
भूमण्डलीकरणको यो युगमा संसार साँघुरिएको छ र मानिसको यात्रा अब भौगोलिक सीमाभित्र कैद छैन। अवसरको खोजीमा होस् वा ज्ञान र सीपको यात्रामा, नेपालीहरू पनि यही विश्वव्यापी लहरको एउटा अभिन्न अंग बनेका छन्। पृथ्वीका विभिन्न भूभागमा पुगेर उनीहरूले आफ्नो श्रम, बुद्धि र साहस ले नयाँ समाजमा अटल परिचय स्थापित गरेका छन्। तर, जतिसुकै टाढा पुगे पनि, उनीहरूको नाभी अझै पनि मातृभूमिमै गाँसिएको छ- भाषा, संस्कृति र भावनाको अटुट धागोमार्फत्।
अनलाइनखबरले सुरु गरेको ‘पौरखी प्रवासी’ शृङ्खला त्यही गौरवमय यात्राको गाथा हो। यो केवल व्यक्तिगत संघर्ष र पसिनाको कथा मात्र होइन, बरू विश्व मञ्चमा नेपालको सामूहिक पहिचानलाई उचाइ दिने प्रयासको दस्तावेज हो। हरेक प्रवासी नेपाली आफ्नो गन्तव्यमा नेपालको ‘ग्लोबल एम्बेसडर’ बनेर उभिएका छन्। उनीहरूले विश्वलाई देखाइरहेका छन्, ‘नेपालीहरू मेहनती, सहिष्णु र प्रतिभावान हुन्छन्।’
प्रवासी नेपालीहरूको महत्व केवल आर्थिक पक्षमा मात्र सीमित छैन, यद्यपि रेमिटेन्सले नेपालको अर्थतन्त्रको मेरुदण्डलाई सजीव राखेको छ। विदेशको तातो घाममा पसिना बगाउने श्रमिकदेखि अन्तर्राष्ट्रिय मञ्चमा उदाएका विज्ञ, उद्यमी र कलाकारहरूसम्म, उनीहरू सबैले नेपाललाई विश्वको नक्सामा चिनाएका छन्। उनीहरूको ज्ञान, सीप र नेतृत्व क्षमतालाई नेपालको समृद्धिको यात्रासँग जोड्नु अनिवार्य छ ।
सामाजिक र सांस्कृतिक दृष्टिले, प्रवासीहरू नेपालकै बहुरंगी स्वरूपलाई नयाँ ठाउँमा पुनः फूलाइरहेका छन्। चाहे नयाँ पुस्तामा नेपालीपनको बीउ रोप्ने कुरा होस् वा परदेशमा दशैँ–तिहार र तीजको उल्लास भर्ने कुरा, यी सबै अभ्यासले नेपालीपनलाई भौगोलिक सीमाभन्दा बाहिर फैलिएको ‘विश्व-चेतना’ बनाइदिएको छ।
जब कोही आफ्नो जन्मभूमिबाट टाढा जान्छ, उसले आत्मपहिचानलाई पुनःपरिभाषित गर्नुपर्छ। नयाँ समाज र संस्कृतिमा घुलमिल हुँदै उसले आत्मान्वेषणको यात्रा गर्छ। यही प्रक्रियामा नेपालीहरू केवल आर्थिक योगदानकर्ता मात्र नभई विश्व-संस्कृतिको सक्रिय अंग बनेका छन्, जसले भूमण्डलीय संस्कृतिमा नेपाली रङ घोलिरहेका छन्।
‘पौरखी प्रवासी’ संसारभर छरिएका ती अब्बल नेपालीहरूको प्रतिनिधिमूलक जीवनगाथा हो। उनीहरूको कथा सुन्नु भनेको श्रम, सीप, आशा, साहस र गौरव मिसिएको हाम्रो समयको सांस्कृतिक इतिहास पढ्नु जस्तै हो।
आउनुहोस्, हामी संसारभर छरिएका ती ‘पौरखी प्रवासी’हरूको कथा सुनौं, जसले आफ्नो मेहनतले नेपालको शिर उँचो बनाएका छन्ः
