+
+
Shares
पौरखी प्रवासी :

इटालियन स्वादका नेपाली सेफ

बाग्लुङ दमेकका टंक सापकोटा पोर्चुगलमा इटालियन खानाका प्रसिद्ध सेफ बनेका छन्। भान्साभित्रको कौशलले विश्वभरिका पाहुनाको मन जित्न सफल टंकले पाककलाबाट थुप्रै अन्तर्राष्ट्रिय अवार्ड समेत जितेका छन्।

वसन्त रानाभाट वसन्त रानाभाट
२०८२ असोज १६ गते ११:००

भूमण्डलीकरणको यो युगमा संसार साँघुरिएको छ र मानिसको यात्रा अब भौगोलिक सीमाभित्र कैद छैन। अवसरको खोजीमा होस् वा ज्ञान र सीपको यात्रामा, नेपालीहरू पनि यही विश्वव्यापी लहरको एउटा अभिन्न अंग बनेका छन्। पृथ्वीका विभिन्न भूभागमा पुगेर उनीहरूले आफ्नो श्रम, बुद्धि र साहस ले नयाँ समाजमा अटल परिचय स्थापित गरेका छन्। तर, जतिसुकै टाढा पुगे पनि, उनीहरूको नाभी अझै पनि मातृभूमिमै गाँसिएको छ- भाषा, संस्कृति र भावनाको अटुट धागोमार्फत्।

अनलाइनखबरले सुरु गरेको ‘पौरखी प्रवासी’ शृङ्खला त्यही गौरवमय यात्राको गाथा हो। यो केवल व्यक्तिगत संघर्ष र पसिनाको कथा मात्र होइन, बरू विश्व मञ्चमा नेपालको सामूहिक पहिचानलाई उचाइ दिने प्रयासको दस्तावेज हो। हरेक प्रवासी नेपाली आफ्नो गन्तव्यमा नेपालको ‘ग्लोबल एम्बेसडर’ बनेर उभिएका छन्। उनीहरूले विश्वलाई देखाइरहेका छन्, ‘नेपालीहरू मेहनती, सहिष्णु र प्रतिभावान हुन्छन्।’

प्रवासी नेपालीहरूको महत्व केवल आर्थिक पक्षमा मात्र सीमित छैन, यद्यपि रेमिटेन्सले नेपालको अर्थतन्त्रको मेरुदण्डलाई सजीव राखेको छ। विदेशको तातो घाममा पसिना बगाउने श्रमिकदेखि अन्तर्राष्ट्रिय मञ्चमा उदाएका विज्ञ, उद्यमी र कलाकारहरूसम्म, उनीहरू सबैले नेपाललाई विश्वको नक्सामा चिनाएका छन्। उनीहरूको ज्ञान, सीप र नेतृत्व क्षमतालाई नेपालको समृद्धिको यात्रासँग जोड्नु अनिवार्य छ ।

सामाजिक र सांस्कृतिक दृष्टिले, प्रवासीहरू नेपालकै बहुरंगी स्वरूपलाई नयाँ ठाउँमा पुनः फूलाइरहेका छन्। चाहे नयाँ पुस्तामा नेपालीपनको बीउ रोप्ने कुरा होस् वा परदेशमा दशैँ–तिहार र तीजको उल्लास भर्ने कुरा, यी सबै अभ्यासले नेपालीपनलाई भौगोलिक सीमाभन्दा बाहिर फैलिएको ‘विश्व-चेतना’ बनाइदिएको छ।

जब कोही आफ्नो जन्मभूमिबाट टाढा जान्छ, उसले आत्मपहिचानलाई पुनःपरिभाषित गर्नुपर्छ। नयाँ समाज र संस्कृतिमा घुलमिल हुँदै उसले आत्मान्वेषणको यात्रा गर्छ। यही प्रक्रियामा नेपालीहरू केवल आर्थिक योगदानकर्ता मात्र नभई विश्व-संस्कृतिको सक्रिय अंग बनेका छन्, जसले भूमण्डलीय संस्कृतिमा नेपाली रङ घोलिरहेका छन्।

