत्र बिर्सिन्छ ।

उदास केटी सामुन्नेको ऐनामा आफ्नो सर्वथा नौलो र अपरिचित मुस्कान निहार्छे । एक छिन त बहुतै कृत्रिम लाग्छ उसलाई । गाढा पहेंलो सयपत्रीको थुँगामा हरियो पुतली आएर बसेजस्तो । तर, एक छिन नियालेपछि सोच्छे, ठीकै छ, पाँच हजारको मुस्कान ! मुस्कानको बनोट बिग्रेला भन्ने डरले ऊ थपक्क मास्क लगाउँछे र कसैसँग नबोली घर फर्किन्छे ।

खाना खाँदा र सुत्न लाग्दासमेत मुस्कान बिग्रेला भन्ने चिन्ताले उसलाई सताइरह्यो । मुस्कानले केके न गर्ला भन्ने आस उसलाई थिएन । तैपनि, ऊ चाहन्थी, नगद पाँच हजार खर्चिएको चीज कमसे कम केही दिन टिकोस् । त्यसैले निस्फिक्री केटीले बारम्बार चिमोट्दा पनि ऊ बोलिन ।

बिहान उठेर हतारहतार ऐनाअगाडि उभिँदा मुस्कान सकल्ती अनुहारमा टाँसिएको देखेपछि मात्रै ऊ ढुक्क भई ।

उसलाई जसरी पनि ढोकाबाटै फिर्ता गराउने मुठीभरिकी रिसेप्सनिस्टको भीमकाय अहङ्कारलाई बल्लतल्ल जितेर मुस्कानसहितकी उदास केटी च्याम्बरभित्र छिर्छे । टिकटकमा अरेली का“डैले गीतमा महिलाहरुले पस्किएका उत्तम कला परख गरिरहेको टाइप सी बोस ऊतिर नहेरी बोल्छ, यो टिकटक हेर्ने बानी थिएन । सरकारले बन्द गरेपछि हेर्न थालियो !

ऊ फोन टेबलमा राख्छ, एकदम नयाँ कोट मिलाउँछ र मुस्कानसहितकी उदास केटीतर्फ फर्किन्छ ।

अरे वाह ! निकै खुसी देखिन्छौ । बस ।

ऊ केही नबोली बस्छे ।

त्यो न्युजपोर्टलको काम सकिदियौ ?

हाम्रो टिमले काम एक सरो सकेर पठाइसकेको । फेरि फ्रन्टएन्डमै के चित्त बुझेन भन्दै छन् रे । फिडब्याक आउन बाँकी छ ।

गुड । अनि त्यो पञ्चैबाजा एपको ?

भको छैन सर ।

ल हेर, मङ्सिर १ मा लन्च गर्ने भनेको एप !

क्लाइन्टहरुको डिमान्ड अलि कठिन छ, सर । यति सानो टिमले त्यत्रो काम…

केही दिन ओभरटाइम गरेर भए नि सकिदिऊँ न त्यो काम । लु त !

उदास केटी जवाफ दिन्न । टाइप सी बोस एक छिन रोकिएर फेरि बोल्न थाल्छ, अलि काममा सिन्सियरिटी हुनुपर्‍यो है, शुभेच्छा ! अब तिमीहरु पनि चानचुने कम्पनीको इम्प्लोई होइनौ । अब दुईतीन महिनामा हामी यूएसबाट कन्ट्र्याक्ट ल्याउँदै छौं । छ महिनामा त हाम्रो ब्रान्च पनि खुल्छ । दुबईको काम त हामीले गरि नै सक्यौं । त्यसपछि त चट्ट  दुबईको ब्रान्चमा समुद्र हेर्दै काम गर्ने कि, यूएस जाने कि, घरैको दालभात खाएर काठमाडौंमै गर्ने कि !

यस्ता गफ उसले कमसे कम सय पटक सुनिसकेकी छ । तर, हरेक चोटि टाइप सी बोसको गफ सुनेर ऊ दन्त्यकथा सुनिरहेका केटाकेटीजसरी मन्त्रमुग्ध हुन्छे । ऊ अति प्रभावित हुन्छे । टाइप सी बोसले भनेको कुरा पूरा हुने आशाले होइन, हरेक पटकको गफमा नयाँनयाँ झुट सिर्जना गर्ने उसको खुबीले ।

कसरी कुरा सुरु गर्ने, उदास केटी द्विविधामा छे । किनभने, टाइप सी किन आयौ भनेर कहिल्यै सोध्दैन । सोध्यो कि कुनै न कुनै माग त अगाडि तेर्सिइहाल्छ । र, उसले कसैको माग पूरा गरोस्, यस्तो हुनै सक्दैन । त्यसैले त ऊ टाइप सी बोस हो ।

एउटा कुरा गर्नु थियो, सर ! उदास केटी मुस्कान कायम राखेर नम्र स्वरमा बोल्छे । सुन्नासाथ टाइप सी बोसको अनुहारको चमक गायब हुन्छ ।

गर न ।

सर स्यालरी…

के बढाउनुपर्‍यो ? टाइप सी बोस उसको बोली खोस्छ, बढाउने हो । अब एकदुई महिना कुर है त !