बार्सिलोना । बीबीसी वर्ल्डका स्क्रिनमा विश्वभरका खबरहरू देखिन्छन्- कहिले अमेजनमा डढेलो, कहिले अफ्रिकामा खडेरी त कहिले पग्लिंदै गरेका नेपालका हिमाल। यिनै दृश्यबीच प्रायः एउटा अनुहार देखिन्छ- नवीनसिंह खड्का।
गहिरो तर सहज आवाजमा उनी जलवायु परिवर्तन, जैविक विविधता र प्रदूषण जस्ता संकटबारे समाचार सुनाउँछन्। उनी केवल रिपोर्टर होइनन्, विश्व समुदायका लागि उनी वातावरणको साक्षी हुन्। काठमाडौंका गल्लीदेखि लन्डनको ग्लोबल स्टुडियोसम्मको यात्रा, मिहिनेत र पर्यावरणप्रतिको गहिरो मोहले नवीनलाई बीबीसी वर्ल्डमा नेपाली आवाजको प्रतिनिधित्व दिलाएको छ।
काठमाडौंबाट शुरु भएको पत्रकारिता यात्रा रेडियो, टेलिभिजन र राजधानीका प्रमुख अंग्रेजी पत्रिकाबाट बीबीसी नेपाली सेवासम्म पुग्यो। त्यहाँ प्रोड्युसरको रूपमा अनुभव साँच्दै, पर्यावरणप्रतिको चासो र निरन्तर रिपोर्टिङले उनलाई लन्डनस्थित बीबीसी विश्वसेवासम्म पुर्यायो।
दुई दशकभन्दा बढी समयदेखि उनी संयुक्त राष्ट्रसंघका जलवायु सम्मेलनहरूमा रिपोर्टिङ गर्दै आएका छन्। उनका रिपोर्टहरूले नेपाली मात्र होइन, विश्व समुदायलाई पनि वातावरणीय संकटको कठोर यथार्थ देखाइरहेका छन्।
बीबीसी वर्ल्ड सर्भिसका थुप्रै भाषागत शाखामध्ये गैरअंग्रेजी शाखाबाट वातावरण/जलवायु विशेषज्ञको भूमिका पाउने उनी पहिलो पत्रकार हुन्। उनी अंग्रेजी, नेपाली, हिन्दी र उर्दू चार भाषामा रिपोर्टिङ गर्न सक्षम छन्। अहिलेसम्म लगभग सबै महादेश भ्रमण गरिसकेका उनी करिब ५० वटा मुलुक पुगेका छन्।
पढाउँदै–सिक्दै, संघर्षको बाटो
नवीनको प्रारम्भिक शिक्षा भारतमै भयो, जहाँ उनका पिता पहिले सेना र पछि गैर-सैनिक क्षेत्रमा कार्यरत थिए। भारतमा केही वर्ष प्राथमिक शिक्षा हासिल गर्दा नै उनले अंग्रेजी भाषामा मजबुत आधार तयार पारे, जसले पछि उनका पत्रकारिता र सञ्चार क्षेत्रमा यात्रा सहज बनायो।
त्यसपछि उनी परिवारसहित काठमाडौं फर्किए।नेपाल फर्केपछि काठमाडौंका विभिन्न विद्यालयमा भर्ना भए। काठमाडौंको नक्सालस्थित नन्दीरात्रि माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरे। त्यसपछि त्रिभुवन विश्वविद्यालय अन्तर्गतका प्रतिष्ठित कलेजहरूमा प्रवेश पाए- पब्लिक युथ क्याम्पसबाट व्यवस्थापन संकायमा प्रमाणपत्र तह उत्तीर्ण गरे, शंकरदेव कलेजबाट स्नातक र आरआर क्याम्पसबाट स्नातकोत्तर तह पूरा गरे।