‘पौरखी प्रवासी’ संसारभर छरिएका ती अब्बल नेपालीहरूको प्रतिनिधिमूलक जीवनगाथा हो। उनीहरूको कथा सुन्नु भनेको श्रम, सीप, आशा, साहस र गौरव मिसिएको हाम्रो समयको सांस्कृतिक इतिहास पढ्नु जस्तै हो।

आउनुहोस्, हामी संसारभर छरिएका ती ‘पौरखी प्रवासी’हरूको कथा सुनौं, जसले आफ्नो मेहनतले नेपालको शिर उँचो बनाएका छन्ः

बार्सिलोना । टंक सापकोटा। नाम सुन्दा जति साधारण लाग्छ, उनको यात्रा त्यति नै असाधारण छ। बाग्लुङको दमेक गाउँमा जन्मिएका ५१ वर्षीय टंकको बाल्यकाल अभाव र संघर्षमा बित्यो। झिसमिसेमै उठेर खेतमा पसिना बगाउनु, स्कूल पुग्न चप्पल विना घण्टौं पैदल हिंड्नु उनको जीवनका आधारभूत अध्याय हुन्।

आज तिनै टंक पोर्चुगलमा इटालियन खानाका पर्याय बनेका छन्। उनी अन्तर्राष्ट्रिय स्तरका इटालियन खानाका प्रसिद्ध सेफ हुन्। पाककलाबाट थुप्रै अन्तर्राष्ट्रिय अवार्ड जितिसकेका टंक भान्साभित्रको कौशलले विश्वभरिका पाहुनाको मन जित्न सफल भएका छन्।

टंक प्रसिद्ध सेफ र व्यवसायी मात्र होइनन्, प्रवासमा उद्यमशीलताको प्रतिमूर्ति बनेका छन्। जीवनमा धेरै चोटपटक लागे तर हारेनन्, बरू अझै दृढ भए। उनकै शब्दमा, ‘खाना फाल्नु जीवनमा गरिने सबैभन्दा ठूलो अपराध हो।’ उनको कथा आज हजारौं नेपाली युवाका लागि प्रेरणा बनेको छ।

बाल्यकाल र स्कूले जीवन

बाग्लुङको जमैनी नगरपालिका-२, दमेक निवासी जगुपति र कलावती सापकोटाका छोरा टंक ७ दाजुभाइ र २ बहिनीका साथ हुर्किए। बाल्यकालको दैनिकी त्यति सहज थिएन।

‘हामी बिहान-बेलुका खेतमै पसिना बगाउँथ्यौं र पढाइसँगै जीविकोपार्जन गर्थ्यौं। जीवनले मलाई सधैं कडा मिहिनेत र परिश्रम र गर्न सिकायो’, टंकले बाल्यकाल सम्झिए।

उनी पाँच वर्षकै उमेरमा ४५ मिनेट पैदल हिंडेर स्कूल गए। १३ वर्षमा ठुलढुङ्गादेखि पोखरीसम्म करिब १ किलोमिटर टाढाबाट कुलो खनेर गाउँमा पानी पुर्‍याए। माघेसंक्रान्तिको मेलामा कागती बेचे। ११-१२ वर्षको उमेरमा कुखुरापालन र १३-१४ वर्षको उमेरमा बाख्रापालन गरेर आत्मनिर्भर बन्न सिके।

‘ब्राह्मण घरमा कुखुरा पाल्न मान्य थिएन, तर मैले मिहिनेत गर्न छोडिनँ’, उनी सम्झन्छन्। यी प्रारम्भिक अनुभवहरूले उनलाई सिर्जनशीलता, श्रम र उद्यमशीलतामा विश्वास राख्न सिकायो- ती मूल्यहरू आज व्यवसाय र जीवनको आधार बनेका छन्।