होइन सर, बढाउन परेन । तर, रेगुलर हुनुपर्‍यो ! उसले मुस्कान यथावत् राख्दै भनी, पोहोर साल वर्षभरिमा नौ महिनाको मात्र आएछ ।

हेत्तेरी ! सबै हिसाब छ । यत्रो कम्पनी छ, टाइप सी बोस बोली उच्च पार्छ र ठट्टा गरेजसरी बोल्छ, हराउँछ र तिम्रो पैसा ? तिम्रो खातामा हुनु र कम्पनीको खातामा हुनु एउटै होइन ? म छ“दै छु नि ।

भनेर भएन, सर । अहिल्यै तीन महिना भइसक्यो !

ए बाबा आउँछ भनें त । ल जाऊ !

होइन सर !

कस्तो होइन ? सी टाइप बोस सन्किन्छ, के होइन ?

स्यालरी रेगुलर त हुनैपर्छ, आजैबाट, उदास केटी समुस्कान बोल्छे ।

टाइप सी बोस उसको अनुहार हेर्छ । मुस्कान देख्छ । अलमलिन्छ र मजाक गर्छ, मजाक नगर न, नानी !

मजाक होइन, सर ! नहुने हो भने म त रिजाइन गर्छु भनेर आको । उदास ओठमा मुस्कान टाँसेरै बोल्छे ऊ र खल्तीबाट राजीनामा पत्र झिकेर अगाडि राख्छे ।

टाइप सी बोस आश्चर्य व्यक्त गर्छ, ए रिजाइन पेपर नै बोकेर आको ?

हजुर सर ! उही मुस्कान, उही जवाफ ।

तब त तिमी अघिदेखि नै किन हाँसिराछौ भन्छु नि ! टाइप सी बोसको अनुहार अँध्यारो हुन्छ । बल्ल कुरा बुझें । ऊ क्रुद्ध तवरले राजीनामा पत्र उठाउँछ र घर्रामा हाल्छ ।

उदास केटी उठ्छे र मुस्कान बोकेरै बाहिरिन्छे ।

साँझमा पनि क्याफे सुनसान छ । मानौं, सहर निदाइसक्यो । मुस्कानसहितकी उदास केटी चिउँडोेमा हात राखेर हट चकलेटको घुट्की निलिरहेकी छे । हरेक घुट्कीसँगै ऊ मुख मिठ्याएर स्वाद लिइरहेकी छ । उसको सामुन्ने अमेरिकानोको कप अगाडि राखेर घामड केटो ध्यानमग्न बसेको छ ।

आफ्नोतर्फको सामान्य भलाकुसारी सिध्याइसकेकी छ, उदास केटीले । जे भन्न आएकी हो, त्यो चाहिँ भन्न बाँकी छ । दिउँसो मात्र उसले जागिर छाडेकी थिई । नछाडुञ्जेलसम्म उसलाई जागिर निकै प्यारो लागेको थियो । तनाव लिन्थी, केही गरी जागिर गयो भने ! तर, अफिसको कम्प्युटरबाट लगआउट गरेर, ब्राउजरबाट हिस्ट्री क्लियर गरेर बाहिर निस्कँदा उसलाई बहुतै चङ्गा महसुस भइरहेको थियो । ऊ ढुक्क थिई, एउटा बाटो बन्द भए अरु तीन बाटा खुल्छन् ।

सुन न विवेक ! उदास केटीले घामड केटोलाई बोलाई, एउटा कुरा गर्नु छ क्या !

के कुरा ?

तिमीलाई लाग्दैन, हामी धेरै अलमलिइसक्यौं ?

उहुँ !

एक वर्ष हुन लाग्यो । अब टाइम भो नि तिमीले डिसिजन लिने ।

तिमीलाई थाहा छ त मेरो बाध्यता ! घामड केटो सहज र तदर्थ तवरले बोल्छ ।

बाध्यता ! एक न एक दिन त तिमीले कि मलाई रोज्नुपर्छ कि उसलाई !

नअत्याऊ न यार ! तिम्रै आड भएन भने म कसरी टिक्न सक्छु, भन त शुभु । अझ हाँस्छे पो !