यद्यपि, उनले कलेजमा पत्रकारिताको औपचारिक अध्ययन गरेनन्। उनको संघर्ष र मिहिनेतको यात्रा असाधारण थियो। ‘मैले १६ वर्षको उमेरदेखि नै पढाउन शुरु गरेको थिएँ’, नवीन भन्छन्। त्यतिबेला उनको आर्थिक अवस्था कमजोर थियो र पढाइ, काम र अन्य गतिविधि सँगै चलाउनुपर्ने बाध्यता थियो। उनले पहिलोपटक बिशालनगरस्थित दीप शिशु निकेतनमा पढाउन थाले। त्यसपछि आदर्श विद्या मन्दिर (एभीएम) मा अध्यापन गरे र पछि ज्ञानोदय बालबाटिकामा अंग्रेजी विभाग प्रमुखको रूपमा काम गरे। त्यतिबेला उनी २१ वर्षका मात्र थिए।
अंग्रेजी भाषामा दक्खल बनाउन उनका पिता स्वर्गीय पुरन सिंह खड्काको मार्गनिर्देशन ठूलो योगदान रह्यो।‘अंग्रेजी सिकाइको श्रेय मेरो पितालाई जान्छ,’ नवीन भन्छन्। बाल्यकालमा उनका पिता, जो सेनामा कार्यरत थिए, उनलाई अंग्रेजी सिकाउन निरन्तर प्रेरित गर्थे। सेनाका कमिक्स र दोस्रो विश्वयुद्धका कथाहरू पढ्न ल्याइदिन्थे। उनले भने, ‘बच्चा बोर नहोस्, चासो पनि होस् भनेर पढाउनुभयो।’
काठमाडौं आएपछि पनि निरन्तर अभ्यासले नवीनको अंग्रेजी दक्खल बलियो भयो। उनी अंग्रेजी फिल्म हेर्थे, अखबार पढ्थे, कलेजमा जवाफ अंग्रेजीमै लेख्थे, र नेपालीमा भनिएका कुरा अंग्रेजीमा टिपोट गर्ने बानी थियो। १६ वर्षको उमेरमा एभीएममा पढाउँदा उनले स्कूलकै बच्चाहरूको कथा, कविता र निबन्ध समेटेर म्यागेजिन निकाल्न थाले। म्यागेजिनका उत्कृष्ट लेखहरू पछि राइजिङ नेपाल र गोरखापत्रमा पनि छापिन्थ्यो। ‘पत्रकारिताप्रति मोह यहींबाट शुरु भयो’, नवीन सम्झन्छन्।
पत्रकारितामा पहिलो पाइला
‘त्यो बेला मैले पत्रकारिता विषयको अध्ययन नेपाल प्रेस इन्स्टिच्युट (एनपीआई) बाट १० महिने कोर्समा थालें’, नवीन भन्छन्।
एनपीआईमा पत्रकारिताको अभ्यास गराइन्थ्यो। तर बिहानै क्लास हुन्थ्यो। उनीसँग कलेज र स्कूल दुवैको जिम्मेवारी थियो।
‘आइतबार मात्र एनपीआई जान सक्थें। त्यसैले सबै क्लास लिन सकिनँ’, उनी सम्झन्छन्। तालिम लिनुअघि अन्तर्वार्ता अनिवार्य थियो। छनोट भएपछि मात्रै भर्ना हुन्थ्यो। नवीनको अन्तर्वार्ता लिने व्यक्ति थिए, नेपालका सुरुवाती पत्रकारमध्येका एक लालदेउसा राई।
१० महिने कोर्स सकिएपछि इन्टर्नसिपको अवसर आयो। नवीनको चाहना थियो- काठमाडौं पोस्ट। त्यतिबेला भर्खर शुरु भएको अंग्रेजी दैनिक। वरिष्ठ पत्रकार स्वर्गीय सुशील शर्मा एनपीआईका कोअर्डिनेटर मात्र होइन, प्रतिष्ठित साप्ताहिक स्पटलाइटका सम्पादक पनि थिए।