सुन्तलाचौर माध्यमिक विद्यालयमै उनले कक्षा १ देखि १० सम्म पढे। आफूलाई सदैव मध्यम विद्यार्थी मान्ने टंकलाई अहिले लाग्छ- घोकन्ते पढाइभन्दा सिर्जनशीलताले नै जीवनलाई अर्थपूर्ण बनाउने रहेछ।

टंकको जीवनमा आमाबुबाको योगदान विशेष छ। आमा काम गर्न सिपालु थिइन्- जुनसुकै काम पनि असाध्यै छिटो गर्थिन्। बुवा भने समाजसेवी। टंक सम्झन्छन्, ‘बुवाको मृत्युका बेला श्रद्धाञ्जली दिन आएका मानिसहरूको भीडले नै समाजमा उहाँको योगदान प्रमाणित गर्‍यो।’

एसएलसी सकिएपछि टंकले महसुस गरे- अब आत्मनिर्भर बन्नुपर्छ। घडी, रेडियो र टेप रेकर्डरको त्यो जमाना। मानिसहरू बाग्लुङ बजारमा घडी, रेडियो र टेप रेकर्डर मर्मत गरेर कमाइरहेको देख्दा उनी आकर्षित भए। तर सीप कहाँ गएर सिक्ने ?

भारत गएर त्यो सीप सिकिन्छ भन्ने लाग्यो। त्यही कारण, दाजु हेमलालसँग मिलेर भारत जाने निर्णय गरे। तर घरपरिवारबाट अनुमति थिएन। राति ३ बजे उनीहरू घरबाट निस्किए। तर जाँदाजाँदै बाटोमै लुटिए। तैपनि, जसोतसो भारत पुगे।

टंकले सुरुमा घर सफा गर्ने काम पाए। उनको तलब थियो २८० भारु। तर त्यहाँ धेरै टिकेनन्। काम छोडे। त्यसपछि घडी, रेडियो र टेप रेकर्डर मर्मत सिक्ने उद्देश्यले अर्को पसलमा काम थाले। गर्मीको समय थियो। घरको काम र पसलमा चिया पुर्‍याउनु पर्ने। जाडोमा मात्रै पसलको काम सिकाउने वाचा भए पनि त्यो अवसर मिलेन।

भारत पुगेको चार महिना नपुग्दै घरबाट बाको चिठी आयो। उनी नेपाल फर्के। घरमा दाजुको विवाहको कुरा चल्यो। बुवाको इच्छा अनुसार दाजुले विवाह गरे। टंकको मनमा भने डर पलायो- अब मेरो पालो आउँदैछ।

दाजुको विवाहको दिन एक पाहुनाले जर्मनी जाने कुरा निकाले। टंकलाई केही गरौं भन्ने हुटहुटी थियो। आफूलाई पनि साथमा लैजान उनले आग्रह गरे। टंकले बुवासँग जीवनकै ठूलो वाचा गरे, ‘मलाई जर्मनी पठाइदिनुहोस्। म बाँचुन्जेल हजुरको सेवा गर्नेछु र कुनै अंशको दाबी गर्ने छैन।’ धेरै प्रयासपछि अन्ततः बुवाले विदेश जाने अनुमति दिए।

 जर्मनी यात्रा

त्यतिबेला जर्मनी जान भिसा आवश्यक थिएन। ट्राभल चेक र टिकट भए पुग्थ्यो, तर नेपाल फर्काइने जोखिम सधैं रहन्थ्यो। करिब डेढ लाख रुपैयाँ खर्च गरेर उनी जर्मनी उडे। विवाह बन्धनबाट उम्किएको त्यो यात्रा उनको जीवनको कोसेढुंगा सावित भयो।