उदास केटी आफूले माया गरेको र साथ जिन्दगी बिताउँछु भनेर सम्झौता गरेको अनुहार हेर्छे । आँखामा नियाल्छे । अहँ, त्यहाँ इमानदारी छैन । निष्ठा छैन । विश्वास छैन । छ त केवल छल, कपट, बहानाबाजी । र, घामड केटोको हरेक बहाना उसलाई राम्रोसँग थाहा छ । ऊ हट चकलेट घुट्क्याउँछे, घामड केटो कफीको चुस्की लिन्छ ।

धेरै मिस गर्न लाग्यौ क्या हो मलाई ! आज के बार ? वेन्जडे । घामड केटो उसलाई हेरेर आँखा झिम्क्याउँछ, म रिसोर्ट बुक गर्छु नि त फ्राइडेलाई !

उदास केटी मुस्कानको आकृति नबिगारी खिस्स हाँसोको आवाज निकाल्छे ।

तर, त्यसका लागि पनि तिमीले अहिल्यै डिसाइड गर्नुपर्छ, विवेक !

हैन के भन्दै छौ तिमी ? थाहा छ तिम्लाई ? म मजाक सोचिराखेको ? घामड केटो गम्भीर हुन्छ ।

तिमी त्यो अस्ट्रेलियाको केटी पर्खिन्छौ कि मसँग बिहे गर्छौ ? डिसाइड गर, हियर एन्ड नाउ । त्यो कफी सकिनुअघि । उदास केटी हट चकलेटभन्दा गुलियो मुस्कानका साथ कुरा स्पष्ट पार्छे । आफ्टर द्याट आई विल मुभ अन !

यू विल मुभ अन ! यू विल मुभ अन ! घामड केटो केही बेर दोहोर्‍याइरहन्छ, अनि स्वाट्टस्वाट्ट कफी पिउँछ र जुरुक्क उठेर हिँड्छ ।

उदास केटी तीस सेकेन्डजति मौन बस्छे र मनमनै दोहोर्‍याइरहन्छे । दिस इज द एन्ड । दिस इज द एन्ड ।

एक छिनपछि ऊ आफैंलाई प्रश्न गर्छे, ब्रेकअप कसले गर्‍यो ?

ऊ उठेर हिँड्यो । आफूले गरें भनेर मक्ख होला कि !

तर, उसले आफैंलाई सम्झाई, प्रेम त मेरो एकतर्फी थियो । उसले ब्रेकअप दिने सवालै रहेन ।

उठ्नुअघि ऊ मोबाइलबाट घामड केटोको फोन नम्बर डिलिट गर्छे, फेसबुकमा अनफ्रेन्ड गर्छे । मुस्कानसहित क्यासियरअघि उभिएर पैसा तिर्छे, हिँड्न लाग्दा नजर धमिलो भए पनि नलडखडाई, नाक स्याँक्कस्याँक्क नगरी ऊ सडकमा आइपुग्छे । उसलाई आफूमाथि एकदमै गर्व लाग्छ ।

उदास केटी ओछ्यानमा पल्टिरहेकी छ । उसका आँखा लोलाउन थाल्छन् । तर, बत्ती ननिभाएकाले आँखा चिम्लिँदा पनि सबथोक उज्यालो, चहकिलो लाग्छ । मनमनै भन्छे, अबचाहिँ बाह्र वाटभन्दा ज्यादाको बत्ती राख्दिनँ ।

केही मिनेटअघि भान्सामा आमासँगको संवाद उसको मस्तिष्कमा दोहोरिन थाल्छ ।

आमा ! आमा !

हई !

को आउँछ भनेको होइन ? कहिले हो ?

खै पर्सि आउने कुरा थियो । आज पनि फोन गरेका थे । भोलि छोरीसँग सल्लाह गरेर भनुँला भन्नुभो बाबाले ।

कस्तो छ केटा ?

हिरा छ नि केटा त । इन्जिनियर । पढाउँछ पनि अरे !

बोलाउनु न त उसो भए ।

म बाबालाई भनुँला !

तर, हेर्न मात्र हो नि फेरि । धेर आस नदेखाउनू !

मुखले केही भन्दिनन् आमा । तर, सधैं बिरालोको चालले हिँड्ने आमा बैठककोठातिर दौडिँदा निस्किएको धङधङ आवाजले उनको सारा खुसी छताछुल्ल पार्छन् ।

उदास केटी सिरकमा गुँडुल्किन्छे र लाडिएर बोलाउँछे, डार्लिङ, यहाँ सुन त । कति पछि म खुसी भएँ नि !

जवाफ आउँदैन ।

डार्लिङ, बोल न प्लिज !

अहँ, जवाफ आउँदैन ।

उदास केटीको निद्रा भाग्छ ।

ऊ जुरुक्क उठ्छे । गद्दा उठाएर खाटमा चढाउँछे । र, पिरोलिएर ऐनाअगाडि उभिन पुग्छे । मुस्कान यथावत् छ । गिजा नदेखिने, माथिल्लो दाँत मात्र देखिने मुस्कान !

(खगेन्द्र गिरीको भग्न प्रेमशाला कथासंग्रह प्रकाशित छ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?