‘यदि स्पटलाइटमा पनि काम गर्न चाहन्छौ भने स्वागत छ’, शर्माले उनलाई भने। उनको हौसलाले नवीन त्यहीं इन्टर्नसिपतर्फ मोडिए। यही अनुभवले उनले पत्रकारितामा पहिलो व्यावहारिक कदम चाल्न सके। यही पहिलो कदमले भविष्यको बाटो खोलिदियो।
शिक्षण छोडेर पत्रकारितामा डुबुल्की
स्पटलाइटमा कामसँगै नवीन अध्यापन पनि गरिरहेका थिए। झन्डै तीन-चार वर्ष त्यसरी नै बित्यो। तर दुईतिरको जिम्मेवारीले उनलाई सन्तोष दिएन। ‘पत्रकारिता गर्ने नै हो भने पौडी पोखरीमा हाम फाल्नैपर्छ जस्तो लाग्यो’, उनी सम्झन्छन्। अन्ततः अध्यापन छोडेर उनी पत्रकारितामा पूर्ण रूपमा हामफाले।
त्यो बेला उनको बिट मुख्यतया पर्यटन थियो। तर पर्यटनलाई केवल गन्तव्य प्रमोसनको रूपमा हेरेनन्। ‘नागरिक उड्डयन पर्यटनको मेरुदण्ड हो’ भनी उनले त्यसैसँग जोडिएका थुप्रै समस्या उजागर गरे। त्यसपछि काठमाडौंका प्रायः सबै अंग्रेजी पत्रिकामा काम गरे- स्पटलाइट, राइजिङ नेपाल, हिमालयन टाइम्स, स्पेसटाइम्स र नेपाली टाइम्स। साथै, रेडियो सगरमाथा र च्यानल नेपालमा पनि उनको आवाज गुन्जियो।
‘मैले जहिले पनि स्टोरीलाई नै महत्व दिएँ’, उनी भन्छन्। ‘मेलम्चीमा कहाँ घोटाला भइराखेको छ ?’, ‘लाउडा एअरको पैसा कहाँ गयो?’, ‘बुटवल पावर कम्पनीको प्राइभेटाइजेसनमा के भयो ?’ जस्ता स्टोरीमै उनको ध्यान गयो। ‘मलाई ठूलो मिडियामा पुग्नै पर्छ भन्ने महत्वाकांक्षा थिएन। तर बलियो स्टोरीले मात्र परिवर्तन ल्याउँछ भन्ने विश्वास थियो’, उनी भन्छन्।
यिनै स्टोरीहरूको जोशबीच उनलाई अन्तर्राष्ट्रिय मिडियाबाट अफर आउन थाले। तीनवटा प्रस्तावमध्ये उनले रोजे बीबीसी। कारण स्पष्ट थियो- बीबीसीको पहुँच, प्रतिष्ठा र अडियन्स।
बीबीसी नेपाली सेवामा कदम
मार्च २००२ मा नवीन बीबीसी नेपाली सेवासँग जोडिए। उनी भन्छन्, ‘मैले कहिल्यै नेपालीमा समाचार पढ्ने र रिपोर्टिङ गर्ने गरेको थिइनँ। तर बीबीसीमा जाने भनेको नेपाली सेवासँग पनि काम गर्नुपर्थ्यो। त्यतिबेला अंग्रेजीमा समाचार फाइल गर्नु पनि आवश्यक थियो।’
त्यो समय देशमा द्वन्द्वकाल चलिरहेको थियो। सात दल र तत्कालीन राजाको झगडा दिनदिनै हेडलाइनमा थियो। नेपालीमा रिपोर्टिङ गर्नुपर्थ्यो। वरिष्ठ पत्रकार सुशील शर्माले उनलाई घडी अगाडि राखेर सिकाए, ‘यति मिनेटमा यो सकाउनुपर्छ। लेख्ने मात्र होइन, पढेर पठाउनुपर्छ, रेकर्ड समेत गर्नुपर्छ।’ बाहिर आलोचकहरूले भन्थे, ‘यसले खाली पढ्ने मात्र हो, कसैले लेखिदिन्छ। यो त अंग्रेजवाज हो।’ तर नवीन बीबीसी नेपाली सेवामा पनि सफल भए।