नयाँ भाषा, नयाँ संस्कार र नयाँ परिवेशसँग जुध्नु उनको पहिलो चुनौती थियो। त्यहाँको आधुनिक जीवनशैलीले उनलाई झक्झक्यायो। ‘हामी त अझै ढुंगे युगमै रहेछौं’ भन्ने महसुस भयो। नेपालमा त्यतिबेला, राजनीतिक विवाद र चुनावी चहलपहल चलिरहेको समय थियो।

जर्मनी पुगेपछि टंकले बुझे पहिलो निर्णय राजनीतिक जीवन त्याग्ने रहेछ। उनी भन्छन्- ‘हाम्रो देशमा त मानिसहरू जन्मेदेखि मृत्युपर्यन्तसम्म राजनीति गर्छन्।’ उनले नेपाली कांग्रेसको सदस्यता त्याग गर्ने निर्णय गरे। त्यो निर्णय नै उनको जीवनको एउटा महत्वपूर्ण मोड सावित भयो।

नेपालबाट बर्लिन पुगेका टंक ट्रेन चढेर स्टुटगार्ट झरे।

पाककलाको जरा  

बिहान ९ बजे पुगेका उनलाई दाइले त्यही दिन बेलुकी ५ बजेदेखि काममा लगे। त्यस दिनदेखि संघर्षको नयाँ अध्याय सुरु भयो। १८ वर्ष ३ महिनाको उमेरका दुब्ला-पातला टंकलाई मालिकले सुरुमा गम्भीरतापूर्वक लिएनन्। तर केही दिनमै उनले श्रम र सीपले आफ्नो क्षमता प्रमाणित गरे।

मालिकले अर्को साथीको रेस्टुरेन्टमा काम गर्न सिफारिश गरे, जहाँ टंकले चार वर्ष बिताए। त्यो समयलाई उनी ‘अद्भुत अवसर’ भन्छन्। ‘हामी दिनमा १४-१५ घण्टा काम गर्थ्यौं। मैले ६ महिनासम्म लगातार एक दिन पनि बिदा लिएनँ। त्यो मालिकको आदेशले होइन, मेरो इच्छाले’, टंक सम्झन्छन्। पहिलो तीन वर्षमै उनले रेस्टुरेन्टका सबै काम सिके- भाडा माँझ्ने, किचनमा सघाउने, पिज्जा बनाउने, बारमा काम गर्ने, वेटर र अन्ततः सेफ।

टंकका लागि ती मालिक केवल रोजगारी दिने व्यक्ति मात्र रहेनन्। उनी भन्छन्, ‘म उहाँलाई आज पनि मेरो बुवा जस्तै मान्छु। उहाँले पनि मलाई आफ्नै छोरा झैं माया गर्नुहुन्छ।’ यही सम्बन्ध, श्रम र सीपले टंक सापकोटाले युरोपेली भान्सालाई नजिकबाट बुझ्ने मौका पाए।

पोर्चुगल प्रवेश र व्यावसायिक यात्रा 

साढे चार वर्षपछि स्कूलदेखिका साथी लक्ष्मी सापकोटाको सल्लाहमा टंक पोर्चुगलतर्फ लागे।

सन् १९९६ मा पोर्चुगल पुग्दा वास्तविकता भने उनले सोचेभन्दा फरक देखे। सन् १९९८ मा उनका दाजु हेमलाल पनि जर्मनीबाट फर्किए। त्यो क्षण टंकका लागि संसार जितेझैं थियो। १९९९ मा दाजुसँगै उनले पहिलो रेस्टुरेन्ट खोले। ठुलीआमाका छोरा कृष्णप्रसाद सापकोटा र लक्ष्मीप्रसाद सापकोटाको ठूलो सहयोग रह्यो। रेस्टुरेन्ट खुलेको एक हप्तामै भरिन थाल्यो, र त्यसपछि कहिल्यै पछाडि फर्केर हेर्नु परेन।

आज टंकका चारवटा रेस्टुरेन्ट छन्। न धेरै, न थोरै। उनी भन्छन्, ‘मेरो उद्देश्य संख्या मात्रै थप्ने होइन। गुणात्मक उत्कृष्टता हो।’

चारै रेस्टुरेन्ट दुई किलोमिटरको घेराभित्र छन्, तर हरेक फरक र विशिष्ट। शहरकै उत्कृष्ट सेवाका कारण हरेक दिन भरिने यी रेस्टुरेन्टहरूलाई यहाँका मानिसहरूले ठूलो सम्मानका साथ हेर्छन्। उनको लक्ष्य व्यक्तिगत लाभभन्दा पनि नेपालीको इज्जत बढाउनु हो। यो यात्रामा उनकी श्रीमती पनि साथमा छिन्।

टंकको दृष्टिमा खाना र संस्कृति एउटै सूत्रमा गाँसिएका छन्। ‘बाहिरबाट हेर्दा फरक देखिन्छ, तर भित्री सारमा धेरै भिन्नता हुँदैन। इटालियन, पोर्चुगिज वा नेपाली मलाई खासै फरक लाग्दैन। कतै खाद्य वस्तु प्राथमिक हुन्छ, कतै मसला। तर अन्तर्दृष्टिबाट हेर्दा, यी सबै एउटै हुन्’, यही सोचले उनको पाककलालाई गहिरो अर्थ दिएको छ।

सुनको चुल्होदेखि ट्रफलसम्म

इटलीको भेनेजामा टंक र श्रीमती सीता घुम्न निस्किएका थिए। त्यही बेला टंकले सीतालाई भने, ‘अब मेरो जीवन पिठो हो।’ त्यही पिठोले पाककलामा उनको जीवनलाई नयाँ चमक दियो र यात्रा सुरु गर्‍यो।

त्यो यात्रामै पहिलो पटक नेपल्स शैलीको पिज्जा बनाउन थाले। त्यतिबेला पोर्चुगलमा यसबारे थोरैलाई मात्र थाहा थियो, किनकि; यहाँका मानिसहरू पातलो पिज्जामा रमाउँथे।

जोखिमपूर्ण लागे पनि प्रयास सफल भयो। आज यही शैली कैयौँ रेस्टुरेन्टहरूले अपनाइसकेका छन्। टंक भन्छन्, ‘यसमा गर्व गर्नु स्वाभाविक हो। मैले सुरु गरेको बाटो आज हजारौंले पछ्याइरहेका छन्।’

तर उनको खोज त्यहाँ रोकिने थिएन। एकदिन उनले साथीलाई भने, ‘सुनको चुल्हो किन नबनाउने?’ साथीले हाँस्दै भने, ‘यो त अलि घमण्डी कुरा भयो।’ तर टंकको जवाफ थियो, ‘मन्दिर, मस्जिद, गुम्बा र चर्च सुनमा बन्न सक्छ भने, मेरो कर्म गर्ने मन्दिर पनि सुनको किन नहोस्?’ त्यसपछि उनले सुनको चुल्होमा पिज्जा बनाउन थाले। अहिले यो शैली पनि लोकप्रिय भइसकेको छ।

रेस्टुरेन्टमा उनले अर्को नियम बनाएका छन्- मौसमी सामग्रीको प्रयोग। ‘प्रकृतिले दिएको बेलामा खाइने परिकारले स्वास्थ्य र स्वाद दुवैमा उत्तम परिणाम दिन्छ’, टंकको तर्क छ।

ट्रफलको खोज

उनको अर्को सपना अझै चुनौतीपूर्ण थियो- पोर्चुगलमै ट्रफल भेट्ने। उनले सीतालाई भने, ‘अब हाम्रो सबैभन्दा पुरानो रेस्टुरेन्ट ट्रफलले चिनिनुपर्छ।’ प्रश्न थियो- पोर्चुगलमा ट्रफल भेटिन्छ त ? संयोगवश, त्यतिबेला टंकले जितेको पुरस्कार कार्यक्रममा पोर्चुगलका कृषिमन्त्री प्रमुख अतिथि थिए। मन्त्रीकै सहयोगमा उनले कृषि तथा वातावरण मन्त्रालयका वैज्ञानिकहरूसँग सहकार्य गर्ने मौका पाए।