उनी भन्छन्, ‘सम्पूर्ण श्रेय स्वर्गीय शर्मालाई जान्छ। मैले गर्न सक्छु भन्ने विश्वास मलाईभन्दा बढी उहाँलाई थियो।’
सन् २००५ मा नवीन बीबीसीको विशेष कार्यक्रमका लागि लन्डन पुगे। यो यात्रा उनका लागि अन्तर्राष्ट्रिय पत्रकारितामा पहिलो ठूलो कदम साबित भयो।
विश्वमञ्चमा पर्यावरणीय स्वर
‘नेपालमा हरेक किसिमको रिपोर्टिङ गरें’ उनी सम्झन्छन्, ‘तर वातावरणलाई भने कहिल्यै छुटाइनँ।’ नवीनको पर्यावरणतर्फको मोह स्पटलाइटमा इन्टर्नसिप गर्दादेखि नै थियो। त्यतिबेला ब्राजिलमा ‘रियो सम्मेलन’ भन्ने ठूलो विश्व सम्मेलन चलिरहेको थियो। ‘इन्टरनेटको ठूलो पहुँच थिएन, सामाजिक सञ्जालको त कल्पनै थिएन’ उनी सम्झन्छन्, ‘ब्रिटिस र अमेरिकन लाइब्रेरी पुग्थें। त्यहाँ गएर म अखबार पढ्थें।’
सानै उमेरमै उनले बुझ्न थाले- विश्व राजनीतिभित्र वातावरणीय मुद्दा कति महत्त्वपूर्ण हुँदै गइरहेको छ। ‘यो मुद्दा हाम्रो पुस्ता मात्र होइन, हामीभन्दा पछिका पुस्ताका लागि अझ ठूलो हुनेछ भन्ने त्यतिबेलै महसुस गरेको थिएँ’, उनी भन्छन्। त्यही कारण पर्यावरणलाई रिपोर्टिङमा कहिल्यै छुटाएनन्। लन्डन पुगेपछि बीबीसीको विशेष कार्यक्रम बनाउनुअघि र पछि पनि यो निरन्तरता यथावत् रह्यो।
बीबीसी नेपाली सेवामा काम गरिरहेकै बेला उनले व्यवस्थापनसँग प्रष्ट पार्दै भनेका थिए कि फुलटाइम नेपाली सेवाको प्रोड्युसर भएर मात्रै बस्ने अवस्था रहेन। उनको रुचि वातावरणीय पत्रकारितामा थियो, त्यसैमा ध्यान दिन आवश्यक थियो। संसारभर वातावरणीय मुद्दा दिनानुदिन जटिल बन्दै गइरहेका थिए। विशेषतः विकासोन्मुख मुलुकहरूको दृष्टिकोणबाट नयाँ र मौलिक कथन आवश्यक भइरहेको थियो।
पश्चिमाले बोल्न सक्छन्, उनीहरूको आवाज सुन्न पाइन्छ पनि। तर हिमाली भेगका मानिसहरूकै अनुभव र कथन आउँदा त्यसले अझ गहिरो प्रभाव पार्छ भन्ने बोध हुन थालेको थियो।हिमाली क्षेत्रका विषयमा नवीनले गर्ने रिपोर्टिङको महत्व र विशिष्टता बीबीसीले पहिचान गर्यो। त्यसपछि उनलाई एक वर्षका लागि ‘पाइलट अवसर’ प्रदान गरियो।
पाइलटिङ गर्दाका दुई ठूला स्टोरी
नवीनले स्टोरी गरे, ‘हिमालय क्षेत्रमा गैरकानूनी रूपमा संकलित विदेशी बोटबिरुवाका बीउ ब्रिटेनमा बिक्री’। नेपाल, भारत लगायत मुलुकका हिमाली क्षेत्रका ४ हजार मिटरमाथि फुल्ने विशेष वनस्पतिको फूलबाट बीउ चोरी गरी युरोपेली मुलुकमा बेचिन्थ्यो। त्यो स्टोरी उनले विस्तृत अनुसन्धान गरेर तयार पारे, जसले ठूलो हलचल सिर्जना गर्यो।