‘पाँच हप्तासम्म १२ जनाको टोली र दुईवटा कुकुरसहित अनुसन्धान गर्‍यौं’ टंक सम्झिन्छन्। अन्ततः चार स्थानमा ट्रफल भेटियो। ‘हामीले पाएका ट्रफललाई ‘भान्साको हिरा’ भन्छौं। यो संसारकै सबैभन्दा खोजिने र दुर्लभ परिकारमध्ये एक हो’, उनी भन्छन्।

पोर्चुगलमै पहिलो पटक ट्रफल भेटिएको समाचार राष्ट्रियस्तरमै छायो। अन्तर्वार्ता, परिचर्चा र समाचारमार्फत टंकको नाम अझै उच्च स्थानमा पुग्यो। अहिले उनको सबैभन्दा पुरानो रेस्टुरेन्टमा आधाभन्दा बढी परिकार ट्रफलकै आधारमा बन्छन्।

टंक सापकोटाको नाम आज ट्रफलसँग गाँसिएको छ। उनले सन् २०१८ मा इटालीबाट ल्याएको दुर्लभ सेतो ट्रफल पोर्चुगलमै पहिलो पटक सार्वजनिक गरेका थिए। त्यही योगदानका कारण उनलाई सन् २०१९ मा इटलीको अल्बा शहरमा ‘काभालेइरो दास ट्रुफास ब्राङ्कास’ अर्थात् ‘सेतो ट्रफलको शूरवीर’ को उपाधि दिइएको हो।

सन् २०२४ मा पोर्चुगलमै पहिलो पटक कालो समर ट्रफल भेटाएपछि उनी यस क्षेत्रमा अग्रणीको रूपमा परिचित भए। अब उनको दृष्टि अझ टाढा छ- पोर्चुगललाई ट्रफल पर्यटन र ट्रफल खेतीको केन्द्र बनाउने। इटाली र स्पेन जस्तै यहाँ पनि करोडौंको कारोबार सम्भावना उनी देख्छन्।

कोरोनाकालमा सेवाभाव

‘एक्लैले संसार बदल्न सक्दैनौं, तर संसार बदल्न सहयोग गर्न सक्छौं’ भन्ने नाराका साथ टंकले कोरोना महामारीको कठोर दिनमा पिज्जा नि:शुल्क वितरण गरे; त्यो पनि घर-घरमै पुर्‍याउँदै। उनी भन्छन्, ‘त्यो समय हामीले १० हजार ५०० वटा पिज्जा वितरण गरेका थियौं।’

देशभरका व्यवसाय ठप्प भई उद्यमीहरू आ-आफ्नो अस्तित्व जोगाउन संघर्षरत रहेका बेला सापकोटाले भने आफ्नै खर्चमा सेवा गरे। निराश मानिसहरूलाई पिज्जा खुवाउने अभियान चलाएर उनले महामारीको त्रासमा आशा र आत्मबल जगाए।

यस अभियानले चाँडै नै राष्ट्रिय च्यानलहरूको ध्यान तान्यो। फरक-फरक टेलिभिजनले उनको कार्यको प्रशंसा गर्दै विशेष रिपोर्ट प्रसारण गरे। यसअघि नै पोर्चुगलमा विश्वकै महँगो र दुर्लभ हाइट ट्रफल फेला पार्ने पहिचान बनाइसकेका सापकोटाले कोरोनाकालमा देखाएको यो सेवाभावले अझै फरक उचाइमा पुर्‍यायो।

उनी भन्छन्, ‘कोभिडले आफ्ना कामलाई नयाँ दृष्टिले हेर्ने अवसर दियो। मैले जे गर्न सक्छु, त्यसैमा ध्यान केन्द्रित गरें।’

राष्ट्रपति, प्रधानमन्त्रीदेखि अन्तर्राष्ट्रिय कलाकारसम्म

सापकोटा पोर्चुगलमा इटालियन खानाका पर्याय बनिसकेका छन्। ‘कोमे प्रिमा’ रेष्टुरेन्ट खोलेर सुरु गरेको उनको यात्राले २५ वर्ष पूरा गरेको छ। आज उनका रेस्टुराँ ‘फोर्नो दि ओरो’ र कोमे प्रिमा विश्वका उत्कृष्ट इटालियन रेष्टुराँहरूको सूचीमा परेका छन्। साथै, उनले सञ्चालन गर्ने ‘कासा नेपालेसा’ले नेपालका परिकार र स्वादलाई अन्तर्राष्ट्रियस्तरमा प्रस्तुत गर्दै आएको छ।

तीन दशकदेखि पोर्चुगल बस्दै आएका टंकको रेस्टुरेन्टमा विभिन्न क्षेत्रका चर्चित व्यक्तित्व, कलाकार, फुटबल खेलाडी र राजनीतिज्ञको जमघट हुने गरेको छ। पोर्चुगलका राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्म उनको हातको स्वाद चाख्न रेष्टुरेन्ट पुग्ने गरेका छन्। अन्तर्राष्ट्रिय कलाकारहरू पनि पोर्चुगल भ्रमणको क्रममा यहाँको स्वाद लिन आउँछन्।

२५ वर्षको यात्रामा उनले व्यवसायलाई ठूलो लहर होइन, साना-साना परिवर्तनले अघि बढाएको ठान्छन्। सापकोटाको भनाइमा, ‘सानो-सानो सुधार, निरन्तर प्रयास र उच्चस्तरीय सेवा नै व्यवसायको सफलता सुनिश्चित गर्छ।’

वृत्तचित्र : ‘टेस्ट अफ इटाली’

टंकको तीन दशकको अनुभव समेटेर ‘टेस्ट अफ इटाली’ नामको वृत्तचित्र बनेको छ। यो वृत्तचित्र पोर्चुगलको टीभीआई च्यानलमा ६ भागमा प्रसारण भएको थियो। यसमा उनले इटालियन परिकारका भेराइटी, प्रयोग हुने मरमसला र आफ्नो करिब ३० वर्षको अनुभव प्रस्तुत गरेका छन्।

वृत्तचित्र इटालीका विभिन्न ठाउँमा दुई महिना छायांकन गरिएको थियो। यसलाई फिल्मकर्मी टियागो पी डे कार्भाल्होले निर्देशन गरेका हुन्। रेस्टुरेन्ट ‘कोमे प्रिमा’ को २५औं वार्षिकोत्सवको अवसरमा वृत्तचित्र तयार गरिएको हो।

‘यो वृत्तचित्रमा म इटालियन परिकार बनाउन कतिसम्म गहिराइमा डुबुल्की मार्छु देखाउन खोजेको हुँ’, टंकले थपे।

टंकको जीवनकथा केवल पाककलामा सफलता हासिल गर्ने कथा मात्र होइन। संघर्ष, धैर्य र सिर्जनशीलताले उनलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍यायो। बाल्यकालको कठिनाइदेखि पोर्चुगलमा प्रतिष्ठित रेस्टुरेन्टसम्मको यात्रा नेपाली युवाका लागि प्रेरणा बनेको छ। सपना र मिहिनेत सँगै भएमा असम्भव केही छैन भन्ने प्रमाण हुन् टंक सापकोटा।

लेखक
वसन्त रानाभाट

बसन्त रानाभाट अनलाइनखबरका युरोपका समाचार संयोजक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?