नवीन भन्छन्, ‘कसैले अनुमति नलिई चोरीछिपी ल्याइन्थ्यो, तर स्थानीय मानिसलाई ठगेर अनुमति लिएको देखाइन्थ्यो। मैले यो स्टोरी राम्रोसँग अनुसन्धान गरेर निकालें। यसको असर देख्दा लाग्यो, हाम्रो कामले वास्तविक परिवर्तन ल्याउन सक्छ।’
यो रिपोर्टले ठूला कम्पनीलाई रोक्न बाध्य बनायो। ठूला पब्लिक बगैंचामा पुगेर स्रोत देखाइएको थियो। भारतको सिक्किम राज्यले संलग्न व्यक्तिलाई गिरफ्तारी आदेश नै जारी गरेको थियो।
अर्को स्टोरी उनले ल्याए, जसले बीबीसीकै विश्वास जित्यो। सन् २००९ मा वैज्ञानिकले अन्तर्वार्तामा भनेका थिए, ‘यदि यही प्रवृत्ति रह्यो भने सन् २३०० सम्ममा हिमनदी हराउन सक्छन्।’ तर प्रकाशनमा त्रुटि हुँदा यो ‘सन् २०३० सम्म सबै हिमनदी हराउँछन्’ भनेर देखाइयो। यस गलत अंशलाई जलवायु परिवर्तन सम्बन्धी सबैभन्दा ठूलो वैज्ञानिक दस्तावेज मानिने आईपीसीसीको रिपोर्टमा पनि समावेश गरियो।
जलवायु परिवर्तन विरोधीहरूले यसलाई प्रमाणको रूपमा प्रस्तुत गर्दै आलोचना गरिरहेका थिए। अन्तर्राष्ट्रिय मिडियामा हिमनदी हराउने विषयमा ठूलो बहस चलेको थियो।
तर, नवीनले फरक दृष्टिकोण प्रस्तुत गरे। पूर्वी हिमालमा ग्लेसियर घटिरहेका थिए भने पश्चिमको काराकोरम क्षेत्रमा बढिरहेका थिए। वैज्ञानिक रिपोर्ट र तस्वीरको आधारमा उनले दुई विरोधाभासी ट्रेन्ड मिसाएर देखाए । आईपीसीसीको त्रुटिपूर्ण रिपोर्टको आधारमा समाचार बनाउँदा अन्तर्राष्ट्रिय मिडियाहरू आलोचित भइरहे पनि,नवीनको स्टोरीले बीबीसीमा प्रशंसा बटुले।
उनले त्यस अवधिमा उत्कृष्ट काम प्रस्तुत गरे।मूल्यांकनपछि बीबीसीले नयाँ पद सिर्जना गर्यो, जसमा नवीनलाई निरन्तर काम गर्ने मौका मिल्यो। यही मोडबाट उनी औपचारिक रूपमा बीबीसी वर्ल्ड सर्भिससँग आबद्ध भए।
नवीन बीबीसी वर्ल्ड सर्भिसको ४२ भाषागत शाखामध्ये गैर-अंग्रेजी शाखाबाट वातावरण/जलवायु विशेषज्ञको भूमिका पाउने पहिलो पत्रकार हुन्। यस अवसरले उनलाई विश्वस्तरमा वातावरण र जलवायु सम्बन्धी स्टोरीहरू रिपोर्ट गर्ने मौका दियो।
त्यसैगरी, उनी बीबीसीको पश्तो र पर्सियन स्टुडियोमा गएर विश्लेषण प्रस्तुत गर्छन्, जहाँ उनका बोलेका कुरा अनुवाद गरेर प्रसारण गरिन्छ। उनले बीबीसी टेलिभिजन, रेडियो र अनलाइनमा थुप्रै ब्रेकिङ समाचार, फिचर र रिपोर्टहरू तयार पारेका छन्।
जलवायु परिवर्तन र नेपालमा ग्रामीण किसानको संकट
नवीन भन्छन्, ‘जलवायु परिवर्तनले नेपाली ग्रामीण किसानलाई पारेको असरबारे धेरै गहिरो अध्ययन भएको छैन। तर यस्तो भन्दै चुप लागेर बस्नुहुन्न। अन्य देशमा के भइरहेको छ, त्यहाँका किसानले के भोगिरहेका छन्, त्यो पनि हेरिरहनुपर्छ। त्यहीबाट पनि हामीले पाठ सिक्न सक्छौं।’
उनका अनुसार अहिलेको सबैभन्दा ठूलो प्रश्न नै पानी हो। या त पानी अत्यन्तै कमी हुन्छ, या चाहिनेभन्दा बढी। मौसमविद्हरूले मनसुनलाई सरदर ‘सामान्य’ भनेर व्याख्या गर्ने गर्छन्। तर त्यही मनसुन किसानका लागि बर्बादी बनेर आउँछ।
‘यदि तपाईंले मौसम विभागलाई सोध्नुभयो भने उनीहरूले भन्छन्- यसपालि मनसुन सामान्य भयो। तर त्यही प्रश्न किसानलाई सोध्नुभयो भने, उनी भन्छन्- यो वर्ष त खडेरीले रोपाइँ बिगार्यो, अनि हप्ताभरमै तीन महिनाको पानी परेर बाली बगायो। विभाग र किसानको बुझाइ किन मिल्दैन ? पत्रकारले त्यही कुरामा छिर्नुपर्छ’, उनी भन्छन्।
यही असन्तुलनले ग्रामीण जनजीवनमा ठूलो संकट ल्याइरहेको नवीनले अनुभव गरेका छन्।
‘पहाडतिर त मूल सुक्ने क्रम तीव्र छ’ उनी थप्छन्, ‘पहिले जसरी हिउँ पर्थ्यो, अहिले त्यति पर्दैन। परे पनि समयमा पर्दैन। किसानलाई चाहिने बेला सुख्खा हुन्छ। नचाहिने बेला पानीले खेतबाली बगाउँछ।’
नवीन यो अवस्थालाई आफ्नो भाषामा यसरी चित्रण गर्छन्, ‘माउन्टेनस् आर कमिङ डाउन।’ अब त पहाड नै तल आउन थालेको छ। किनभने पहाडलाई मजबुत बनाएर राख्ने हिउँ र बरफ हराउँदैछ। जसरी सिमेन्टले घरलाई जोडेर राख्छ, त्यसरी नै हिउँ, बरफले पहाडलाई बाँधेर राख्थ्यो। तर हिउँ-बरफ नपरेपछि वा छिट्टै पग्लिएपछि पहाड खोक्रो बन्छ। अनि भारी वर्षाले त्यो पहाडलाई दुर्बल बनाएर लेदो, माटो, ढुंगा सबै तल ल्याइदिन्छ।’
यसको परिणाम अझ भयावह छ- पहिले हिमनदी सुक्ने, हिमताल फुट्ने जस्ता समस्या मात्र चिन्ता थिए। तर अहिले त पहाड नै भत्किँदै तल झर्ने खतरा बढेको छ। नदी रोकिन्छ, कृत्रिम ताल बन्छ, अनि त्यो फुटेर ठूलो विपत्ति ल्याउँछ।
‘तपाईंले देख्नुभएको छ- हिमताल फुटेर पानी बग्दा कस्तो विनाश हुन्छ। तर अझ खतरनाक कुरा त लुकेका ताल हुन्। हिमालभित्र, चट्टानभित्र बनेका ताल फुट्न थाले भने त्यसको पूर्वानुमानै गर्न सकिंदैन’, नवीन भन्छन्।
यस्ता घटनाले केवल किसानलाई मात्र होइन, देशको पूर्वाधार, बाटो, पुल, जलविद्युत् आयोजना र बस्तीलाई पनि जोखिममा पारिरहेको छ। करोडौं-अर्बौंको लगानी क्षणमै बगाउँछ। नेपालमा भने अझै विकासको नाममा बुल्डोजर चलाउने काम तीव्र छ। ‘जहाँ झन् होसियार हुनुपर्ने हो, त्यहाँ झन् लापरबाही भइरहेको छ’ उनी गम्भीर आवाजमा भन्छन्, ‘त्यो भनेको विनाशको बाटो हो।’
प्रतिक्रिया 4